चिंचा मानविका, नेपाली राजनीति र निर्दोष रवी

चिंचा मानविका प्रवृत्तिः
जबजब गौतम बुद्धको शिक्षाको प्रचार व्यापक तवरले हुन थाल्यो । अनुभूतिजन्य, यथार्थपरक,आशुफलदायक विपश्यना विद्याबाट मानिसहरुले प्रत्यक्ष लाभ लिन थाले । तब उनका अनुयायीहरुको भिड लाग्न थाले । उनको यश तथा कीर्ति चौतर्फी बढ्न थाल्यो । तत्कालीन समाजमा उनको मान प्रतिष्ठा तीव्ररुपमा विस्तारित भयो । त्यसले गर्दा मिथ्याकल्पना र अन्धमान्यता, परम्परागत एवं साम्प्रदायिक शिक्षाप्रति मानिसहरुको विश्वास टुट्न थाल्यो । अन्धविश्वासी प्रचारकहरु प्रतिको आकर्षण निरन्तर घट्यो । जसले गर्दा परम्परावादी अन्धविश्वासीहरुलाई असह्य भयो । उनीहरु इर्ष्या तथा द्वेषले जल्न थाले तर उनीहरुले बुद्धलाई के गर्न सक्थे र ?
यसैवेला ती अन्धपरंपरावादीहरुले बुद्धलाई नैतिकच्यूत हुन् भन्ने देखाउन प्रमाण बनाउने जुक्ति निकाले । शील र सदाचारका क्षेत्रमा बुद्धलाई बदनाम गर्न सके फेरि उनीहरुकै राज चल्ने थियो भन्ने उनीहरुलाई लाग्यो । त्यसका लागि उनीहरुले चिंचा मानविका नामकी एक जना सुन्दर युवतीलाई प्रयोग गर्ने विचार गरे । चिंचा सुन्दर थिइ उसले भनेका कुराहरु विश्वासयोग्य पनि हुन सक्थे । चिंचा त्यस्तो चरित्रको नाटकमञ्चन पनि गर्न सक्थि । तीनै मानिसहरुको सल्लाहले चिंचाले अव एउटा नाटक शुरुगरी । उसले खलनायिकाको भूमिका निर्वाह गर्न थालि ।
खलनायिका चिंचा समय–कुसमयमा जेतवन विहार जान थालि । कसैले सोध्यो भने राति जेतवनमा गौतमका साथमा बस्न कुटीमा जान्छु र राती गन्धकुटीमा गौतमसँग विताएर आउँछु भन्थि ।
एक कान दुई कान मैदान भने झैं यो कुरा उ गन्धकुटीमा जाने गरेकी र गौतमको गर्भधारण गरेको भनेर केही मानिसमा हल्ला फैलाइ । त्यस कुटिला युवतीको कुचक्रको हावा मन्दगतिले फैलन लाग्यो ।
आठ नौ महिना वितेपछि अनुकूल अवसर देखेर उ जेतवन विहारमा गइ । त्यतिवेला उसले आफू गर्भिणी स्त्रीको जस्तै भेषभुषा लगाइ । पेटभित्र एउटा अर्ध गोलाकार काठको टुक्रा लगाई पेटलाई ठीक गर्भवतीकै जस्तो बनाइ । उसको बनावटी पेटलाई डोरिले भित्रबाट बाँधि त्यसमाथि उसले एउटा रातो कपडाको चोली लगाइ ।
जुनवेला गौतम बुद्ध एउटा विशाल धर्मसभामा धर्मापदेश गरिरहेका थिए । त्यहाँ विशाल रुपमा भक्तहरुको उपस्थिति पनि थियो । धेरैजसो त्यहाँ भिक्षुहरु नै उपस्थित थिए । गौतमलाई वदनाम गर्ने अभिप्रायले चिंचा चिच्याइ चिच्याइ कराउन थालि । “अरे बेहोशी ! आफ्नु हुनेवाला वच्चाका लागि तेरा साथमा केही छैन, तेरा यी धनसम्पन्न अनुयायीहरुसँग मागेर केही धनको व्यवस्था त गरिराख ।”
