जे. के. बराईलीका ‘बिर्सनै नसकिने हाम्रा गीत–सङ्गीतका पदचापहरू’ पढ्दै गर्दा

जीवनलाई संघर्षको पर्यायबाची शब्दद्वारा सार्थक रूप दिँदै दिल्लीको निष्ठूर गर्मी र जाडो अनि सडकलाई पनि बाढीआएजस्तै जलमग्न पार्ने मुसलधारे बर्सातको प्रकोपको सामनागर्दै र प्रगतिपथमा लम्कि–लम्की आपूmलाई क्रियाशील बनाउँदै नेपाली साहित्य एवम् गीत–सङ्गीतको विधामा कलम चलाइबसेका जे. के. बराईली (पूरा नाम जय कुमार बराईली) द्वारा रचिएका दुई पुस्तक– केही अध्ययनः केही मन्थन र बिर्सनै नसकिने हाम्रा गीत–सङ्गीतका पदचापहरू नेपाली साहित्यकार शरद प्रधानको सौजन्यबाट हातमा परेपछि नपढि बस्न सकिन र पढेपछि केही लेखी हालूँ भन्ने भावना पनि पलाउँदा दोस्रो कृति ‘बिर्सनै नसकिने हाम्रा गीत–सङ्गीतका पदचापहरू’का लागि आफ्नो बिचार प्रस्तुत गर्न खोजें किनभने यस पुस्तकमा समाविष्ट अनेक गायक, सङ्गीतकारका गीतहरू आफ्नो सेवाकालमा अल इण्डिया रेडियोको नेपाली कार्यक्रमबाट बजाउने र रसस्वादन गर्ने अवसर यस पङ्क्तिकारले पाएको थियो ।
गीत–सङ्गीतले मानव जातिलाई उत्पत्तिकालदेखि नै प्रभावित र रोमाञ्चित पार्दै आएको छ । यसको प्रभावबाट न त केटाकेटीमुक्त हुन सकेका छन् न युवा वर्ग न प्रौढावस्थामा जीवन बिताइरहेका मानिस । गीत बज्नासाथ नै सबै तरङ्गित हुन्छन्, कसैको ओठ त कसै–कसैको पदचापमा तरंगको सञ्चार हुन्छ । कोही त सङ्गीतमय धुनबाट तरङिगत हुँदै नाच्न पनि चुक्दैनन् त कसैको हातले भक्तिगीत (भजन) सुन्दा थपडी बजाउन थाल्छ । किनभने एकातिर यसका धुन र लय र अर्कोतिर साज (वाद्ययन्त्र) को संयोजन र गायकको मधुर स्वरले श्रोतालाई मन्त्रमुग्ध पारिरहेको हुन्छ । स्वर तथा तालयुक्त मधुर गायन नै सङ्गीत कहलाउँदछ । नेपाली शब्दकोशको अर्थअनुसार, ‘बाजागाजा र नाच वा हाउभाउसहित गाउने कला सङ्गीत हो ।’ संस्कृतमा पनि भनिन्छ – ‘गीतं, वाद्यं तथा नृत्यं त्रय संगीतमुच्यते’ । अर्को शब्दमा गीत र सङ्गीतको सम्बन्ध नङ र मासुसरह छ भन्दा पनि अत्युक्ति नहोला ।
आदिकालदेखि वर्तमान युगसम्मको गीत–सङ्गीतको क्षेत्रमाथि दृष्टि पु¥याउँदा यसले ठूलो फडको हानेको देखिन्छ रचना, गायनशैली र वाद्ययन्त्रको प्रयोग र विकास आदिको सन्दर्भमा । र प्रगतिको यो गति भ्रमणशील समयचक्रका साथ रोकिएलाजस्तो पनि लाग्दैन । किनभने गीत–सङ्गीत र भाषाले पनि सिमाना नाँघ्न थाले । अब दार्जिलिङ्गे नेपाली भाषा वा दार्जिलिङ्गे सङ्गीत दाजिलिङ्गसम्म मात्रै सीमत रहेन । त्यहाँ लेखिएका, रचिएका वा गाइने गरिएका गीतहरूका ध्वनि दार्जिलिङ्गका चियाकमान, बस्ती वा क्षेत्रदेखि पनि हजारौं कोस टाढाका भाक्सु, आसाम, सिक्किमदेखि नेपालसम्म पढिन, सुनिन, बजाइन र रेकर्ड गर्न थालिए, रङ्गमञ्चमा अभिनीत हुन थाले । नेपालमा त दार्जिलिङ्गका गायक कलाकार वा सङ्गीतकारहरूका गीत रेकर्डसमेत हुन थाले, रेडियो नेपालबाट बज्ने र गायक कलाकार सम्मानित समेत हुन थाले ।
