वीपीको उपन्यासका नारी पात्रमा सङ्गति र असङ्गति

(अमृता लम्साल)

साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित उपन्यासहरू धेरै वर्ष अघि पढिएको थियो । पढ्नकै लागि मात्र या भनौं समय बिताउन मात्र । त्यतिबेला न त आफूमा अलिकति विश्लेषण गरेर पढ्ने क्षमता थियो, न त लेखकका विचारहरूलाई आत्मसात् गर्ने वा तार्किक हिसाबले मनन गर्न सक्ने मस्तिष्क नै । आज धेरै वर्षको अन्तरालमा उनका छवटै उपन्यास एउटा विशेष उद्देश्यले पढिसिध्याइयो । त्यो उद्देश्य थियो, उनका औपन्यासिक महिला पात्रहरूप्रतिको उनको दृष्टिकोण ।

साहित्यकार कोइरालालाई नेपाली साहित्यको इतिहासमा अराजकतावादी तथा फ्रायडवादी मनोवैज्ञानिकका रूपमा स्थापित गरिएको छ तर उनले महिलाका बारेमा वा महिलालाई केन्द्रीय पात्र बनाएर लेखेका विषयहरूमा विरलै मात्र छलफल चलाइएको देखिन्छ । खासमा भन्ने हो भने उनका उपन्यासहरूमा महिलासँग सम्बन्धित विषयहरू नै उपन्यासका विशेष मुद्दा हुन् भन्दा फरक नपर्ला । उनको प्रत्येक उपन्यास विशेषतः नारी पात्रहरूकै वरिपरि घुमेको छ । एकातर्फ उनले ती नारी पात्रहरूलाई सशक्त तथा आफ्नो सर्तमा बाँच्न चाहने पात्रहरूका रूपमा स्थापित गरेका छन् भने अर्कातर्फ ती पात्रहरूलाई परम्परावादी समाजको कोर्रा बर्साउन पनि छाडेका छैनन् । यसका बाबजुद ती नारी पात्रहरूको तानाबाना उनीहरूको ‘यौन जीवन’ भित्र समेटिएको छ ।

उनका कृतिहरूमा यौनका विषयहरू नछोइएको कमै मात्र होला । उदाहरणका लागि, उनको उपन्यास ‘हिटलर र यहुदी’, जुन जर्मन तानाशाह हिटलरले लाखौं निर्दोष यहुदीहरूलाई ग्यास च्याम्बरमा थुनेर मारेको घटनाका आधारमा लेखिएको छ, त्यसमा समेत त्यसकी महिला पात्र ‘रेवा’ तथा अन्य महिलाहरू जसले हिटलरका सैनिकहरूलाई यौनसेवा पुयाएका थिए, ती महिलाहरूको सेरोफेरोमा ‘उदार–यौन’ को दृष्टिकोण लिएर देखा परेका छन् । उनका महिला पात्रहरूका बारेमा केलाउनुभन्दा अगाडि उनी महिलाहरूका बारेमा किन त्यस्तो उदार विचार राख्दा रहेछन् भनेर पहिल्याउन फेरि उनको ‘आत्मवृत्तान्त’ मा उल्लिखित केही सन्दर्भ कोट्याउनु सान्दर्भिक ठान्दछु ।

उनले आफ्नो ‘आत्मवृत्तान्त’ मा विवाह तथा यौनबारे यस्तो धारणा बनाएका छन्, “विवाह आपसी समझदारीको कुरा हो, यौनको कुरा होइन । त्यसो हुनाले, एकदम स्वतन्त्रता हुनुपर्छ लोग्नेमानिस र स्वास्नीमानिसहरूलाई । स्वतन्त्र सम्पर्क हुन दिनुपर्छ ।” उनले आफ्नो सोच यस्तो बनाउनुको कारण चाहिँ सोसलिस्ट पार्टीको नेता र एकपटक फ्रान्सको प्रधानमन्त्री भइसकेको व्यक्तित्व रबर्ट कामुको Marriage (विवाह) नामक किताब पढेर रहेछ । उनले सोही पुस्तकका बारेमा भनेका छन्, “ऊ भन्दछ, विवाह र मानवीय यौन–प्रवृत्ति अन्तरविरोधी कुरा हुन् । मान्छेको यौन–प्रवृत्ति विषम यौन (Heterogeneous) छ र विवाहको प्रवृत्ति एक पत्नीत्वको हो । त्यसो हुनाले मानिसको यौन–प्रवृत्ति र विवाहको संस्था परस्पर विरोधी कुरा हुन् । उसले सल्लाह के दिएको छ भने विषम यौन समापन (Exhaust) गर्नुपर्छ र विवाहपछि गर्नुपर्छ ।” हुन त कोइरालाले उक्त अभिव्यक्ति आफ्नो विवाहको सन्दर्भलाई केलाउँदै ‘आत्मवृत्तान्त’ मा वर्णन गरेका हुन् । उनको ‘स्वतन्त्र यौन’को सोच विशेष गरी पुरुषहरूका बारेमा उनका सबैजसो उपन्यास– ‘तीन घुम्ती’, ‘नरेन्द्र दाइ’, ‘बाबु, आमा र छोरा’, ‘मोदीआइन’, ‘सुम्निमा’ र ‘हिटलर र यहुदी’– मा पाइन्छ । त्यसबाहेक, ‘आत्मवृत्तान्त’ मा उनले आफू परिवारका महिला सदस्यहरूबाट धेरै नै प्रभावित भएको तथ्य बताएका छन् । त्यसरी उनको जीवनलाई प्रभावित पार्ने महिलाहरूमा उनकी माहिली आमा, जसको विचारअनुसार लोग्नेसँग स्वेच्छाले नबसेमा, त्यो सम्बन्ध व्यभिचार ठहरिन्छ भन्ने भनाइ । उनका माहिला बाबुकी छोरी, जसले लोग्नेलाई ‘नामर्द’ को संज्ञा दिएर केही समय छाडेर हिँडेको; उनकी आमा जसले उनलाई थुन्दा मोहनशमशेरसँग कत्ति पनि नडराई आफ्नो भनाइ राख्न सकेको आदि–आदि । यसै भएर उनले प्रस्ट रूपमा भनेका छन्, “…..यस्तो वातावरणमा मेरो मनोदशामा एउटा आधुनिकताको ख्याल पहिलेदेखि नै थियो, परिवारका घटनाहरूबाट र तिनका नारी–चरित्रहरूबाट, जसलाई दुश्चरित्र भनिन्छ, समाजको रूढीगत धारणाबाट, ती नारीहरूसँग मेरो साक्षात्कार हुँदा कस्तो प्रभाव ममाथि परेको छ, त्यो मैले भन्न खोजेको हुँ । मेरी साहिँली आमा– पोइल गएकी माहिली आमा र अज्ञात परिस्थितिमा बसेकी मेरी साहिँली दिदीलाई हेर्दा मेरो मापदण्ड नै अर्को भयो— कसलाई दुश्चरित्र भन्ने र नभन्ने बारेमा ।” योभन्दा अगाडि नै उनले यो पनि भनेका छन् “ …….ती सब घटनाले स्वास्नी मानिसहरूका बारेमा मेरो पछि–पछि धारणा बनेको छ ।” सायद, यिनै कारणहरूले गर्दा उनका उपन्यासहरूमा महिलाहरूप्रति उनको दृष्टिकोण, तत्कालीन समाजको स्थितिभन्दा धेरै अगाडि पुगेको पाइन्छ ।

