पश्चिम किल्ला चम्बा पो !

यो पुस्तक नेपाली र भारतिय दुई विद्वत व्यक्तित्व राहुल सांकृत्यायन र जनकलाल शर्मा बिच भएको पचात्रारमा राहुल सांकृत्यायनले जनकलाल शर्मालाई पठाएको एकतर्फी पत्र समावेस छन् । यो पुस्तकमा जम्मा एकसय पाँच थान चिठीहरु समावेस गरिएका छन् । राहुल सांकृत्यायनको चिठी जनकलाल शर्मालाई भनिए पनि उहाँहरु दुईजना बिचको सम्बन्ध उहाँहरुले गर्नुभएको भाषा, साहित्य, इतिहास, भुगोल, विभिन्न पुरातत्वको उत्खनन्, अनुसन्धान जस्ता विभिन्न कुराहरु समेटिएका छन् ।
सम्पादकीय “पंडिज्जी र महाँपंडिज्जी” शब्द देख्दा पाठकलाई एकछिन आश्चर्यमा पारेपनि पढ्दैजाँदा यसको रहस्य खुल्दा पाठक हाँस्न बाध्य हुन्छ । लक्ष्मीप्रसाद देवकोटाले उहाँहरुलाई संवोधन गर्ने शब्द रहेछ । राहुल सांकृत्यायनले देवकोटालाई हिन्दी साहित्यका तीन महान कविहरु जय शंकर प्रसाद सुमित्रा नन्दन् पन्त र सूर्यकान्त त्रिपाठी निरालाको विशेषता, प्रतिभा र गुण एउटै नेपाली महाकवि देवकोटामा पाइएको उल्लेख गरिएको छ ।
राहुल सांकृत्यायन अन्तर्राष्ट्रिय जगतमै ख्याति कमाएका विद्वान नेपालको विद्वतवर्गमा अत्यन्त चर्चित छन् । हिन्दी साहित्य तीन हस्ति बराबर देवकोटा हुनुहुन्छ भनेर राहुलको देवकोटाप्रतिको प्रशंसा हो । यिनै विद्वान राहुल र नेपालका वरिष्ठ विद्वान साहित्यकार अग्रणि पुरातत्वविद जनकलाल शर्मासँग घनिष्ट सम्बन्धको बारेमा नेपाली साहित्य जगतमा चर्चाको विषय रहेको छ । साच्चै उहाँहरुको मित्रता प्रगाढ रहेकोमा अचम्म लाग्छ । उहाँहरुको उमेर करिब तीस वर्ष फरक छ । राहुल अग्लो कदको भने शर्मा उचाई कम, उहाँहरुको भाषा पनि फरक तर पनि एक अर्काको विद्वतामा प्रभाव परेर उहाँहरुको मित्रता प्रगाढ छ । दुईजनाको मित्रताले दुईदेश बिचको सम्ब्न्ध साथै साहित्य, भाषा, सिमाना, कुनै पनि भौगोलिक क्षेत्रभित्र बसोबास गर्ने विभिन्न जातजातीको भाषा, संस्कृति आदिको बारेमा अनुसन्धान खोज हुनु पुरातात्विक ठाउँको उत्खनन् अनुसन्धान गर्न सहयोग पुगेको कुरा उल्लेख गरिएको छ ।
राहुलबाट शर्मालाई जहिलेपनि उत्साह र प्रेरणा मिलेको पाइन्छ यो कुराले शर्मालाई अवसर प्राप्त भयो भने उनि नेपाली पुरातत्वका “कनिङ्घम” हुन सक्दछ भन्ने कुराले पुष्टि गर्दछ । कनिङ्घम भनेको ब्रिटिस नागरिक भारतिय प्राचिन इतिहास तथा पुरातत्वको क्षेत्रमा अग्रणी पुरातत्वविद मानिन्छन् र त्यही स्तरको सम्मान पनि उनलाई सम्पूर्ण भारत र भारतिय इतिहासले प्रदान गरेको छ ।
