‘जेन-जी विद्रोह’ भनिने यो घटनाको प्रभाव अझै कम भै सकेको छैन

राजनीतिलाई भावनाले मात्र हैन, राजनीतिक चेतले हेरौं । भावनाले मात्र हेरियो भने जति छिटो उत्साहित भइन्छ, सत्य यो पनि हो कि निराशा त्यहि रफ्तारमा व्यहोर्नु पर्छ । आफ्नो पूर्वाग्रही सोचले हैन सकेसम्म विवेकपूर्ण ढंगले हेर्दा कम निराशामा पुगिन्छ ।

पछिल्लो समय नेपालमा सामाजिक संञ्जाल प्रयोगकर्ताको संख्या उल्लेख्य छ र यसको प्रभाव र प्रयोगले खास अर्थ राख्दै आउन थालेको छ । नेपालको पछिल्लो राजनीतिक घटनामा गत भदौ २३/२४ यसकै प्रभावमा भयो । ‘जेन-जी विद्रोह’ भनिने यो घटनाको प्रभाव अझै कम भै सकेको छैन । यहि घटनाको प्रभाव देशका हरेक अवयवमा देखिनु पनि सामान्य नै हो । तर त्यसलाई स्वीकार गर्न नसक्नु असामान्य पक्ष हो । त्यसो त हरेक परिवर्तन र विद्रोहलाई प्रतिगामी कित्तामा रहेर विश्लेषण गर्नेहरू पनि हुन्छन् र उनीहरू अनेकौं भाष्य बनाउने प्रयासमा हुनु पनि खासै नौलो हैन । प्रजातन्त्र ल्याउदा होस् वा गणतन्त्र ल्याउदा पुराना शक्तिले नयाँलाई आतङ्कारी र देशद्रोही देखेजस्तै यस पटक पनि प्रत्यक्ष र परोक्ष राज्यको स्रोत र साधन दोहन गर्नेहरूले अहिले पनि विद्रोहीलाई त्यहि प्रतिगामी दृष्ट्रिकोणले हेर्छन् । यो नै उनीहरू असान्दर्भिक हुँदै गरेको प्रमाण पनि हो ।

लोकतन्त्रमा नागरिकको सर्वोच्चता स्विकार गर्न नसक्ने इतिहासमा कयौं ठुला शक्ति ‘आफै इतिहास’ बनेका छन् भने हाम्रोमा पनि त्यस्तो देखिनु अनौठो हैन । लोकतन्त्रमा सदन, सरकार र मतले वेवास्ता गरे नागरिकको मत सडकमा पनि प्रकट हुन्छ, भदौमा भएको त्यहि हो । विद्रोहपछि पनि पुराना कित्ताका मानिस अनेकौं सुगर कोटेट कुरा गरेका भएपनि बुझिने गरि प्रतिगामी कित्तामा प्रकट भैरहेका छन्, जो हरेक परिवर्तनपछि सधै र सबैतिर देखिन्छन्, नयाँ कित्ताकाले त धम्की र जोखिमका बीच पनि स्वामित्व नै लिन्छ ।

स्मरणीय यो छ कि शक्ति क्षय भएको र कमजोरहरू पुरानो बैशाखीको आठमा शक्तिको अभिनय गर्छन् । अभिनय न हो सच्चाई हैन । तर यहाँ चर्चा गर्न खोजिएको पछाडि छुटेका प्रतिगामी शक्ति र व्यक्तिबारे हैन । अबको सम्भावित नयाँ राजनीतिक परिवेसको हो । त्यसो त नेपालका कुनै परिवर्तन नयाँको योग्यता, दक्षता, क्षमताको आधारमा भएको छैन। छ त केवल पुराना अयोग्य, अक्षम र असान्दर्भिक भएर मात्र । कसैको अयोग्यता नै अर्कोको योग्यता होइन । यसका लागि हाम्रो देशका परिवर्तन र परिवर्तन पछिको अवस्थालाई हेर्दा पुग्छ । समयको स्वाभाविक गति बाहेक नीति र योजनाले परिवर्तनको मर्मलाई सम्बोधन गर्न कहिल्यै सकेको छैन् । यसपल्ट पनि यो अपवाद हुने छैन ।

आगामी सम्भावित चुनावलाई लक्षित गरि दर्जनौं नयाँ दल खुलेका छन् । केहि पुराना दल आफुलाई अनुकूल बनाउने प्रयासमा छन् । यसका लागि तिव्र गतिमा दलहरू एकीकरण र ध्रुविकृत भैइरहेका छन् । कार्यकर्तालाई नयाँ दल बन्नु र ठुलो बनाउनुले उत्साहित बनाए पनि नागरिकका लागि तात्विक रूपान्तरणको अपेक्षा गर्नु पर्ने केहि छैन् । गतिविधि हेर्दा हिजो एउटा जथ्थाले दोहन गर्थ्यो अब फरक व्यानरमा दोहन गर्न उद्त भएको मात्र देखिन्छ, कतिपय व्यानर फेरेर पात्र र प्रवृति उहि पनि आउनेछन् । खास विद्रोहको मर्म अङ्गिकार गर्ने शक्ति बन्ने आशा छिट्टै निरासामा बदलिने छ । त्यसो त नयाँ पार्टी र नयाँ अनुहार देखिनु मात्र राजनीतिमा योग्यताको मापदण्ड हैन । इतिहास पुरानो हुनु भनेको दल पुरानो हुनु हैन भने जस्तै नयाँ हुनासाथ योग्य हुने हैन । समाज र नागरिकको आकांक्षा, चाहना र समय चेतका आधारमा रूपान्तरण र सान्दर्भिक देखाउन सक्ने दल सधैं नयाँ र सधैं रोजाईको हुन्छ ।