त्यति हुँदाहुँदै पनि अर्कातर्फ, महिलाले आफ्नो जीवनको निर्णय लिएर अगाडि बढ्दा उनीहरूको जीवन असफल भएको सन्देशबाट उपन्यासका महिला पात्रहरू मुक्त भएका भने छैनन् । त्यसैले त्यो सबै पढ्दा, कोइराला आफैँ पनि आधुनिक विचारधाराका हुँदाहुँदै पनि कतै समाजका बन्धनमा बाँधिनु नै राम्रो हो भन्ने सन्देश दिन त चाहँदैन थिए ? प्रश्न यसरी पनि उठाउन सकिन्छ ।

सन्दर्भ उनको उपन्यास ‘तीन घुम्ती’ बाटै गरौं । उक्त उपन्यासमा प्रमुख भूमिका निर्वाह गर्ने महिला पात्रको नाम इन्द्रमायाको वरिपरि उक्त उपन्यास घुमेको छ । विक्रम संवत् २०२५ मा प्रकाशित यस उपन्यासकी पात्रामाथि बुनिएको कथा हालको समाजले पचाउन सक्नेभन्दा पनि धेरै अगाडि गएर वर्णन गरिएको छ । कथामा इन्द्रमायाको माध्यमबाट कोइरालाले महिलाले आफ्नो हिसाबले जीवनयापन गर्न पाउनुपर्ने अधिकारको पक्षपोषण गरेका छन् ।

त्यसको उदाहरण सोह्र वर्षे इन्द्रमायाले बाबुआमाले आफ्नो विवाहको कुरा चलाउँदा सहपाठी युवकलाई मन पराएर बाबुआमाको इच्छाविपरीत भागेर ऊसँग जीवन बिताउने निर्णय गर्नु । त्यसमा पनि बाबुआमाजस्ता जीवनका सबैभन्दा महत्वपूर्ण नातासँग सम्बन्ध नै तोडेर अन्तर्जातीय विवाहको पक्षमा उतिबेलाको समाजमा एउटी युवतीलाई उभ्याएर कथा कथ्नु कम साहसिलो कुरो होइन ।
उपन्यासकार यस अर्थमा इन्द्रमायामार्फत समाजमा सन्देश फैलाउँदै लेख्छन्, “इन्द्रमाया जतिसुकै सुन्दर तथा चञ्चल बालिका भए पनि उसमा चिन्तनशीलताको अभाव थिएन । उसका अगाडि उभिएको प्रश्न थियो— एकातिर बाबुआमा र त्यो समाज, जसको एउटा सदस्या भएर ऊ यति ठूली भई, जुन समाजको भूमिमा उसका सारा सम्बन्धका जरा फैलिएका थिए र अर्कातिर एउटा छुट्टो व्यक्ति पीताम्बर (उपन्यासका पहिलो नायक)— समाजभन्दा बाहिरको प्राणी ।” यो स्थिति कति कठिन थियो इन्द्रमायाका लागि भन्ने कुरो अथ्र्याउन, कोइराला एउटै वाक्यमा यसलाई चित्रित गर्छन्, “कसलाई रोज्ने इन्द्रमायाले ? एक्लो कृष्णलाई कि अक्षौहिणी सेनालाई ?” तर आफ्नो नारी पात्रलाई समाजका रीतिको विद्रोहमा उभ्याउँदै इन्द्रमाया र पीताम्बरको गन्धर्व विवाहको पक्षमा आफूलाई अगाडि सार्छन् । यो त पहिलो घुम्तीको कुरो भयो ।

दोस्रो घुम्तीमा पनि उपन्यासकार समाजका थितिलाई लत्याउँदै इन्द्रमायालाई अगाडि बढाउँछन् । यसको तानाबाना बुन्न उनी पीताम्बरको एउटा साथीलाई अर्को पात्रका रूपमा खडा गरेर उक्त व्यक्तिमाथि इन्द्रमायाको सुषुप्त प्रेमभावनाको झल्को दिन्छन् । रमेश नामक उक्त युवकमाथि इन्द्रमायाको विशेष अनुराग रहेको मनन गराएर र त्यसलाई पीताम्बरले ईष्र्याको बीजारोपण गर्दै कथा अगाडि बढाइएको छ । त्यो कुरालाई इन्द्रमायाको मनबाटै स्वीकार गराउने निधो गर्दै कोइराला अगाडि लेख्छन्, “इन्द्रमायाले त्यस दिन एकदम तटस्थ भएर निर्णय गरेकी थिई कि उसको हृदय केही हदसम्म खोटिएको छ; ……… हे भगवान् ! वाचा र कर्मणाले म व्रतमा एकनिष्ठ छु; केवल मनसाको एउटा क्षुद्र कुना मात्र धूमिल भएको छ ।
………उसले गर्दा म स्वयम् आफूलाई दण्डित भइरहेकी पाउँछु । दण्ड बेहोरेपछि दोषमुक्त हुनुपर्ने; मनसाको निरन्तरको अपराधलाई निरन्तरको दण्ड सहेर म अकलुषित भइरहेकी छु ।” जबकि, यो स्थितिसम्म इन्द्रमायाको रमेशसँग शारीरिक सम्पर्क स्थापित भइसकेको हुँदैन । त्यसको उदाहरण इन्द्रमायाकै मुखबाट ओकल्याउँदै लेख्छन्, “भन्छन् खोट लागेको बलिलाई देवीले ग्रहण गर्दिनन् रे ।”

यसरी उपन्यासकार इन्द्रमायामार्फत समाजमा महिलाको छवि कस्तो हुनुपर्छ भन्ने उपदेश दिन चुक्दैनन् । उनी लेख्छन्, “त के किञ्चित नै भए पनि भावनाको नदेखिने सुदूर सीमामा कतैबाट सानो प्रथमाक्रमण भएको बुझ्दाबुझ्दै किञ्चित नै भए पनि खोट लागेको समर्पण पूर्ण हुन्छ र ? के त्यसको सिद्धिमा कतै पूर्णता आउन सक्ला र ?” फेरि उनै उपन्यासकार इन्द्रमायाकै मुखबाट मनले नबिटुलिएको कारणले परपुरुषसँग एउटी विवाहित नारीले शारीरिक सम्पर्कबाट बच्चा जन्माउनुलाई पनि सामाजिक अपराध नभई केवल ‘नियतिले कोरेको बाटोमा हिँडेको तर्क प्रस्तुत गर्छन् । उनको विचारमा सामाजिक बन्धनमा बाँधिएकी नारी ‘भाग्यमानी’ हुन्छे, तर अर्कातर्फ पुरुषका बारेमा ‘बहुपत्नी’ लाई पुरुषको अधिकारको क्षेत्रभित्रकै विषय ठान्छन् । यसरी जताबाट भए पनि आधुनिक विचारधाराले अगाडि बढेकी स्त्रीको जीवन सरल नहुने अप्रत्यक्ष सन्देश उपन्यासभित्र जताततै प्रवाहित भएको पाइन्छ ।


