कृति समीक्षा – बाउन्न कविताको समवेत स्वर : पर्यावरण बचाऊ !

विनाश नभई संरक्षणको चेत मानिसमा किञ्चित नआउँदो रहेछ । हाम्रा अवान्छित क्रियाकलापको नकारात्मक परिणामहरू देखापर्न थालेपछि बल्ल हामी सचेत हुन थालेका छौँ। र हामी यतिखेर वातावरण बचाऊ अभियानतर्फ उत्प्रेरित छौं । सन् १९७७ मा विश्वकै पहिलो अभियन्ता अफ्रिकी मुलुक केन्याकी वाङ्गारी मथाईले एक्लै त्यो अभियान शुरु गरेकी थिइन्, पछिल्लो समय निकै सक्रिय किशोरी ग्रेटा थुनबर्ग यही अभियान लिएर विश्व यात्रामा छिन् भने हामी पनि जुटिरहेका छौं त्यही अभियानमा । कोही अभियन्ताको रूपमा, कोही कवि कलाकारको रूपमा, कोही समीक्षक समालोचकको रूपमा, कोही अध्येताको रूपमा । म पनि यतिखेर यही अभियानमा पर्यावरणीय चेतका कवि कृष्ण बाउसेको कविताकृति ‘पर्याप्रेमको गुञ्जन’माथि केही बोल्दैछु ।

बाउन्न थान कविताको यस सङ्ग्रहमा विषय विविधताभित्र एउटै समवेत स्वर छ – पर्यावरण बचाऊ ! प्रकृतिका अनेक वस्तुमा चेतना तत्व भरेर मानवीय व्यवहारमाथि तिनले प्रश्न गरेका कविता कति संवेदनशील छन् ! फूलले त्यसरी नै प्रश्न गरेको छ । कोमल हृदयले, कवि हृदयले मात्र प्रकृतिको त्यो संवेदना सुन्न सक्छ; अन्य थोकको संवेदना, उसको पीडा, क्रन्दन महसूस गर्न सक्छ ।
प्रकृतिसँग कवि संवाद गर्नु हुन्छ । त्यो एकदम स्वभाविक, विश्वासनीय लाग्छ । साँच्चि नै रुखले कविसँग संवाद गरेको छ । ऊसँग कति धेरै दुखेसो छ । मानिसले आफूमाथि गरेको क्षतविक्षत, पीडा, कष्ट र हैरानी ऊ बताउँछ । कवितामा मात्र होइन यो वास्तविक कुरा हो । वैज्ञानिकहरूले रुग्ण विरुवा रोएको आवाज पत्ता लगाइसकेका छन् । उनीहरू पनि सहअस्तित्वमा बाँचेका हुन्छन् भन्ने कुरा विज्ञानले खोजिरहेको छ । चोटले, दर्दले उनीहरू पनि रुने गर्छन् जस्तो हामी रुने गर्छौँ ।
मलाई लाग्थ्यो कविता ज्यादा सरल भयो भने त्यो वस्त्रहीन देह हुनेछ, रहस्य–उत्सुकता नाङ्गिने छ । त्यस्तै ज्यादा दुरुह कविताको पनि के महत्व जब अर्थ सम्प्रेषण हुँदैन । तर त्यसो होइन बाउसेका कविता पढेपछि बोध हुन्छ सरलतामा पनि प्रभावक शक्ति हुँदो रहेछ । मलाई एउटा रुख काटेको देख्दा उसलाई दुख्यो, एउटा कमिला जानी जानी कुल्चिएँ भने अपराध बोध हुन्छ । यी कविताले ममा झनै संवेदना थपिदिए । मानिस जस्तै मानवेत्तर प्राणी तथा अन्य थोकलाई पनि दुःख, कष्ट हुन्छ भन्ने बोधले एउटा उचाइमा पुर्याएर छोड्यो ।