लेखक जे. के. बराईलीले नेपाली सङ्गीत आकाशका सदा स्मरणीय र चम्किला दश वटा ताराहरूको चर्चा भएको ‘बिर्सनै नसकिने हाम्रागीत–सङ्गीतका पदचापहरू’ शीर्षक दिएर तयार पारेका कृति पठनीय र सङ्गीतप्रेमी प्रत्येक पाठकको निम्ति संग्रहणीय हुनुपर्ने पुस्तकहरूको वर्गमा परेको लाग्दछ । यद्यपि नेपाली सङ्गीतको आकाश त अनेक प्रातःस्मरणीय र सदाचम्किला ताराहरूबाट आलोकित भइरहेको अवस्था छ । यस अवस्थामा यी दश मात्र ताराको चर्चाले पुस्तकको शीर्षक (बिर्सनै नसकिने) लाई पूर्णता दिन नसकेको आभास भएर आउँदछ । नेपाली सङ्गीतका बिर्सनै नसकिने र शिखरमा पु¥याउने पात्रहरूको चर्चा गर्दा मेलवा देवीदेखि लिएर कोइली देवी, तारा देवी, रत्नदास प्रकाश, नातिकाजी, पन्नाकाजी, जनकवि धर्मराज थापा, नारायण गोपाल जस्ता चम्किला तारा कदापि नछुट्नु पर्ने हो ।
तर लेखक जे. के..बराईलीले स्वयम् पनि यस कमीलाई अनुभव गरेकोले होला पुस्तकमा समाविष्ट ‘आफ्नो तर्फबाट भन्नुपर्दा’ मा लेखेका छन् –‘साहित्यको क्षेत्रमा हेर्यौं भने ठूल–ठूला साहित्यकारदेखि नवोदित र कनिकोथी लेख्नेहरूसम्मका कृतिहरूका समीक्षा र मूल्याङ्कन भइरहेको हुन्छ तर सोही प्रकारले गीत–सङ्गीतको माध्यमबाट आफ्नो जातिको अस्मितालाई चम्किलो राख्नमा समान रूपले योगदान पुर्याउने गायक-गायिकाहरू भने सही मूल्याङ्कनदेखि वञ्चित भएर ओझेलमा पर्दै गएका हुन्छन् । नेपालमा सङ्गीत क्षेत्रका स्रष्टाहरूका मूल्याङ्कन गर्दै लेखिएका रचनाहरू विविध पत्र–पत्रिकाहरूमा देखा परिरहेका हुन्छन् । कतै कतै पुस्तक नै प्रकाशित हुन्छन् । जस्तै नारायण गोपालबारे प्रशस्त लेखिएका छन्, अझै लेखिँदैछ्न् । तर यता भारतमा नेपालीभाषी बहुल क्षेत्रहरूमा भने नेपाली गीत–सङ्गीत क्षेत्रलाई लिएर बिरलै लेखिन्छन् । यसले गर्दा शरण प्रधानजस्ता अब्बल दर्जाका गीतकार र सङ्गीतकार पनि ओझेलमा परेका छन् । यही कमीलाई पूरा गर्न आफूले लेख्नु परेको हो ।’
लेखकसामु पुस्तक लेखन र प्रकाशनका पनि अनेक जटिलता हुने गर्दछन् जुन लेखकको रूपमा यस पङ्क्तिकारले पनि अनुभव गरेको छ । तर सृजनशील लेखक बराईली ‘दार्जिलिङ्ग भेगकै पनि सबै प्रतिष्ठित गायक-गायिकाहरूलाई यस पुस्तकमा समेट्न नसकिएको’ मा खिन्नता प्रकट गर्दै ‘यस्तै पुस्तकको दोस्रो र तेस्रो खण्ड प्रकाशित गरी सबैलाई समेट्दै जाने योजना आफूले राखेको पनि बताउँदछन् ।
नेपाली सहित्यको साथै नेपाली गीत–सङ्गीतको समेत अध्ययन र अन्वेषण गर्दै यी दुवै क्षेत्रमा आफ्नो सृजनशीलतालाई निरन्तरता दिंईराख्ने जे. के. का नजरमा जति ताराहरू परे र तिनीहरूलाई आफ्नो ढल्दो उमेरको बावजूद पुस्तकाकारमा जसरी प्रस्तुत गर्न भ्याए त्यस प्रयासलाई पनि प्रशंसनीय मान्नु पर्दछ (केही कमीका बावजूद) । किनभने यस पुस्तकले पनि नेपाली सङ्गीतको क्षेत्रमा एउटा इतिहासको रूप पाएको छ र मजस्ता अनेक पाठकलाई पुस्तकका यी दश चम्किला ताराहरूको सम्बन्धमा अनेक जानकारी दिन सफल भएको छ भन्दा अतिशयोक्ति नहोला । यति भन्दै गर्दा लेखक बराईलीले भविष्यमा (स्वास्थ्यले साथ दिएमा) यस सम्बन्धमा फेरि कलम चलाउन भ्याए भने नेपाली सङ्गीतलाई वि. सं. २००८ साल (सन् १९५१–५२ ई) देखि सुसमृद्ध बनाउनमा अमूल्य योगदान दिने नेपाली गीत–सङ्गीत क्षेत्रका उज्ज्वल तारा एवम् अमर गायक कलाकारहरूसित पनि न्याय गर्लान् भन्ने आशा गरिन्छ । यद्यपि यो काम यस पङ्क्तिकारले भनेजस्तो सजिलो नहोला जे. के.को निम्ति ।