बहुदलिय लोकतन्त्रमा प्रतिस्पर्धा सामान्य र नियमित प्रकृया हो । प्रतिस्पर्धि दलहरू ठुलो सानो भैराख्छन् । तर ठुलो दल बन्नु र सानो दल बन्नु मात्रै पनि योग्यता र क्षमताकै कारण मान्न सकिन्न । नीति, योजना र कार्यक्रम विना अनुहार, फेमको आधारमा ठुलो हुँदा दुर्घटना पनि ठुलै आउँछ । ठुला दलमा ठुलै समस्या सामना गर्नुपरे त्यो दल ठुलो हुनु अझ घातक हुन सक्छ । नेपालमा अक्सर ठुला दल हुनु भनेको समस्या पनि ठुलै जम्मा गर्नु जस्तै छ । जब नीति, योजना र कार्यक्रमका आधारमा दल ठुलो हुँदैन, तब व्यक्ति र पद व्यवस्थापन प्रमुख हुन्छ । सामान्यतया नीति- निर्माताले नेतृत्व गर्छ, जहाँ नीति नै हुन्न अनि के को नेतृत्व गर्नु ? बस्, केहि थान मानिसको मात्र नेतृत्व गर्छ । कार्यक्रम बिनाका भिड छिट्टै निरास हुन्छन् र दलभित्र खटपट आइहाल्छ, अन्तत: पार्टीहरू फुटमा पुग्छन् । व्यवस्थापन र प्रभावकारी संञ्चारमा कमजोर नेताहरू असमझदारीलाई थेग्न सक्दैनन्, दल फुट्छन् । पछिल्लो समय रास्वपा र बालेनको ७ बुँदे सहमतिको सन्दर्भमा पनि यहि हुनेछ ।

यिनिहरूको मिलन असल सोचले नै गरिएको होला (?) । सहमति पत्र हेरेको आधारमा ढुक्कसँग भन्न सकिन्छ, यिनिहरूको मिलन फुटकै लागि हो । यस सहमतिले जोडिराख्ने भनेको चुनावी भोट आफ्नो पक्षमा पार्नु बाहेक बाँकि अरू आधार छैन । सर्वोपरी पद राख्नेहरूले के नतिजा देलान ? कुलमानसँग होस् वा हर्क, प्रलोपा होस् वा गलोपा यिनिहरूले गर्ने सम्भावित सहमतिमा पनि यहि कमजोरी देखिने निश्चित छ । अवसरलाई क्यास गर्न मात्र बन्ने शक्तिले वास्तविक मर्मलाई आत्मासाथ गर्न सक्ने सम्भावना नै रहदैन् । काङ्ग्रेस, एमाले त हिजोको राप्रपाको स्थानमा पुगिसके । काङ्ग्रेस- एमालेले नगर्ने, नयाँहरूले मर्म आत्मसात गर्न नसक्ने किन भयो त ? के हुन्छ त विद्रोहको मर्म ? हो, ठिक यहि भनिएको हो उत्साहित बढि नहुनु, छिटो निरास भइन्छ । नयाँ दलहरूमा युवा, पढेलेखेका, विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने, बहुसांस्कृतिक सोच राख्ने, योग्य पेसाकर्मी सबै छन् । तिनिहरूको नेतृत्वमा सबै अरू गुण होलान तर तिनिहरूमा मुलभूत रूपमा ‘राजनीतिक सोच (पोलिटिकल स्कूल अफ थट)’ नै छैन ।

राजनीति गर्ने पनि मानिस नै हुन, उनीहरूले गल्ति गर्दैनन् भन्ने होइन । गल्तिको जिम्मेवारी पनि स्विकार गर्न नसक्ने नेतृत्वले कहि पर लैजान सक्दैन, गल्ति मानव समूहमा स्पष्ट सत्य हो । गल्ति नगर्ने नेता सोक्रेटस् भन्दा पनि पहिलेका हुन भन्ने मान्नुपर्छ । करिब २५ सय बर्ष अघिको सोचले आजको समय र मानिसको नेतृत्व गर्ला भनेर विश्वास गर्न सकिदैन । नयाँ भनिएका नेताहरू गल्ति त स्विकार्दैनन् नै उनीहरूको हरेक भाषणमा इमान्दार भएर योग्य हौं भन्छन्, जबकी एरिस्टोटलको युगबाटै इमानले मात्र राजनीति हुन्न भनिसके ।

ईमानको राजनीतिलाई मात्र देखाएर नेपाली समाजलाई २ हजार भन्दा पुरानो युगमा फर्काउन लाग्दैछन् भने यिनिहरूबाट उत्साहित हुनु बेकार छ । तर नेपाली समाजले योग्य नेता पाउदैन भन्ने होइन्। केहि थान नेता अयोग्य भए तिनिहरूलाई नै अङ्गालो हालेर मात्र नबसौं, योग्य आउने बाटो खुल्ला राखौं, अवस्य आउछन । सहि नेता छान्नु र पाउनु सहज पनि त हुँदैन ।

Add a Comment

Your email address will not be published. Required fields are marked *