गौतम शान्त रुपमा सभामा मन्दमुस्कानका साथ धर्मापदेश गरिरहे । उनी एकरति पनि विचलित देखिएनन् । उनले शान्तचित्त र करुणामय वोलिमा भने “वहिनी, तिमी जे कुरा भनिरहेकी छौ त्यसको सच्चाइ त कि तिमीलाई थाहा छ कि मलाई मात्र थाहा छ । मानविकाले च्याँठ्ठिदै भनी “हो हो तिम्रो त्यो वदमासीपूर्ण कार्य त हामी दुईजनालाई मात्र थाहा हुन्छ नि । तेस्रो मान्छे कसलाई थाहा हुन्छ र ? कामभोगको काम त एकान्तमा नै त हुन्छ । तिमी खालि रमण गर्न जान्दछौ । गर्भको बच्चाको उत्तरदायित्व त निभाउन जान्दैनौं नि ।”
यति धेरै लान्छना लगाए पनि गौतम अविचलित देखिए । उनको त्यो अविचलता देखेर बरु मानविका स्वयं विचलित भएर छट्पटाउन थालि र बसेको ठाउँबाट उठि । डरले पेटमा बाँधिएको डोरि खुकुलो भयो । डोरि खुकुलो भएपछि पेटमा बाँधिएको काठ पनि खुस्किएर खुट्टामा झर्यो।
सबै देख्ने मानिसहरुले त्यसलाई दुत्कारे, धिक्कारे । उसको बर्तमान पनि विग्रियो र भविष्य पनि विग्रियो । गौतमको त केही विग्रिएन उनी सम्यक संबुद्ध, अर्हन्त, स्थितप्रज्ञ, निन्दा तथा स्तुतिभन्दा माथि थिए ।
यो कहानी पढिसक्दा नसक्दै तपाईंहरुले मलाई आरोप लगाउनु हुनेछ कि म बौद्ध धर्मको प्रचार गरिरहेको छु वा कुनै कहानी सुनाइरहेको छु ।
नेपाली राजनीतिक दलहरु
यहाँ मैले चिंचा कहानीसँग नेपाली राजनीतिको वर्तमान प्रवृत्तिसँग तुलना गरिरहेको मात्र हुँ ।
यो प्रवृत्ति यहाँ छ्यापछ्यापि देखापरेको छ । तत्कालीन भारतीय समाजका पण्डाहरु आफ्नो गल्ती कहिल्यै देख्दैन थिए । सुधार गर्नुपर्ने आफ्ना पाटाहरु कहिले पनि देख्दैन थिए । बुद्धले ल्याएका र ल्याउन खोजेका सुधारहरुप्रति मात्र उनीहरु जलिरहेका थिए । उनीहरु बुद्धका सन्देशप्रति मानिसहरुको आकर्षण किन भयो भन्ने बुझ्न र आत्मसात गर्न सकिरहेका थिएनन् र विभिन्न जालझेल र तिकडम गरिरहेका थिए ।
नेपाली राजनीतिक दलमा भएका प्रवृत्तिहरु चाहे ती पुराना हुन् वा नयाँ सबैमा आफ्ना गल्तीहरु ढाकछोप गर्ने र आफू चोखो र अरु सबै गलत छन्, सबै बदमास हुन् भन्ने भाष्य निर्माण गर्न सक्दो प्रयास गरिरहेको पाइन्छ ।
आफ्नो अनुहारमा कालो पोतिएको छ अनुहार कहिल्यै हेरिएको छैन । अरुको अनुहारमा देखिएको पोतो मात्र कालो छ भनेर देखाइरहिएको छ ।
भदौ २३, २४कै घटनाको कुरा गरौं तत्कालीन प्रधानमन्त्री लगायत मन्त्री परिषद सामुहिक रुपमा जिम्मेवार हुँदाहुँदै मुलुकको शासनमा बस्ने सबै राजनीतिक दल र विपक्षी दलहरु पनि त्यसको निम्ति पूर्ण जिम्मेवार छन् तर कोही पनि हामी नैतिक रुपमा माफी माग्न तयार छैनन् । सकेसम्म केपी ओली र रमेश लेखकलाई सबै दोष थोपर्न प्रयासरत छन् ।
रास्वपा र राप्रपा पनि दोषीः
स्वयं नयाँ भनिएको रास्वपाले पनि सत्तामा भागेदार भई सत्ताको रस पिएकै हो । राप्रपा पनि विगत केही वर्ष नागार्जुनमा मस्त सुतिरहेका राजाका नाममा मत लिएर वर्तमान शासन सत्तामा रमाएकै हो । त्यस वितण्डाको सबै जिम्मा ओलि एक्लैलाई थोपरेर चोखो हुने प्रवृत्ति जाग्दो छ । उनीहरुमा हामीले संसदीय व्यवस्थामा केही न केही तर मारेकै छौं भनेर संसदीय व्यवस्थालाई बचाउन खोजेको देखिएको छैन । लामो संघर्ष पछि संविधानसभाबाट बनाइएको भनिएको संविधानको पक्ष पोषण गरिरहेको देखिएको छैन र त्यहाँ केही गल्ती भएको भए सबैको सल्लाहबाट यो यति चाहिं सुधार गरौं भनेर कहिले पनि संसदीय परम्परा अन्तर्गत व्यवस्थापिकामा लगेको देखिएन । अरुलाई दोष थोपरेर आफू पानी माथिको ओभानो देखिनखोज्ने प्रवृति तीव्र रुपमा झाँगिएको पाइन्छ ।
