सम्पादकलाई चिठी !
आदरणीय सम्पादकज्यू,
सादर प्रणाम ।आख्यानमा ‘कथावाचक’ बारे चलिरहेको थिति(सबै आख्यानमा लागु हुँदैन)सँग विमति राख्दै यो चिठी लेख्दैछु। सिर्फ ‘न्यारेटर’ मा सीमित हुने अनुमति चाहन्छु।
निकै अघिको कुरो हो, मैले लेखनमा ‘न्यारेटर’ को भूमिका के हो भनी स्पष्टतः बुझेको थिइनँ। फिक्सनको एउटा अध्याय लेखेर दाइलाई पठाएको थिएँ। गनेस दाइले पढिवरी भेटेर कापीका पानामा एक्स, वाई, र जेड कोअर्डिनेट तानी न्यारेटरको पोजिसन यहाँनेर यस्तो हुनुपर्छ र यसरी हुनुपर्छ भनी प्रस्ट पार्नुपर्छ भनी सिकाएको ताजा सम्झना छ। त्यसपछि नै हो मैले पनि केही थान ‘न्यारेशन’ सम्बन्धी सिद्धान्तका किताब खोजेर पढेको। र केही कुरा बुझेको पनि!
अनि आफ्ना बुझाइका आधारमा पढ्न बस्दा बिझ्न थालेर यत्ति लेख्ने यत्न गरेको पनि !आदरणीय सम्पादकज्यू, मलाई लाग्छ लेखकले लेख्नुअघि ‘न्यारेटर’ तय गर्नुपर्छ। किनकी लेखिरहेको कथा फलानोले यसरी सुनाउँछ भन्नेमा लेखक प्रस्ट हुन जरुरी छ जस्तो मलाई लाग्छ। र त्यो तय पनि उसले आफूले लेख्ने विषयवस्तु हेरेर गर्नुपर्छ भन्ने बुझेको छु।
उदाहरणका लागि फर्स्ट पर्सन न्यारेशन, जसलाई वायस्ड न्यारेशन पनि भनिन्छ, त्यस्तो विषयमा बढी सुहाउला जहाँ एउटा पात्रले आफ्ना निजी विचार केन्द्रित भएर कथा सुनाउनुपर्छ, आगो ओकल्नुपर्छ, विद्रोह गर्नुपर्छ र यस्तै अरू इत्यादि कुरा गर्नुपर्छ !मलाई यसो भनिरहँदा ‘क्याचर इन द रे’ को न्यारेटरको सम्झना हुन्छ। त्यो उपन्यासमा होल्डनलाई आफ्ना निजी कुरा सुनाउनुथ्यो, भँडास पोख्नुथ्यो, आगो ओकल्नुथ्यो—त्यसैले होल्डनले पात्र भैकन ‘न्यारेटर’, त्यो पनि बायस्ड खालको भई कथा सुनायो। बायस्ड यो अर्थमा कि अरू पात्रप्रति होल्डनका आवेगका कारण पाठकीय मस्तिष्कमा बायस्ड विचार आए। शायद हेयभाव पलाए ।इम्याजिन गर्नुस् त, यो कथा थर्ड पर्सनमा भनेका भए कति झुर हुन्थ्यो? के थर्ड पर्सनमा कथा सुनाएका भए होल्डनले स्पेन्सरप्रतिको आगो ओकल्न सम्भव थियो? अरु मजस्ता पाठकलाई त्यो शिक्षक समझँदै रन्काइदिउँ लाग्न ? पक्कै थिएन। यो विषयलाई सुहाउँदो न्यारेट फर्स्ट पर्सन नै थियो।त्यस्तै ‘वार एण्ड पिस’ मा ओम्निसियन्ट न्यारेटर नराखी फर्स्ट पर्सनमा कथा सुनाएका भए अर्को झुर हुन जान्थ्यो। किनकि वार एण्ड पिस एकजनाको कथामा केन्द्रित थिएन। लेखकलाई पियरेको कथा पनि सुनाउनुथ्यो, सुनाउनुथ्यो एन्ड्रूको कथा पनि। नताशालाई छुटाउन पनि थिएन। अरु टन्नै थिए । त्यसैले ‘न्यारेटर’ लेखकले छान्ने भन्दा पनि लेख्न खोजेको विषयले छान्ने कुरा हो।