कहिल्यै उत्तर प्राप्त गर्न नसकेको मसँग एउटा प्रश्न छ जुन प्रश्न कविका कवितामा पनि रहेछ । दुःखको कुरा त के छ भने यो धर्ती, यो आकाश, यावत प्राकृतिक सम्पदा मानवको लागि मात्र कहाँ बनिएको हो र ? अन्य जीवात्माको बासस्थल पनि त यही हो नि । तर हामी होइन जस्तो गर्छौँ । अनि त्यो बोध हामीले गरेनौँ , प्रकृतिको पनि अस्तित्व छ । अनि फेरि अर्को बोध गरेनौँ हाम्रो अस्तिव प्रकृतिमै निर्भर छ । यो कुनै पनि हेक्का हामीले राख्दै राखेनौँ । अनि हेक्का राखेनौँ यी कुरा कति मूल्यवान् छन् । तर हामी त सित्तैं पाएको भन्ठानेर अवमूल्यन गर्छौँ । त्यसैले प्रकृतिप्रति कृतज्ञ हुन हामीलाई किञ्चित आएन । उता पश्चिमाहरू आज बल्ल पञ्चमहाभूतलाई जीवित अस्तित्वको रूपमा स्वीकार्न सक्ने भएका छन् । त्यसरी स्वीकार्न हामीलाई अझै कति शताब्दी लाग्ने हो । त्यसो पनि नभनौँ अहिले त्यही स्वीकारेर हामी यहाँ भेला भएका छौँ । बाउसेले पनि आफ्नो कवितामा त्यसलाई स्वीकार्नु भएको छ । यी कविताले केही हदसम्म त्यो बोध गराउने छन् । मैले बोध गर्न सकेँ । विश्वास छ यहाँहरूले पनि बोध गर्नु हुनेछ ।
सम्वभतः औसतमा हेर्दा धेरै भन्दा धेरै ठूलो सङ्ख्याले प्रकृतिको अस्तित्व छ भन्ने कुरा—जानकारीको रूपमा मात्र लिएको छ—यद्यपि बोधको चरणमा पुगेको छैन । यो निर्बोधको क्रम रोकिएन भने भरे मानिस स्वयं जीवाश्मीभूत हुने सम्भावित खतरा सम्मुखै छ । यसो हुँदा अब पर्यावरण बचाऊ अभियानका हजारौँ—विजय हितानहरू, पर्यावरणीय सिद्धान्तका हजारौँ समालोचक डा. गोविन्दराज भट्टराईहरू, हजारौँ कवि बाउसेहरू, हजारौ कथाकार डा. देवेनहरू, हजारौँ अध्येता डा. गीता त्रिपाठीहरूको उदय हुन आवश्यक छ । यो सबैको साझा दायित्व हो । यो सामूहिक चेतले सार्थक हुने अभियान हो । एकल प्रयासले होइन ।
पर्यावरण विषयका कविता लेख्छु, साहित्य गर्छु भनेर गरिने कुरा होइन, जब बोध हुन्छ, संवेदना तरङ्गित हुन्छ अनि मात्रै लेख्न सकिन्छ । हुन त लेखिन्छ नै सूचनाको आधारमा तथापि त्यो कृत्रिम हुन जान्छ संवेदना बेगरको । बाउसेका कवितामा त्यो कृत्रिमता छैन ।
पर्याप्रेमको गुञ्जनमा प्रकृतिले कविसँग सुरक्षाको याचना गरेकी छन् । रक्षार्थ, हितार्थ अपिल गरेकी छन् । हितार्थ त के भनौँ र उनैको कोखमा हामी निर्भर छौँ । कविको सूक्ष्म चेतनाले, संवेदनाले त्यो टड्कारै सुनेको छ । त्यही आवाजले कविताको स्वरूप लिएको छ । कथित विकासको जहर नपिलाऊ धराले त्यही भनेकी छन्, मलाई मजस्तै हुन देऊ, नबिथोल भनेकी छन् ।