जनकलाल शर्मालाई नेपाली पुरातत्वको इतिहासमा प्राग इतिहासको सुरुवात भएको भनेपनि हुन्छ उहाँको कठोर तपस्या, प्रवल जिज्ञासा तथा अटुट मेहनतले गर्दा “नेपालको पुरातत्व तथा प्रागइतिहासको क्षेत्रमा बामे सर्दै अगाडि बढने मौका पायो” त्यसैकारण नेपाली विद्वत समाजको एउटा ठूलै हिस्साले उहाँको अनुसन्धानात्मक र अन्वेषणात्मक क्षमता र त्यसबाट प्राप्त नतिजाको उच्च कदर गर्दै “नेपालको कनिङ्घम” को रुपमा स्थापित गरिएको कुरा प्रष्ट्याइएको छ ।
जनकलाल शर्मा र राहुल सांकृत्यायन बिच इस्वी सन् १९५२ जनवरीदेखि लिएर सन् १९६० अगष्ट महिनाको अन्तिम अर्थात् नौ वर्षसम्म पत्राचार भएको पाइन्छ । राहुलसँग शर्माको भेट जम्मा सात पटक भएको पाइन्छ सन् १९५६ मा नेपालमा अन्तिम पटक पाँचौंभेट त्यसपछि छैठौं अनि सातौं भेट दार्जीलिङमा शर्मा गएर भेटेको उल्लेख छ । उहाँहरुको भेटमा भएको गफ पनि एति रमाइलो हुन्थ्यो कि ठट्टा गर्ने दुईजनाको गफमा कसको बारेमा हो अरुलाई थाहा हुँदैनथ्यो उसको नाम दुईजनाले मात्र बुझ्नेगरि राखिएको हुन्थ्यो ।
पाठकलाई प्रश्न उठ्नसक्छ कहिलेदेखि पत्र संकलन गरेर सुरक्षित राख्न थालियो त्यो भन्दा अगाडिको पत्र कहाँ गए होलान जसरी शर्माज्यूले सुरक्षित राख्नुभयो त्यसरी नै राहुलज्यूले राख्नुभएको छ कि छैनहोला जसरी जनकलाल पूत्र डा. सुमन ढकालले एति दुख गरेर पाठक सामु ल्याउनुभयो । राहुलको छोरा धेताले के गर्लान् ? जनकलालले पठाएका चिठी पढ्न पाइएला की नपाइएला सबैको जिज्ञासा हुनसक्छ । यसको उत्तर पनि डा. सुमन ढकालले दिनुभएको छ ।
जनकलाल शर्माले ति चिठीहरु सार्वजनिक सम्पत्ति ठानेर राष्ट्रिय अभिलेखालयलाई बुझाइसक्नु भएको रहेछ । एउटा संयोग भन्नुपर्छ डा. ढकाललाई “नेपाल रिसर्च सेन्टर अन्तर्गत” नेपाल जर्मन हस्त लिखित ग्रन्थ संरक्षण परियोजना” मा केहिसमयका लागि संलग्न हुने मौका परेको थियो यसै सिलसिलामा राष्ट्रिय अभिलेखालयमा भएका कागजातहरुको माइक्रो फिल्म गर्ने सन्दर्भमा अध्ययन गर्दै जाँदा आफ्नो बुवाले अभिलेखालयलाई बुझाएको राहुलका ती चिठीहरुको पोको पनि फेला परेको सन्दर्भ छ । ति चिठीहरुलाई ल्याएर फोटोकपि गरेर त्यो चिठीको पोको जस्ताको तस्तै अभिलेखलाई बुझाउन सानो मेहनत छैन । उहाँले पुनः ति चिठीहरु प्राप्त गरेर राम्रो प्रतिलिपी तयार गर्न नसकेकोमा पश्चाताप गर्नुहुन्छ । उहाँले जति गर्न सक्नुभयो त्यो नै ठूलो सफलता हो ।
यहाँ राहुल सांकृत्यायनलाई कसरी “महापण्डित”को उपाधि प्राप्त भयो भन्ने कुराको उल्लेख गरिएको छ । यसैगरि जनकलाल शर्मालाई पनि “महारथी”को संज्ञा दिइएको कुरा उल्लेख गरिएको छ । चिठीहरुको संख्या १०५ (एकसय पाँच) थान भएको र ति चिठीहरु हिन्दी भाषामा भएको, तिनलाई नेपालीमा उल्था गरेर नेपाली भाषी पाठकलाई सहज बनाएको कुरा साथै राहुलले लेखेका चिठीमा सम्बोधन गर्दा राखिएका शब्दहरु उल्लेख गरिएको छ । जनकलाल शर्माृलाई अन्य विद्वानहरुले लेखेका पत्रहरुको संकलनमा नेपालका अर्का साहित्यकार बालचन्द्र शर्माले आपूm कुटनितिक सेवामा विदेशमा रहँदा पठाएका पत्रहरुको संख्या पनि परिस्थिति अनुकुल हुन सक्दा बालचन्द्र शर्माका चिठीहरुलाई लिएर अर्को कृति तयार हुने संभावना देखाउनु भएको छ ।