राष्ट्रियताको हिरोः
नेकपा एमालेले २४ गतेको घटनालाई विदेशी षड्यन्त्र भनेर केपी ओलिलाई राष्ट्रियताको हिरो बनाउन खोजेको देखिन्छ । चुच्चे नक्सा र २४ गतेको घटना, उनको चीन भ्रमण आदि जोडेर आफू राष्ट्रवादी शक्ति भएको पुष्टि गर्न खोजेको देखिन्छ । तर कुन विदेशीले कसरी आफ्नो सत्ता ढाल्ने प्रयास गर्यो भनेर पुष्टि गर्ने आधार प्रष्ट गर्न सकेको देखिंदैन । स्वयं नेकपा एमालेमा पनि आफू सत्तामा आउन अर्को गुटले त्यसै घटनालाई उचालेर केपीलाई सबै दोष थोपरेको र कांग्रेस भित्र पनि सत्ता इतर भएका मानिसले त्यस घटनाको सबै दोष लेखक र ओलिमाथि थोपरेर आफू सत्तामा आइयो भने सब ठीक हुन्छ भन्ने ढंगले प्रस्तुत भएको देखिन्छ ।
बृद्धाश्रममा जानु पर्ने पनि जेनजीका पक्षपोषकः
नेपाली कम्युनिष्ट पार्टीका नेताहरुको हालत पनि यही छ । उनीहरु सत्तामा भएको भए यस्तो हुने थिएन । मुलुकको यस्तो अवस्थाको जिम्मेवार सबै केपी र लेखक हुन् हामी सबै चोखा छौं । उनीहरु सबैले सत्ताको चास्नी चाखेकै हुन् । अब हामी आएमा सब ठीक हुन्छ भन्ने उनीहरुको अभिव्यक्ति स्वतः खारेज भइसकेको छ । नयाँ शक्ति र वैकल्पिक शक्ति भनेर देखिएका दलहरुको पनि मुलुक बनाउने स्पष्ट खाका देखिंदैन र आफू सत्तामा पुगे सब ठीक नत्र मुलुक त बर्वाद बनाए यी सब पुरानाको काम हो भन्ने विचार देखिन्छ । मुलुक बर्बादीमा गएको चुनावमा पैसा खर्च गर्न जनता किन्ने र सत्तामा पुग्ने र जनताप्रति गैरजिम्मेवार हुने प्रवृत्ति खतरनाक प्रवृत्ति हो । संसद मन्त्री हुने परम्परा सबैभन्दा बढि दोषी छ ।
जेन्जी भाइबहिनीलाई अगाडि लगाएर विध्वंश कसले मच्चाएको हो ? नाम विदेशी शक्तिको हल्ला चलाए पनि यिनै सत्ताशीन र सत्ताको चास्नी पिउन कम अवसर पाएका दलहरुको नै त्यो विध्वंशमा संलग्नता प्रष्ट देखिन्छ । अहिले अरु त अरु नेपाली कम्युनिष्ट पार्टीका प्रचण्ड,माधव तथा बाबुरामसम्म जेनजीकासाँच्चिकै अभिभावक हामी हो भनि हिंडेको देखिन्छ । कुलमान र प्रहरीका उच्च अधिकृतसम्म पुराना दलहरुले खराब गरे हामी हो मुलुक बनाउने भनेर अरु दलहरुलाई गाली गर्न लाइनमा छन् ।
गाली संस्कृतिको विकासः
यसरी अरुलाई गाली गर्ने र नयाँ दलमा प्रवेश गरेका पुराना दलका नयाँ कार्यकर्ताले मुलुक बनाइ हाल्छन् भन्ने कुनै आाधार, भिजन तथा योजना देखिंदैन । यी सबैको देखिएको चिंचा प्रवृति नै हो जो पुराना समाजका पुराना पण्डाले खडा गरेको चिंचा मानविका प्रवृत्ति नै हो । जो परिवर्तन नचाहने आफ्नो गुम्न लागेको सत्ताको रक्षाका लागि चिंचा खडा गर्न व्यस्त छन् । जबसम्म पुराना तथा नयाँ दलहरुले पण्डाहरुको चिंचा प्रवृति त्याग्दैनन् मुलुकको विकास संभव छैन ।
