“स्लाईड टु एन्सर”

ट्रीङ ट्रीङ !
हजुर, आमा ss
के गरिरा’ ?
म अफिसमा छु ।
कहिले आउने ?
आउँछु नि
ज्वाईलाई सन्चै छ ?
हजुर, सन्चो छ ।
नानी कहिले आउँछे ?
दशैंमा आउँछे ।
बाबु नि ?
उ पनि आउँछ।
कहिले सकिन्छ तिनीहरूको पढ्न ?
अब सकिन्छ नि किन पिर गरिरा’ आमा
पढेको पढै जिन्दगी जाने बिचराहरूको ।
म हजुरलाई पछि फोन गर्छु है।
ट्रीङ ट्रीङ ! ट्रीङ ट्रीङ !
हजुर, आमा भन्नु
आज आउन लागेको होइन ?
हो आउँछु । भन्नु हजुरलाई के ल्याइदिउँ ?
केही पनि ल्याउनु पर्दैन
कति खाने छोरीको खानुहुन्न
भन्नु न भन्नु केही त भन्नु
हिङ्ग गोली र तितौरा ल्याइदेउ न
अरु के ल्याइदिउ ?
अरु केही पनि पर्दैन
भन्नु न भन्नु केही त भन्नु
भुजुरी ल्याइदेउ न त
अरु….
ट्रीङ ट्रीङ ! ट्रीङ ट्रीङ !ट्रीङ ट्रीङ !
आमा, भन्नू त छिटो
कतिबेला आउने ?
आउँछु आमा,
अहिले एकछिनमा आउँछु।
यतै बस्ने हो आज ?
होइन फर्कनु पर्छ आमा
भोलि यतै बाट अफिस जान हुदैन ?
ल राख्नु है फोन, म अहिले आउँछु अनि..।
ट्रीङ ट्रीङ ! ट्रीङ ट्रीङ !ट्रीङ ट्रीङ !ट्रीङ ट्रीङ !
हजु sss र
सुन न , मिनु भन्जीले पठाको तीजको भाग राखिदेको छु दिन बिर्सिउँला सम्झाउ है ?
हस , अहिले राख्छु है ।
अनि अर्को कुरा….
ट्रीङ ट्रीङ ! ट्रीङ ट्रीङ !ट्रीङ ट्रीङ !ट्रीङ ट्रीङ !ट्रीङ ट्रीङ !
हरे sss ! कति फोन गरिरा आमा ?
ए माइलीलाई गरेको कान्छीलाई पो परेछ।
………….
त्यो घन्टीमा पूर्णविराम लागिसकेको छ ।
आज म लालायित छु निर्जीव त्यो “स्लाईड टु एन्सर ” लाई चलायमान बनाउन अनि तिम्रो त्यो आवाज सुन्न ।
