वरमझियाका पेडा पसल र नेपालका राजनीतिक दलहरुका प्रवृत्तिहरु

१. वरमझिया गाऊँः
सप्तकोशी नदीपारि सप्तरी जिल्लामा वरमझिया भन्ने एउटा ठाउँ छ । यो ठाउँ पेडाका लागि प्रसिद्ध छ । यहाँ पेडाको व्यापार निक्कै फस्टाएको छ । व्यापारीहरु त्यहाँ एकदिनमा नै ४० हजारसम्म पनि एक पसलले आमदानी गर्दछ भन्ने सुनिन्छ । त्यहाँका प्रत्येक पसलमा पेडा पाइन्छ । बसहरु पनि त्यहाँ प्रायः रोकिन्छन् र पूर्व पश्चिम जाने यात्रुहरुले आ–आफ्ना घरमा कोसेलीका रुपमा पेडा किनेर लैजाने गर्दछन् । पेडाकै लागि यो सानो बस्ती प्रख्यात छ । मैले पनि धेरैपटक त्यस गाउँबाट बारव्यार गर्दा उत्रिएर पेडा किनेको छु र खाएको छु । सबैले आफ्नै पसल असली बाजेको पेडा पसल हो भन्छन् । ग्राहकलाई कुन चाहिं असली र शुद्ध पेडा पसल हो थाहा हुँदैन ।
२. पेडाका पसलहरुका नामहरुः
त्यहाँ हरेक पसलको वोर्डमा पेडा पसल भनेर लेखिएको पाइन्छ । बुढो बाजेको पेडा पसल, वैजनाथ बाजेको पेडा पसल, पुरानो वैजनाथ बाजेको पेडा पसल, असली वैजनाथ बाजेको पेडा पसल, बाजेको पेडा पसल, उही बाजेको पेडा पसल, पुरानो बाजेको पेडा पसल, पुरानो असली वैजनाथ बाजेको पेडा पसल आदि आदि ।
असली कुरा के रहेछ भने त्यस क्षेत्रबाट पूर्वपश्चिम राजमार्ग बनेर बस गाडीहरु चल्न थालेपछि पेडा पसल खोल्ने पहिलो मानिस भने वैजनाथ शाह रहेछन् । त्यहाँ घरपालुवा वस्तुका लागि चरन क्षेत्र धेरै भएकोले गाई भैसी प्रशस्त पाल्ने गर्दा रहेछन् । त्यत्रो गाई भैंसीको दूध दही खाएर नसकिने भयो । शाहले अक्कल निकाले छन्,आफ्नो गाईं भैसीको दूधबाट खुवा बनाउने र वेच्ने । त्यही खुवालाई डल्लो बनाउँदै वेच्दा पेडाको रुप लियो । वेच्न सजिलो भयो । उनले व्यापार वढ्दै जाँदा छिमेकीको दूध पनि किनेर पेडा बनाएर वेच्न थाले । त्यसपछि छिमेकीले पनि सिके । उनले आफ्नै गाई भैंसीको दूध तह लगाउन शुरु गरेको पेडा व्यवसाय अहिले सयौंको जीवन निर्वाहको माध्यम बनेको छ ।
उनले जवानीमै शुरु गरेको व्यवसाय बूढो हुँदासम्म पनि गरिरहे । शुरुमा वैजनाथ भनिने शाहलाई विस्तारै वुढ्यौलीमा पुगेपछि सबैले बाजे भन्न थाले र उनको पेडा पसल बैजनाथको पेडा पसलबाट बुढो बाजे, बूढो वैजनाथ बाजे आदि आदि नाममा प्रख्यात भए । यही बाजेको पहिलो पेडा पसल थियो । उनको नाम नभजाई पेडा नचल्ने भयो । अहिले उनी मरिसके । उनीले शुरु गरेको पेडाको व्यापार अहिले झण्डै एक किलोमिटर क्षेत्रमा बग्रेल्ती छ । यात्रुहरु रोकिन्छन् पेडा किन्छन् । दिनमा प्रत्येक पसलमा ५ देखि ४० किलो पेडा विक्छ । व्यापार राम्रै चलि आएको छ । यो व्यवसाय र यस्तै नामहरुबाट यसरी नै अहिले बराह क्षेत्र पारिको रामपुर भिमान क्षेत्रको सडकमा पनि फस्टाएको छ ।