अर्को ठाउँमा वातावरणमाथिको चरम अन्यायले दुखेको कवि मन अब त्यसो गर्दिनँ—संकल्प गर्छ । उनको आदर गर्छु भन्छ । उनको सत्कार नै मानव जातिको हित मार्ग हो भन्ने कविले बुझेका छन् ।
वास्तवमा मानिस ‘अघोषित आतङ्कारी’ हो । डरलाग्दो आतङ्कारी—सृष्टिमाथि नै धावा बोल्ने, चराचरको अस्तित्वलाई नदेख्ने, नस्वीकार्ने ऊ स्वरूपको मात्रै मानव हो । मानवत्व उसँग छैन । श्रेष्ठता उसँग छैन । शब्दान्तरमा कविले पनि यही कुराको आवृत्ति गरेका छन् ।
मानिसले प्रायः भोग्नु परेका विपदहरू ऊ आफैँले सिर्जना गर्दै आएको छ । त्यसबाट उन्मुक्त हुन प्रथमतः प्रकृतितर्फ फर्किने चेत चाहिन्छ । हाम्रो अभियान त्यही रहेको छ । उनको महानतालाई बोध गरौँ । उनको सत्तालाई इज्जत गरौँ । प्रतिष्ठित दृष्टिले हेरौँ । आफू बचौँ र अरूलाई पनि बचाऔँ ।
पछिल्लो समय विकासको नाउँमा प्रकृतिमाथि ठूलो क्षतविक्षत हुँदै आएको छ । त्यस कुरालाई पनि मनन् गरौँ । दूरगामी तथा दिगो विकास के हो त्यो बुझौँ । हाम्रो विकास यस्तो होस् जसले पर्यावरणलाई घात नगरोस्, हाम्रो समृद्धि त्यस्तो होस् वातावरण मैत्री हुन सकोस्, त्यस्तो सभ्यता होस् जहाँ सम्पूर्ण जीव–जीवात्मामा सहअस्तित्वको भाव राख्न सकौँ । सद्व्यवहार गर्न जानौँ । समभाव राख्न सिकौँ ।
हामीलाई प्रकृतिको, धर्तीको चिन्ता नभए नहोस् त्यही सही तर भोलिका हाम्रा सन्ततिलाई ढुक्कले यस धरामा सुरक्षित रहने गरी—बासको सुनिश्चित गर्नकै निम्ति—भने पनि केही त सोचौँ । विविध विषयका माध्यबाट बाउसेले यिनै यस्तै कुरा अभिव्यक्त गर्नु भएको छ ।
अब हामी सचेत हुन जरुरी छ—पर्यावरणको विद्यमानतालाई नस्वीकार्दा मानिसको उपस्थिति नै विलय हुने निश्चित छ—कविले यस्तो डर लाग्दो भविष्यवाणी गर्नु भएको छ । यी कविताहरू हामीले दैनन्दिन देखेका सुनेका तर अनुभूत नगरेका विषयमा छन् । जुनै चेतना स्तरकाले पनि बोध गर्न सक्ने तर गम्भीर छन् ।
कहिले धर्तीलाई त कहिले सूर्यलाई सम्बोधन गर्दै कविज्यू प्रकृति नै ईश्वर भएको निष्कर्ष दिनु हुन्छ । अदृश्य पुकार्दै आइएको ईश्वर कहीँ अस्तित्वमा छन् भने ती उनै प्रकृति हुन् । अब ईश्वरको भजन गर्न आवश्यक छैन । उनको महत्व बोध गरेर कृतज्ञ हुन जाने पुग्छ । उनलाई भगवान् जसरी पुज्नु पर्दैन । उनको विराटतामा कुनै धक्का नदिए पुग्छ । असन्तुलन हुनबाट जोगाए पुग्छ । त्यस्तै उनका अनन्य सन्तानमा बन्धुत्व भाव राख्न सके हुन्छ । त्यसो गर्दा उनी प्रसन्न हुनेछिन् । हाम्रो हित हुने छ । उसै गरी प्रकृतिको आदिम लयले स्वर्गलाई धरामा झार्ने छ । हो, उनले यहीँ स्वर्गलाई प्रस्थापित गर्नेछिन् ।