त्यसबाहेक, महिला जतिसुकै पढेलेखेकी भए पनि वा उनमा राजनीतिक चेतना ओतप्रोत भए पनि उनीहरूको काम पुरुषको खातिरदारी वा हेरचाह गर्नु मात्रै हो भन्ने आशय उपन्यासमा झल्किएको पाइन्छ । यसै परिप्रेक्ष्यमा पीताम्बरका राजनीतिक सहयात्रीहरूले इन्द्रमायालाई गरेको प्रश्न, “दिदी ! तपाईँलाई व्यावहारिक राजनीतिका कुरा के थाहा छ र ? तानाशाहले भयलाई मात्र चिनेको हुन्छ ।” भनेर हियाउने प्रश्नको जवाफमा इन्द्रमायाको प्रतिप्रश्न, “जनताले भयलाई चिनेको छैन र ? तानाशाहले हामी–तिमीभन्दा धेरै, कता हो कता धेरै भय उत्पन्न गराउने सामथ्र्य राख्दैन र ?” ले इन्द्रमायामा राजनीतिक चेतनाको कमी थियो भन्न मिल्दैन तर अल्पमतमा परेकै कारण इन्द्रमायाहरू जस्ताको आवाज त्यसै बिलाएर गएको यथार्थ पनि उपन्यासले देखाएको छ ।
तीन घुम्ती उपन्यासले नारीको आधुनिक विचारधाराको पक्षपोषण धेरै मात्रामा गरेको छ । एक ठाउँमा इन्द्रमायाको मुखबाट उपन्यासकार यो बकाउन पनि चुक्तैनन्, “जीवनलाई धान्नका लागि पनि, जसमा ‘स्व’ को कुनै न कुनै अंशसँग नै युद्ध घोषणा गर्नुपर्छ । …. त्यसकारण त्यो पनि विदेशी तत्व नै हो भन्ने कुरा माने पनि हृदयमा जमिसकेपछि त्यो सामाजिक आस्था कुनै न कुनै अंशमा अद्भुत शक्तिसम्पन्न भएर प्रतिद्वन्द्विता खडा हुन्छ । आंशिक रूपमा भए पनि यस प्रकारको निर्णय आफ्नै विरुद्ध उठाएको कदमजस्तै हो; केही हदसम्म आफैँसँग लड्न उद्यत् हुनु हो यस्तो निर्णय । सामाजिक नियमका विरुद्ध उभिनुभन्दा कता धेरै दुरुह हुँदो रहेछ आफ्नो आस्थाका विरुद्ध उभिनु ।” यति भनाउनुको अर्थ, इन्द्रमायाले समाजको रीत नाघेर परपुरुषको बच्चा जन्माएको आफ्नो निर्णयको मनमनै वकालत गर्नु थियो ।

यसरी कोइरालाले महिलाका बारेमा लेख्दा तत्कालीन समाजभन्दा धेरै अगाडि गएर आफ्ना विचार अगाडि सारेको देखिन्छ । उनले इन्द्रमायाले परपुरुषबाट जन्माएको सन्तानलाई ‘आफ्नो गर्भको गौरव’ का रूपमा परिभाषित गरेर आफ्नी छोरीलाई पीताम्बरले हेय दृष्टिले व्यवहार गर्दा छोरीको पक्षमा उभिएको र सोही कारणले पीताम्बरलाई समेत त्यागेको देखाइएको छ । यस अर्थमा यो साहित्य त्यो समाजको ऐना भनेर पक्कै भन्न नमिल्ला ! किनकि, तत्कालीन समाजमा आफ्नो अधिकारका लागि खुला रूपमा सामाजिक बन्धनसँग लड्ने हिम्मत भएका महिलाहरू कति थिए होलान् ? त्यसैले पनि उपन्यासकारभित्र कतै न कतै ‘महिलावादी’ सोच थियो भन्दा अत्युक्ति नठहर्ला !

उपन्यासको तेस्रो घुम्ती त झन् महिलाकै पक्षमा मात्रै उभिएको छ । आफ्नो जीवनको तेस्रो मोडमा आएर इन्द्रमायाले नारी अस्तित्वको ‘प्रिय तत्व’ लाई चटक्कै त्यागेर ‘माता तत्व’ मा प्रवेश गरेकी मात्रै होइन, त्यसलाई पूर्ण रूपमा सफल पनि बनाएकी छ । यसरी उपन्यासकारले तीन घुम्ती उपन्यास टुङ्ग्याएका छन् । यी सबैका बाबजुद, उनले इन्द्रमायाको व्यक्तिगत जीवन भने एक हिसाबले असफल नै देखाउन खोजेको हो कि ? भन्ने भ्रमबाट मुक्त हुन गाह्रै पर्छ ।

विक्रम संवत २०२७ मा प्रकाशित कोइरालाको अर्को उपन्यास ‘नरेन्द्र दाइ’ को प्रमुख पात्र नरेन्द्र दाइ भए पनि उपन्यासको केन्द्रमा महिलाहरू नै घुमेका छन् । उक्त उपन्यासमा पनि बेमेल विवाहका कुरा, विवाह–इतर सम्बन्धका कुरा, यौन–कुण्ठित विवाहित नारीले एउटा बालकलाई च्यापेर आफ्नो दमित इच्छालाई राहत दिएका कुरा छ्याप्छ्याप्ती पढ्न सकिन्छ ।

