सीमारेखामा उभिएको फागुन

खुल्ला आकाशबाट
पीडा र हर्षका आँखाले
हरियाली धरती नियाल्दै
रगत र पसिना बेचेर
घर फर्केका छन्
लाहुरेहरू ।
विदामा–
विभिन्न देशका सहर र गल्लीबाट
विगतका पीडादायी सम्झनाका साथ
भविष्यको सुनौलो रूपरेखा कोर्ने
हुटहुटी बोकेर ।
हृदयभरि घर–आँगनको सुवास,
आँखाभरि आमा र परिवारको प्रतीक्षा,
सुटकेसभरि उपहार बोकेर,
ओर्लन्छ लाहुरे
आफ्नो धरती चुम्दै
र स्थातित्व खोज्दै ।
कति आइपुगे–
शिवरात्रीको धूनी जगाउन,
फागु–पूर्णिमाको रङमा रमाउन,
कति त झण्डा छातीमा टाँसेर
फागुन एक्काइसको सपना बोकेर
राजनीतिक भीडमा रुमल्लिन ।
देश–
मानौँ भूमध्यरेखाको रापले तातेझैँ
चुनावी सरगर्मीले दन्किएको छ
मनसुनी वायुको गुन्टा बोकेका
भरिया बादलका गुल्छाहरू
नीलो आकाशभरि चुल्बुलाइरहेका छन्–
कतै अनिष्ट असिना झर्ने त हैन ?
जनता–
सडक र चोकचोकमा
धुम…धुम…धूलो उडाउँदै,
मादलको तालमा
गीत र नारा
आकाश र धरतीभरि घन्काउँदै ।
तर प्रश्न उभिएको छ
सतिसाल बनेर
के यो चुनावले
सही मार्ग समाउन सक्ला त ?
कि फेरि–
ईन्द्रेनी रङहरू धुमिलिँदै
सडकका नाराहरू
फागुन एक्काइसको
चुनावी मतपेटीभित्रै
कैद हुने त हैनन् ?
यदि सचेत हातले
मत खसालिएमा
सीमारेखामा उभिएको
यो फागुन एक्काइस
नेपालको इतिहासमा
उज्यालो नक्षत्र बनेर
चम्किरहने छ ।
अन्यथा,
पीडाको गह्रौँ भारी बोक्दै
अर्को पाँच वर्षपछिको
फागुन कुर्नु पर्नेछ
नयाँ पालुवाको आशामा ।
