जन्तुदेखि जनता कहिले बन्ने ?

कुनै पनि प्रजाताञ्त्रिक देशका वासिन्दा नै जनता हुन्। बासिन्दा, जनता, नागरिक, प्रजा आदि पर्यायवाची शब्द हुन्। यद्यपि यदि मुलुकमा राजतञ्त्र छ भने त्यस देशका वासिन्दालाई प्रजा भनिन्छ।
पहिले नगरवासीलाई नागरिक भनिन्थ्यो भने अब त्यो शब्दको अर्थविस्तार भएर देशकै जनतालाई नागरिक भनिन्छ। जनता र प्रजामा राजनैतिक स्थितिको फरक हुन्छ। राजाको इच्छामा निर्भर भई सुख सुविधा जे जति उपलब्ध हुने समूह प्रजा हुन् भने जनता चाँहि प्रजाताञ्त्रिक व्यवस्था भएको देशका टाउकेहरू बनाउने र सुख-सुविधा प्राप्त गर्ने मान्छेहरूका हुन्। जनता कुनै पनि राजनैतिक दलदेखि भिन्न र निरपेक्ष हुन्छ।

यो शब्द व्याकरणिक हिसाबले बहुवचन हो भने राजनैतिक हिसाबले यो सामूहिक चेतनाको नाम हो। देशका आम नागरिक नै जनता हुन्। राजनेताहरूको सेवाको लक्ष्यित समूह नै जनता हुन्। देशका टाउकेदेखि लिएर लिएर स्थानीय नेताको पनि सेवाको केन्द्रविन्दु जनता हुन्। देश र समाजको विकास भन्नु नै जनताको विकास हो।

समग्र भारतको कुरा छोडेर दार्जिलिङको राजनैतिक इतिहास पल्टाउने परे हामी जनता हुनसकेका छैनौं अनि जनता होइनौं। जनतामा हुनुपर्ने गुण, सचेतता, व्यावहारिकता छैन। हामीलाई जनताभन्दा प्रजा अझ भक्तको उपाधि दिए उचित हुन्छ। हामीभित्र राजा पुज्ने रगत नमेटिएको प्रजापन छ। युगमा हाम्रा नायकहरू आउँछन् र हामी उसलाई पुज्न थाल्छौं। जति समय बितेर जान्छ उति हामी सचेतता, परिपक्व, निपुणता, चातुर्य आदि बढेर अझै राम्रा राम्रो हुँदै जानुपर्ने हो यद्यपि हाम्रो राजनैतिक परिपक्वता, सचेतता जति समय बित्यो उति नै ओरालो दिशातिर जाने लागेको देखिन्छ। हामी उल्टो दिशातिर गईरहेछौं। यसकारण हामी अझैं दिनदिनै जनता होइन तर भक्त र अझ त्यसदेखि तल झरेर चम्चा हुन लागिरहेका छौं।

दार्जिलिङको पछिल्लो आन्दोलनको समयमा एउटा भनाइ थियो “दार्जिलिङका जनता, कालिम्पोङका जन्तु र खरसाङ चैं जन्ती”। यस कुरामा कति सत्यता छ, तर साँच्चै नै हाम्रो राजनिती भने जन्तु र जन्ती हुने खालकै छ। कतै पनि जनता हुने काम गरेका छैनौं। दिनदिनै हाम्रो राजनैतिक स्तर घटदो र खुस्किदो छ। हामी आफैं खिइने खालको राजनिती गर्दैछौं। हामी दिनदिनै सैद्धान्तिक अडानभन्दा राजनेतामाथि आश्रित हुनथाल्यौं। कतिपयका निम्ति हाम्रो रोजीरोटीको आशा केन्द्र नै राजनेता हुन थाले। नेताले हामीलाई सधैं कृपा गरे झैं हामी ठान्न थाल्छौं। नेताले गाउँमा विकास बाँडे उसले कृपा गरेको भन्ठान्छौं। हाम्रो विवेक गुमाएका छौं। सस्तो सहुलियत, कुखुरालाई चारो छरेसरह हल्काफुल्का केही दिए पनि धेरै दिएको ठान्छौं। हामी आफ्नो स्वार्थका निम्ति छट्टु र चलाक हुन्छौं तर सन्ततिका निम्ति लाटो नै छौं। हामी सचेत जनता हुन सकेका छैनौं। हामी लुटिल्यायो भुटिखायौ भन्ने खालको राजनैतिक चरित्र बेहोरिने खालका भयौं। छोटो बाटो हिड्ने खालका छौं। साँचो र सचेत नागरिक भएर पनि आफैं सुकुम्वासीको चरित्र बनाएका छौं।

