संस्कृतिको क्षयीकरण

संस्कृति परिवर्तनशील हुन्छ। यो समयअनुसार बद्लिन्छ। मानिसका सभ्यता, संस्कार, परम्परा, चिन्तन, परिवेश आदिको परिवर्तनसँगै संस्कृतिको पनि परिवर्तन हुनु स्वभाविक हो। दिनदिनै प्रकृति परिवेश, शिक्षा, अनुभव, चिन्तन, कर्म प्रणाली आदि बदलिरहन्छन्। जीवनका अनुभवसितै सोंच, विचार आदि पनि बदलिरहन्छन्।
यहाँनेर उठान गर्न खोजिएको कुरा के भने अहिले जुन द्रुतगतिमा शहरीकरण भइरहेको छ, यसले अवश्य पनि नकारात्मक संस्कृतिको द्योतन गरिरहेको छ। बढ्दो शहरीकरणका साथै मानिसहरूको जीवन शैली पनि बदलिरहेको छ। चारैतिर ठुला ठुला गृह निर्माण कार्यले मानिसको धेरै मात्रामा प्रभावित पार्दछ। मान्छेले शारीरिक श्रम गर्न छोडे, खेतीपाती घटेर गयो, जीवनशैली बदली भयो। अब गाउँ गाउँ जस्तो रहेन। गाउँघरका रीति-रिवाज, परम्परा, एकता, परिचयपरिधि प्रभावित भयो। छरछिमेकी चिनिन छाड्यो। आफन्तका साइनो सम्बन्ध हराउँदै गएको छ। छिमेकीका बडा-बडी, काकाकी काकी माइजू, फुपाजु अब कम सुनिन थाल्यो। घर ठुलो भए तर घरका परिवार सानो भए। शहरको प्रभाव परेर गाउँले जीवनमा पनि आडम्बरले छोप्यो। पहिले पहिले घरमा पाहुना आँउदा शुभ मानिन्थ्यो, अब त्यो रहेन। अब पाहुना आउँदा अनुमति लिएर मात्र जानुपर्ने भयो। गाउँ घरमा खेता-पर्मा, ऐंचो-पैंचो अब रहेन।
यसो हुँदा हाम्रो श्रम गर्ने संस्कृति मासिएर गयो। घाँस दाउरा गर्ने कम भयो। गाउँमा गौपालन हटेर गयो। खेतबारी बाँझै छन्। धनियाँ र मूलादेखि लिएर जम्मै साग-सब्जी बजारबाट किनेर गाउँ लगेर खाने गरिन्छ। संसारी पूजा, गोठधुप, उँधौली उँभौली, देवाली हुनछाड्यो। श्रमबाट उब्जेका गीत-सङ्गीत अब उब्जने भएन। पसिना आउन छोड्यो, हिँडाइ कम हुन थाल्यो। नेपाली गीतको सुर बदलिएर गयो। नेपाली गीतहरू अर्कै अर्कै जस्तो सुनिन थाल्यो। बिहा पद्धति बदली भयो। अब बिहाघरमा बिहा हेर्नु होइन, कुनै होटेलतिर खानु र देखावटी शुभकामना दिन जानुजस्तो मात्र भएको छ। गाउँ घरको मराउको कार्य पनि अब आडम्बरी फेशनजस्तो भएको छ। दौरा-सुरूवाल, चौबन्दी-चोलो जस्ता जातीय पोषाक लाउन अब कुनै पर्व पर्खनु पर्नेभएको छ। दशैंको टिका लाउने घरहरू घट्न थालेका छन्। तिहारमा बिजुली झिलिमिलि बेसी हुन्छ तर देउसी-भैलेनी कम हुन थाल्यो। माघेसंक्रातीको महत्त्व घटेर गएको छ। मठ मन्दिर जान कम भएको छ। हाम्रा लोकगीत, सुगम-सङ्गीतहरू अब बदली भए। हाम्रो विचार नै पाश्चात्यकरण भएको छ। हाम्रो परोपकारी भावना अब स्वार्थकेन्द्रीत भएको छ। सामुहिक भन्दा एकलकाँटे हुन थालेका छौं।
आफ्नो गाउँको मूलघर छाडेर शहरतिर पलायन हुने र बसाइँ सर्ने प्रवृत्तिले गर्दा पनि हाम्रो संस्कृतिको क्षयीकरण भएको छ। गाउँ छाड्दा बिस्तारै उसले आफन्त छोड्यो, छिमेकी, गाउँ-घरका चलन, स्थानीय क्लब, सामाजिक संस्कार, घरभित्रको संस्कार, कुल, स्थानीय प्रकृति, परिवेश र शारीरिक श्रम गर्न छाड्यो। उ त सरलताबाट जटिलताको जीवन अपनाउन पुगेको हुन्छ। हाम्रो हस्तशिल्प, सङ्गीतशिल्प क्षय भएका छन्।
बिहा विषयक हाम्रो संस्कृतिको पनि क्षय हुँदैछ। अब अन्तर्जातीय बिहा गर्ने बढी चलन बसेको छ। यसका सकारात्मक र नकारात्मक दुवै प्रभाव परेको हुन्छ। जात-जातको मिश्रणबाट जन्मेको सन्तानले न बाबुपट्टिको न आमापट्टिको घरको संस्कार, संस्कृति र कुलको निर्वाह गर्दछन्। हामी शारीरिक कर्म संस्कृतिलाई लत्याउने हुँदा आर्थिक रूपमा प्रभाव परिरहेको छ। हाम्रो संस्कृतिसित स्वस्थ्य पनि जोडिएको हुन्छ तर यो कुरामा हामी पछि परेका छन्। हामीले अङ्ग्रेजी शिक्षा, उच्चशिक्षा, वैज्ञानिक शिक्षा आदिका नाममा आफ्नो मौलिक परम्पराका शिक्षा र ज्ञानबाट वञ्चित हुने काम गरिरहेका छौं।
हामी चारैतिरबाट क्षयीकरण भइरहेका छौं। हाम्रो संस्कृति पनि बदलिँदो तर खिइँदो अवस्थातिर जाँदैछ। जीवनलाई सुगम होइन अझै दुर्गम बनाउँदै छौ, स्वस्थ्यकर होइन अस्वस्थ्यकर बनाउँदै छौं, सरलतातिर होइन जटिलतातिर लाँदैछौं। हामी आफैंले आफ्ना मूल्य मान्यता, घरभित्रको संस्कार, सांस्कृतिक जीवनशैली आदिको क्षति पुर्याइरहेका छौं। घरका छोराछोरीलाई कुल-धर्म सिकाउन सकेका छैनौं। हाम्रा छोरीचेलीहरू दिल्ली बैंगलोर जस्ता ठुला शहरमा यदि पढ्न वा नोकरी गर्न गए सम्झनुहोस्, उसले त्यहीँका देशी केटासित प्रेम गरेर बिहा गर्ने गर्छन्। यो कुरा घर घरको कुरा हो। यसले गर्दा पनि हाम्रो संस्कृतिको क्षय हुने गर्दछ।
यसरी हेर्दा हाम्रो अवस्था उन्नतितिर होइन तर अवनतितिर जाँदैछौं। हाम्रो संस्कृति मासिएर अस्तित्व नै मासिने हुन्छ। हाम्रा हरेक गतिविधिले नै हाम्रै अवनति र मासिएर जाने सम्भावना सङ्केत गरिरहेका छौं। हेरौं कहिले चेतना हुन्छ।
