लिखत
|
उपल्लो खेतमा छरिएका असंख्यमा म एउटा बीज
गोडमेल हुँदै गए
टुसाउदै पलाउँदै अनि फक्रिदै
झाङ्गिँदै म त परपर गएँछु
बेलाबखत जराले मुन्टालाई भनिरह्यो
“धेरै पर नजाउ है, फर्कने बाटो बिर्सेउला !
अलमलिएर बढदा कतै
कसैबाट निमोठिएलाउ
तिमी लुछिदा आखिर मलाई पनि त दुख्छ”
हेक्का लिएर फैलिदै गए
आफ्नै फराक देखि दङ्गदास रहे
‘अब अलिकति फैलिन्छु’
‘अब थोरै मात्र, अब केहि मात्र’
अचानक एक दिन,
चसक्क दुखेको कलेजोले एउटा खबर ल्यायो
“तिमी अब फर्कनु पर्छ रे ”
म हतार हतार चाँजोपाँजो मिलाउन थाले
कोपिलालाई भने
” लौ न छिटो आफ्नो गृहकार्य सिध्याउ अनि फक्रिएर देखाउ”
पुष्पलाई भने,
” उ हेर त तुलसीको मठ लिपपोत भइसके छ
अब म धमाधम उन्दै जान्छु तिमी बुनिदै जाउ है”
यति भनी नभ्याउँदै झमक्कै साँझ परेछ
उहि दुखेको कलेजो हुँदै हृदयले माथिको लिखत थमायो
” योग्य व्यक्तिको लागि रिक्त पदको आव्हान”
