नेजा र समुदायबीच ड्यालसमा अन्तरकृया

अमेरिकामा रहेका नेपाली समुदायले सञ्चारमाध्यमबाट तथ्यपूर्ण र समाजका लागि उपयोगी सामग्रीको अपेक्षा राखेका छन् ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को नवनिर्वाचित कार्यसमितिले जुलाई २९ तारिख आइतबार आयोजना गरेको अन्तरकृया तथा परिचयात्मक कार्यक्रममा स्थानीय नेपाली समुदायका अग्रजहरुले प्रवासमा नेपाली पत्रकारिता कठिन भएको उल्लेख गर्दै यसमा संलग्न सबैप्रति आभार व्यक्त गरेका छन् । नेजामा गत साता नयाँ पदाधिकारी चयन भएपछि ड्यालसमा पहिलो पटक आयोजित कार्यक्रममा स्थानीय संघसंस्थाका नेतृत्वकर्ताहरुको उल्लेख्य सहभागिता थियो । नेजाद्धारा प्रेसित विज्ञप्तिमा उल्लेख छ ।

‘अमेरिकामा नेपाली पत्रकारिता निकै कठिन कार्य हो, तरपनि कठिनाईका बाबजुद जति साथीहरु यसमा संलग्न हुनुहुन्छ उहाँहरु धन्यवादको पात्र हुनुहुन्छ,’ नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापाले भने । थापाले तथ्यलाई तोडमोड गरेर समाचार प्रकाशित गर्दा विश्वसनीयता गुम्ने भएकोले त्यसतर्फ सचेत हुन पनि पत्रकारहरुलाई सुझाव दिए ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका सभापति गोविन्द आचार्यले अमेरिकाका नेपाली सञ्चारकर्मीहरुले पेशागत हकहित भन्दा पनि दुई देशबीच सम्बन्ध सेतुका रुपमा काम गर्न आव्हान गरे । ‘नेजा अमेरिकामा नेपाल पत्रकार महासंघको आधिकारिक संस्था हो, नेजासँगको सम्बन्ध सदा सुमधुर छ र रहिरहनेछ,’ आचार्यले भने ।

नेजालाई नेपालमा कार्यरत पत्रकारहरुको निम्ति पुरस्कारका साथै नीतिगत रुपमा पनि सहकार्य गरेर अघि बढ्न सभापति आचार्यले आव्हान गरे ।

उनले विदेशमा बस्ने नेपालीहरुले शरिर यहाँ भएपनि मन र मुटुमा नेपाललाई राखेको आफूले महसुस गरेको उल्लेख गर्दै कसैले विदेशमा रहेका नेपालीलाई आलोचना गर्छ भने त्यो बुझ्दै नबुझि गरेको ठहरिने बताए ।

कार्यक्रममा एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल साहले नेजासँग हातेमालो गर्दै अघि बढ्न आतुर रहेको उल्लेख गर्दै नयाँ नेतृत्वबाट एनआरएनले अमेरिकामा रहेका नेपाली समुदायको हितका लागि धेरै अपेक्षा राखिएको बताए ।

त्यस अवसरमा नेजाका निवर्तमान अध्यक्ष भोला आचार्यले टेक्सस नेपाली समुदायको सबैभन्दा आकर्षणको क्षेत्र भएकोले समाचारको हिसाबले पनि त्यतिनै महत्वपूर्ण स्थानका रुपमा चिनिएको उल्लेख गरे ।

कार्यक्रमको सभापतित्व गरिरहेका नेजाका उपाध्यक्ष विकासराज न्यौपानेले आउँदो दुई वर्षे कार्यकालमा नेजालाई पत्रकारको मात्र संस्था हो भन्ने परिचयबाट माथि उकालेर यो पनि अमेरिकाको नेपाली समुदायको हित हेर्ने एउटा सामुदायिक संस्था हो भनेर परिचय दिनेतर्फ नयाँ टीमले योजना बनाएको उल्लेख गरे । त्यसै अनुरुप पहिलो सामुदायिक अन्तरकृया ड्यालसबाट सुरु गरिएको उनले जानकारी दिए ।

कार्यक्रमको सञ्चालन नेजाका सचिव सुरज भण्डारीले गरेका थिए । कार्यक्रममा क्षेत्रीय संयोजक रामचन्द्र भट्टले स्वागत मन्तव्य व्यक्त गर्दै अमेरिकामा नेपाली सञ्चारकर्मीहरुले मिडियाको मार्फत सामुदायिक सेवा गरिरहेको उल्लेख गरे ।
कार्यक्रममा गत साता सियाटलमा भएको नेजाको छैठौं अधिवेशनको क्रममा प्रदान गरिएको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ महासंघका सभापति आचार्यबाट ड्यालसका पुराना पत्रकार सुरेशचन्द्र पोखरेललाई हस्तान्तरण गरियो । पोखरेल सियाटलमा अनुपस्थित भएका कारण आइतबार हस्तान्तरण गरिएको हो ।

नेजामा सुरुबाटै आवद्ध पोखरेलले नेपालमा पनि झण्डै डेढ दशकसम्म पत्रकारिता गरेका थिए । त्यसैको सम्मानस्वरुप अवार्ड प्रदान गरिएको नेजाले जनाएको छ ।

कार्यक्रममा ड्यालस र वरिपरिबाट थुप्रै नेपाली सामुदायिक संघसंस्थाका नेतृत्वकर्ताहरुको सहभागिता थियो । त्यस अवसरमा एनआरएन अमेरिकाका सचिव होमनाथ गौतम, बोर्ड अफ डाइरेक्टरहरु डा। अर्जुन बञ्जाडे, कृष्ण लामिछाने, अमृत ९सुरेश० कट्टेल, एनआरएन टेक्ससका अध्यक्ष भानु खरेल, एनआरएन अमेरिकाका पूर्ब उपाध्यक्ष राम सी पोखरेल, प्रवासी मञ्चकी उपाध्यक्ष यमुना भट्टराई, जनसम्पर्क समिति ड्यालस फोर्टवर्थका सभापति ज्ञानेन्द्र कार्की, सचिव दिनेश शर्मा, युएनएका संस्थापक पासाङ लामा, एएनएका महासचिव विजयराज भट्टराई, एनआरएनका युवा संयोजक स्वराज खाती, प्रवक्ता बाल जोशी, ड्यालस एभरेष्ट लायन्स क्लबका पूर्ब अध्यक्षहरु शिव काफ्ले र केशव लामिछाने, नर्थ ड्यालस नेपाली समाजका बादल भुजेल, नेप्लिज अमेरिकन चेम्बरका उपाध्यक्ष सुरज पौडेल, पत्रकार सुशील चौधरी लगायतको सकृय सहभागिता थियो ।

त्यस अवसरमा पत्रकार महासंघका सभापति आचार्यले नेपाली समुदायका तर्फबाट नेपाली मिडियाका बिभिन्न पक्षका बारेमा राखिएको जिज्ञासाको जवाफ पनि दिएको समाचार नेजाद्धारा प्रेसित विज्ञप्तिमा उल्लेख छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *