समानुपातिकको विडम्बना

भर्खरै रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचि झड्का हेर्दा झड्का लाग्यो । नयाँहरूले प्राथमिकतामा राखेको नाम हेर्दै गर्दा भदौ २३/२४ को नारा समझिएँ । ति बिद्रोहीले के भने होलान भन्ने ठानें । ठिक यस्तै भएको थियो काङ्ग्रेस, कम्युनिष्टको विगतका निर्वाचनमा बुझाएको सूचि हेर्दा । श्रीमान- श्रीमती, छोरा-छोरी, साला-साली, माइती-मावली अनि पैसाको विटाले साटासाट गरेका अनुहार आँखै अघि आए । नीति-निर्माणमा उनीहरूको भूमिका के होला ? भन्ने मात्र हैन एक छाक खाएर पनि देश बनाउन हुटहुटी बोकेका ति अनुहारहरूले हाम्रा नेता भनेर मान्नुपर्ने । ति हरेक किसिमले प्रतिस्पर्धा गर्न सक्ने सक्षम अनुहार, समानुपातिक सूचीमा । नेताको गोजिबाट निकालेका अनुहार नै हाम्रा नेता ठान्नुपर्ने कार्यकर्ताको बाध्यता । हिजोसम्म केपीको छायाँ प्रकास सपूतमा देख्नेहरू आज आफ्ना नेता भन्दैछन, राजनीतिक पार्टी, केपीको ठाउँमा रवि/बालेन बाहेक के फेरियो, के बदलियो ?

(स्पर्श काफ्ले)

तिमीहरूको नेता तिमीहरूले हैन मैले छानेको नै तिमीहरूको नेता ठान्ने यि मुखियाहरू । विगतमा यस्तै विकृतिको सगरमाथा बनेकाले नागरिकहरू वाक्क-दिक्क थिए, फेरी निकट इतिहास दोहोरियो, अझ विकृत रूपमा । अब, रास्वपाको नेता बन्दैछन्, व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल, व्यापारी विदूषी राणा, खुस्वु सरकार श्रेष्ठ, सेलिब्रेटी आसिफ शाह, रिमा विश्वकर्मा, प्रकाश सपूत पूर्व मिस नेपालको ताज पहिरिएकी अनुष्का श्रेष्ठ पनि आरक्षण कोटामा । अब पुरानाले गरेनन् र भएन भन्ने रास्वपाले खास गर्न खोजेको के रहेछ, हरेक फिल्डका एलिटहरूलाई जम्मा पारेर ? एउटा पनि महाधिवेशन नगरेका कारण रास्वपा पनि नयाँ नै भयो यो नयाँ दलले सायद बुझेन कि क्या हो ? संसदमा सर्कस हो कि सांसद देखाउने हो भन्ने । आफैमा ठूला संचारमाध्यमको भन्दा बढि सामाजिक संञ्जालमा फलोअर लिएका नेतालाई किन अरू सेलिब्रेटीलाई पनि सुरक्षित गर्नु परेको ? संसदमा कन्सर्ट वा महोत्सव देखाउने योजना भए मेरो भन्नु केहि छैन, हैन भने यि अनुहारले समानुपातिकको हुर्मत उठ्न नसक्ने गरि गिराइदिए । यहाँ काङ्ग्रेसले पञ्चायती रात्रीभोजमा सामेल, काङ्ग्रेस महामन्त्री गगन थापाका ससुरा अर्जूननरसिंह केसिदेखि एमाले अध्यक्ष केपी ओलीका सगोत्रिय कोमल ओलीहरू पटके छान्ने र यस्तै विकृतिको थुप्रोले गत भदौ २३/२४ को आलोकमा यहाँ नयाँ शक्तिको मात्र चर्चा गरिएको हो ।

समाज र सामाजिक संञ्जालमा खुबै चर्चा हुन्छ, यो देश नबन्नुमा कर्मचारी बाधक, पुलिस, सेना र अन्तत: बहसको अन्त्य यसरी हुन्छ, कि खास समस्या नै ‘नागरिक’ हुन ।