३. पेडा पसले र ग्राहकको प्रवृत्तिः
तर सबैले आफ्नै पसलमा चाहिं असली र शुद्ध पेडा भएको दावी गर्दछन् । अरुको नक्कली आफ्नो सक्कली भएको प्रचार गर्छन् । आखिर सबै दूधबाटै बनेको हो सक्कली र नक्कली ग्राहकलाई के थाहा ? अलिअलि चिनी मिसाएको दूध र विस्कुट मिसाएको आदि इत्यादि जे भए पनि व्यापार भइनै रहेको छ । यो व्यापारी र ग्राहकको अवस्था हो । असली होस् वा नक्कली कसरी चिन्ने भन्ने कुनै मापदण्ड नभएपछि जेसुकै होस् एकछिन मुख मिठ्याउन कोसेली लगिदिने न हो । कोसेली पाएर पाउने पनि खुसी, लाने पनि खुसी । एक किमिसम्म झुप्रै झुप्रा बनाएर पचासौं परिवारहरुले फरक फरक ठाउँमा फरक फरक प्रकारको पेडा बनाएर ग्राहक अल्मल्याउनु भन्दा सबै मिलेर एउटा सामुदायिक पसल खोल्ने, सबैको दूध त्यही एउटै चिस्यान केन्द्रमा सङ्कलन गर्ने वा उद्योग नै खोल्ने र उद्योग मार्फत् नै वेचविखन गर्ने हो भने गुणस्तर पनि कायम हुने । केही कामदार राखेर आफूहरु अन्य व्यवसायमा लागे पनि त हुँदो हो । तर त्यहाँ त्यसो हुँदैन, स्वार्थ फरक काम फरक ।
४. नेपालका राजनीतिक दलहरुः
माथि वरमझियाको पेडा पसलहरुको प्रसङ्र्ग उठाउनुको राज के हो भने ती पेडा पसलेहरुको र हाम्रा राजनीतिक दलहरुको प्रवृत्ति मिल्छ । फरक यति हो ती पेडा पसलेहरुको काम व्यापार हो तर हाम्रा राजनीतिक दलहरुको काम भने राजनीतिको नाममा व्यापार गर्नु हो । व्यापारीको काम नै नाफा कमाउने हो जसरी नाफा हुन्छ त्यसरी नै व्यापार गर्ने हो । उनीहरुको प्रवृत्तिमा कुनै दोष छैन । वरमझियाका पेडा पसलेहरु र नेपालका राजनीतिक दलहरुको प्रवृत्ति उस्तै छ । केही दशक अघिदेखि नेपाली गरीब जनताले कम्युनिष्टको नामको ठाउँमा ठूलो सेउले टहरा बनाउँछन् । कहिले काटाकाट पोलापोल गर्छन् । कहिले व्यक्तिपिच्छेका सुकुम्बासीहरुका टहरा जस्तो टहराहरु बनाउँछन् । पुराना बूढाहरु पद विना बस्नै सक्तैनन् । परमात्माको चिन्तन गरेर बस्ने वेलामा यिनीहरुलाई पदको स्वाद विर्सिन कठीन भएको छ । नयाँहरु अब पुरानाहरुको काम छैन हामी पो खाँट्टि कम्युनिष्ट भन्छन् । यिनमा न सिद्धान्त, न विचार छ न त व्यवहारमै यी कम्युनिष्ट हुन् । व्यवहारमा यिनीहरु जति सामन्त अरु कोही छैनन् । माक्र्स, लेनिनको नाम भजेका छन् कोही माओको भजन कीर्तन गर्छन् । कोही हँसिया हथौडा बजाउँछन् कोही घण्टी बजाएर हिंडेका छन् । यिनलाई सुकिला मुकिला लुगा चाहिएको छ, आलिशान महल चाहिएको छ । चिल्ला कार विना हिंड्नै नसक्ने भएका छन् । उडुस जस्तै जनताको रगत पिएर मोटाएका छन् । कसैले नयाँ नयाँ खरानी धस्न पुगेका छन् । नेपालको राजनीतिमा टहरे कम्युनिष्टको विगविगी छ एकातिर भने अर्काेतिर कम्युनिष्ट वृद्धाश्रम पनि बनाउन थालेका छन् । एकले अर्कालाई खायो भन्छन् । उता खायो भनेर यता आफू खान भ्याइरहेका पनि छन् ।
