अशोकनाथको  इन्द्रकुमारी

इन्द्रकुमारी महाकाव्य (२०७५) अहिले मेरो पठनमा छ । राजा पृथ्वीनारायण शाहकी जेठी रानी हुन् इन्द्रकुमारी । उनी मकवानपुर राज्यका सेनवंशीय राजा हेमकर्णकी छोरी हुन् । विवाहपछि दुलही विदा गरिदिएनन् डोली गोर्खा रित्तै फर्कन्छ । पृथ्वीनारायणले अर्की विवाह गर्छन् । अवान्तर प्रसंग जुटाएर उनको व्यक्तित्वलाई मर्यादित ढंगले आलोकित पारिएको छ । पछि राज्यसत्ता परिचालनमा उनी पूर्णतः समर्पित हुन्छिन् ।उनमा राजकीय गुण–धर्मको परिचय उद्भाषित हुन्छ ।

राष्ट्रहित र कुल मर्यादा तथा शक्ति परिचालन र युगोचित कदममा अग्रसर रहन्छिन् । सामान्यतः कथा तन्तु यस महाकाव्यको यस्तै छ र उनी सफल देखिन्छिन् । नेपालको राजनीतिक इतिहासमा रानी इन्द्रकुमारीको स्थान उच्च छ । किन्तु राजनीतिक संसद, इतिहास संसद र साहित्य संसदमा किन ओझेल पर्‍यो त्यो खोजको विषय पृथक् होला ।

विद्वद्वर राजेश्वर देवकोटाले ‘थाहा नपाएका कुरा रहेछ’ लेखेर प्रमाणपत्र दिनुभएको छ । यसका शब्दावली सारगर्भित छन् । हो, कयौँ प्रसङ्ग नसुनिएका–नपढिएका पनि छन् । तिनको समावेशले काव्यको मौलिकता र गरिमालाई स्थापित गरेको छ ।

प्रतिभाको वेग र विषयवस्तुमा उनिन आएका घटना र दृश्यले चमत्कार पनि भरेको छ र आकर्षण पनि थपेको छ । वर्तमान युगका र समसामयिक विषयमा अभिरुची राख्नेहरूका लागि यो काव्य शायद प्रिय नलाग्ला किन्तु ऐतिहासिक विषय,नारी, राजमाताको दृष्टिकोण, संकल्पले र सफलताको कथाले श्रेष्ठतर तुल्याएको छ । राजकुलमा हुर्केकी रानीको राजकीय स्वाभिमान र आत्मविश्वासले गोर्खा राज्यको भाग्य निर्माणमा उच्च भूमिका रहेको पुष्टि हुन्छ । यस अर्थमा काव्य श्रेष्ठ छ ।

राजनीति परिचालनमा र सिद्धिमा प्रश्न गर्ने ठाउँ छैन । रानी इन्द्रकुमारीको व्यक्तित्व निर्माण र चरित्र विकासमा कवि तिवारी सचेत पनि छन् र उदात्त पनि । काव्यकथा नीति, रीति र संस्कृतिको बन्धनले थिल्थिलो भएर जकडिएको छ र उत्तरार्धदेखि (सर्ग १२) मात्र स्वस्थ राजनीति साकार हुँदै राजकीय सत्ता र स्वाभिमान जाज्ज्वल्यमान भएर उठ्छ । कथा नागवेली गतिमा छ ।

यस काव्यमा पाइने अर्को महत्वपूर्ण पक्ष हो– नौलो रीति र अवाञ्छित संस्कृतिभित्र कथाको प्रवेश । तर पृथक् छ राजकीय संस्कृति । यसलाई सेन वंशीय राजघरानाको दृष्टिकोण, राजनीतिक चिन्तन, कौटुम्बिक सीमा र सम्बन्धमा तुजुक र स्थानीय रङ्ग–संस्कारको प्रदर्शन ठाने हुन्छ । हठ र अभिमानको गन्धले राजकीय मर्यादा र वैवाहिक सम्बन्धमा दुर्भावनाको बीज यहींबाट छरेको हो कि भन्ने झलक दिन्छ । यो काव्य ऐतिहासिक भएको हुनाले कविले घटना र दृश्यहरूलाई अनेकन सांस्कृतिक जलप दिएर अग्रसर गरेका छन् । राजा वा राजकुमारले घर ज्वाइँ बस्ने र त्यही सन्तान जन्माउने कुरा नीति, रीति र संस्कृति हो त ? यही नै असामान्य पुरुषार्थ र अस्तित्व बोधको बीज मौलाएको होइन ?

हिजोलाई नै पछ्याउनुपर्छ र ? नौलो यात्रा हुन सक्तैन ? यी प्रश्नहरू प्रश्नका लागि ठोस् अवश्य हुन् किन्तु कविलाई विधा चयन गर्ने सुविधा पनि छ, विधा भङ्ग गर्ने अधिकार पनि छ । विधा मिश्रण गर्ने सुयोग पनि मिल्छ, वस क्षमता र रुचि हुनुपर्छ । अनौठो गरेर चमत्कार छर्ने दिशामा कवि पछि सर्ला र ?