राहुलले आफु विभिन्न ठाउँबाट र विदेशमा हुँदा चिन र सिलानबाट पठाएका छन् । चिठी आदान प्रदानका क्रममा कुनै ठाउँमा सँगै जाने दुवैजनाको लक्ष्य एउटै हुन्थ्यो । त्यस क्षेत्रको इतिहास, पुरातत्व, संस्कृति भाषा आदिको प्रत्यक्ष अध्ययन, अनुसन्धान र जानकारी लिनु । त्यो भ्रमण जनकलाल शर्माको ज्ञानमा मात्र वृद्धि भएन बरु अझ थप हाम्रो नेपाल राष्ट्रलाई नै एउटा महत्वपूर्ण ऐतिहासिक उपलब्धी हासिल भयो । त्यहाँ प्राप्त सामाग्रिको आधारमा सुगौली सन्धी भन्दा अघि नेपाल भूभाग “टिष्टादेखि सतलसम्म होइन टिष्टादेखि रावी”सम्म रहेछ । राज्य विस्तारका क्रममा नेपालीले रावी नदीको पश्चिम किनारामा स्थित चम्बासम्म पुगेर विजय झण्डा गाडेका रहेछन् भन्ने महत्वपूर्ण सूचना उद्धरित भयो जनकलाल शर्माबाट ।
राहुलको कमलासँग कसरी भेट भयो कमला परियार बाट डा. कमला सांकृत्यायन बनेको कुरा पनि उल्लेख गरिएको छ । राहुलले माटोलाई छुँदा पनि सुन बन्छ भन्ने कुराको प्रसंग जोडिएको छ ।
पत्रहरु खासै लामा छैनन कुनै कुनै त एक हरफ मात्र पनि छन् । उहाँको पत्रमा आफुलाई चाहिएको अनुसन्धानको सामग्री मगाउनुभएको र कमलाको पढाइको निम्ति चाहिने सामग्री मगाउनु भएको देखिन्छ । जनकलाललाई पनि आफ्नो कर्मप्रति झकझकाइरहेको कुरा पाइन्छ जस्तैः– अंग्रेजी भाषाको निम्ति दुईघण्टा समय मिलाउनु भन्ने सल्लाह । कमलालाई पनि नेपालप्रतिको मोह देखिन्छ ।
कमला सांकृत्यायनले पनि शर्मालाई लेखेका पत्र चार थान राखिएका छन् । कमलाले उच्च शिक्षा अध्ययनका लागि जनकलालले गर्नु भएको सहयोगप्रति कृतज्ञ हुनुहुन्छ । उहाँ पनि नेपाली भाषा साहित्यप्रति प्रेम गर्नुहुन्छ उहाँले नेपाली पत्रपत्रिकाको ग्राहक बन्छु भन्ने वाक्यले पुष्टि गर्छ । नेपाल आउन मन पराउनु यहाँको भाषा साहित्यप्रति मोहित हुनु र भानुभक्तको रामायण र तुलसीदासको रामायण बिच फरक विषयमा सोधकार्य गर्नुले पनि नेपालप्रतिको श्रद्धा देखिन्छ ।
यो पुस्तकमा राहुलको पारिवारिक वस्तुस्थिति उहाँका साहित्यिक कृतिहरु उहाँले जनकलाल शर्मालाई दिएको भर, प्रेरणा र प्रोत्साहन र जनकलाल शर्माले पनि उहाँलाई आवश्यक सहयोग पु¥याउनुभएको नेपाल र नेपाली भाषा, संस्कृतिप्रतिको मोह सबै पत्रमा एस्तै लेखिएको छ । उहाँहरु दुईजना कतै जाँदा भएका रमाइला घटनाहरुलाई राखिएको छ । जसले पाठकलाई खित्का छोडेर हास्न बाध्य बनाउँछ ।