परिवर्तनमा सहकार्यः
मुलुकले चाहेको सहकार्ययुक्त परिवर्तन हो । संविधानको मकसद पनि त्यही हो । दलहरु नमिली नेपालको दिगो विकास संभव छैन । मुलुकको विकासका लागि नोकरशाही लालफित्तामा आमुल परिवर्तन हुनुपर्छ, दलालहरुको चंगुलबाट सरकार टाढा रही विधि र नियमबाट शासन चलाउनु पर्छ । आफ्नु अनुकूल नियम कानुनमा परिवर्तन होइन समाज र मुलुकको हितको निमित्त कानुन तथा संविधानमा परिवर्तन गर्नु पर्दछ यति नगरेसम्म मुलुक कहिले पनि उभो लाग्दैन । कर्मचारी र न्यायाधीसहरुलाई नियम कानुन अनुसार कामगर्न दिनुपर्छ ।
कर्मचारीमा भ्रष्टाचार बढ्दोः
कर्मचारीहरुमा देखिएको भ्रष्टाचारी प्रवृतिको अन्त्य गर्न एउटा निष्पक्ष र स्वतन्त्र निकायलाई पूरा अधिकार दिई नियन्त्रण गर्न कञ्जुस्याँइ गर्न हुँदैन । जतिसुकै दलहरु नयाँ अनुहार आए पनि जनतामा विश्वास छैन र ती दलहरुमा पुरानै मानिसहरुको व्यापक प्रवेश छ । त्यहाँ पनि पैसाको वलमा चुनाव जित्ने प्रयास र प्रोपागाण्डाहरु भइरहेका छन् । जनतालाई एकपटक भ्रममा पार्न सकिएला तर सधैं भ्रमित पार्न सकिंदैन । सबै राजनीतिक दलहरुले नयाँ पुस्तालाई पनि साथमै राखी सहकायर्, समन्वय र नीति र विधिमा शासन सञ्चालन गर्ने वातावरण बनाइनु पर्दछ ।
न्यायालयमा दबाबको अन्त्यः
हालै रवि लामिछानेलाई नेपाली न्यायिक इतिहासका नजीर तथा परंपरा विपरित थुना मुक्त गरिएको छ । रुपन्देही जिल्ला अदालतले थुनामा राखेर पुर्पक्ष गर्ने आदेश गरेकोमा त्यो आदेश उच्च अदालत तुलसीपुरले पनि सदर गरेको र त्यसलाई सर्वोच्च अदालतले पनि सदर गरेको अवस्थामा फेरि त्यही सदर गर्ने उच्च अदालतका अर्का न्यायाधीसहरुले सोही अदालतको पूर्व निर्णयलाई उल्ट्याउन सक्ने वा सर्वाेच्च अदालतको फैसलालाई उच्चले उल्ट्याउने परम्परा अहिलेसम्म नेपालको न्यायिक प्रकृयामा देखिएको थिएन ।
नेपालका कारागारहरुमा हज्जारौं मानिसहरु कैदमा छन् जो धरौटी राखेर छुट्न चाहान्छन् । प्रायः रवि लामिछानेकै जस्तो मुद्धाहरुमा कैयौं मानिस जेलमै बसेर मुद्धाको अन्तिम किनाराको फैसला सुन्न बसेका छन् । अब दुश्मनी साँधेको हो भने नेताहरुले तिनलाई अन्याय भएको किन देखिरहेका छैनन् । केही किलो गाँजा गरीवीको कारण बेच्न हिंडेका किसानहरु वर्षौं वर्ष जेलमा छन् र तिनले तिर्नु पर्ने जरिवाना समेत तिरेर निस्कन पाउँ भने पनि निस्कन पाएका छैनन् । के उनीहरुलाई अन्याय भएको छैन ? तत्कालीन सरकारले उनीहरु रहेका दलका केही मानिसहरुका मुद्धा पनि रविकै जस्तो भएकोमा केही छुट दिएको देखिएको छ । न्याय दिने शिलशिलामा न्याधाीसहरुले आफ्नै विवेकको कारण पनि