पुस्तक पढ्ने क्रममा विभिन्न विद्वानजनका मन्तव्य, शुभकामना सन्देश तथा लेखकका भनाई पढ्दै र पाना पल्टाउँदै जाँदा ‘बहुआयामी प्रतिभाका धनी मित्रसेन थापा’ सम्बन्धी लेखमा नजर पर्यो । बाल्यकालदेखि नै आकाशवाणी, (अल इण्डिया रेडियो) नयाँ दिल्लीबाट प्रसाति हुने गोरखाली समाचारपछि बजाइने मित्रसेनका गीतहरू सुन्दै हुर्केको र युवावस्थामा पनि आफैँले ती गीतहरू आकाशवाणीबाट बजाउने अवसर पाएकोले यस पङ्क्तिकारलाई ती पुराना दिनहरू र त्यतिबेला सुनिएका उनका रसिला झ्याउरेहरूको सम्झना गराउँदै ‘झ्याउरेसम्राट’का रूपमा मान्यता पाएका मित्रसेनले पुस्तकमा यथोचित रूपमा नै पहिलो स्थान पाएको पनि अनुभव गरायो । मित्रसेन लोकगीत गायक मात्रै थिएनन्, नाटककार, अभिनेता, नाटक निर्देशक, चित्रकार एवम् गीतकार हुनाको अतिरिक्त महान समाज सुधारक पनि रहेकाले पञ्जाबको एउटा प्रसिद्ध थिएटर कम्पनीले उनलाई के. एल. सहगललाई प्राप्त उपाधिसरह ‘मास्टर’को उपाधिबाट समेत बिभूषित गरेको थियो जस उपरान्त उनी मास्टर मित्रसेन कहलाउन थाले । यस प्रकार लेखकले मित्रसेनले गाएका विभिन्न गीतहरूको चर्चा गर्दै उनलाई ‘बहुआयामी प्रतिभाका धनी’ भनी यथोचित सम्मान प्रदान गरेको पाइन्छ । मित्रसेनको समयमा गीत गाउँदै हिँड्नुलाई ‘छाडापन’ वा ‘उत्ताउलोपन’ भनिए पनि समय बित्दै जाँदा अनेक युवायुवतीले उनले देखाएको बाटोमा हिँडेर वर्तमान समयमा नेपाली, हिन्दी र विभिन्न भाषाका गीत–सङ्गीतका क्षेत्रलाई फराकिलो मात्र होइन एउटा उचाई दिँदै सम्पन्न पनि बनाएका छन् ।
पुस्तकको अर्को लेख यशस्वी सङ्गीतकार अम्बर गुरुङ्गको सम्बन्धमा छ । ‘अजम्बरी सङ्गीतकार अम्बर गुरुङ्ग’ शीर्षक दिएर लेखक बराईलीले पुस्तकमा यिनको यथोचित मूल्याङ्कन गरेको पाइन्छ । दार्जिलिङ्ग र खर्साङ्ग रेडियोदेखि नेपालसम्मको यिनको यात्रा, नेपाल बसाई, सङ्गीतरचना र आफ्नो सङ्गीतद्वारा अनेक गीतलाई कालजयी रूप दिएको चर्चा लेखकले गरेको भेटिन्छ र यसै सिलसिलामा उनी अम्बर गुरुङ्गलाई ‘नेपाली सङ्गीत जगतको घना वटवृक्ष’ को संज्ञा दिन्छन् । यति मात्रै होइन, गीतकार, सङ्गीतकार तथा गायकको भूमिका एकैसाथ खेल्नमा सफल रहेका वाग्येयकार अम्बर गुरुङ्गमा आत्मकेन्द्रित स्वभाव नरही आफ्ना समकालीनलाई समेत प्रोत्साहित गर्दै अगाडि बढाउनमा सहयोग गर्ने स्वभाव रहेको बेहोरा पनि पुस्तक पढ्दै गर्दा भेटिन्छ । अम्बर आज भौतिक रूपमा हामीमाझ नरहे पनि उनले सङ्गीत प्रदान गरेका विभिन्न कालजयी गीतले उनलाई अमरत्व प्रदान गरेको छ ।