राहुल सांकृत्यायनको परिचय उहाँ कसरी सांकृत्यायन हुनुभयो, महाँपण्डितको उपाधी कसरी पाउनुभयो वहाँको स्वभाव कस्तो थियो भन्ने प्रश्नको सबै उत्तर पाइन्छ । राहुलले सुँगुरको मासु र भात खाएको कुरा गर्दा त्यसको जवाफमा “निस्त्रैगुण्ये पथि विचरताां को विधि ः को निषेध” भनेर दिएका थिए उनिसँग शास्त्रार्थ गर्ने कसैको हिम्मत थिएन । संस्कृत र तिब्बतिय अद्धितिय विद्वान भनिएको छ ।
जनकलाल शर्माको पुस्तक “ललित–कला र साहित्य” का निमित्त महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको परिचय शीर्षकको भूमिकामा देवकोटाले भन्नुभएको छ, “विधाा अजङ्ग मूर्तिले जिज्ञासु जनकलाल जीलाई चुम्बकले फलामलाई तानेझैं तानिहाल्यो” “पण्डितजी महापण्डितजीका परम पूजारी हुनुहुन्छ” यो शीर्षक पढ्दा नहासी बस्न सकिँदैन पढन मजा आउँछ । देवकोटालाई “पागल” कविता लेख्न बाध्य बनाउने पनि उहाँहरुकै कारण रहेछ ।
महापण्डित राहुल सांकृत्यायनद्वारा “आजकाल”मा प्रकाशित नेपाली महाकवि देवकोटाको शीर्षकमा हिन्दी भाषामा लेखिएको लेखको नेपाली अनुवाद राखिएको छ ।
कुनै समय चम्बा राज्य गोर्खालीको अधिनमा रहेछ । स्थानिय जनताले आज पनि बिर्सेका छैनन् गोर्खालीहरुलाई त्यसै कारण आजपनि गोर्खालीलाई सम्झेर यो लोकगित गाइदो रहेछ ।
“राजा तेरे गोरखियाँने लुटया पहाड
लुटया पहाड गोरीटा लुट्या पहाड
तीसा लुटया वैरा, लुटया मान्दल कि हार
पाँगीदी पंगाबलिया लुटिँयालूटी बाँकी नार ।।
सुन्ना लुटया नान्दी लुटया, लुटया जबहारा
सेजा सुत्ती कामिनी लुटियाँ लुटया पहाड ।।”
कति मार्मिक छ यो गीत यस्ता विविध जानकारीको दस्तावेज हो यो पुस्तक । यो पुस्तक अत्यन्त ज्ञानवर्दक छ ।
यो पुस्तक निकाल्न डा. सुमन ढकालले गर्नुभएको परिश्रम लगाव सराहनिय छ । उहाँले निभ्न–निभ्न लागेको ज्योतीलाई कहिल्यै ननिभ्ने प्रकाशमा परिणत गर्नुभएको छ । कुनै पनि सन्तानले पितृउद्वार कार्य भनेर जे जति कार्य गर्छन, तिनिहरु सबैभन्दा माथी यो कार्य गर्नु भएको छ । हाम्रो सिमाना टिष्टादेखि पर चम्बासम्म रहेको कुरा गौणमै थियो, यो पुस्तकले उजागर गरेको छ । त्यसैले पश्चिम किल्ला चम्बा पो ! शीर्षक सार्थक रहेको छ ।
यो आजभन्दा ७० वर्ष अघिका पत्रहरू सुरक्षित राख्ने जनकलाल पुत्र डा.सुमनको योगदान सानो छैन। त्यसमाथी तिनको नेपाली अनुवाद गरी तिनलाई बोधगम्य बनाउनु भयो। त्यसैगरी विस्तृत भूमिका लेखी त्यो समयको भूगोल र इतिहाससँग जोडेर अर्थ लगाउने अर्का विशिष्ट विद्वान प्राडा. माधव पोख्रेलको त्यत्रै ठूलो योगदान छ। यसलाई उज्यालो जगत देखाउने मन्जरी प्रकाशनका लक्ष्मण गाम्नागेलाई पनि उत्तिकै श्रेय दिनुपर्छ । प्रत्येकका निम्ति कृति पठनीय छ ।
