तिम्रो दृष्टि र म !

के नाम दिएर बोलाउँछौ मलाई
म तिम्रो नजिक उभिएर
सुनी रहेको छु सल्लो सुसाएजस्तो
सुसाई रहेको तिम्रो छातीको आवाज
र देखि रहेछु
भौतारिएर यो भिडमा
मैलेजस्तै खोज्दै गरेको
तिमीले पनि आफ्नो परिचय
र पनि भनिरहेछौ
फरक छौं हामी !

तिमीजस्तै
म पनि जन्मिएको हुँ
आमाको कोखबाट
आमाबाट नै सिकेको हुँ
धर्तिमा हिड्न
आमालाई आमा भनेर बोलाउन
ठूला मानिसलाई आदर गर्न र
उनैबाट सिकेको हुँ
मानिसलाई प्रेम गर्न ।

हामीले टेकेको धर्ती एउटै
हामीले ओढेको आकाश एउटै
तापेको घाम एउटै
हेरेको जून एउटै
तिम्रो बारीमा फुलेका
बेली चमेली र सयपत्रीको
रङ् एउटै
बास्ना एउटै
कसरी फरक भयौं
कसरी अलग भयौ
र कसरी हेर्दैछौ मलाई ?

तिम्रैजस्तो मुटु छ मेरो
जस्ले मलाई जीवित राखेको छ
गोडाहरु जस्को सहाराले
तिमीलाई भेट्न आउँछु
र सोध्छु तिम्रो खबर
तिम्राजस्तै आँखा छन्
र छन् यी हातहरू
जो बारम्बार उठ्ने गर्छन्
अभिवादन गर्न
आफूले आदर गरेका
मेरो समयका सबभन्दा
आदरणीय मान्छेहरूलाई
र पनि भनिरहेका छौं
फरक छौं हामी ।

हामी फरक भए
कहाँ बेरा लाएर राखेका छौं
देखाऊ फरक आकाश
देखाऊ फरक बतास
देखाऊ फरक आकाशका तारा
र फरक देखाऊ शरिरको स्वरुप ।

जसरी एउटै छ धर्ती
एउटै छ तिर्खाएको बेला प्युने पानी
एउटै छ धर्मग्रन्थमा पढेको
स्वर्ग र नर्क
तिनैमा छन् हामीलाई तर्साउन
वर्णन गरिएका राक्षसका अनुहार
र मुक्ती दिने भनिएको इश्वरको
अद्भुत चमत्कार
एउटै छ अन्तिम नियती
एउटै छ पोल्ने आगो र
एकै प्रकारले भष्म हुन्छौं हामी
र पनि भनिरहेछौं
फरक छौं हामी ।

कृपया एकपटक
तिमीले लगाएको
चस्मा खोलेर हेर ,
कतै तिमीजस्तै देखिन्छु कि म पनि ?

Add a Comment

Your email address will not be published. Required fields are marked *