भुईँ छाडेको गाउँ

अंक १:
गाउँको सिरानमा, बर-पिपलका पुराना एकजोडा रुख थिए। एकले अर्कोलाई अँगालोमा बाँधेर अनादिकालदेखि उभिएका जस्तै लाग्ने । कति पुराना हुन्, कसैले ठ्याक्कै भन्न सक्दैन थिए । बुढाहरू भन्थे- “हामी सानो हुँदा पनि यिनको छाहरी यस्तै शीतल थियो, हाम्रा बुबाहरू पनि यही छायाँमा सुस्ताएर जवान भएका हुँदा हुन् ।” पुस्तौंदेखिका सम्झनाहरू आफ्ना पातहरूमा सँगालेका बुढा बर-पिपल, बन्चरे गाउँका पहरेदारझैं थिए ।
त्यही बर-पिपलमुनि ढुङ्गाको पटिया मिलाएर बनाइएको सानो चौतारा थियो । यो केवल गाउँलेहरू बस्ने, थकाइ मार्ने ठाउँ मात्र थिएन । यो चौतारो गाउँको सबैभन्दा ठूलो ‘संस्था’ थियो, जहाँ गाउँभरिका पिर-व्यथा र खबरहरू साटिने गर्थे । बिहान खेत जानुअघि मानिसहरू यहाँ ओत लाग्थे । बेलुका पसिनाको गन्ध र दिनभरिको थकान टकटकाउँदै फेरि यहीं भेला हुन्थे । तमाखु सेक्थे, गाउँका कुरा गर्थे- कसको घरमा बिहेको कुरा छिनियो, कसको गोरु हरायो, कसको छोराले सहर गएर जागिर पायो । बन्चरे डाँडामुनिको यो गाउँमा सबै कुरा, यही चौताराको हावामा मिसिएर गाउँभरि फैलिन्थ्यो ।
चौतारामा हरेक साँझ, तीनवटा अनुहार अनिवार्य भेटिन्थे, चौताराका तीनवटा थाम जस्तै ।
भक्तबहादुर काका, चौतारामा प्राय: सबैभन्दा पहिले पुगेका हुन्थे । अब खेतमा कोदाली खन्न नसक्ने उनी, आफ्नो बाँकी समय चौताराका चिसो ढुङ्गाहरूसँगै बिताइरहने गर्थे । उनीसँग सधैं एउटा पुरानो रेडियो हुन्थ्यो, जुन कहिलेकाहीं मात्र बज्थ्यो । जसले सधैं स्पष्ट नबोले पनि काकालाई संसारसँग जोडेको भान दिइरहन्थ्यो । काका, गाउँका जिउँदा इतिहास थिए । उनको अनुहारका गहिरा चाउरीहरूमा अनिकाल, महामारी र मेला-पातका अमेट कथाहरू लुकेको देखिन्थ्यो । उनी कान अलि कम सुन्थे, तर, गाउँको पदचापलाई उनले जति अरू कसैलेपनि खुट्याउन सक्दैनथ्यो ।
हर्क मिस्त्री प्रायः साँझ छिप्पिन लाग्दा चौतारामा आइपुग्ने गर्थ्यो । ऊ दिनभरि सिमेन्ट, बालुवा र इँटासँग जुधेर कपडाको धुलो टकटकाउँदै आइपुग्थ्यो । गाउँमै हुर्केको भए पनिसहरमा केही वर्ष घरहरू ठड्याएर फर्केको हुनाले उसलाई गाउँलेहरू ‘सहर चिनेको मान्छे’ भन्ठान्थे । गाउँमा कसैलाई सिमेन्टका नयाँ संरचना बनाउनुपर्यो भने उसैलाई डाकिन्थ्यो । हर्कको बोलीमा एउटा छुट्टै आत्मविश्वासको भान हुन्थ्यो; मानौं, सहरमा सिकेको आधुनिकताले उसलाई गाउँको माटोभन्दा दुई बित्ता माथि उठाइदिएको छ ।
गाउँकै स्कुलमा पढाउने गर्थे, रमेश मास्टर । चौतारामा उनी सधैंअरूहरूभन्दा अलि पछि नै झुल्कन्थे । उनकोकाखीमा सँधै एउटा पुरानो/मक्किएको किताब च्यापिएको हुन्थ्यो । त्यो गाउँमा किताब बोकेर हिंड्ने, उनी सायद एक्ला थिए । चौतारामा उनी धेरैजसो अरूको कुरा सुन्दै बस्थे । उनी धेरै बोल्दैनथे, तर कसैले केही सोध्यो भने केही न केही दर्शन वा पुराना कथा मिसाएर उत्तर दिन खोज्थे । रमेश मास्टर अरूभन्दा अलि फरक थिए, मानौं उनी त्यो चौताराको भीडमा भएर पनि कतै टाढाको यात्रामा निस्किएका हुन् ।