(राजेश्वर देवकोटाको समिक्षा उनकै हस्ताक्षरमा)

जगदीश शमशेर राणा भन्थे– काव्यकारलाई सात सर्गबाट आठ सर्ग बनाउन कठिन होला र ! सजिलै ८,१२,१५, १९ बनाउन सकिन्छ । काव्यले जति सर्गमा पूर्णता लिन्छ त्यति नै तन्काउनु परिरहन्छ । यो चर्चा ‘नरसिंह अवतार’ काव्यको प्रसङ्गमा थियो । एउटै सर्ग कमी थियो ‘महाकाव्य’ हुन । तर काव्य टुँगियो । कुनै महाकाव्य भन्दा कम रहेन गरिमा र महिमाका दृष्टिले । महाकाव्यका उचाइको श्रृङ्खलाबाट त्यो वञ्चित छैन, बरु पाठक तर्कने वा पलायन लिने गर्छन् । शायद चित्रदर्शन र संगीतबोध नहुँदाको अप्ठेरोपनले तर्छाएको हो कि पाठकलाई । झन् विचार पक्ष अन्यतम शिखरमा छ– गम्भीर हुनैपर्छ– वस्तुबोधका निमित्त ।

अब ‘इन्द्रकुमारी’ तर्फ फर्कौं इन्द्रकुमारीलाई त्यतिका वर्ष माइतमा केले रोक्यो ? अबला भावले ? राजकीय मर्यादाले ? अर्को राज्यकी सदस्य भइसकेकी हुनाले (नासो) ? जन्मघरको कुल मर्यादा र वैभवले अथवा अभिभावकजनको नियन्त्रण र अवाञ्छित भयले ? पछि गएर राज्य विस्तारमा सरीक र पति पृथ्वीनारायणसँग शौर्य प्रदर्शन उत्साहित हुने महारानीमा माइतीघरमा बाँधिएर बस्ता विद्रोह किन फुटेन ? यो महाकाव्य स्थूल अर्थमा राजनीति विषयवस्तुमा केन्द्रित देखिन्छ, किन्तु म यसलाई सामाजिक सम्बन्ध र सांस्कृतिक दिग्दर्शनका दृष्टिले मूल्यवान् देख्छु । जम्मा १९ सर्गमा विभाजित यो काव्य एक दुई राजनीतिक सर्ग बाहेक अन्य सर्ग रीति, संस्कृतिमाथि नै आलोक छर्दछन् । स्मरणीय छ संस्कृतिको परिधि सामान्य र साँगुरो छैन । त्यसैले कतिपय पाठकलाई यो पक्ष धूमिल वा अज्ञेय लाग्न सक्छ । फेरि पनि पाठकलाई उसको उचाइ र बोध क्षमताकै आधारमा काव्यको चर्वणा गर्ने अधिकार छ । अनुमोदन छ ।

आयो काव्यसंहिताको कुरा, आज यो कुरा शायद प्रिय लाग्दैन । कलाप्रेमी, सौन्दर्यका पारखी वा उपासकहरूका लागि नै संहिताको कामना रहने हो कि न ! प्रश्न महाकाव्यकारलाई पनि हो !

सिंहमा जन्मसिध्द शौर्य निहित हुन्छ कि शिकार देखेपछि मात्र जागृत हुन्छ ? शायद शौर्य जन्मजात रहन्छ र ऐजन मौकामा उद्दीप्त भावले प्रकट हुन्छ । इन्द्रकुमारीले चिसिएर खुँचिएर कसरी समय बिताउन सकिन् ? गोप्य पत्राचारको सानो तन्तुले कथा–श्रृङ्खलालाई जोड्ने यत्न छ । त्यो क्षीण–दुब्लो छ, पछि यो माध्यम संगतिपूर्ण छ भन्ने पुष्टि हुन्छ । किन्तु, ऐजन मौकामा व्यक्तित्व प्रदर्शन गर्न नसकेको भए अस्तित्वको अवमूल्यन हुने त थिएन ? प्रश्न नगर्नु ?

वस्तुभावले गुँथिएर आएका दृश्यहरूमा पत्राचार बाहेक सखीसँगको विनोद, स्वप्न प्रसङ्ग, विरह वेदनाको चर्चा (सर्ग १४) सखीको तुलनामा पति सुख, मातृत्व र राजविस्तारका चर्चाले काव्य रोचक बन्छ । किन्तु पाठक त्यहाँ चकित हुन्छ जहाँ जीवन दृष्टिका कुरा आउँछन् र लोकपरम्परा, लोक विश्वास, राजकीय मर्यादा र अविद्यामय हठ अघि सर्छ । हाम्रो समाजका कयौँ अवाञ्छित कर्म र व्यवहार अनौठा र असंगत लाग्छन् जसलाई सजिलै काव्यले हाम्रा सामु राखिदिएको छ । संस्कृति, समाजशास्त्र, पारिवारिक नीति र सामाजिक मर्यादासँगै इतिहास र राजनीतिलाई एउटै पोयामा समेटेर देखाइएको छ । यहाँ काव्यकला अनुकरणीय छ ।