आफ्नी विवाहिता पत्नी गौरीलाई मन नपराएर घरमा काम गर्न राखिएकी मुनरियासँग अवैध सम्बन्ध राखेर पनि समाजमा राम्रै प्रतिष्ठा जमाएर बस्ने नरेन्द्रप्रति रोष देखाउनु समाजको कानुनभित्र पर्दैन । बरु मुनरियालाई नै नराम्रो नजरले हेरिन्छ तर उपन्यासकार मुनरियाको पक्षबाट प्रश्न राख्न भुल्दैनन् । उनको कलमबाट मुनरियाको प्रश्न निस्कन्छ, “मेरो के दोष यसमा सानोबाबु ?”
नरेन्द्रको परिवारको एउटा पक्ष गौरी र नरेन्द्रको मिलन गराउन खुबै कोसिस गर्छ भने अर्को पक्ष सजिलै तर्क अगाडि सार्छ, “लोग्नेलाई स्वास्नी मन परेन भने अर्को ल्याए भइहाल्यो नि, के को तलाक र पारपाचुके चाहियो । स्वास्नीमानिस मनग्गे छँदै छन् । हामीकहाँ बहुपत्नीको चलन छँदै छ नि !” तर उपन्यासकार नरेन्द्रको अर्को विवाह गराउन चाहँदैनन्, न गौरीलाई उसको वैवाहिक अधिकार प्रदान गरेर कथा अगाडि बढाउँछन् । बरु विवाहको टुङ्गो लागिसकेकी मुनरियालाई उसकै इच्छाअनुसार नरेन्द्रसँग भागेर जीवन बिताउने आत्मनिर्णयको कथा बुनिदिन्छन् । भलै अन्त्यमा, नरेन्द्र गौरीकहाँ नै फर्कन्छ । त्यो पनि मुनरियाको इच्छाअनुसार नै, तर पनि जीवनको अन्तिम घडीसम्म नि उसले मुनरियालाई बिर्सन सकेको हुँदैन ।

समग्रमा भन्नुपर्दा यो उपन्यासमा पनि विभिन्न महिला पात्रको माध्यमबाट समाजको महिलाप्रतिको असहिष्णु व्यवहारलाई प्रस्तुत गरिएको छ । तीमध्ये कुनै समाजसँग विद्रोह गर्न सक्नेछन् भने कोही आफ्नो जीवनलाई नियतिका रूपमा स्विकारेर थिचोमिचो सहेर बस्न चाहने पात्रका रूपमा देखा परेका छन् । तर त्यसरी थिचोमिचो सहेर बस्दा आफ्नो यौन दमित इच्छालाई समाजको आँखाबाट लुकाएर हासिल गरेको उदाहरण गौरीले उसको देवर, जो बालक नै थियो, उसँग आफ्नो यौन–इच्छा पूरा गर्न चाहेको कुरा उपन्यासकारले अप्रत्यक्ष रूपमा देखाएका छन् ।

उनी त्यसबारेमा गौरीको देवरको कथा यसरी अगाडि बढाउँछन्, “मलाई उनीसँग अप्ठ्यारो लाग्ने यही कुरा थियो । बिनाकारण हठात् मलाई बडो वेगले समातेर निर्दयतासँग उनी मेरो म्वाइँ खान थाल्थिन् ।” गौरीको देवर ‘सानो बाबु’ आफूलाई गौरीले गरेको व्यवहार पचाउन सक्तैनन् र भन्छन्, “…..बीचबीचमा उग्र रूपबाट माया गर्न थालिन् । मलाई घबराहट हुन्थ्यो । यही एउटा कारण थियो म पनि उनीबाट तर्किन खोज्थेँ, तर उनी मलाई तर्किन कहाँ दिन्थिन् र ? उनको यस्तो अनौठो आचरणले मलाई एक प्रकारको लाजको पनि अनुभव हुन्थ्यो…….” यसरी उक्त उपन्यासमा पनि महिलाका व्यथा, उनीहरूको हिम्मत र त्याग पूर्ण रूपमा देखाइएको छ ।

कोइरालाको उपन्यास ‘बाबु, आमा र छोरा’ को विषयवस्तु नै सामाजिक दृष्टिकोणले अलि अप्ठ्यारो खालको देखिन्छ । यसको कथाअनुसार एउटा विधुरले दोस्रो विवाह गर्छ र त्यो विवाह गरेर आएकी युवती उसको आफ्नै छोराको श्रीमती (गन्धर्व विवाहद्वारा) भइसकेकी र छोराकै गर्भ बोकिसकेकी युवती पर्छिन् । यो कुरो सुरुमा न त छोरालाई, न बाबुलाई, न ती युवतीलाई नै थाहा हुन्छ । तर उपन्यासको अन्त्य, आमा पात्र ‘उमा’ र उसको पहिलो प्रेमी, उसको बच्चाको बाबु तथा सौतेनी छोरा ‘शिवप्रसाद’ सँग गराएर ‘सस्पेन्स’ चलचित्र जसरी टुङ्ग्याइएको छ ।

‘साहित्य समाजको ऐना हो’ भन्ने मान्यताले यो उपन्यास पढ्ने हो भने यस्तो कुरा पत्याउन वा मान्न अलि कठिन नै हुन्छ, तर केवल साहित्यिक सन्तुष्टिका हिसाबले अध्ययनलाई अगाडि बढाउने हो भने यो उपन्यासले उपन्यासका तीनै पात्र बाबु, आमा र छोराको यौन मनोविश्लेषणलाई सूक्ष्म ढङ्गले केलाएको देखिन्छ तर यो उपन्यासले कोइरालाका अन्य नारी पात्रहरू जस्तो हक्की महिलाको चित्रण भने पक्कै पनि गरेको छैन । कारण, उपन्यासकी प्रमुख महिला पात्र ‘उमा’ को मन–मस्तिष्कमा हरबखत ऊ कमजोर छे, ‘अरक्षिता’ छे आदि जस्ता विचारहरू दौडाइरहेको देखिन्छ । यसै क्रममा बाबु पात्रको मनोभावना व्यक्त गराउँदै कोइराला लेख्छन्, “गर्भवती नारीलाई पुरुषको आधारको बडो खाँचो रहन्छ; उसको मनस्थिति पनि त्यस्तै हुन्छ । एकचोटि उसले भनेकी पनि थिई– म अरक्षिता छु ।”

यस उपन्यासमा कोइरालाले महिलालाई अति निरीह देखाएका छन्, उक्त सोच पात्र उमाको मनबाट यसरी ओकल्याउँछन्, “प्रेमविहीन नारी केवल एउटा खोक्रो शरीरको ढाँचा हो । पुरुषलाई पनि प्रेम चाहिँदो हो, चाहिन्छ नै । मैले बुझेकी छु, दुई पुरुषको सहवासको अनुभवले, तर उसको त्यो मूलतत्व होइन जो नभई ऊ पनि नारीको जस्तो निस्सार होओस् । …….हामी नारीहरू ? जीवित रहनै सक्दैनौँ पुरुषबिना । हाम्रो सार्थकता नै लोप हुन्छ त्यस स्थितिमा; हाम्रो अस्तित्वको आधार, हाम्रो सृष्टिको हेतु सब लोप भएर जान्छ । पानीका बुलबुलजस्ता हामी हुन्छौं । हाम्रो समाजको लघुतम रूपका लागि पनि दुई व्यक्ति चाहिन्छ— जसमा एउटा पुरुष नै हुनुपर्छ ।”
सायद, कोइरालाका उपन्यासहरूमध्ये यो मात्र त्यस्तो उपन्यास होला, जसमा महिलालाई पुरुषबिना बाँच्नै नसक्ने जस्तो गरी यति निरीह देखाइएको छ । होइन भने –सुम्निमा, तीन घुम्ती, नरेन्द्र दाइ, मोदीआइन र हिटलर र यहुदी– ती सबैका महिला पात्रहरू सशक्त व्यक्तिका रूपमा देखा परेका छन्, तर यो उपन्यासमा भने महिला पात्रलाई ढाड नभएको पात्रका रूपमा चित्रित गरिएको छ ।
सोही उपन्यासको एउटा स्थितिमा कोइराला नारीलाई यसरी परिभाषित गर्छन्, “नारी सृष्टि हो भाग्यको–नियतिको अधीन, एउटा सृष्ट जीव । ……..तर दृढता हाम्रो स्वभाव होइन, जिद्दी हुन सक्लाऊँ, हठ पनि गरौँला तर दृढता— अहँ त्यो नारीले पाइन, यदि म पुरुष भएकी भए !”