त्यस्तो हुन गएको हुन सक्छ । तर यस मुद्धामा बर्तमान सरकारको दवाव वा युवराज सफलले उठाए जस्तो सेटिंगमा पैसा लेनदेन भएर रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरले धरौटी राखेर छोड्ने आदेश दिएको शंका गर्न सकिन्छ वा सरकारी दवावका कारण आदेश भएको हुन सक्छ किनकि केही दिन अगि केही नेताहरु जेलमा पुगेर रविलाई अन्याय भएको र यस्तै हो भने अदालत मात्र होइन न्यायाधीससम्म जलाइन सकिन्छ भन्ने जस्ता अराजक र धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए ।
यदि उनीहरुलाई रविमाथि अन्याय भएको भन्ने लागेको भए यसअगि उनीहरुको मुखमा किन ताल्चा लाग्यो ? बाहिरी व्यक्ति मात्र होइन सरकारमा बसेकै मानिसहरु पनि गोप्य रुपमा विभिन्न बहानामा रविसँग साँठगाँठमा थिए भन्ने घटनाहरुले पुष्टि गर्छन् । यसरी रवि छुट्दैछन् भन्ने पूर्व सूचना तथा तयारी बारे उनीहरु जानकार भएकैले रवि छुटाएको जस लिएर उनका समर्थकहरुको भोट तान्नका लागि पुगेका दृष्यले यो कुरा पुष्टि गर्छ ।
रवी दोषी कि निर्दोष ?
अव रह्यो रवीलाई दुस्मनी साँधिएको वा होइन ? तथ्यले रवि निर्दोष देखिंदैनन् । उनी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहकारी ठगिमा दोषी देखिएकै छन् । दोषी नदेखिएका भए म मेरो भाग तिर्छु भन्दै भन्दैन । मलाई जति राख म बस्न तयार छु म निर्दोष छु भनिरहन्छ । उनीलाई सर्वसाधारणलाई जस्तो प्रहरीले जवजस्ती बयान गराई स्वीकार गर्न लगाएको पनि होइन । स्वयं रवीले गल्ती स्वीकारेर मेरो भाग तिर्छु भनेपछि उनको संलग्नता थियो भन्नेमा कुनै संका नरहेकोले दुश्मनी साँधियो भन्ने उनको भनाइ स्वयं खण्डित हुन्छ । उनी तथ्यले दोषी देखिएपछि अदालती प्रकृया पूरा गरेर निस्किंदा नारा जुलुस गरेर दुश्मनी साँधियो भन्नुको कुनै तुक रहँदैन ।
मुलुकले किन दुःख पायो ?
निश्चय पनि पुराना दलहरु र स्वयं रवीकै दलको अवसरवादी सत्तामुखी प्रवृत्तिका कारण मुलुकले दुःख पाएको हो । म चाहिं शुद्ध अरु चाहिं सबै गलत भन्ने नेपाली राजनीतिको बनावटी वानी नै हो । जसरी केपी ओली, रमेश लेखक र सत्ताधारी दलहरु भ्रष्टाचार र मुलुकको वेथितिमा दोषी छन् त्यसैगरी रविको दल पनि निर्दोष छैन । पानी माथिको ओभानो हुन खोज्नु जनताका आँखामा छारो हाल्नु नै हो त्यसैले रास्वपा, राप्रपा लगायत नयाँ भनिएको वृद्धाश्रमी दलहरु पनि चोखा देखिंदैनन् । पुरानादलहरु दोषी देखिंदा देखिंदै किन सत्ताको मीठा चास्नीमा हाम फालेको ? यसको मतलव जनताको माया होइन चास्नीको रसको माया भएको मात्र हो ।
जेनजी पुस्ताको नयाँ दलको आवश्यकताः
