सुप्रिया

बाँधेर मनका बाँधहरु
सुप्रिया निर्दयी बनेकी छे
उसको जीवन चुँड्नेहरुका विरुद्ध
गगनभेदी नारा लगाउन थालेकी छे
प्रत्येकपल मरेर बाँच्न विवश जिन्दगी हेरेर
गोमनहरु विरुद्ध नै विषबमन गर्न तल्लीन छे ।

उसको सहास देखेर
हिमाल अग्लिएको छ
नदी वेगिएको छ
जून घाम बैसालु माया छर्छन
आकाश धरती उत्साहको ताली बजाउँछन
उ मुसुक्क मुस्कुराइ दिन्छे ।

लैङ्गिक हिंसा विरुद्धको मोर्चामा
उसको आवाज रोकिदैन
उ आँधी हो
शत्रु बढारी लैजान्छे
शिरमा कफन बाँधेर
मसानघाटमा एक्लै कराउँछे ।

उ शवयात्री जस्तै छे
दलाल र गद्धार चितामा चढाउँछे
मुखमा पिसाब तुरुक्कतुक्र्याइ दिएर
पुच्छरबाट आगो झोसी दिन्छे
जब सल्कन्छ लाश
हरियो बाँसले घोचेर
पापीहरुको खरानी बगाउँछे
र शान्तभएर दुःखका आँसु वर्षाउँछे ।

परिस्थितिले कू्ररता जन्मायो
सुप्रिय विवेकहीन थिइन
बाजले झम्टे पछि
उसको विवेक हरायो ।

उ दासी थिइन
उसलाई दासत्वको बर्को ओडाएर
उसको इज्जत धुलिसात बनाइयो
बजारम बेच्न राखिएको पशु जस्तो
उसको मोलतोल गरेपछि
उसको धैर्यता टुटेको हो
उसलाई नजिस्क्याउ
उ घाइते बघिनी हो
आत्म रक्षार्थ उ
तिम्रो शिकार गर्न सक्छे ।

उसलाई स्वीकार्य छैन दासता
उसलाई स्वीकार्य छैन नारकीय जीवन
उसलाई स्वीकार्य छैन पुरुषत्व
उ झाँसीकी रानी जस्तै छे
शत्रुको पटाङ्गिनीमा
सुप्रिया, एक्लै तरबार नचाउँछे ।

Add a Comment

Your email address will not be published. Required fields are marked *