यस्तो सोच कोइरालाको कलमबाट कोरिनु पनि आश्चर्य नै लाग्दो रहेछ । यी सोचहरू तीन घुम्तीकी पात्र इन्द्रमायाको भन्दा बिल्कुलै विपरीत ध्रुवतिर फर्किएको देखिन्छ । यस उपन्यासमा निचोड निकाल्नलाई उमाकी आमाको यो भनाइ नै काफी छ, “स्वास्नीमानिस पृथ्वीजस्ती हो, जीवनका सारा चोट सहँदै हिँड्छे, पीडाले ऊ विचलित हुन थाली भने के त्यो माता हुन सक्छे र, नानी उमा ! नारीको रूप माताको हो ।” यसरी यो उपन्यासले नारीलाई परम्परावादी भूमिकामा नै सीमित रहने सन्देश बोकाएको देखिन्छ ।

कोइरालाको उपन्यास मोदीआइनको मुख्य पात्र मोदीआइनमार्फत लेखकले मानवजातिलाई विशेष सन्देश दिएका छन् । उनी लेख्छन्, “ठूला मानिस थरीथरीका हुन्छन् । असल मानिस भने एक थरीका मात्र हुन्छन् । ठूलो हुनपट्टि नलाग्नू, असल हुनपट्टि लाग्नू, नानी !”
मोदीआइनमा महाभारतको कथामार्फत विभिन्न नारीका कथाको बखान गरिएको छ तर त्यहाँ एउटा महत्वपूर्ण कुरा के पनि उठाइएको छ भने नारीको अपमान अनिष्टको अपरिहार्य सूचक हो । यसलाई द्रौपदीको चीरहरणको कथासँग जोडेर वर्णन गरिएको छ तर अर्कातर्फ द्रौपदीलाई नै ‘नायिका’ बनाएर महिलाको उछित्तो काढ्न पनि चुकेका छैनन् उपन्यासकार । उनी द्रौपदीले महाभारतको लडाइँका लागि उक्साएको आरोप लगाउँदै अन्य महिला पात्रमार्फत भनाउँछन्, “तेह्र वर्षभन्दा अघिको एउटा असम्मानलाई सम्झेर आफ्नो सुलभ नारीत्वलाई तिलाञ्जली दिँदै के कुनै नारीले पुरुषलाई युद्धका लागि उत्तेजित गर्ने हो !” यसरी कोइराला एकातर्फ महिलाको अधिकारको कुरा त उठाउँछन् तर अर्कातर्फ परम्परावादी सोच पनि खलबल्याउन चाहँदैनन् र द्रौपदीको विद्रोहलाई ‘प्रतिहिंसाको भावना’ को नाम दिन चुक्दैनन् । मोदीआइनमा त्यस उपन्यासकी प्रमुख पात्र मोदीआइनको माध्यमबाट महाभारतको युद्धको कथालाई विश्लेषण गरिएको छ जसअनुसार महाभारतको युद्धकी कारक तत्व मानेर द्रौपदीको त विरोध गर्छन् तर लडाइँ गरेर आफ्नाहरूको ज्यान लिन नमान्ने अर्जुनलाई कुरुक्षेत्रकै मैदानमा अठार अध्याय गीता सुनाएर नरसंहार गर्न तयार बनाउने कृष्णको महिमा गाउन भने चुक्तैनन् ।

त्यसबारे मोदीआइनमार्फत उनी भन्छन्, “बिचरो एउटा क्षुद्र मानव देवताको रुद्र तेजअगाडि कतिबेर अड्न सक्थ्यो ? अर्जुनको मानव आग्रह खुकुलो पर्दै गयो, तिनबाट बिस्तार–बिस्तार मानवता निस्कँदै गयो र त्यसरी खाली भएको ठाउँमा उनमा देवत्व भरिँदै गयो ।” कत्ति विरोधाभाषपूर्ण कुरो ! एकातिर द्रौपदीका कारणले युद्ध हुन लागेको भनेर ‘प्रतिहिंसा’ को नाम दिने, अर्कातर्फ, सोही लडाइँलाई कृष्णको मुखबाट, “तिमी देवसममुख मानवीय सत्य स्थापित गरिरहेका छौ निर्भय भएर” भनेर युद्ध गर्न उक्साउने । त्यसैले कोइरालाले नारीहरूलाई जति आधुनिक देखाएर कथा कथे पनि अन्ततोगत्वा कतै न कतै लगेर दोष महिलाकै आचरणमा लगेर थोपर्न पछि परेका छैनन् ।

हुन त, मोदीआइन उपन्यासलाई कोइरालाले युद्धविरोधी अभियान चलाउन लेखिएको भनेर नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालीन कुलपति बैरागी काइँलाले नेपाली लेखक सङ्घ झापाको आयोजना र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको शतवार्षिकीको अवसर पारेर आयोजना गरिएको बृहत् साहित्यिक कार्यक्रममा विक्रम संवत् २०७० को पुस महिनामा भन्नुभएको खबर समाचार–माध्यममा आएको थियो तर हतियार उठाएर लडाइँमा जान नचाहने अर्जुनलाई ‘गीताको अठार अध्याय’ सुनाएर भए पनि लडाइँमा पुर्याइछाडेको कथालाई आधार बनाएर लेखिएको उपन्यासलाई कसरी ‘युद्धविरोधी’ ठान्ने ? यसको निक्र्योल निकाल्न बृहत् छलफल नै गर्नुपर्ला । यो उपन्यासको कुरोलाई यहीँ अन्त्य गरौं ।