लेखकको तेस्रो लेख भने अन्तर्वातामा आधारित छ । आफ्नो मधुर स्वरले भारत र नेपालका सङ्गीतप्रेमीहरूको दिल जित्ने स्वरकोकिला शान्ति ठटालको साङ्गीतिक जीवनको आरोह–अवरोहको रोचक वृत्तान्त पनि लेखकले आफ्नो लेखद्वारा प्रस्तुत गरेका छन् । अनेक गीतलाई आफ्नो मधुर स्वरले लोकप्रिय बनाएकी शान्ति ठटालले अम्बर गुरुङ्गका शब्द र सङ्गीतमा ‘सम्हालेर राख, सँगालेर राख ’ भन्ने गीतलाई जुन मधुरता प्रदान गरिन्, त्यसले आफ्नो कालखण्डको अमर गीतको रूप पायो । यस गीतको सम्बन्धमा लेखक लेख्दछन् – ‘नेपाल र भारतमा बस्ने नेपालीहरूमाझ मात्र होइन विदेशमा बस्ने नेपालीहरूमाझ पनि आजपर्यन्त यो गीत उत्तिकै लोकप्रिय र चर्चित छ । गीत–सङ्गीत क्षेत्रका कतिपय मर्मज्ञहरूले आजसम्म यति मिठासपूर्ण गीत जन्मनु नसकेको निष्कर्षसमेत निकालेका छन् । यो गीतलाई धेरैले नेपाली गीत–सङ्गीतको ‘एन्थेम’ नै मान्छन् ।’
सन् १९६४ मा शान्ति ठटालको मधुर स्वरबाट निस्केको यस गीतलाई यतिका वर्ष भइसकेर पनि श्रोताहरूले बिर्सन नसक्नुलाई गीतकार, सङ्गीतकार र गायकको ठुलो सफलता मान्नु पर्दछ । अनेक गीतलाई स्वर दिने शान्ति त्यति बेला सङ्गीतकार पनि बन्न पुगिन् जब अम्बर गुरुङ्गले उनीसित आफ्नो एउटा गीतलाई सङ्गीतबद्ध गर्न आग्रह गरे र शान्ति ठटाले सङ्कोच मान्दै त्यस गीतलाई सङ्गीतबद्ध गरिन् र पछि सन् १९६५ को एक दिन एउटा कार्यक्रममा प्रस्तुत पनि गरिन । गीत हो –
म अचानक नै अढेँ
फूल पनि तर्सिदियो
पछि हेरें भूल थियो
भूल पनि झर्किदियो ।
२०० भन्दा बढी गीतलाई आफ्नो मधुर स्वरबाट कालजयी बनाउनाको साथै लोकप्रियता प्रदान गरेकी स्वरकोकिला भारत र नेपालका विभिन्न संघ–संस्थाबाट सम्मानित भएको पाउँदा शान्ति ठटालको आठ दशक लामो साङ्गितिक यात्रा सफल भएको भन्न सकिन्छ ।
रेडियोमा बजेका गीतहरू सुन्दै गुनगुनाउने, उफ्रिने र नाच्दै हिँडने अनेक बालक–बालिका हुन्छन् तर ५ वर्षको उमेरदेखि नै हिन्दी गीत गाई वरिपरिका श्रोताहरूलाई मोहित गर्दै नेपाली गीत–सङ्गीतको क्षेत्रमा पनि नाम कमाउने बालक वा बालिका कमै हुन्छन् । ‘हुने बिरुवाको चिल्लो पात’को रूपमा दार्जिलिङ्गको घूम पहाडमा हुर्केकी दिलमाया खातीले भने हिन्दी गीतको गायनबाट प्राप्त गरेको ख्यातिको माध्यमबाट नेपाली गीतको गायनलाई ऊँचाईमा पु¥याइन र् समय बित्दै जाँदा ‘नाइटिङ्गेल अफ हिमालय’ को उपाधि नै पाउन सफल भइन । लेखक जे. के.. बराईलीले पनि यही शीर्षक दिई दिलमाया खातिको १२ वर्षे साङ्गितिक यात्राको वृत्तान्त ९ पानामा प्रस्तुत गरेर लेखलाई रोचक र पठनीय रूप दिन सफलता पाएका छन् ।
दिलमायाको साङ्गितिक जीवनले त्यति बेला कोल्टे फेरेको अनुभव हुन्छ जब उनी वि..सं. २०१९ मा साथीकी बहिनी कृष्ण कन्दङबाको आग्रहमा नेपाल घुम्न पुगिन् र साथीको घरमा बस्नि थालिन् । यस सम्बन्धमा लेखकले गायिकासितको भेटवार्ताको एउटा संवाद नै उद्धृत गरेका छन् जुन यस प्रकार छ – ‘म त घुम्न गएको, मलाई केही थाहा थिएन । त्यहाँ बसेर केही दिन घुमघाम गरेपछि एक दिन अचानक मन्त्री कन्दङबाको घरमा तीनजना मानिस मलाई भेट्न आए । मेरो गायनबारे उहाँहरूलाई बताईसकिएको रहेछ । उहाँहरूले कुराकानीको बीचमा तपाईंले राम्रो गीत गाउनु हुन्छ रे, यसो सुनौं न भन्नुभयो । नाइनास्ति गर्न सकिन र एउटा हिन्दी गीत गाएर सुनाइदिएँ । त्यसपछि उहाँहरू जानुभयो । २४ घण्टा पनि नबित्दै फेरि उहाँहरू आएर मलाई रेडियो नेपाल लिएर जानुभयो । मलाई लिन आउनुहुने त रेडियो नेपालका नातिकाजी, शिव शंकर र तारा देवी पो हुनु हुँदो रहेछ । त्यसपछि पो परिचय भयो । त्यसछि म नेपालमा धेरै दिन बसें । रहँदा बस्दा त्यसै वर्ष रेडियो नेपालमा राष्ट्रिय संगीत प्रतियोगिता हुने भयो । शिव शंकर दाईले मलाई प्रतियोगितामा भाग लिन कर लगाउनु भयो । मैले त्यसमा भाग लिएँ । त्यसमा म प्रथम स्थानमा आएँ र स्वर्णदक प्राप्त गरेँ ।’ नेपालमा हँुदा दिलमायाले शिव शंकरको संङ्गीतमा पहिलो गीत गाइन् ‘हिमालको काखमा छ सानो मेरो गाउँ ।’ शिव शंकरको सङ्गीतमा उनले पन्नाकाजीसित पनि एउटा युगल गीत गाइन जसको बोल थियो – मनमा तिम्रो प्रित होस । लेखक लेख्दछन्–‘दिलमाया खातीमात्र यस्ता भाग्यवान गायिका हुनुहुछ, जसलाई बोलाउन रेडियो नेपालबाट अधिकारीहरू स्वयं उहाँ बस्नुभएको ठाउँमा पुगेका थिए ।’ यस बीच रेडियो नेपालबाट उनको स्वरमा बजेका गीतहरूले उनलाई निकै नै चर्चित बनाई सकेको थियो । नेपालबाट कीर्ति र सम्मान प्राप्त गर्दै आफ्नो जन्म र कर्मभूमि फर्केपछि पनि उनले अनेक गीत गाइन । यीमध्ये सन् १९७२ तिर कलकत्ता (वर्तमान कोलकाता) मा नारायण गोपालसित दुई वटा गीत गाइन, जसमध्ये ‘बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा’ ले उनलाई निकै चर्चित बनायो र कालजयी बन्न पुगेको यस युगल गीतका रचनाकार रत्नशम्सेर थापा थिए भनेसङ्गीत नारायण गोपालको थियो ।
दिलमायाले गाएको अर्को गीत ‘तिमी देख्दा रहर होला लागेर आउँछ’ पनि चर्चित भयो, जसबाट प्रत्यक्ष शास्त्रिय सङ्गीतको सुवास आउँछ, जसको श्रेय लेखक बराईली गीतकार तथा सङ्गीतकारलाई दिन्छन् ।
२०१८ सालदेखि २०३० सालसम्म जम्मा १२ वर्षको बीचमा अनेक गीत गाई प्रसिद्धि र सम्मान पुरष्कार अर्जन गरेकी दिलमाया मूल रूपमा शिक्षण पेशामा संलग्न भएकोले त्यसलाई निरन्तरता दिन पट्टि लाग्दा २५ वर्ष ओझेलमा रहिन । तर सङ्गीतका मर्मज्ञहरूले उनलाई यसरी ओझेलमा परी बस्न नमिल्ने भन्दै सङ्गीत क्षेत्रमा ओर्लन वाध्य पार्दा एकपल्ट फेरि सङ्गीतप्रेमीहरूमाझ प्रकट भई उनले अनेक गीत गाउन थालिन् ।
पुस्तकको पाँचौं लेख नेपाली गीत–सङ्गीत क्षेत्रका नामूद हस्ती एवम् ‘मेलोडी किङ्ग’का रूपमा चर्चित कर्म योञ्जनको सम्बन्धमा छ । विधा कुनै पनि होस् त्यसप्रति समझदारिता राख्दै समर्पित भावले एकनिष्ठ भई काम गरी बस्ने व्यक्तिले नै सफलताको शिखर प्राप्त गर्ने गर्दछ । यस कुराको प्रत्यक्ष दृष्टान्त हुन् आफ्नो सुरुका दिनमा भायोलिनिष्टका रूपमा भूमिका खेल्दै बसेका कर्म योञ्जन, जसको सन् १९५७ देखि सुरु भएको साङ्गित्यिक यात्राले त्यति बेला नयाँ जीवन पायो जब उनले दिलमाया खाती र कुमार सुब्बासित पनि गीत गाए र ७० को दशकमा नाटककार मनबहादुर मुखियाको ‘अनि देवराली रुन्छ’ नाटकमा सङ्गीत भर्ने दायित्व पाए । कर्म योञ्जनको सङ्गीतमा अनेक प्रख्यात गायक, गायिकाले गीत गाएका छन् भने कर्मले पनि विभिन्न रचनाकारहरूका गीतलाई संगीतबद्ध गर्दै लोकप्रियता प्रदान गरेका छन् । सङ्क्षेपमा भन्नु पर्दा आफ्नो जीवनको ६ दशकभन्दाबढी समय सङ्गीत क्षेत्रमा बिताएका ८५ वर्षीय कर्म योञ्जनले ४०० भन्दा बढी गीतमा सङ्गीत भरेर नेपाली गीत–सङ्गीतमा मधुरताको सञ्चार मात्र गरेनन्, त्यसलाई नयाँ उँचाई पनि दिए भने सङ्गीत क्षेत्रसित सम्बद्ध देश विदेशका अनेक संघ संस्थाले पनि विभिन्न खालका सङ्गीत सम्मान, अभिनन्दन, प्रशस्तिपत्र र प्रशंसापत्रहरू प्रदान गर्दै कर्मको योगदानको उच्च मूल्याङ्कन गरेका पाइन्छ ।