एउटा पढिरहेको किताबमा ‘फर्स्ट पर्सन न्यारेटर’ ले अर्को पात्रको मनोदशा आँकलन नगरी एकिनसाथ भनिदिएपछि पुस्तक बन्द गरेर चिठी लेख्न बसेको हुँ । कसरी उसले अर्को पात्रको मनोदशा एकिनसाथ भन्न सकेको भन्या!त्यसैले लेख्दैछु। एउटा पात्रमा केन्द्रित भई उसको हर्ष, खुशी, प्रेम, आवेग प्रकट गरिने विषयवस्तु त स्वतः फर्स्ट पर्सन भ्वाइस्ड न्यारेटर हुन्छ, सगोलका कथामा अनेक प्रकारमध्येको एक थर्ड पर्सन वा अर्कै कोही ‘न्यारेटर’ हुन सक्ला। र पक्कै फरक हुन्छ लेख्ने लेखक र कथा भन्ने न्यारेटर ।हाम्रा प्राचीन लेखनमा पनि लेखक फरक, ‘कथावाचक’ फरक राखेरै लेखिने परम्परा छ। प्राचिन नाटक लेखनमा पनि कथा सुनाउन लेखकले सूत्रधार र नटीलाई जिम्मा दिइएको हुन्छ। भलै यिनिहरु ‘न्यारेटर’ मा मात्र सिमित रहँदैनन् अरु रिच्वल पनि पुरा गर्छन् । तथापी कथावाचक पनि हुन् । जसकारण लेख्न बसेको लेखक त बस् निमित्त भइजान्छ। त्यसैले लेखकले कथा सुनाउँदा झुर हुन्छ, न्यारेटरलाई कथा सुनाउन दिनुपर्छ। लगाउनुपर्छ। त्यसैले प्लिज सम्पादकज्यू, लेखकले कथा सुनाएका ठाउँमा कैंची चलाएर न्यारेटरलाई कथा सुनाउन लगाएर मात्र छाप्ने गरौँ न। हुन्न ?
अब लागौँ थर्ड पर्सनको ‘ओम्निसियन्ट’ न्यारेटरतर्फ। यो खालको न्यारेटर लेखनमा अधिक प्रयोग हुने ‘कथावाचक’ हो। यो न्यारेटरको गुणको कुरा गर्दा उसलाई सबथोक थाहा हुन्छ, जबकि ऊ अदृश्य छ। कुन पात्रको मनमा के कुरा खेलेको छ भन्ने पनि थाहा हुन्छ। एकमात्र पात्रको नभई ग्रन्थमा आउने भएभरका पात्रको मनको कुरा समेत यो ‘न्यारेटर’ लाई थाहा हुन्छ। टाइम र स्पेसमा यो न्यारेटर बाउन्ड हुँदैन। यी र यस्तै गुण छन्।
तर, क्रिटिकहरू फर्स्ट पर्सनलाई ‘वायस्ड’ भनेझैँ यसलाई ‘गड लाइक’ न्यारेटर भनेर आलोचना गर्छन्। अर्थात् भगवानजस्तै सबै कुरा थाहा भएको न्यारेटर। उनीहरू प्रश्न गर्छन्—के सबैको सबैथोक एउटैले थाहा पाउन सम्भव छ? यस्तै आलोचनाका कारण केही लेखकले थर्ड पर्सन न्यारेशनमा पनि ‘न्यारेटर’ लाई ‘गड लाइक’ बाट मान्छेजस्तै बनाउन सीमित वा एकमात्र पात्रको मन पढ्न सक्ने गरी लेख्न थालेका हुन्।ओम्निसियन्ट (सर्वज्ञानी) न्यारेटरले पात्र र पाठकबीच पर्खाल खडा गर्छ भनी आलोचना पनि गरिन्छ। त्यसैले क्रिटिक भन्छन्—डोन्ट टेल, रादर शो इट। ओम्निसियन्ट न्यारेटरले पात्रको मनोदशा एक्सनबाट देखाउँदैन, फगत भनिदिन्छ। जेरार्डले त अझ ‘फोकलाइजेसन’ को तर्क सारेर यो ‘हु स्पिक्स्’ लाई ‘हु सिज’ बाट अल्ग्याइदिएका छन् । र यो विधिलाई सम्भवतः ‘जेरो फोकलाइजेशन’को कित्ता राखे । त्यहि फाउण्डेशनको बलमा थप कृटिकले विचार राख्न सकेका हुन् । त्यसैले लेखनमा ‘न्यारेटर’को भूमिका सघन हुन्छ ।