पर्याप्रेमको गुञ्जनमा कतिपय शीर्षकले धर्तीको, स्वयं मानिसको—सम्भावित विनाशको भविष्यवाणी गरेका छन् । विपत्तिका, विनाशका ती सूचक भयभीत गर्ने खालका—डरलाग्दा छन् । बादलको मृत्यु भएको क्षण, ज्वरो बढेको छ धर्तीको आङमा, सामूहिक चिहानको त्रास शीर्षक त्यस्तै खतराका सङ्केत हुन् । मलाई ती कवितामा प्रविष्ट हुन कठिन अनुभव भएको थियो । तर शीर्षकले जस्तो कविताले धन्न तर्साएनन् । अब यी कविता कवि हृदयका वाणी हुन् भनेर निर्धक्क बस्ने समय छैन । बेलैमा सचेत भएनौँ भने कविताका यी सम्भावित खतरा भोलि वास्तविक हुन पनि सक्छन् ।
प्रकृतिको गतिशिलता त्यो उसको स्वार्थमा निहित गति होइन । सूर्य कहिल्यै आफ्नो लागि उदाएको छैन । वायु आफ्नो लागि, वर्षा आफ्नो लागि वर्षिएको छैन । ती सबै हाम्रै अस्तित्व बचाऊमा अक्षुण्ण गतिशील छन् । यहीँनेर मलाई बडो दुःख लाग्छ किन हामी यो कुरा बुझ्दैनौँ । जुन कुरा बाउसेले यहाँ बुझाउँदै हुनुहुन्छ । सुधो अर्थका यी कवितामा कहीँ कतै किञ्चित व्यङ्ग्यको राग पनि आउन खोज्छः– जस्तो
कालो धुवाँ उडाउँदै
सिहंदरबार छिर्दै छन् मन्त्री
फूल र अबिरले भरिएको
प्लास्टिकको झोला बाग्मतीमा सेलाएर
सफाइ दिवसको नेतृत्व गरिरहेकी छन् मन्त्राणी (प्रदूषणको झाँकी पृ—१०९) ।
कवि बाउसेका कवितामा दुर्व्यवहार सहँदा सहँदा असह्य भएर अब हावाले विद्रोह गर्न थालेको छ । आगामी दिनमा पृथ्वी, जल, वायु, तेज सबै सबै एउटै युद्ध मोर्चामा सामेल हुने छन् ।
अन्ततः कविले गुमेको पर्यावरणको सन्तुलन, विनाश, ध्वंस र विकटतालाई आखिरी कवितामा सल्ट्याएका छन् । गुमेको स्वर्गलाई पुनः निर्माण गरेर धरालाई सुन्दर बनाएका छन् । जहाँ मानिसले यावत पशुपक्षी जीवजन्तुमा मित्रवत्, सदाशयी भाव राखेको छ । समदृष्टि–मैत्रीपूर्ण दृष्टिले हेर्न अभ्यस्त भएको छ । प्रकृतिलाई पुज्न थालेको छ ।
आफूले कविता लेख्नुको उद्देश्य अर्थात् वातावरण बचाऊ अभियान सफल भएको देखाएर कवितालाई सकारात्मकतामा टुङ्ग्याइएको छ । कवि मनको अघिको पिरलो, गुनासो, असन्तुष्टि अब गायव भएको छ अर्थात् कविता यसरी लक्ष्य प्राप्तिमा पुग्छः–
प्रदूषणले फैलाएको आतङ्कको शमन गरेर
खुसियाली संसारको रचनामा
जुटेको छ आजको सचेत मान्छे ।
(हरियाली संसारको पुनर्निर्माण (पृ–१७२)
– २६ जेठ २०८०

समीक्षक अनीता पन्थी र प्रकाशक नेपाली टाइम्सलाई धेरै धेरै धन्यवाद !