गाउँको जीवन वर्षौंदेखि उस्तै लयमा चलिरहेको थियो । गाउँका मानिसहरू बिहान खेतमा जान्थे, बेलुका फर्कन्थे । वर्षा आउँदा धान रोपिन्थ्यो, जाडो आयो गहुँ, डाँडामा अम्लिसो र अदुवा । हप्ताको एकपटक बेंसीमा हाटबजार लाग्थ्यो । चाडबाडहरू सधैं आउँथे-जान्थे | स्कूल पढ्दै गरेका केटाकेटीहरूमा हर्ष हुने नै भयो | शहर गएका जागिरे,पढ्न गएका विद्यार्थी र रोजगारीका लागि विदेश पुगेकाहरू पनि आलो-पालो सक्दो दशैं-तिहारमा गाउँ सम्झन्थे |
गाउँ र सहरको भेट भइसकेको थिएन | गाउँबाट सहर धेरै टाढा थियो, पुग्न आधा दिन पैदल हिंड्नुपर्ने । गाउँको संसार त्यति नै थियो ।
धेरै वर्षपछि, त्यो वर्ष, पहाडको कोखा चिर्दै विकासको ‘डोजर’ गाउँ सम्म आएको थियो । नयाँ धुलाम्ये सडक चौताराको फेदसम्म आइपुग्यो । अब गाउँको सडकमा, बिहान-बेलुकी बस र सुमो कुद्न थालेका थिए । मोटरसाइकल देखिन थाले । सहरबाट आउने फाट्ट-फुट्ट मान्छेहरूको बिसौनी, त्यही चौतारी बन्नसुरु भएको थियो ।
गाउँमा सडक आएसँगै बाहिरी संसार त नजिक भयो, तर गाउँलेहरूलाई आफ्नै आँगन अब पहाडको खाडलमा लुकेको सानो थोप्लो जस्तो भान हुन थालेको थियो । मोबाइलहरूमा सहरका झिलिमिली महल र अग्ला टावरका फोटोहरू देखिन थाले ।

अंक २:
जसै गाउँ र सहरको भेट भयो तब गाउँमा सडकसँगै बस आयो |र, बससँगै आएको थियो सहर र गाउँको तुलना गर्ने बानी । चौतारामा एउटा कुरा बारम्बार दोहोरिन थाल्यो- “हाम्रो गाउँ टाढाबाट देखिंदैन, कसैले पनि चिन्दैनन् ।”
एक दिन भक्तबहादुर काकाले सहरबाट फर्केको ठिटोलाई चौतारीमा सोधेका थिए, “सहर कस्तो देखिन्छ त बाबु ?”
सहरको ठिटोले मोबाइल काकातिर तन्काएर सहर देखाउँदै भनेको थियो, “सहर त टाढाबाटै चिनिन्छ काका । अग्ला-अग्ला घरहरू र टावरहरू हुन्छन्, परबाटै देखिन्छन् ।”
चौतारामा, ठिटोको कुरा सुनेर कसैले सुस्तरी भनेको थियो “हाम्रो गाउँ त छिमेकी डाँडाबाट पनि देखिंदैन।”ठिटोको कुरा सुनेपछि चौतारामा चिसो सन्नाटा छाएको भान स्पष्ट देखिन्थ्यो ।सडकले गाउँ सानो बनाएको बोध त्यो दिनबाट चौताराबाटै सबैमाझ फैलिएको थियो ।
सहरबाट आएको ठिटोको मोबाइलमा सहर देखेका भक्तबहादुर काकाले त्यो साँझ, तमाखुको सर्को तान्दै सडकतिर हेरेर धुवाँ छाडे। तमाखुको धुवाँ टावरतिर उडिरहेको थियो, त्यसलाई हेर्दै उनले सुस्केरा हालेरमास्टरलाई भनेका थिए, “यो सडकले त मान्छे मात्र लगेन मास्टर, हाम्रो गाउँको मानमर्यादा पनि सहरतिरै सोहोरेर लग्यो जस्तो छ । अब त हाम्रो गाउँलाई, गाउँलेले नै चिन्न बिर्सन्छन् कि क्या हो ?”