हालत कम्युनिष्टमा मात्र होइन कांग्रेसको पनि त्यही हालत छ । वीपी काङ्ग्रेसदेखि राजावादी कांग्रेससम्म हौ भन्न भ्याउँछन् । आफू राजावादी भन्ने दलहरुको पनि हालत त्यही छ । दिनभरि कांग्रेस कम्युनिष्टलाई गाली गरेर हैरान हुन्छन् वेलुका भान्सोमा सबै एकै ठाउँमा हुन्छन् ।
वरमझियाका पेडा पसलहरुमा सक्कली र नक्कली छुट्याउन नसकेझैं को राजावादी, को वीपीवादी को कम्युनिष्ट जनताले थाहै पाउँदैनन् । आफूलाई नयाँ भन्नेहरुको हालत पनि उस्तै छ । सबै राष्ट्रवादी । अरु सबै भ्रष्टाचारी आफू शुद्ध चोखो । दलहरुको प्रवृति एउटै छ । काम एउटै छ । फरक केही छैन । यिनलाई न त लोकतन्त्र चाहिएको हो न त गणतन्त्र । चाहिएको आफ्नो भुँडी भरौंतन्त्र ।
५.वग्रेल्ती दलहरु, विचार र कार्यक्रम सून्यः
छिमेकी चीनमा त्यत्रो ठूलो जनसंख्या छ । त्यहाँ लगभग १० करोड कम्युनिष्ट पार्टीका सदस्य छन् । तिनबाट जम्मा जम्मी २०५ जना केन्द्रीय सदस्य छानिन्छन् । २०५ जनामा २४ जनाको पोलिटव्युरो छ । स्थायी कमिटीमा ७ जना हुन्छन् त्यति ७ जनाबाट मुलुकको सबै काम हुन्छन् । त्यत्रो जनसंख्या भएको मुलुकलाई जम्मा ७ जनाले चलाउँदा भएको छ । एउटै दलले मुलुक विश्वकै सम्पन्न मुलुक बनाएर बसेको छ । दक्षिण तर्फको विशाल लोकतान्त्रिक व्यवस्था भएको मुलुकमा पनि भारतीय जनतापार्टी, भारतीय राष्ट्रिय कांग्रेस, राष्ट्रवादी कांग्रेस पार्टी । बहुजन समाजवादी पार्टी, भारतीय कम्युनिष्ट पार्टी, भारतीय कम्युनिष्ट पार्टी (माक्सवादी) लगायत ९ वटा पार्टीले राष्ट्रिय मान्यता पाएका छन् । विश्वकै शक्तिशाली मुलुक अमेरिकामा मुख्य दुइ छन् रिपव्लिकन र डेमोक्याट्स । यहाँ चाहिं किन च्याउसरी दलहरु उम्रन्छन् ? प्रश्न यहाँ छ । दल नामक गुट बनाए पछि जनता हप्काउन पाइन्छ । पाइयो भने लुड्याउन पाइन्छ । यिनीहरुसँग विचार, कार्यक्रम केही छैन । यिनलाई मुलुकको विकास पनि चाहिएको होइन । गणतन्त्र पनि चाहिएको होइन । राजतन्त्र पनि चाहिएको होइन तिनका नाममा लुड्याउने वहाना चाहिएको हो ।
६. अहिलेको अवस्थाः
अहिले नयाँ दलहरुलाई निर्वाचन चाहिएको छ किनकि पुराना दलहरुको नजर गिरेको छ । सत्तामा बसेर भागवण्डा गरेर त्यसैका आधारमा चिनी चास्नीमा डुविरहेकाहरु छट्पटाएका छन् । घर आगजनी गरिएको छ । थातबासको ठेगान छैन । गाउँमा डरले जान सकिरहेका छैनन् । कुन ठाउँमा कुटाइ खाने हो ठेगाना छैन । लुकेर हामी डराएका छैनौं भने पनि थुरथुरि छन् । उनीहरुसँग साधन श्रोत पनि अहिले छैन । व्यापारीहरुले चन्दा पनि दिंदैनन् । यही मौकामा चुनाव गराउन पाए आफू सत्तामा पुग्न सकिन्छ भन्ने नयाँको दाउ छ । खासगरी कांग्रेसलाई पनि आफू जितिन्छ भन्ने भ्रम परेको छ अन्य नयाँलाई त यही वेला सत्तामा पुगि हालिन्छ भन्ने छ । नयाँहरुलाई एक ठाउँमा ल्याउन असफल नेता ठहरिएका बाबुराम त लागिपरेका छन् तर उनलाई मानिसले पत्याउँदैनन् । जेनजीहरुमा पनि व्यापक टुटफुट छ ।