विश्वेश्वरप्रसाद कोइरालाको अर्को चर्चित उपन्यास ‘सुम्निमा’ लाई किराँत धर्मावलम्बीहरूले आफ्नो देवता ‘पारूहाङ’ तथा ‘सुम्निमा’ को अपमान गरी लेखिएको उपन्यास भनेर आरोप पनि लगाएका छन् । साधारण दृष्टिकोणबाट विश्लेषण गर्नुपर्दा यो एउटा कट्टर ब्राह्मण परिवारको कट्टर अनुशासनमा हुर्काउन खोजिएको एउटा छोरा ‘सोमदत्त’ र एक किराँती बाला ‘सुम्निमा’ को सामान्य प्रेम कथाजस्तो मात्रै लाग्छ तर सोमदत्तका पिता सूर्यदत्तको छोरालाई ‘आदिकालका ऋषिहरूको समकक्षी’ बनाउने तीव्र चाहनाअनुसार कठोर अनुशासनमा वनमा हुर्काइएको छोरो भने जतिसुकै बाबुको नियन्त्रणमा रहे पनि प्रकृतिको अपरिहार्य आवश्यकताअनुसार विपरीत लिङ्गी सुम्निमाको आकर्षणबाट मुक्त हुन पटक्कै सक्तैन । उसले आफैँले आफूभित्रको कुण्ठित मनोविकारलाई स्वीकार गर्दै त्यसबाट मुक्त हुन अरू कठोर तपस्याका लागि बाबुआमा तथा सुम्निमालाई समेत छाडेर हिँडिदिन्छ । त्यसरी लामो समयसम्म उनीहरूबाट टाढा रहे पनि सोमदत्तको मनबाट सुम्निमाको छवि हट्न सक्तैन । यो त भयो कथाको सामान्य पाटो । अर्कातर्फ, उपन्यासले तत्कालीन समाजमा समेत नारी जातिको मान–सम्मान पुरुषको भन्दा बढी हुने, ब्राह्मणहरूले आफ्नो स्वार्थका लागि राजा–महाराजाहरूको समेत सहयोग लिएर समाजमा शक्ति स्थापना गर्ने आदि आदि कुरालाई पनि उजागर गरेको छ ।

यसै सन्दर्भमा उपन्यासकी प्रमुख नायिका सुम्निमा र सोमदत्तको कुराकानीको उदाहरण लिऊँ, उनीहरूको पहिलो भेटमा परिचयका क्रममा सोमदत्तले आफ्नो परिचय बाबुको नामबाट दिँदा सुम्निमा प्रश्न गर्छे, “……तिमीले आफ्नो नाउँ बताउँदा बाबुको नाम किन कह्यौ ?”
सोमदत्त जवाफ दिन्छ, “पुत्र पिताबाट जीवनदान ग्रहण गर्छ, तसर्थ त्यो उदात्त दानमय सम्बन्धको विस्मृतिको पाप हामीबाट कदापि हुन सक्तैन । यो कृतज्ञता ज्ञापन गर्न हो, बालिके !”

सुम्निमाको प्रतिप्रश्न, “ल झन् तिम्रै भनाइले पनि त आमाले जन्माएको हुँदा आमाको मान गर्नुपथ्र्यो, होइन र ? त्यसैले हामी किराँती पैले आमालाई चिन्छौं र उनले देखाएको मानिस हाम्रो बा हुन्छ ।”
त्यो जवाफबाट सोमदत्त पटक्कै सन्तुष्ट हुँदैन, ऊ आफूहरूलाई श्रेष्ठ करार गर्दै भन्छ, “हामी आर्यका सन्तति हौँ, सुसंस्कृत छौँ । तिमीहरू संस्कृतिविहीन जातिका किराँत हौ । त्यसकारण हाम्रा विचार तिम्रा विचारभन्दा पृथक् छन् । माता क्षेत्र हो, क्षेत्रपति त पिता हो । तिमीलाई यसको ज्ञान छैन ।” यस वार्तालापबाट उपन्यासकारले पौराणिक कालदेखि नै महिलाहरूको स्थान ब्राह्मण समाजमा कस्तो थियो भन्ने कुराको जानकारी गराउँछ । यसलाई अझ स्पष्ट पार्दै कोइराला सोमदत्तको बाबुको मुखबाट बोलाउँछन्, “माताबाट परिचित हुने प्रणाली पाशविक हो । पशुहरूमा सतीत्व एवम् पतिव्रत्य धर्मको शून्यताले सन्तानको परिचय माताबाट हुन्छ….. ।”
सुम्निमा उपन्यासबाट महिलाको विषय लिएर धेरै बहस चलाउन सकिन्छ । एकातिर सोमदत्त आफ्नो बाबुको माध्यमद्वारा आमाबाट परिचित हुने प्रणाली पाशविक हो भन्ने सिक्छ तर अर्कातिर ऊ आफैँ, “हामी मातालाई दैहिक सम्बन्धबाट मुक्त गरेर उच्च मर्यादासम्पन्न पार्छौं, त्यही हो संस्कृति” पनि भन्छ । जब आफूलाई जन्माउने व्यक्तिको नामबाट परिचय गर्दासमेत त्यो पाशविक हुन्छ भने त्यही सम्बन्ध कसरी ‘मर्यादासम्पन्न’ हुन सक्छ होला त ? यस्ता विवादास्पद विचारहरू पाइन्छन् त्यो उपन्यासमा । यहाँनिर अर्को भनाइ पनि उल्लेख गरिहालौँ, यसै बहसका क्रममा आमाबाट परिचित हुने समाजकी छोरी सुम्निमा सोमदत्तलाई सोध्छे, “……नाङ्गी आमालाई कल्ले देवी भन्छ ?” हुन त, किराँतीहरूको समाजमा लुगा नलगाउने कारणले सुम्निमाले यो प्रश्न गरेकी थिई तर यो प्रश्नले कता–कता द्वि–अर्थ लगाएको पनि भान हुनसक्छ ।
महिलाका बारेमा सुम्निमा उपन्यास पटक्कै सकारात्मक छैन । यसमा प्रत्येकजसो स्थितिमा महिलाहरूलाई होच्याउने खालका विचारहरू प्रकट भएका छन्् । साँच्चै भन्नुपर्दा, आजको समाजले महिलालाई हेर्ने दृष्टिकोणबाटै सुम्निमामा महिलासँग सम्बन्धित विषयवस्तुहरू अगाडि बढाइएका छन् भन्दा पनि फरक नपर्ला । यसको अर्को उदाहरण, सोमदत्त आफ्नो इन्द्रियलाई संयममा राख्नुको सट्टा सुम्निमालाई आफ्नो अगाडि नपर्ने आदेश दिन्छ । त्यसको कारण सुम्निमाले जान्न खोज्दा ऊ भन्छ, “तिम्रो शरीर मेरो विकासमा बाधक छ ।” यी हरफहरू पढ्दा लाग्छ, आजकाल महिलाहरूले छोटा लुगा लगाएर पुरुषको ‘बलात्कारी ग्रन्थि’ वृद्धि हुने हुनाले महिलाहरूलाई छोटा लुगा लगाएर हिँड्न नदिने उपदेशभन्दा यो कम छ र ? सोमदत्तको कुण्ठाग्रसित मानसिकता चिच्याउँदै सुम्निमालाई आदेश दिन्छ, “सुम्निमा ! म भन्दैछु, यो तिम्रो शरीर पाप रूप हो, विष हो, फोहोर हो । हटाऊ मेरो अगाडिबाट यो नर्कलाई ।