गीतकार वा कविका रचनामा कल्पनाले अभिव्यक्ति पाएसरह साहित्यिक पृष्ठभूमि हुने वा कवित्व भाव राख्ने गीतकारका रचनामा पनि साहित्यको विशेष छाप परेको देखा पर्ने गर्दछ । अनि जुन गीतमा शब्द लय, स्वर र सङ्गीतको यथोचित समन्वय भएको हुन्छ त्यो गीत श्रोताहरूमाझ लोकप्रिय हुनाको साथै कालजयी हुने गर्दछ, युगौंसम्म स्मरणीय हुन्छ् । नेपाली गीतकारका रूपमा समेत नाम अर्जन गरेका जस योञ्जन ‘प्यासी’ साहित्यकारका रूपमा समेत प्रसिद्धि पाएका नाम हो । यसो हुँदा उनलाई नचिन्ने पाठक कमै होलान् । उनको शब्दचयन, लय, सूर र तालको समुचित समायोजन हुने भएकाले उनी, लेखक बराईलीका शब्दमा, ‘एक अब्बल गीतकार’ का रूपमा भेटिन्छन् । जस योञ्जन ‘प्यासी’ सितको विस्तृत भेटवार्तामा आधारित भए पनि बराईलीको यस लेखमा सङ्गीत क्षेत्रका अन्य अनेक नामूद कलाकारहरूको सम्बन्धमा पनि विस्तृत चर्चा भएको भेटिन्छ । उनीहरूका योगदानको चर्चाले गर्दा यस लेखले पनि रोचकता पाएको छ । सङ्गीत क्षेत्रलाई आफ्नो अल्प जीवनमा एउटा उँचाई दिएका सङ्गीतकार शरण प्रधानको चर्चाले पनि लेखमा बढी स्थान पाएको भेटिन्छ । सङ्गीत क्षेत्रमा गायक वा सङ्गीतकारको जति चर्चा हुन्छ, गीतकार प्रति भने प्रायः जसोे उपेक्षाको भाव राख्ने गरिएको गुनासो लेखमा भेटिए पनि गीत विधालाई समृद्ध पार्दै जाँदा कविहृदयका गीतकार ‘प्यासी’ आफ्ना रचनाकै आधारमा नेपालबाट छिन्नलता गीत पुरस्कारबाट सम्मानित हुन पुग्दछन् ।
शब्द, गायन र सङ्गीतको सही मिश्रण र मेलबिना गीत लोकप्रिय हुन सक्तैन भने कुरा बुझेका गोपाल योञ्जन त यथार्थमा नै नेपाली सङ्गीत जगतका एक बिर्सनै नसकिने नाम हुन् । १९ वर्षको उमेरमै ‘आकाशजस्ता अमर गीत मेरा, मजस्तो दुई दिनको पाहुना होइन’ भन्ने गीतको रचना गर्र्दै नेपाली सङ्गीतक्षेत्रमा पाइला टेकेका गोपाल योञ्जनले गीतका यी बोलहरू रच्दा आफ्नो जीवनरेखा कोरि रहेका होलान् भन्ने कुरा यो गीत सुन्ने बेलामा कसले चिताएको थियो होला र ? तर आजका दिनमा उनी अमर छन् आफ्ना गीत, गायन र सङ्गीतका कारण । गोपाल योञ्जनको साङ्गीतिक जीवनयात्राले नेपाल प्रवेश गरेपछि नयाँ उँचाई पाएको देखिन्छ । लेखक बराईलीका शब्दमा,‘ आफ्नो गाउँ छोडेर नेपाल पसेपछि उनी नेपालकै भए, नेपालकै माटोमा भिजे, नेपाल आमाकै महिमा गाए अनि राम्रा–राम्रा राष्ट्रिय गीत रचना गरे ।’ स्वर सम्राट नारायण गोपालसितको साङ्गीतिक यात्राको सम्बन्धमा गीतकार नगेन्द्र थापाका अनुसार, जुन तहको नारायणको स्वर थियो, त्यो स्वरलाई रमझम पार्ने र अझ उचाईमा पुर्याउने काम गोपाल योञ्जनको सङ्गीतसहित कालजयी शब्दले गरेको हो ।’