७. समाधानको उपायः
संसद पुनस्र्थापनाको माग तर्फ नेपाल कम्युनिष्ट पार्टी एक्लो छ । तर उ पनि धर्मरमा बस्दै निर्वाचन बहिष्कार नै भन्न सकेको छैन । उ पनि शक्ति सञ्चय तर्फ लागेको छ । खस्केको मनोबल उठाउन लागि परेको छ ।
तर अहिले उठान गरेको सही र संवैधानिक बाटो भनेको संसद पुनःस्थापना नै हो तर सत्यको पछि थोरै मात्र मानिस लाग्छन् । एमाले पनि आफ्नो अडानमा धर्मरिएको छ ।
वास्तवमा संवैधानिक रुपमा हेर्ने हो भने संसद पुनःस्थापनाको माग सही छ र संवैधानिक पनि छ । सर्बप्रथम संसद पुनःस्थापना गर्नुपर्छ किनकि संसद जनताबाट निर्वाचित प्रतिनिधिको भेला हो । ४ वर्षका लागि जनताको म्यान्डेट पाएको छ । राष्ट्रपतिले विनाहक संसद विगठन गरेका थिए अव उनैले सिधै संसद विगठन गर्नु गलत थियो मन्त्रिपरिषद विगठन गर्ने र संसद पुनस्र्थापना गरिएको घोषणा गरेर संसदको बैठक गर्ने वातावरण बनाएर सुशिला कार्कीको मन्त्रिमण्डल विघटन गर्नु पर्छ । संसद बसेपछि संसद भित्रैबाट नयाँ सर्वदलीय सर्बपक्षिय मन्त्रिमण्डल बनाउनु पर्छ ।
त्यसै मन्त्रिपरिषदले संविधानमा आवश्यक सुधार गर्ने प्रस्ताव सर्बपक्षीय भेलागरी गर्नु पर्दछ । त्यसपछि संविधानबाटै संरचना परिवर्तन गर्ने हो भने के के गर्ने प्रष्ट गरी निर्वाचन गरिनु उपयुक्त हुन्छ ।
यदि यही सरकारलाई चुनाव गराउन लगाइयो भने भोलि अर्को पक्षले यसरी नै मौका पारेर विभिन्न घर,सार्वजनिक सम्पत्ति त्रास फैलायो भने पुन यस्तै अवस्था आउँछ । अहिले सार्वजनिक शान्तिको हिसावमा पनि जनतामा त्राश छ । चुनाव हुनै सके पछि त्यसले समाधान दिंदैन । त्यसैले संसद पुनस्र्थापना गरेर जनताकै प्रतिनिधिले सरकार बनाउनु पर्ने हुन्छ ।
७. ओली सच्चिनु पर्छः
आलि सच्चिनु पर्छ । यसो भनिरहँदा अरु चाहिं सच्चिनु पर्दैन भन्ने होइन । ओलीले २३ गतेको घटनालाई सूर्यबहादुरको भाषामा यो एउटा दुर्घटना हो नियत होइन । राज्यका निकायहरुले शान्ति स्थापना गर्ने शिलशिलामा बल बढि प्रयोग गरे मलाई थाहा भएन, नभए पनि म सरकार प्रमुख भएको मौकामा भएको सबै घटनाप्रति म माफी माग्छु । क्षमा चाहान्छु । मैले पहिले राजिनामा दिंदैमा यो कुरा भन्दै नैतिक आधारमा राजिनामा दियें भन्नु पथ्र्यो त्यो हतारमा भयो । म नैतिक रुपमा सो घटनाको जिम्मा लिन्छु भन्न