लोकतान्त्रिक देशमा समस्या नै ‘नागरिक’ भन्न सक्नु पनि सानो विद्वताले सम्भब हुन्न । समाज, नागरिक र देशको स्रोत-साधनको विनियोजनमा समस्या छ भनेर गर्ने राजनीतिले जब सबै दोष नागरिकमा देख्छ, हो यहाँ नै हो ‘पोलिटिकल स्कूल अप थट’ को अभाब । नागरिकता/पासपोर्ट लिन प्रशासन, उजूरि गर्न पुलिस र न्ययका लागि न्यायालय, लाइसेन्स लिन यातायात, जग्गा कारोवारमा मालपोत वा कम्पनीका लागि कर तिर्ने निकायमा हुने झन्झटबारे दिनहुँ चर्चा हुन्छ । यि निकाय बाधक भए भन्ने पनि दोहोर्याई / तेहेर्याई रटान लगाइन्छ । तर कानुनी राज्यमा कानुनीरूपमा सुधार गर्नुपर्छ भन्ने तर्फ त झन नियो-एकेडेमिक एलिटहरू कुरै गर्न चाहन्नन् । संस्थागत रूपमा चलेका निकाय नव-सत्ताधारी वर्गका लागि मूख्य दुस्मन बनेका छन् । हरेक बाक्यको अन्त्यमा विकसित देशको उदाहरण त दिन्छन् तर त्यहि देशका विद्यमान नियम कानुन उल्लङ्घन गर्दाको नतिजाबारे बोल्दैनन्, भन्दैनन् । नियम- कानुन व्यावहारिक र दूर्वोध्य भयो भने संशोधन वा नयाँ बनाउने हो, नमान्ने होइन भन्दैनन् । अनि देश बनेन भन्यो आफ्नो स्वार्थको रोटी सेक्यो तर त्यहि सुधार गर्न र नीति निर्माणको सर्वोच्च निकाय संसदमा सांसद ‘चर्चित व्यक्ति’ पठाउन पाएकोमा गर्व गर्छन् । जो चर्चित व्यक्ति अड्डा जाने घुम्न बाहेक काम लिएर जादैनन्, वा आफूले गर्नुपर्ने काम अरूलाई जिम्मा दिन्छन्। । जबकी हरेक सरकारी निकायका अगाडि राख्ने वडापत्र हेरेर अधिकांश सुधार प्रारम्भ गर्न सकिन्छ, यदि विधिको शासनमा विश्वास गरिन्छ भने । नेपालमै ई-गभर्नेन्स पनि हुँदै छन् । मानिसहरू यि सब नजरन्दाज गरिदिन्छन् । अब भन्नुस त यि सेलिब्रेटिले संसदको लोगो टास्नु बाहेक के नीति बलाउलान ? बनाउदा पनि नीति बनाउलान कि ड्राफ्ट अक्षरको थुप्रो ? यसरी बनेका (कू)नीति र कानुनले के समाधान देलान ? कसका लागि समाधान देलान ? समाधान देलान कि समस्या ? अनि तिनै दलहरू भन्छन्, हामी देश बनाउँछौं । सेलिब्रेटी हामीसँग छन्, त्यसैले बनाउछौं, ईमान्दार छौं बनाउँछौं। लोकप्रियताले सेलिब्रेटी बनाउँछ, तर योग्यता होइन।

ठिक यहिं हो समानुपातिकको सान्दर्भिकता । आफ्ना दैनन्दिनका समस्या भोग्दै गरेका जो समस्यासँग जुध्दै छन् तर अन्य संरचनात्मक लाभ लिएकाहरूसँग प्रतिस्पर्धाबाट विजयी भएर आवश्यक नीति-निर्माण र कानुनी प्रबन्ध गर्न जान सक्दैनन् उनीहरूका लागि मात्र हो यो समानुपातिक । त्यसैले त यसमा क्लस्टर बनाइएको छ । क्लस्टर बनाइएको ‘सेलिब्रेटीलाई सेलिब्रेट’ गर्न हुदै होईन् । नेपालमा हरेक सकारात्मक प्रयासलाई यि यसरी नै विद्रुप र विकृत बनाईन्छ अनि रद्विमा फ्याकिन्छ । समानुपातिकको लिस्टमा नपाएर हो कि नचाहेर हो (?) हत्या र लागु औषधमा संम्लग्नलाई राखिएको रहेनछ, यसका लागि धन्यवाद ।

६२/६३ को परिवर्तनलाई नै पनि हेरौं न । राजा फ्याकेर ल्याइएको गणतन्त्रमा स्वयं गणतन्त्रका नेताहरू आफुमा नै राजा देख्न थाले । यसको पटाक्षप तपाईले अधिकांश सत्ताशीन नेताले विधिको शासन हैन, ‘निर्देशन’ले शासन गरिरहे । बस्ने कुर्सी हैन, सिंहासन खोजे । अभिवादन हैन, पिर्के नै सहि ‘सलामि’ नभई भएन । नेताहरू यात्रा गर्दैनथे, ‘सवारी’ गर्थे । यहि संस्कारका विरूद्वमा जेन-जीहरू उत्रे । यहि बिरोधलाई थप नसहन सडकमा उत्रे, जसलाई बिद्रोह भनियो, ‘जेन-जी बिद्रोह’ । विकृति हिजो मात्र हैन, भोलि पनि पक्कै हुनेछन् । कानुन उल्लङ्घन र समाजमा खलपात्र र चरित्र भोलि पनि हुनेछन, समृद्व भए पनि हुन्छन् । अर्थात मानिस रहिन्जेल अपराध र अपराधी पनि भैराख्न नयाँ, फरक सन्दर्भ र आवरणमा । हाम्रो भने विगतमा वाक्क भैसकेर त्यहि नै परिवर्तन गर्न खोजेका चिज नै दोहोरिहन्छ, त्यसैले नागरिकमा असन्तुष्टि र दिग्दारी ल्याउँछ । यस अघिको यहिं पहिलेको लेखमा ‘नयाँहरू किन टिक्न र मिल्न सक्दैनन्’ भन्ने चर्चा भैसकेको छ ।

सामान्यत: हरेक क्लस्टरमा पनि सीमान्तहरूलाई अवसर दिई उनीहरूलाई त्यहाबाट स्तरोन्नतिका लागि सहयोग पुगोस् र थप संङ्क्रमित हुन नपाओस् भनेर उनीहरूकै (ईन्डिजिनियस) अर्ग्यानिक समस्या र समाधानका लागि ल्याइएको समानुपातिकमा नयाँ भनिएका दलबाट पनि हुर्मत लिइनु दूर्भाग्यपूर्ण विडम्बना हो । अब, इतिहासले समानुपातिक उमेद्वार छनौट प्रकृयालाई लज्जा र घृणा अनि यसको हत्या गराउनमा जसरी काङ्ग्रेस र कम्युनिष्ट जस्तै रास्वपा लगायतका नयाँ भनिने दलहरूलाई पनि समदूरीमा देख्नेछ । समानुपातिक उमेद्वार छनौटमा पुराना दल जस्तै हालका नयाँ दलहरूमा पनि कलङ्कको टिका रहिरहनेछ, यिनिहरूको अस्तित्व रहेसम्म ।

Add a Comment

Your email address will not be published. Required fields are marked *