सुम्निमा उपन्यास पुरुषको दम्भ र महिलामाथिको पुरुषको शासक मानसिकताले कुट–कुट भरिएको छ । महिलालाई पुरुषको वंश थाम्ने साधनका रूपमा मात्रै प्रस्तुत गरिएको छ । सुम्निमा उपन्यासकी अर्की सशक्त नारी पात्र सोमदत्तकी पत्नी पुलोमा हुन् जसलाई सोमदत्तले बाबुआमाको इच्छाअनुसार केवल वंश चलाउनका लागि मात्र विवाह गरेको हुन्छ, तर धेरैपटकको सहवासपछि पनि जब पुलोमाको गर्भधारण हुँदैन तब सोमदत्त पुलोमालाई कुनै दैवी श्राप भएको शंका गर्थ्यो भने पुलोमा सोमदत्तलाई पूर्वजन्मको कुनै दोषले पुत्र प्राप्ति नभएको आशंका गर्थी ।

जुन उद्देश्यले विवाह गरेको हो, त्यसमा सफल नभएपछि पति–पत्नीको बीचमा सम्बन्ध बिग्रँदै जानु स्वाभाविक नै थियो तर त्योभन्दा पनि उनीहरूबीच यति तिक्तता बढ्यो कि, कुनै बेला विद्वान् मानेर विवाह गरेकी श्रीमतीलाई सोमदत्तले आफूभन्दा जान्ने–सुन्ने नहोस् भन्नाको खातिर यतिसम्म भन्न बेर लाउँदैन, “तिमीलाई थाहै छ, कुनै–कुनै शास्त्रमा नारीलाई धर्मग्रन्थको अध्ययन वर्जित गरेको छ । पहिलेका ऋषि–मुनिहरूले बुझेरै विधि–विधान रचेका रहेछन् ।”
सोमदत्तको मुखबाट यति भनाए पनि उपन्यासकार पुलोमालाई पनि आफ्नो विद्वत्ता प्रकट गराउन हिच्किचाउँदैनन् । उनी महिलाहरू पनि वैदिक कालमा पुरुषभन्दा कम विद्वान् थिएनन् भन्ने तथ्यको समर्थन गर्दै लेख्छन्, “वेदका धेरै ऋचाका रचयिता स्त्री नै थिए ।” तर उनी त्यही कुरो पुलोमाको मुखारबिन्दबाट बोलाउन चाहँदैनन् । अझ उल्टो चर्काचर्की वाद–विवादपश्चात् पनि पुलोमा अर्थात् पत्नीले आफ्नो नित्य कर्मअनुसार सोमदत्त अर्थात् पतिको खुट्टा ढोगेर मात्र सुत्न गएको उल्लेख गर्छन् । यसरी प्रत्येक स्थान र प्रसङ्गमा कोइरालाले महिलाले जतिसुकै अन्याय भए पनि सहनै पर्ने उपदेश दिन चुकेका छैनन् ।

सोमदत्त सन्तान उत्पादन गर्न नसकेर आफ्नो पितृ ऋण चुकाउन नसक्दा कुनै उपाय गर्न पनि पछि हट्तैन । यसै क्रममा ऊ सुम्निमाकै बाबुकहाँ सल्लाह लिन पुग्छ । सुम्निमाको बाबुले छोरीलाई के के गर्ने हो, अह्राएर पठाउँछ । त्यसैअनुरूप कार्य गरिसकेपछि ऊ आफ्नी पत्नीसँग सहवास गर्न रातको अँध्यारोमा पुग्छ । दिनभरि आफ्नी पूर्वप्रेमिकासँग समय व्यतीत गरेकाले ऊ प्रसन्न हुन्छ । उसकी प्रेमिका सुम्निमाले उसलाई एक भिल्लका रूपमा सिँगारेर पठाएकी हुन्छे । उता पुलोमा पनि आफ्नो विवाहपूर्वको सपनाको राजकुमार भिल्ल युवकको कल्पनामा विचरण गरिरहेकी हुन्छे । दुवैको यौन–समागम त्यस रात आन्नदपूर्वक सम्पन्न हुन्छ । दुवै पति–पत्नी मनको लड्डु घ्यूसँग खाइरहेका हुन्छन् । तर रातको अँध्यारोमा आएको सोमदत्तलाई पुलोमाले चिन्न सकेकी हुन्न, ऊ त आफ्नो पति सोमदत्तलाई भिल्ल युवक नै सम्झिरहेकी हुन्छे । त्यसैले उसको मनमा पतिले थाहा पायो भने के होला भनेर डराएकी हुन्छे ।
पुलोमाको त्यो चिन्ताको अनुमान लगाउँदै सोमदत्त पुलोमाप्रति ईष्र्यालु हुन पुग्यो । यही क्रम बढ्दै जाँदा उसले पुलोमाको अझै बढी मानमर्दन गर्ने, उसलाई तिरस्कार गर्ने, होच्याउने क्रम बढ्दै गयो । हुँदा–हुँदा केवल सन्तानोत्पादनका निमित्त भएको विवाह, जसको आधार वासनारहित सम्भोग हुनेछ भनेर तय गरिएको थियो, त्यो त झण्डै बलात्कारको जस्तो स्थितिमा पुगेको कुरा कथाले बताउँछ । यसको उदाहरण सोमदत्तले पुलोमालाई आक्रोश देखाउँदै बोलेका यी वाक्यहरू काफी हुन्छन्, “म तँबाट पत्नीको पतिका प्रतिको कर्तव्यको दाबी गर्न आएको छु आज, बुझिस् उभिउत्तरदायिनी असंस्कृता नारी ! म दाबी गर्छु आफ्नो सम्भोगाधिकारको क्षण अहिले यहीँ ।” यी हरफहरू पढ्दा लाग्छ, हामी आजको समाजको सत्यलाई आत्मसात् गरिरहेछौँ । यसरी यो उपन्यासमा पनि नारीहरूले पुरुषको अधीनमै बस्नुपर्छ; पुरुषहरूले जे गरे पनि राम्रै हुन्छ किनकि उनीहरूलाई धर्मशास्त्रले नै त्यस्तो अधिकार दिएको छ भन्ने खालको सन्देश प्रत्यक्ष–अप्रत्यक्ष रूपमा दिएको छ भन्दा फरक नपर्ला ।
त्यति मात्र होइन, यो उपन्यासले त बेमेल विवाह हुँदा नारी–पुरुष दुवैले भोग्नुपर्ने मानसिक तनावको हदैसम्मको व्याख्या गरिदिएको छ ।