अल इण्डियो रेडियो (नयाँ दिल्ली, भारत) को नेपाली कार्यक्रमा एकजना उद्घोषकको ड्यूटी गर्ने क्रममा यस पङ्क्तिकारलाई अनेक नेपाली गायक कलाकारहरूको गीत श्रोताहरूको फर्माइसमा पनि बजाउने अवसर प्राप्त भयो, तर गोपाल योञ्जनका गीत र सङ्गीत तथा नारायण गोपालका स्वरमा रेकर्ड गरिएका गीतहरूका लागि अधिकांश फर्माइस हुने गर्दथे श्रोताहरूबाट । यसले पनि नेपाली सङ्गीतलाई शिखरमा पुर्याउनमा दुई गोपालको जोडीको देनतर्फ सङ्केत गर्दछ । उत्कृष्ट गीतकार, असल सङ्गीतकार अनि मधुर स्वरका धनी भएका हुँदा वाग्येयकारका रूपमा समेत जानिन्थे गोपाल योञ्जन । वरिष्ठ सङ्गीतकार दीपक जंगमका शब्दमा त ‘उनी स्वयम्मा एउटा इस्टिच्यूशन’ नै थिए ।’
मानिस कत्तिकै लोकप्रिय किन नहोस्, समाज र राष्ट्रको लागि उसले जति सुकै योगदान गरेको किन नहोस् कालको कुदृष्टिबाट जोगिन सक्दैन । सङ्गीतद्वारा आफ्नो र लाखौंको जीवनलाई सङ्गीतमय र मनोरञ्जक बनाउँदै बसेका गोपाल योञ्जनले सन् १९९७ को ग्रीष्मकालको २० मईको दिन आफ्नो जन्मभूमि र कर्मभूमिदेखि हजारौ कोस टाढा नेपाली सङ्गीत जगतमा एउटा रिक्तता र आफ्नो परिवार, लाखौं प्रशंसक एवम् करोडौं श्रोताहरूलाई शोकसन्तप्त गर्दै नयाँ दिल्लीको एउटा आधुनिक अस्पतालमा अन्तिम सास फेरे । उनी आज छैनन, तर उनका गीत र सङ्गीत अनि उनका मित्र नारायण गोपालको स्वरमा बनाइएका गीतहरू आज विभिन्न रेडियो स्टेशनहरूबाट बज्दा उनी अझै हाम्रा माझमा छन् जस्तो आभास हुने गर्दछ ।
नेपाली गीत–सङ्गीतको इतिहास १०० वर्ष पुरानो भनिन्छ । त्यस बेलादेखि आजका दिनसम्म अनेक किसिमका गीत, झ्याउरे, लोकगीत, भक्तिगीत, लोक दोहोरी, आधुनिक गीत र वर्तमानकालका र्याप आदिले नेपाली गीतका भण्डार भरिएका छन् । गीत रेकर्ड गर्ने व्यवस्था नभएका र रेकर्ड हुन नसेकका ती दिनहरूमा अनेक गीत गाइए, सुनिए । कति लेखिए, लेखिएका पनि कति हराए र समय बित्दै जाँदा विलीन पनि भए । समान रूपमा कति गायक, गीतकार पनि चर्चामा आए, कति विस्मृतिमा परे र कति ओझेलमा परे ।
वर्तमान युगमा पनि ओझेलमा परेका यस्तै ‘बिर्सन नसकिने’ पात्र भए शरण प्रधान, जसलाई लेखक जे. के. बराईलीले आफ्नो कृतिद्वारा पाठक वर्गसामु ल्याएर सङ्गीतप्रेमीहरूलाई एउटा गुन लगाउने काम गरेको अनुभव हुन्छ । शैशवावस्थाको नेपाली सङ्गीतलाई डो¥याउँदै र समाजमा स्थापित गराउँदै सन् साठीदेखि सत्तरीसम्मको दशकलाई नेपाली सङ्गीत क्षेत्रको स्वर्णिम काल बनाउनमा आफ्नो योगदान दिने प्रमुख गीतकार, सङ्गीतकार एवम् गायकहरूमध्ये शरण प्रधान पनि एक हुन है भन्दै लेखक लेख्दछन् –‘शरणको सङ्गीत शैली सरल, सोझो, मौलिक तथा सर्वग्राह्य र चित्ताकर्षक सुनिँदा सुनिँदै पनि स्वरगठन जटिल, र उच्चस्तरीय हुन्छ, जुन अरुणाजत्तिकै श्रेष्ठ गायिकाले मात्रै सफलतासित अभिव्यक्त गर्नसकेकी हुन् ।’ गायन विधाकी प्रख्यात गायिका र शरणकी धर्मपत्नी अरुणा लामाले आफ्ना पतिका अनेक गीतहरूलाई स्वर प्रदान गर्नाको साथै आफ्ना पतिको सङ्गीत यात्रालाई अर्थपूर्ण बनाएको चर्चाले पुरुषको प्रगतिमा उसकी श्रीमतिको योगदानको महत्वलाई पनि छर्लङ्ग पार्दछ । शरणका गीतहरूमा नेपाली जनमानसका पीरव्यथा, जीवनको भोगाई र तरिका, नेपाली माटोको सुगन्ध तथा घाम छायाँसरह जीवनलाई पछ्याउने सुख दुःखका चित्र हुने हुँदा यी गीतहरू रेडियोबाट घन्किँदा सुन्नेहरू मक्ख पर्दथे । अनि यिनै गीतहरूको माध्यमले अरुणा र शरणको नाम पनि विलक्षण दम्पत्तिको रूपमा नेपाली समाजमा सुपरिचित हुन पुग्यो ।