वर्तमान परिवर्तन भनेको जेनजीकै रगत पसिनाले भएको परिवर्तन हो । कुनै पुराना दलका बृद्ध नेताले जेनजीलाई चलाउन खोज्नु मुर्खता हो । उनीहरुले नयाँ परिस्थिति चाहेका हुन् उनीहरुको सपना भ्रष्टाचार मुक्त नेपाल । उनीहरुले न त रवि चाहेका हुन् न त प्रचण्ड, बाबुराम । यसमा जेन्जीका प्रतिनिधि हामी हौं भनेर साखुल्ले पल्टिनु पर्दैन । जेन्जी स्वयं विज्ञ छन् कसैले पढाइरहनु पर्दैन र उनीहरुले तताएको ताइमा रोटी सेक्नु पनि पर्दैन । उनीहरुले स्वयं मिलेर नयाँ स्वच्छ दल निर्माण गर्नुपर्छ र उनीहरुको मुद्दा स्थापित गर्नु पर्दछ । निर्वाचनमा उनीहरु जानुपर्दछ । जेनजीहरुको प्रतिनिधि जेनजीहरु नै हुन् । एकदमै नयाँ अनुहारका मानिसहरु आएर अब हामी मुलुक चलाउँछौ भनेभने जनताले विश्वास गर्न सक्लान् । जस्तो कि हर्क साम्पाङ जो कहिले पनि सरकारमा पुगेका छैनन् । फेरि हामी सरकारमा पुगेका छैनौं भनेर दुर्गा प्रसाइ, गगन थापा, सुनिल शर्मा तथा विजुली मन्त्रीको नेतृत्व भएका दलहरु नयाँ होइनन् उनीहरु त पुरानै दलमा रहेर धेरैजसो तर मस्काइसकेका नेतामा पर्दछन् । उनीहरु पनि यो सबै वेथितिको दलदलमा भासिएकै हुन् । उनीहरु निर्दोष छैनन् । एउटा नयाँ निर्दोष मानिस सरकारमा पुग्यो भने केही हुन्छ कि भन्ने आशासम्म गर्न सकिएला ।
न्यायालयको स्वरुप परिवर्तन
तर न्यायालय लोकसेवाबाटै निष्पक्ष र खुल्ला प्रतिष्पर्धाबाट छानिएर गएका जिल्ला न्यायाधीसहरु हुने र उच्च तथा सर्वोच्चमा तिनीहरुबाटै छानिएर पुगेका न्यायाधीस हुने व्यवस्था संविधानमा नै हुनु पर्दछ र न्यायालयको कुनै पनि प्रकृयामा कार्यपालिकाले हस्तक्षेप गर्न नपाइने व्यवस्था हुनु पर्दछ । र न्यायालयमा चलिरहेको कुनै पनि मुद्धाका बारेमा सडकमा जुलुस लगाउने वा सभा गोष्ठी गर्ने कार्य बन्देज गर्नु पर्छ किनकि न्यायाधीसहरु चाहिं अर्को ग्रहबाट आएका जन्तु होइनन् उनीहरु पनि यसै समाजका मानिस हुन् हल्ला खल्ला दवावले निश्चय पनि न्याय निरुपणमा प्रभाव पार्छ ।
कर्मचारी प्रशासनमा सुधारः
साथै कर्मचारी प्रशासनलाई निष्पक्ष गर्न कर्मचारीको सरुवा बढुवा गर्न एउटा विधि निर्माण गर्ने र त्यसै विधिका आधारमा सरुवा बढुवा गरिनु पर्दछ । जसका लागि सरुवा बढुवा आयोग नै बनाएर काम गर्नुपर्ने हुन्छ भने भ्रष्टाचारको मामिलामा छुट्टै न्यायिक आयोग बनाउनु, छानवीन गर्नु र फैसला गर्ने उच्चतम आयोग बनाएर काम गर्ने स्वतन्त्र वातावरण बनाइनु पर्दछ । मूलतः भ्रष्टाचार विचौलिया, केही लेखन्दास तथा केही वकिल साबहरुको कारणले पनि हुने गरेको देखिएकोले त्यसमा कडाइका साथ कार्यबाही गरिनु पर्दछ । तब मात्र मुलुकले निकास पाउँला नत्र एउटा आउँछ म बनाउँछु भन्छ लुट्छ हिंड्छ ।
राज्यको पुर्नसंरचना र निष्कर्षः
स्वयं राज्य प्रणालीमा नै गल्ती कमजोरी छ । तिनमा सुधार नगरी नयाँ आएर सुधार गर्छु भन्नु दिवा स्वप्न बाहेक केही होइन । त्यसैले निर्वाचन प्रणली तथा राज्यको सरचनामा नै सुधार नगरी कसैले पनि मुलुकलाई यो भासबाट उद्धार गर्न सक्दैन । राज्यको पुनर्संरचना नगरी गरिएको चुनाव खर्च सक्ने उपाय मात्र हो ।