कोइरालाको अर्को उपन्यास ‘हिटलर र यहुदी’ पनि महिलामाथिको टीका–टिप्पणी गर्न र महिलालाई पारम्परिक उपदेश दिनमा कम छैन । कथाको सुरुआतमा एउटा क्यान्सरपीडित पतिको औषधोपचारका लागि दत्तचित्त भएर लागेकी एक पत्नीको शरीर नै बेचेर भए पनि पतिलाई बचाउँछु भन्ने मायालु पत्नीप्रति समेत उसकै पति ईष्र्या र एकाधिकारको उग्र कामनाले जलेको पतिको मनको भावना समेटिएको छ । त्यो पति–पत्नीको उक्त अभिव्यक्ति केलाउँदै आफ्नो विचार मनमनै प्रकट गर्छ, “उसको प्रेम किन यस्तो बलवान ? जहिले पनि त्यसैले जित्ने । म त हारेको जस्तो, उसको खटनमा पछिपछि हिँड्ने जस्तो पो भएँछु, के यो प्रेम उसले पत्नीले पतिलाई दिएको सामाजिक सम्बन्ध गार्हस्थ्यको प्रदान हो ? यदि ऊसँग मेरो विवाह नभएको भए ? के यस्तै प्रेम गर्थी त मलाई ? पत्नीको मर्यादा त उसले कहिल्यै पनि ख्याल राखिन, त्यसैले त अस्ति भनेकी थिई— “म आफ्नो शरीर बन्धक राख्न सक्छु तिम्रा लागि । यस्तो वचन पत्नीको त हुँदैन, जसको सबभन्दा उच्च अभिव्यक्ति सतीत्वको हुन्छ । उसले हाम्रो विवाहको सम्बन्धलाई मेटिदिएर अर्को सम्बन्ध स्थापित गरेकी थिई ।” वास्तवमा महिलाले अत्यधिक स्नेह र प्रेममा सहजै व्यक्त गरेका भनाइमाथि पनि पुरुषलाई शंका उब्जाउने रहेछ ।
उपन्यासका अर्का पात्र नारायणन आफूसँगै जहाजमा यात्रा गरिरहेकी एक भारतीय महिलालाई ‘स्कर्ट’ लगाएर चञ्चलताको आग्रह गरेको आरोप लगाउन चुक्तैन । उसको भनाइमा, “रेबाजी, तपाईँले यो कदापि बिर्सन हुन्न कि तपाईं हिन्दू नारी हो । भारतीय संस्कृतिमा नारीको रूप जहिले पनि आमाको छ । आमाको प्रतीक के हो, थाहा छैन ? पृथ्वी । चञ्चलताको आग्रह के पृथ्वीलाई सुहाउँछ ?” कथाकारले एउटा पात्रमार्फत केही दिन बाटोको सहयात्री बनेकी नारीलाई समेत छोटा लुगा लगाउन नहुने पारम्पारिक धारणाभित्र भित्र्याउन चुक्तैनन् । यी हरफ पढ्दा लाग्छ, जतिसुकै पढेलेखेका वा आधुनिक विचारधारा बोकेर हिँड्ने पुरुषहरू नै किन नहुन्, उनीहरू महिलाहरूलाई समाज र परम्पराको नाममा ङ्याकेरै राख्न चाहन्छन् भन्ने तथ्य उजागर गर्छ । लेखकले त्यससम्बन्धमा उपन्यासको उपर्युक्त प्रसङ्गमा नारायणनको मुखबाट लामै व्याख्या गराएका छन् ।

लेखक उपन्यासको एक महिला पात्रबाट बकाउँछन्, “नारीलाई कस्तो अवलम्बित पारेको ईश्वरले लाग्छ, पुरुषको अवलम्बन नभई ऊ आफ्नो दुई गोडामा उभिन पनि सक्दिन, तर त्यो अवलम्बन नै कति वाञ्छनीय, नारीजीवनको आधार नै पुरुष भएर होला । हामी रित्तिँदा रहेछौं प्यारा, पुरुषबाट भरिएनौं भने……” यसरी महिला प्रत्येक प्रकारले पुरुषप्रति आश्रित, संस्कारमा बाँधिनुपर्ने, आचरणमा बस्नुपर्ने आदि–आदि उपदेश दिएर कथालाई अगाडि बढाउन नचुक्ने लेखकले एकजना जापानी पात्र खडा गरेर यतिसम्म लेखेका छन्, “नारीले घर राम्रो राख्नुपर्छ, दुलाहाको सेवाटहल गर्नुपर्छ, उसको थाकेको शरीरलाई आराम र उसको इच्छानुसार होइदिनुपर्छ । पुरुषले आफ्नो सामाजिक स्थितिअनुसार भरणपोषण गर्नुपर्छ र पत्नीको मर्यादाको आसनमा स्थापित गर्नुपर्छ । अनि त्यसपछि आयो यौनको । बस पुगिहाल्यो ।” यी पङ्क्तिहरू पढ्दै जाँदा मनुस्मृति वा भानुभक्तको ‘बधु–शिक्षा’ का हरफहरू पढेको हो कि भन्ने भ्रमसमेत हुन छाडेन । त्यहाँ त “….स्त्रीको सतीत्वको विचारपछि ठूलो जीव–विज्ञानसम्बन्धी (Biological) नियम पनि छ” सम्म भन्न भ्याइएको छ । त्यसबाहेक अझै उदेकलाग्दो कुरो त हिटलरका सैनिकहरूलाई मजबुर नारीहरूले पुर्याएका यौनसेवाको समेत कुनै पात्रको माध्यमबाट मुग्धकण्ठले प्रशंसा गराइएको छ । लाग्छ, यो विपी कोइरालाद्वारा लेखिएको किताब नभएर आदिकालमा महिलाहरूलाई समाजमा दबाएर राख्न लेखिएको उपदेशको पोको होस् !

समग्रमा भन्नुपर्दा, कोइरालाका उपन्यासहरू आधुनिक विचार राख्ने महिलाका प्रति एउटा ठूलो व्यङ्ग्यजस्तो लाग्दो रहेछ । यति धेरै केलाइसकेपछि बारम्बार एउटै विचार मनमा छाइरह्यो, यदि राजनीतिक पार्टीका नेता विपी कोइराला बाँचेका भए र उनले पार्टीको महिला नीति बनाउनुपरेको भए उनको धारणा कस्तो हुन्थ्यो होला ? तर उपन्यासकार विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासका महिला विषय वा पक्ष आजको दृष्टिकोणबाट विश्लेषण गर्दा महिलाका पक्षमा आवाज उठाउने धेरैलाई पाच्य हुन गा¥हो हुने रहेछ ।
अन्त्यमा, उनले लेखेको एउटा हरफ साह्रै महत्वपूर्ण लाग्यो । त्यो हो, “मातृगर्भमा खुम्चिएर डल्लो हुँदा पनि असुरक्षित त्यो शिशु रहँदैन ।” सायद, यही सोच उपन्यासभर नै छाइदिएको भए !

विश्वेश्वरप्रसाद कोइराला शताब्दी–सन्दर्भ
विसं २०७८ असोज
सम्पादक : लेखनाथ भण्डारी
प्रकाशक : स्कूल अफ डेमोक्रेसी, अमेरिका

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *