गजल
|डोको नाम्लो आँसीसँग खेल्दै हौली मेरी आमा
भैँसी पाल्न घाँसको भारी ठेल्दै हौली मेरी आमा
कराए’की बाख्रा पाठा के दिने हो घाँस छैन
भन्दै पाखो बारी पनि मल्दै हौली मेरी आमा
कुँडो छैन जाँतो ढिकी , पनि गर्नै पर्ने होला
छोरा छोरी सम्झि दिन झेल्दै हौली मेरी आमा
खेतालाले छले होलान् खेत गोड्न बाँकि छ की
एक्लै बुढो ज्यान खेतमा पेल्दै हौली मेरी आमा
घरको धन्दा गोठ्को धन्दा भ्याइ नभ्याइ भयो होला
छिटो छिटो भातको गास निल्दै हौली मेरी आमा
भाँडा माज्दा कपाल कोर्दा सम्झिएर छोरा छोरी
यसरी नै दिन रात झेल्दै हौली मेरी आमा