आँसु

कहिले हर्षले बहन्छ आँसु
कहिले पीडाले पोखिन्छ आँसु
कहिले मनभित्रै
कुँडिएर बस्छ आँसु ।

त्यसैले–
जुन र मैले झारेका आँसु
रूपमा उस्तै देखिए पनि
सारमा हुने रहेछ
ध्रुवीय भिन्नता ।

जुनको आँसु
आकाशको काखबाट
शीत बनेर झर्दछ,
खुशीका ओस
झिलिमिली छालमा प्रतिविम्बित हुँदै
हरियाली बिरुवाको अँगालोमा ।

मेरो आँसु
आँखाको किनारबाट
वेदनाको भारी बोकेर
बहिरिन्छ,
दुःख टिल्पिलिँदै
चैतन्यको डर र त्रासले
मनका छायाँ
र आत्माको गहिराइमा
तर
कहिले पीडाको पँखेटा
फिँजाउन नसकेर
गर्भभित्रै गुडुल्किन्छ
निस्कन नसकेको
आँसु ।

Add a Comment

Your email address will not be published. Required fields are marked *