हर्क मिस्त्रीले तिखो व्यङ्ग्य जोडेर काकालाई भनेको थियो, “काका, अब यो युगमा मान्छेको टाउको गनेर पुग्दैन, घरको तला गन्नुपर्छ । पल्लो डाँडाको गाउँमा टावर बनाउने कुरो चल्दैछ रे । त्यो बनेपछि मान्छेहरू टावर हेर्न भन्दै त्यतै जान्छन् होला । हाम्रो गाउँ यै खाडलमै सुकेर हराउने भो हौ काका ! ”
कसैले आधा मजाक, आधा गम्भीर भएर भन्यो- “हाम्रो गाउँको बन्चरे डाँडामाथि त्यो गाउँको भन्दा अग्लो टावर बनाए कसो होला ?”यसरी तत्यो साँझ चौताराबाट गाउँमा नयाँ बिउ रोपिएको थियो- पहिचानको बिउ ।
भक्तबहादुर काकाले सुरुमा त हाँसेर टारे- “टावर बनाएर के गर्ने ? गोरु चराउन चढ्ने ?” पहिलो केही दिनसम्म टावरको कुरा, चौताराको मजाकमै सीमित भएर रह्यो । तर, गाउँका प्रायः कुराहरू त्यसैगरी सुरु हुने गर्थे- कसैले मजाकमा फ्याँकेको कुरा, पछि गम्भीर निर्णयमा पनि बदलिएर जान्थे ।
सडकले छोएपछि बन्चरे डाँडा तलको चौतारामा मानिसहरूको भिड बढेको थियो । गाउँका अध्यक्ष, नयाँ थपिएका मान्छेहरूमा सबैभन्दा अगाडि हुने गर्थे। सडकसँगै विकास आउँछ भनेर कतै सुनेका उनी, आजकाल अलि बढी नै सक्रिय भएका थिए । उनलाई ‘विकास’ को नयाँ र झिलिमिली परिभाषा दिनु जो थियो ।
एक साँझ अध्यक्षले चौताराबाट घोषणा गरे: “हेर्नुहोस्, सडक आयो, अब गाउँको रूप फेर्नुपर्छ । बाहिरका मानिसहरूले गाउँलाई चिन्दैनन्, गाउँलाई चिनाउने केही गर्नुपर्छ । हाम्रो गाउँलाई अरुले पनि देख्ने केही बनाउनुपर्छ |”
भक्तबहादुर काकाले रेडियोको आवाज कम गर्दै सोधे; “के बनाउनु पर्छ ?” “चिनो,” अध्यक्षले भने, “गाउँको चिनो । टाढैबाट देखिने ।”
भुइँतिर हेर्दै कुरा सुनिरहेको हर्क मिस्त्रीको आँखा अचानक डाँडातिर फर्कियो । चोर औंलाले बन्चरे डाँडातिर तेर्स्याउँदै उसले बिस्तारै वडा अध्यक्षलाई भनेको थियो, “त्यो डाँडाको थुम्कोमा एउटा टावर ठड्याइदिऊँ न त अध्यक्षज्यू ।”
यसपटक,हर्क मिस्त्रीको कुरा कसैलाई ठट्टा लागेन । चौताराका सबै मानिसहरू केहीबेर चुप लागे । सबैको आँखा अनायासै गाउँमाथिको बन्चरे डाँडातिर गएको थियो । त्यो डाँडा त्यति अग्लो थिएन, तर त्यहाँबाट सिङ्गो गाउँ र तलको सडक स्पष्ट देखिन्थ्यो ।
गाउँका मानिसहरू ठूलो योजना बनाउन अभ्यस्त थिएनन्, तर सानो कुरामा सबै एकमत हुन कहिलेकाहीं चौतारोमा नै सजिलो हुन्थ्यो । अर्को दिनबाटै बन्चरे गाउँमा टावर बनाउने कुराले रूप लिन थाल्यो । चौताराको मजाक, विस्तारै योजनामा बदलियो । बन्चरे डाँडामा टावर बनाउने निर्णय लिन धेरै समय लागेन ।
एक साँझ अध्यक्षले घोषणा गरे: “डाँडामा एउटा यस्तो टावर बन्नेछ, जसले आकाशलाई छुनेछ र टावर हेर्न टाढा-टाढाबाट आउने सबैले भन्नेछन्- ‘हेर, त्यो गाउँ कति माथि छ’ !”
टावर नै किन बनाउने,कसैसँगस्पष्ट कारण थिएन । तर कसैलाई त्यो विचार नराम्रो पनि लागेन ।
टावर बनाउने ठेक्काको जिम्मा स्वाभाविक रूपमा हर्क मिस्त्रीलाई नै दिइयो । हर्कले डाँडामा गएर जमिन हेरेको थियो । केही दिनपछि, उसले काठका किला गाडेर जगको घेरा कोर्यो । सिमेन्ट बजारबाट ल्याइयो । गाउँका केटाहरू बालुवा बोक्न थाले । ढुङ्गा जम्मा गरियो । कसैले पानी ल्याए । कसैले चिया-खाजा पुर्याए । पहिलो दिन जग खन्दाबेलाको मानिसहरूको भिड हेर्दा, गाउँमा कुनै ठूलो पर्व सुरु भएको छनक देखिन्थ्यो ।
बन्चरे डाँडामा टावर बनाउने सुरुका दिनहरूमा गाउँभरि एउटा अपूर्व एकता देखिन्थ्यो । मानिसहरूले आफ्ना खेतका कान्लाहरू बिर्सिए, घरका चुल्हाहरू चिसिए । सबैको लक्ष्य एउटै थियो- उचाइ । सबैको भाषा एउटै थियो- “हाम्रो टावर-हाम्रो गाउँको पहिचान।”
पहिलो हप्ता बित्दा टावर मानिसको उचाइ जत्रो भयो । दोस्रो हप्ता बित्दा घरको छानाभन्दा माथि पुग्यो । अब खेतमा काम गरिरहेका मानिसहरूले टाढैबाट बनिसक्न लागेको टावर देख्न थाले । टावर बनाउन सुरु भएपछि, बिहान खेती जानेहरू केहीबेर त्यहीं एकछिन रोकिन्थे । साँझ फर्किनेहरू कामको प्रगति हेर्न केहीछिन त्यहीं अडिन्थे ।
अंक ३:
टावर जति अग्लो हुँदै गयो, गाउँलेहरूको गर्दन उति नै माथितिर फर्कन थाले । हर्क मिस्त्रीको कमान्डमा इँटामाथि इँटा मात्रै होइन, गाउँलेहरूका सपनामाथि सपना पनि थपिन थालेका थिए ।
वडा अध्यक्षले टावरमा आफ्नो शक्ति देखे, तन्नेरीहरूले त्यसमा आफ्नो रहर देखे, र पुरोहितले त्यसमा देवत्व देख्न खोजे । अध्यक्ष चाहन्थे- “टावर धेरै अग्लो होस्, त्यहाँ चम्किलो बत्ती राखियोस् ताकि सहरले गाउँलाई देखून् ।” तन्नेरीहरूले थपे, “होइन अध्यक्षज्यू, त्यहाँ त रेलिङ हालेर फोटो खिच्ने ठाउँ बनाउनुपर्छ, नत्र त टावरको के काम ?”