सक्नुपर्छ, राजनीतिमा सधैं जित नै होइन हार्न पनि सक्नु पर्छ जसले भविष्यका राजनीतिकर्मीलाई पनि शिक्षा हुन्छ । यस्ता उदाहरणहरु प्रशस्त छन् । वि सं २०२९ सालमा दशरथ रंगशालामा आएको आधिंका कारण ९० जना मानिसको निधन हुँदा तत्कालीन शिक्षा मन्त्री केशरबहादुर विष्टले नैतिक जिम्मेवारी देखाइ राजिनामा दिए । त्यसैगरी २०३० सालमा सिंहदरबारमा आगो लागेकोमा तत्कालीन प्रधान मन्त्रीले नैतिक आधारमा राजिनामा दिए । यो व्यवहारिक प्रश्न होइन नैतिक प्रश्न हो । केपी ओलिले पनि आफैं गोली चलाएका होइनन् होला तर पदमा बसे पछि नैतिकताले बाँध्छ । त्यसो नगर्नु ओलिले सूर्यबहादुर प्रवृति लिनु हो । सूर्यबहादुरले छिन्ताङ काण्डको कहिले नैतिक जिम्मेवारी लिएनन् । तर उनको निधनपछि प्रकासित उनको आत्म कथामा यो राज्यले शान्ति सुरक्षा गर्ने जिम्मा लिंदा दुर्घटना भएको भनेर घुमाउरो आत्मसमीक्षा गरेको पाइन्छ । कम्तीमा त्यति मात्र भए पनि ओलीले आत्मसमीक्षा गर्नुपर्छ । वालवालिका त मारिएका हुन् नि तिनको आत्म शान्तिका लागि क्षमा माग्न पछि हट्नु हुँदैन । त्यसै गरी ओलीले वर्तमान मन्त्रिपरिषदलाई पनि नचिढ्याई पछि कार्कीलाई नै प्रधानमन्त्री बनाई चुनाव गराउने शर्तमा अहिले कार्कीसँग बसेर छलफल चलाएर मुलुकलाई निकाशा दिनु पर्छ ।
अर्कातर्फ जेन्जी भाइ बहिनीहरुले पनि आफ्नो गोरुको बाह्रै टकका भनिरहनु हुँदैन र द्वद्वलाई बढावा दिनु हुँदैन । २३ गतेको घटनामा ओली र लेखकलाई खेदिरहँदा २४ गतेको घटनाको जिममा हामी लिन्छौं हामी आफूले नगरे पनि त्यो दिन हामीले आन्दोलन गर्ने भन्ने हाम्रो माग अनुसार नै आन्दोलन भएको हो हामी त्यस घटनाको नैतिक रुपमा जिम्मा लिन्छौं भन्न सक्नु पर्छ । अब सरकारमा रहेका आधारमा २३ गतेको जिम्मा लिएपछि २४ गतेको घटनाको जिम्मा आफूले नअह्राएको नभनेको घटना भएका भए पनि हामी नैतिक रुपमा त्यसदिन भएको घटनाको जिम्मा लिन्छौं भन्न पर्छ र दुबै बराबर वा दुबैले हारेको वा दुबैले जितेको ठहर्छ । त्यसो हुँदा कार्वाही गर्ने हो भने दुबै नेताले कार्यवाही भोग्नु पर्दछ । सफलता जति वा राम्रो जति हाम्रो नराम्रो जति सम्धीको गल्ती भन्न नैतिक रुपमा मिल्दैन । त्यसैले जेन्जी समूहले पनि आफ्नो गल्ती स्वीकार गर्नु पर्छ । घुसपैठ भयो भनेर भाग्न पाइदैन । दोषी दुवै पक्ष हुन् । दुबैले माफी मागेर समन्वयात्मक भूमिका दुबैले अपनाउनु पर्छ । माछो परे दुलामा हात सर्प परे दूलो बाहिर हात गर्न नैतिक रुपमा मिल्दैन ।
८. निष्कर्षः
यस्तो समझदारी भयो भने विस्तारै निर्वाचनको वातावरण बन्छ र सौहार्दपूर्ण रुपमा निर्वाचन हुन्छ नत्र दुबै पक्ष आफ्ना हठ नछोड्दा मुलुकमा निरन्तर अशान्ति हुन्छ ।