लेखनमा थर्ड पर्शन न्यारेशनको यो विधि अचेल कमै चलनमा देखिन्छ। जसको उपज सेकेन्ड पर्सन, स्ट्रिम अफ कन्ससनेस र यस्तै इत्यादि ‘न्यारेशन विधि’ र यिनलाई सुहाउने ‘न्यारेटर’ जन्मिए। तथापि जेसुकै भए पनि, जस्तोसुकै आलोचना आए पनि, लेख्दा विषयवस्तुले यही न्यारेटर माग गरेमा त लेख्नैपर्यो। लेखकको बाध्यता हुन गयो। तर सम्पादकज्यू,
के लेखकलाई ओम्निसियन्ट न्यारेटर खडा गरी न्यूट्रल न्यारेटरका झैँ घटनामात्रको वर्णन गर्नमा पनि प्रयोग गर्ने, उसैलाई कथाका पात्रहरू लगभग सबैको मनमा चलेका विचार पनि थाहा पाउने र सो नगरी टेल गर्नमा पनि प्रयोग गर्ने, टाइम र स्पेसलाई बाल हान्ने, यतिले चित्त नबुझेर कथावाचकलाई ‘ओपिनियनेटेड’ बनाई पात्रको सोच र क्रियाकलापमाथि ‘न्यारेटर’ मा लेखक हाबी भएर टिप्पणी पनि गर्ने छुट हुन्छ त?
फेरि सर्वज्ञानी ‘न्यारेटर’ लाई बायस्ड भएर केही कुरा चाहिँ प्याच्च भनिहाल्ने, केही कुरा लुकाएर चिट गर्ने छुट छ त? ऊ त सबैथोक जानेको सर्वज्ञानी ‘कथावाचक’ होइन र? लेखकले लेख्ने लयमा यी सबैथोक मिसाएको कडा खालको थर्डपर्शन खडा गरिहाले सम्पादकले कैंची चलाउनुपर्ने होइन र?
मलाई लाग्छ, यसो हुँदा त त्यो न्यारेटर ओम्निसियन्ट अर्थात् ‘देव’ बाट देवहरूका देव पो हुन जान्छ । प्लिज, त्यति सर्वशक्तिमान, तिलस्मी, एब्सोल्युट पावर बोकेको ‘न्यारेटर’ भनेर लेखकको मत पनि पात्रमाथि थोपर्ने ‘कथावाचक’ राखेर त्यतिमा पनि चित्त नबुझी, अझ मार्क्सवादी धारको साहित्य चाहिँ नलेख्ने कि। इट्स माई हम्बल रिक्वेस्ट!
ओम्निसियन्ट अर्थात् देउता (दक्षिणपन्थी धारको टुल) प्रयोग गरेर वामपन्थी धारको कथा लेख्दा समीक्षकले आलोचना गरेको मैले कतै पढेको छु । अरे, यसरी पनि सोच्दा रछन् भनेर दंग पनि परेको हुँ । त्यसमाथि त्यो ओम्निसियन्टलाई थप ‘पावर’ थोपरेर पात्र र प्रवृत्तिप्रति ‘न्यारेटर’ले नै लेखकको निजी टिप्पणी कमेन्ट गर्न थाले पछि अलिक डरलाग्दो पो हुन्छ कि भन्ने लाग्यो।
त्यो बन्चरो बोकेर ‘खर’ काट्न गएझैँ हुन्छ जस्तो लाग्छ।
�यो त त्यो ‘न्यारेटर’ माथि नै अन्याय पो हुन जान्छ कि। त्यसैले त विषयले न्यारेटर छानोस्, न कि लेखकले भनिन्छ। र, लेखकले आफूलाई ‘न्यारेटर’ बाट अलग राख्न सकोस् र लेख्दालेख्दै आफू स्वयं न्यारेटर नबनोस्। लेखकले नसके तपाईँ सम्पादकहरूले कुछ गर्नुहुन्छ कि भन्न खोजेको हुँ मैले।अलिअघि अर्को एउटा किताब पढ्दा यस्तै ‘देवोँका देव महादेव’ खालको सर्वज्ञानी न्यारेटर, जो घरिघरि लेखक हुन्छ घरिघरि कथावाचक, भेटेँथेँ, चिठी लेख्दालेख्दै त्यो कथावाचकलाई सम्झिएँ र यत्ति थपेँ।हामीकहाँ मूलतः यी दुईखाले न्यारेशन विधि र त्यहाँ सुहाउने न्यारेटर अभ्यासमा भइरहेका हुँदा अरू प्रकृति र किसिमका ‘न्यारेशन विधि’ र ‘न्यारेटर’ तिर लागिनँ।मलाई यस्तै कुरा सोचेर पनि हुन सक्छ फिक्सन लेख्ने आँट त आयो, लेखिसिध्याउने आँट कहिल्यै आएन। सायद कहिल्यै आउला। त्यसैले प्लिज, यो विधामा म पाठकै रहिरहन चाहन्छु।र, म एक पाठकका नाताले यो अनुरोध गर्दैछु,
विशेष गरी उपन्यासजस्तो ठूलो फ्रेममा काम गर्दा ‘घटना’ र ‘कथानक’ मात्र सम्पादन गर्नमा केन्द्रित नभइदिनुस्। क्राफ्ट बुन्ने लेखकको यत्नलाई अझ सुन्दर बनाउन केन्द्रित भइदिनुस्। अर्थात् किताबमा कथामात्र नसुनाउनुस्। त्यो कथा किन, कसलाई, कसरी, कोमार्फत, कहिले र कहाँ सुनाउने पनि सोचिदिनुस्। ‘कथानक’ सँगै ‘न्यारेटर’, ‘क्यारेक्टर’ लगायतका अन्य पक्षमा पनि विचार गरिदिनुस्। ‘क्यारेक्टर’ लगायतका अरु अवयबबारे अर्को चिठीमा लेखौँला, आज ‘न्यारेटर’ मा मात्र सीमित हुन चाहन्छु।‘कथानक’ र ‘घटना’ केन्द्रित ग्रन्थ पिस अफ आर्ट हुनै सक्दैन। त्यो ‘कलेक्सन अफ इभेन्ट्स’ हुन जान्छ। आर्टका लागि ‘क्राफ्ट’ नै चाहिन्छ। र त्यो ‘क्राफ्ट’ को एउटा महत्त्वपूर्ण पाटो ‘न्यारेटर’ हो, जुन यो चिठीको विषय पनि हो। असाध्यै मन छुने कथा भएको करुण रसको सिनेमा, जसलाई सिनेमा घरमा हेर्न जाँदा टिकटसँगै टिस्यु पनि किन्नुपर्ने हुन्छ, बस् हलमा लागेको सिनेमा र ‘व्यापार’ गर्ने सिनेमामा सीमित हुन्छ। तर, त्यही करुण रसले पूर्ण सिनेमाले क्रिटिकको मत पाएर विख्यात फिल्म फेस्टिभलमा चर्चा कमाउन वा फेस्टिभलमै नगए पनि ‘आर्ट’ बनेर समाजमा बाँचिरहन, सिनेमाले सुन्दर विषयको सुन्दर कथानक मात्र बोकेर सम्भव छैन। यसका लागि सिनेमामा अरू अवयवले क्राफ्टको काम गरेको हुनुपर्छ। त्यसैले हाम्रा माइला दाइले बनाउने सिनेमा माइली भाउजूले रिलमा कुदाइरहन्छिन्, त्यो त्यतिमै सिमित हुन्छ । मीन भाम भने बर्लिन पुग्छन्।
विन्ती, सम्पादकज्यू!
किताबलाई ‘पिस अफ आर्ट’ बनाउने यत्न गरौँ, न कि ‘हिप अफ इभेन्ट एन्ड स्टोरिज’। त्यसो गर्न धेरै अवयवमा काम गर्नुपर्ला तर ‘न्यारेटर’ नै ल्याङल्याङ भएपछि कथामा म चाहिँ फिटिक्कै अघि बढ्न सक्दिनँ। त्यसो हुँदा किताब बन्द गर्नुपर्छ र किताबभित्रका कति राम्रा कुरा पनि छुटिजान्छन्। फलतः यत्ति लेखेँ।
प्लिज, सम्पादकज्यू—सम्पादन गर्दिनुस्!विनीत
त्रिवेणी