सरकारी नियम र सत्तासीन दल अलग अलग कुरा हुन्। सत्ता चलाउन जुनसुकै दल आउन सक्छ। हिजो सत्ता चलाउने अर्कै दल थियो, आज अर्कै र भोलि भिन्नै हुन्छ तर मूल व्यवस्था भने एउटा हुन्छ। सरकार भनेको त व्यवस्था हो, प्रणाली हो। नियमलाई कार्यान्वयन गर्ने निकाय हो। जनताको सामूहिक आवाजको प्रतिबिम्बन हो। जनताले नै चुनेर पठाइएका व्यक्ति र दलमध्येबाट जुनले संख्या बढी ल्याएर आएको हुन्छ त्यो सरकारमा बसेको हुन्छ। त्यस दल विशेषले नियमबमोजिम र जनाकाङ्क्षाविरोधी काम गरे अर्को चुनावमा हार खानुपर्छ। भारतकै इतिहास हेर पनि कस्ता कस्ता दल र व्यक्तिले पराजय भएर विस्मृतिको गर्भमा पुगेका छन्। सत्तामा पुगेर अहम् गरेमा दल र नेतृत्वको पतन हुनु स्वभाविक छ।

जनताले नेता बनाएका हौं, नेताले जनता होइन। नेता जनतामाथि निर्भर हुनु पर्छ न कि जनता नेतामाथि। हामी ठिक उल्टा छौं। हामी हाम्रो शक्ति र अधिकारबारे विश्वस्त छैनौं। हामी कुनै पनि दलको राम्रो सिद्धान्त र नीति आदि नबुझी होहोरीमा कुद्ने अन्धभक्त बन्दै गएका छौं। तर हाम्रो विचार व्यापक बन्न सकेको छैन। हाम्रो आन्दोलन, तहल्का, विचार, आकाङ्क्षा र विद्रोह त चियाको एक कपभित्रको छछल्काइ मात्र बनेको हुन्छ। हाम्रो आफ्नो विचार नगरी छिमेकी कता छ, हावा कता बग्दैछ, कताबाट दुई पैसा झर्छ, कताबाट नाफा हुन्छ, त्यतै जाने भयौं। मनमा कुन्नी केको डर बोकेको, कुन्नी कस्ले के भन्ला जस्तो मानसिकता लिएका छौं। जनताको इच्छा नै सर्वोपरी हो भन्ने विचार राख्दैनौं। हामी जति आन्दोलन गर्छौं उति उति आफ्नै नोक्सानी गर्दै जान्छौं। हामी आन्दोलन गर्छौं तर आन्दोलनको मिठो फल त सिलगडीले पाउँदछ। कति चाँडो चाँडो सिलगडी बजारबाट नगर र महानगर बन्दै गइरहेको छ। हाम्रो दार्जिलिङ, कालिम्पोङ, खरसाङ आदिको आधारभूत सुविधाकै निम्ति पिरोलिनु परेको छ। सडक बनिनु, बिजुली आउनु, पानी आउनु त मामुली प्राथमिक आवश्यकीय वस्तु हुन्। यति पाउनु पनि मुस्किल पर्ने हाम्रो ठाउँ बनेको छ। हामी देशको मूलधारामा छौं के जस्तो पनि प्रतीत हुन्छ। हामी आफैं कुदन नसकेर कसैले हामीलाई कुदाइएको छ। हामी र्‍यासनिङ सोच्न सकेका छैनौं। कुन्नी के के छाया जस्तोले वाधा दिन्छ हामीलाई। यसै भ्रमको शिकारमा रातदिन कुदिरहेका छौं। लक्ष्य भेद्न कठिन परिरहेछ अनि कसैबाट त्यो भेद्ने गुरूमंत्र, यंत्र र तंत्र पाउन सकेका छैनौं। अझ स्पष्ट भनौं, हामी जनता हुन सकिरहेका छैनौं, जन्तु नै छौं। जन्तुदेखि जनता कहिले बन्ने ?

Add a Comment

Your email address will not be published. Required fields are marked *