पुरोहितले भने, “यसलाई धर्मसँग नजोडे त अनिष्ट हुन्छ, माथि एउटा सानो मन्दिर राखियोस् । यसलाई पुजा गर्ने थान बनाउनुपर्छ ।” बाहिर कसैलाई नदेखाए पनि हर्क मिस्त्रीलाई भने सधैं एउटै चिन्ता रहन्थ्यो- ‘टावर टिकाउ होस्’ ।
टावर जति अग्लो हुँदै गयो, मानिसहरूका बीचको दूरी उति नै बढ्दै जाँदै थियो । सुरुका दिनहरूमा देखिएको गाउँको ‘अपूर्व एकता’ अब विस्तारै ‘अदृश्य प्रतिस्पर्धा’ मा बदलिंदै थियो ।पहिले, चौतारामा बस्दा सबैको उचाइ बराबर हुन्थ्यो । अब, टावरको माथिल्लो तलामा उक्लिन पाउने र, तलै बस्नुपर्नेहरू बीच एउटा अदृश्य पर्खाल खडा भएको भान हुन थालेको थियो ।
टावर बनाउन सुरु गरेको झन्डै एक महिनापछि एक साँझ, दिनभरिका काम सकाएर सबैजना चौतारामा भेला भएका थिए । धुलोले ढाकिएको हर्क मिस्त्रीले हात धोएर आइ बस्यो । भक्तबहादुर काका रेडियो सुन्दै थिए । रमेश मास्टर, सधैंझैं काखीमा किताब च्यापेर आएपुग्दै थिए ।
भक्तबहादुर काकाले बन्चरे डाँडातिर देखाउँदै हर्कालाई सोधे- “हर्क, यो टावर कति अग्लो बनाउने होस् ?” हर्कले फावडा रोकेर माथि आकाशतिर हेर्यो र भन्यो, “जति सकिन्छ उति काका ।”
हर्कको जवाफ सुनेपछि काकाले मास्टरतिर फर्केर सोधेका थिए, “मास्टर, सुन्नुहुन्छ नि- पहिलेका मान्छेहरूले पनि यस्तै अग्ला टावर बनाएका थिए रे ?”
मास्टर मुस्कुराएर भने- “सुनेको होइन काका”, उनले थपे, “किताबमै लेखिएको छ, धेरै पहिले बाबेल सहरको आकाश छुने टावरको कथा ।” भक्तबहादुर काकाले बीचमै सोधे, “आकाशसम्म ? त्यो त धेरै माथि भयो नि मास्टर ।” मास्टर हल्का हाँसेर भने- “हो काका, त्यसैले त कथा भनेको हो नि ।”
मास्टरले बिस्तारै कथा सुरु गरे- “धेरै पुरानो समयमा, मानिसहरू सबैले एउटै भाषा बोल्थे । सबै एकअर्काको कुरा बुझ्थे । उनीहरूलाई एकदिन लाग्यो- हामीले अग्लो टावर बनायौं भने, हामी त्यो टावरमा चढेर आकाशसम्म पुगि भगवानलाई भेटाउने छौं । त्यसपछि संसारले हामी कति शक्तिशाली छौं भनेर थाहा पाउने छ ।”
चौताराका मानिसहरू चुपचाप बसेर कथा सुन्दै थिए । मास्टरले थपे, “अमर हुने चाहनामा उनीहरूले आकाश छुने टावर बनाउने सपना देखे । उनीहरूलाई लागेको थियो, अब हामीलाई कसैले हराउन सक्दैन । तर, जब उनीहरूको घमण्ड आकाशको उचाइसम्म पुग्यो, एउटा चमत्कार भयो । एकअर्काको भाषा अचानक फरक हुन थाल्यो । कसैले कसैको कुरा बुझेनन् । ‘इँटा ल्याऊ’ भन्दा कसैले ‘पानी’ ल्याउन थाले । सिमेन्ट ल्याउ भन्दा बालुवा । अन्ततः बाबेलको टावर अधुरै रह्यो, मानिसहरू कता-कता छरिए, संसारकै विशाल त्यो सहरको अस्तित्व नै आखिरमा मेटिएर गएको थियो ।”
भक्तबहादुर काकाले रेडियोको एन्टिना मिलाउँदै भने, “हाम्रोमा त त्यस्तो हुँदैन मास्टर, हामी सबै आफ्नै मान्छे हौं ।” मास्टरले केही बेर टावरतिर हेरे । अनि बिस्तारै भने, “हो काका, हाम्रो टावर त अधुरो नरहला । तर, बाबेलको टावर किन अधुरो रह्यो भनेर हामी सबैले सोच्नुपर्छ ।” “किन ?” काकाले सोधे । मास्टरले मुस्कुराउँदै भनेका थिए, “सायद, उनीहरूलाई लाग्थ्यो होला हामी आकाश भेटाउनै लागेका छौं । तर आकाश, सधैं, अलि माथि नै हुन्छ ।”
मास्टरले कथा सक्दा चौतारामा केही बेर शान्ति छायो । हर्क मिस्त्रीले आधा सकिएको टावर हेर्दै फुस्रो व्यङ्ग्य सारेको थियो, “हामी सबैको भाषा त नेपाली नै छ मास्टर, हाम्रो टावर कसरी अधुरो रहन्छ होला र ?”
