जीवनको भयावह गीत

वनफूलहरु फुलेनन्
आगोले बन खाएपछि
मान्छेहरु हाँसेनन्
अस्मिता खोसिएपछि
म विस्मित छु
समय विपरित बगेपछि ।
तिम्रो र मेरो यात्रा भिन्न छ
तिम्रो र मेरो विचार भिन्न छ
तिमी मुल बाटो हिड्छौ
मैले चोर बाटो हिड्नु पर्छ
तिमी प्रतिगामी कुरा गर्छौ
म प्रगतिशीलताको कुरा गर्छु
तिमी दास जस्तै छौ
म विद्रोही जस्तै छु ।
तिम्रो मालिक
अन्धो जस्तै छ
एकोहोरो इष्ट देवता पुकारी बस्छ
अन्धभक्त भएर
न्याय नछुट्याई हिड्छ
पाप-धर्मको ख्यालै नगरी
वली पूजा गर्दै
रगतको होली खेल्छ
र कथित विजयको अनुभूति गर्छ ।
म दुःखको सागरमा डुबेको छु
मेरो आफ्नै घर छैन
मेरो आफ्नै जमिन छैन
सुकुम्बासी बस्तिको टहरा नंं. ५१
मेरो भागमा परेको छ
उदाङ्गो छानोमुनि
म खुलाआकाश ओडेर
खुला भुइँ ओछ्याउँदै
जिन्दगी गुर्जान बाध्य छु
रहरको एक टुक्रो जमिन
रहरको एउटा बुकुरा
सपनामात्रै भएको छ
अपूर्ण मनको भङ्गालो जस्तो ।
कठपुतलीहरु नचाइन्छन
मेरो अस्तित्व चिमोट्न
म असुरक्षित छु
आफ्नै टहरामा
मलाई थिलथिलो हुने गरी चुटिएको छ
म सख्त घाइते बनाइएको छु
म घायल शरीर घसारेर
प्रतिकार गरि रहेकै छु
जीवन प्यारो छ
जीवनको भयावह गीत गाउँदै
म जिजीविषा कोट्याइ रहेछु ।