महाकाव्यकार अशोकनाथ तिवारीको चिन्तनको परिधि फराकिलो छ । उदात्त छ । यो पुनरुत्पादित विषयवस्तु वा कथा हो जो छोपिएको वा नदेखिएको थियो । कथालाई मांसल, विश्वसनीय र सुरुचिपूर्ण बनाउने यत्नमा कवि चुकेका छैनन् । परम्परावादीले नाक खुम्च्याउनलान्, नयाँहरू गौरवबोध गर्लान् ।

महाकाव्य निकै लेखिए । उत्पादित (मौलिक), मिथकीय (पुरा कथामा आधारित), ऐतिहासिक (आफ्नै देशका र अन्य) र आज सडकबाट सिधै नायक लिन्छौं | ‘खाते’ यसको दृष्टान्त हुन सक्ला कि !

पृथ्वीनारायण शाहको युगमाथि जाति साहित्यिक उत्पादन हुनुपर्थ्यो भएन । त्यसपछि पनि खासै उल्लेख्य कृतिहरू देखिएनन् । बरु लोक परम्परामा नायकत्वको खोजी र आख्यान जोड्ने यत्न देखियो । भन्न संकोच मान्नु छैन– वीरकाव्य सृजनको परम्परा अत्यन्त क्षीण भयो र भक्ति काव्यले अनूदित परम्परालाई बल दियो । मोतीरामको प्रवेशपछि सृजन अभियान अनेक विधि, विधा, कौशल र प्रवृत्तिका साथ मौलायो र असमेल भावले दरबारको पर्खालभित्र पनि पुग्यो । फेरि पण्डित युग पनि आयो । इतिहास पनि टिपिए । किन्तु त्यस युगमाथि केन्द्रित भएर साहित्य सृजन गरिएन । बरु मल्लकाल खँदिलो देखिंदै गयो ।

यस पृष्ठभूमि काव्यकार अशोकनाथ तिवारीको महाकाव्यसाधना स्तुत्य छ । ऐतिहासिक कसीबाट यो पठन गरिएको होइन । यो मात्र पठन हो । पुरानो आग्रह यति मात्र हो– काव्यका उपकरणले काव्य अलंकृत भए हुन्थ्यो । युग फेरियो– ‘शो’ रुम भित्रकी सुन्दरीको आभूषण प्रसाधनबाटै सन्तोष गरौंला । महाकाव्यमा नै चाहिन्छ किन ? परम्परा ‘काव्य’ र ‘सर्ग’ ले लिएकै छ ।

कवि अशोकनाथ तिवारीको व्यक्तित्व अनेक दिशामा मुखरित छ । कयौँ आयामबाट अध्ययन गर्नुपर्ने हुन्छ । वर्तमानमा प्रल्हाद पोख्रेल,भुवनहरि सिग्देल, पुरुषोत्तम सिग्देल,रमेश खकुरेल,रामप्रसाद ज्ञवाली र नवराज लम्साल कै पङ्क्तिमा हेर्नुपर्छ कि भन्छु – सबैलाई अनन्वयमा खडा देख्छु । फेरि पनि विधा र विषयको विविधताले अशोकनाथलाई किञ्चित पृथक् नै देखाउँछ । विधि र परिष्कारको दृष्टिले र संहिताको निर्वाह गर्ने पक्षबाट पनि नाम उल्लेख गरिएका माथिका महाकाव्यकारभन्दा उनलाई फरक ठाउँमा उभ्याएको छ । प्रतिभाको असमेत गडगडाहटमा सङ्लो र सीमाको स्थिति खोज्नु प्रतिगमन हुन जाला कि ? फेरि राजनीतिक संसद (जेन्जी पूर्वको) मा पुगेका अप्रिय र दुष्ट शब्दावलि साहित्य संसदमा पनि प्रयोग हुन बेर छैन प्रतिवादमा । यो भय निरन्तर छ । महाकाव्यकार अशोकनाथ तिवारीको राजनीतिक र सामाजिक व्यक्तित्वको सन्दर्भ काव्य पाठकका लागि स्वैच्छिक उत्खनन्  हुनसक्छ |

भाषा सरल छ । यो विशेषता हो । पाण्डित्य प्रदर्शन छैन । यो विशेष महत्वको प्रसङ्ग हो । शैली रोचक छ । अभिव्यक्ति सांगीतिक छ । लोकभावको उचित सम्पुट छ । धेरै प्रसंगका मुहान खुलेका छन् । यसले परवर्ती लेखक लाभान्वित हुनसक्ने छन् । कलम चल्दै रहोस् । शुभकामना ।

Add a Comment

Your email address will not be published. Required fields are marked *