मास्टरले गम्भीर हुँदै साँझको त्यो चौतारी बिसाउने गरी हर्कलाई भनेका थिए, “हर्क, कहिलेकाहीं मान्छेले एउटै भाषा बोलेर पनि एकअर्काको कुरा बुझ्दैनन् । एउटै शब्दले पनि फरक अर्थ बुझाउँछ । तपाईंले ‘गाउँ’ भन्दा, कसैले ‘भोट’ बुझ्छन्, कसैले ‘कमिसन’ बुझ्छन्, कसैले ‘घमण्ड’ बुझ्छन् ।”
अंक ४:
त्यसपछिका चौतारामा सधैंझैंअरू गफहरू चलि नै रहेकाथिए । टावरको काम चलिरहेको नै थियो, महिनौं बिते।गाउँको जीवन उस्तै चलिरहेको थिए। अब बन्चरे डाँडाको टावर गाउँका अरू घरहरूभन्दा धेरै अग्लो भइसकेको थियो । नदीपारिबाट पनि देखिन थाल्यो । गाउँका मानिसहरूलाई साँच्चै लाग्न थालेको थियो- गाउँ अब टाढैबाट चिनिन थालेको छ ।
अन्ततः हर्क मिस्त्रीले टावरमा अन्तिम इँटा राख्यो । टावर पूरा भयो । गाउँलेहरूमा अपूर्व उन्माद छाएको थियो त्यो दिन । गाउँको सबैभन्दा अग्लो बिन्दुमा गर्वका साथ उभिएको थियो, बन्चरे गाउँको टावर । डाँडामाथि, सिमेन्टको एउटा अस्वाभाविक खम्बा ठडियो, जसले गाउँका सबै घरका धुरीहरूलाई होच्याइरहेको थियो । भव्य उद्घाटन गरियो । झण्डा फहराइयो ।
“अब हाम्रो गाउँ सहरबाट देखिनेछ, अब हामीलाई दुनियाँले चिन्नेछन्”, वडा अध्यक्षले गर्वका साथ चौताराबाट घोषणा गरे । सबैजना पालोपालो पर्खेर टावरकोटुप्पोमा चढ्न खोजे । कसैले भन्यो, “ठीकै छ ।” कसैले भन्यो, “माथिबाट गाउँ सानो देखिन्छ ।” कसैले भन्यो, “टाढाको सहर अझै देखिएन ।” माथिबाट त्यही गाउँ देखिन्थ्यो- उही खेतहरू, घरहरू, नदी, टाढाका पहाडहरू ।
बन्चरे डाँडामाथिको नयाँ टावरमा सबैभन्दा पहिले उक्लिने भक्तबहादुर काका नै थिए । उनले माथि पुगेर चारैतिर हेरे । उनलाई लागेको थियो- माथिबाट केही जादुमयी दृश्य देखिनेछ, सायद सहरका उज्याला बत्तीहरू, वास्वर्गको ढोका । तर, माथिबाट त्यही पुरानो खेत देखियो, त्यही धमिलो नदी, र त्यही धुलाम्ये सडक । टावरमाथि उक्लिंदा हरेक सिंढीमा थपिएर चल्ने चिसो हावाले उनलाई झन् एक्लो महसुस गरायो ।
“काका, माथिबाट कस्तो देखियो त?” मास्टरले तलबाटै सोधेका थिए । काकाले टावरमाथिबाटै चिच्याउँदैखल्लो मन बनाएर भने, “यहाँबाट हाम्रो गाउँ अझ सानो देखिंदो रहेछ मास्टर । मान्छेहरू त झन् कमिलाजस्ता मात्र लाग्ने ।”
त्यतिबेला, रमेश मास्टर तल चौताराबाटै टावरलाई हेरिरहेका थिए । भक्तबहादुर बिस्तारै तल झरेर मास्टरको छेउमा आएर बसी सोधे, “मास्टर, हामीले यत्रो दुःख गरेर टावर त ठड्यायौं, तर उचाइ नापेर पनि मन अझै किन भारी छ ? हामीले खोजेको उचाइ चढ्न त मनग्गे पाएका छौं ।”
मास्टर केही बेर चुप लागे । “अब केही होइन काका”, उनले बिस्तारै भने, “अब गाउँका मानिसहरूलाई फेरि केही अर्को अग्लो कुरा बनाउन तिर लाग्ने छन् ।” मास्टरको कुरा सुनेर, चौतारामा बसिरहेका सबै मान्छेहरू हाँसे ।
साँझ पर्दै गयो । उद्घाटनको भिड विस्तारै पातलिंदै गयो । गाउँलेहरू डाँडाबाट आ-आफ्नो घरतिर झरे । तर, अचम्मको कुरा-कसैको अनुहारमा खुसी थिएन । सबैको मनमा एउटा सामूहिक शून्यता छाएको छरपस्ट देखिन्थ्यो ।
बन्चरे गाउँको टावर गाउँको ‘नाक’ त बन्यो, तर त्यो नाक यति लामो भयो कि त्यसले आफ्नै मुख छोपिदियो ।डाँडामाथि सिमेन्टको टावर एक्लै उभिएको थियो रह्यो, गाउँ जस्ताको त्यस्तै नै थियो ।
गाउँलेहरूले जे लाई ‘पहिचान’ ठानेका थिए, केवल एउटा सिमेन्टको ठिङ्गो खम्बा मात्र रहेछ, जसले न त कसैको पेट भर्थ्यो, न त कसैको मन ।सहरबाट जाने बसहरू अझै त्यही धुलो उडाउँदै सररर अगाडि बढिरहे । कसैले पनि ‘ओहो, टावर!’ भनेर रोकेनन् । गाउँ अझैउस्तै सुनसान थियो । बिरामी हुँदा अस्पताल पुग्न अझै तीन घण्टा लाग्थ्यो, र स्कुलका भित्ताहरू अझै चर्किएकै थिए ।
टावर बनेको केही महिनामै पहाडको चिसो हावा र झरीले कमसल सिमेन्ट उप्किन थाल्यो ।भित्ताहरूमा लेउ लाग्न थाल्यो । टावरको कुरा, न कसैले गर्थे, न कसैले फेरि चढ्नै खोजे । सायद, आफ्नो गल्ती स्वीकार्न सबैलाई गाह्रो लाग्यो ।जसरी सानो कुरामा सबै एकमत भएर टावर बनाएका थिए, त्यसैगरी कसैले सल्लाह नै नगरी सबैले बिस्तारै टावरको बाटो बिर्सिए ।
डाँडामाथि एक्लै उभिएको टावर त्यसैगरी नै ठिङ्गउभिइरह्यो । साँझ, टावरको लामो छायाले पुरानो चौतारालाई छोपेको थियो । टावरको चमक घटेपछि, मानिसहरू त्यही पुरानो चौतारामा बिस्तारै फर्कन थालेका थिए ।
भक्तबहादुर काका, साँझको नियमित उपस्थिति पूरा गर्न चौतारामा आइपुगे । उनले रेडियो अन गरे । तर, त्यसमा केवल ‘झ्यार-झ्यार’ आवाज मात्र आयो । उनले रेडियो बन्द गरे, र पीपलको रुखतिर हेर्दै सुस्केरा हाल्दै मास्टरलाई भने, “मास्टर, हामीले माथि पुगेर के पायौं ? त्यहाँ त हावा पनि चिसो हुँदो रहेछ, खाली एक्लो महसुस हुने ।”
रमेश मास्टरले आफ्नो किताबका पाना पल्टाउन बन्द गर्दै भने, “हामीले उचाइ त नाप्यौं काका, तर गहिराइ बिर्सियौं । त्यो बाबेलको कथामा पनि मान्छेहरूले आकाश छुन खोज्दा आफ्नै छिमेकीको हात छोडेका थिए । हामीले सोच्यौं, जति माथि चढ्यो, उति महान् भइन्छ । तर, हेर्नुस् न यो बर-पिपललाई… यसले आकाशलाई कहिल्यै छुन खोजेन, सधैं धर्तीलाई समातेर राख्यो । सतहमा जोडिएकै कारणले त हो, यसले सबैलाई छहारी दिन सकेको ।”
हर्क मिस्त्रीले टावरतिर हेर्न छाडेर भुइँतिर हेर्दै भन्यो, “मैले त राम्रो चिज बनाउन खोजेको थिएँ मास्टर । तर, अहिले बन्चरे डाँडामाथि हेर्दा, त्यो टावरले हाम्रो गाउँलाई चिनाएको होइन, बरु हामी कति एक्लो छौं भनेर मात्र देखाएको जस्तो लाग्न थालेको छ ।”
बन्चरे डाँडाको टावर अझै ठडिएको छ- एउटा निरर्थक र रित्तो स्मारक जस्तो । गाउँलेहरूले अब कहिल्यै माथि हेरेनन् । सडकबाट गाडी धुलो उडाउँदै गुडिरहे । चौताराको बर-पिपलको पात सधैंझैं शान्तसँग हल्लिरहे ।
चौतारामा फेरि तमाखुको धुवाँ उड्न थाले ।धेरै समयपछि, गाउँलेहरूले फेरि एकअर्काको आँखामा हेरेर कुरा गर्न थाले । उनीहरूले बुझिसकेका थिए- आकाशतिर जतिसुकै हात फैलाए पनि साँच्चिकै जीवनको लय त, त्यही पुरानो चौतारा, उही एकअर्काको सासमा लुकेको रहेछ ।
०००

अल्बर्ट क्यामुले यसलाई ‘मिथ अफ सिसिफस’ मार्फत ‘एब्सर्डिज्म’ (निरर्थकता) को रूपमा व्याख्या गरे। मानव सभ्यताले पनि विकासका नाममा यस्तै कसरत गरिरहेको छ—प्रगति त भइरहेको छ, तर त्यो कति दिगो र अर्थपूर्ण छ भन्ने प्रश्न सधैं जीवित रहन्छ।
बासभको कथाले हामीले प्रगति गर्दा आफ्नो मूल धरातल र मानवीय मूल्य बिर्सन नहुने सन्देश दिन्छ। ज्याँ-पल सात्र्रको अस्तित्ववाद र रसेलको तर्कवादले पनि मानव स्वतन्त्रता र उत्तरदायित्वको कुरा गर्छन्। तर, आधुनिक समयमा ‘प्रगति’ केवल भौतिक संरचना (जस्तै केपी ओलीका टावरहरू) वा डिजिटल गफ (ट्वीटर स्पेस) मा सीमित भएको छ। यथार्थवादीहरूले जब यस्तो खोक्रो प्रगतिको आलोचना गर्छन्, उनीहरूमाथि ‘विकास विरोधी’ को आरोप लाग्ने गर्छ।
जब संस्कृति र परम्परागत प्रगतिपथको सन्तुलन बिग्रन्छ, त्यहाँ एथिक्स (नैतिकता) को संकट उत्पन्न हुन्छ। टावर ठड्याउनुलाई मात्र विकास मान्ने र संवादको गहिराइभन्दा शब्दको आडम्बरलाई प्राथमिकता दिने प्रवृत्तिले समाजलाई दिशाहीन बनाउँछ।
सिसिफसको जस्तै अर्थहीन कसरतमा लाग्नुभन्दा प्रगतिको वास्तविक परिभाषा खोज्नु आवश्यक छ। भौतिक संरचनाले मात्र सभ्यताको प्रतिनिधित्व गर्दैन; यदि त्यसमा नैतिक मूल्य र यथार्थको धरातल छैन भने त्यो केवल एउटा भद्दा कसरत मात्र साबित हुनेछ।