शरण प्रधानको सम्बन्धमा साह्रै कम लेखिएको भए पनि लेखक बराईलीले आफ्नै खोज र प्रयासद्वारा १२ पानामा शरणको सम्बन्धमा जसरी विस्तृत चर्चा गरेको पाइन्छ, त्यसबाट नेपाली सङ्गीतको क्षेत्रमा शरण र अरुणाको जोडीको उल्लेखनीय योगदान बारे पाठकहरूलाई धेरै जानकारी प्राप्त हुन्छ ।
रेडियोबाट शरणका विभिन्न र नयाँ–नयाँ गीतहरू सुन्दै रमाउने अवसर पाइरहेको अवस्थामा यी ३० वर्षीय युवकमाथि कालको कुदृष्टिमा पर्दा अरुणाको युवा जीवनमा मात्र वज्रपात हुन पुगेन नेपाली सङ्गीत जगत यी होनहार सङ्गीतकारको भावी योगदानबाट पनि वञ्चित हुन पुग्यो । अर्कोतिर उनीद्वारा गठित सङ्गीत संस्था ‘संगम’ पनि छिन्नभिन्न हुन पुगेबाट एकजनाको मृत्युबाट उत्पन्न हुने समाज र घरपरिवारको दारुण चित्र पनि प्रकट भयो ।
‘नेपाली गीत–सङ्गीत क्षेत्रलाई माथि उठाउनमा उल्लेखनीय योगदान पुर्याएर आउने मुट्ठीभर अब्बल दर्जाका सङ्गीत साधकहरूका नाम लिन पर्दा बद्री – दुर्गा खरेल नामले परिचित खरेल बन्धुहरूका उत्कृट गीतहरू हाम्रो मानसपटमा आइ हाल्छ ।’ यिनै हरफका साथ ‘थोरै गीतले धेरै लोकप्रिय सर्जक दुर्गा खरेलसित केही क्षण’ शीर्षकको आफ्नो लेख सुरु गरेका जे. के.. बराईली ‘बद्री दुर्गा खरेललाई नेपाली सङ्गीतको स्वर्णयुगको उत्तराद्र्धको उज्ज्वल धरोहर’ पनि बताउँदछन् । राम्रो उद्देश्य, भावना र लगनका साथ थालिएको हरेक काम सदैव फलदायी हुन्छ भन्ने कुरा रामायण वाचन गर्दै सङ्गीत क्षेत्रमा ओर्लेका बद्री दुर्गाको जोडी नेपालको छिन्नलता पुरष्कार गुठीद्वारा प्रदान गरिएको ‘छिन्नलता पुरष्कार – २०७५’ बाट सम्मानित भएबाट सही प्रमाणित हुन्छ । त्यसै वर्ष भाई दुर्गा खरेल सन् २०१८ मा ‘गोपाल योञ्जन स्मृति पुरष्कार २०७५’ बाट सम्मानित हुन्छन् । दुर्गा खरेलको विशेषताको सम्बन्धमा लेखक भन्दछन् –‘उनको गायनमा लोकलय र आधुनिक लयका सम्मिश्रित एक विशेष प्रकारको छुट्टै टेक्निक छ ।’
बद्री दुर्गाले गायकको रूपमा मात्रै प्रसिद्धि नपाई सङ्गीतकारको रूपमा पनि कैयन गीतमा सङ्गीत दिएको पाइन्छ जसमध्ये, बराईलीका शब्दमा, उनको पहिलो गीत ‘कल्पनाको महललाई मुटभित्र राखिदिन्छु, तिमीलाई नपाए पनि तिम्रै तस्वीर साँचिदिन्छु’ हो । यस गीतको लोकप्रियताबाट प्रोत्साहित हुँदै यिनीहरूले अनेक गीत गाए ।
लेख पढ्दै जाँदा दार्जिलिङ्गको हिमालयन कला मन्दिरमा सङ्गीतको तालिम पाएका यी दाज्यूभाईहरूमा गायक एवम् सङ्गीतकार हुनाको अतिरिक्त अभिनय कलाको शीप पनि रहेको बुझिन्छ । बद्री खरेलले त प्रसिद्ध नाटक ‘अनि देउराली रुन्छ’ लगायत कैयन नाटकमा आफ्नो अभिनय शीप र बहुमुखी प्रतिभाको प्रदर्शन गर्न पनि चुकेनन् । आफ्नो नेपाल यात्राको सिलसिलामा खरेल बन्धुले काठमाडौंमा विभिन्न स्टेज कार्यक्रमहरूमा गाएपछि एउटा नेपाली सङ्गीत रकार्ड कम्पनीमा ७ वटा गीतहरू रेकर्ड गर्न भ्याएछन् । एचएमभी ९ज्ःख्० को स्टुडियोमा पनि आफ्ना गीतहरू रकर्ड गराई खरेल बन्धुले गीतहरूको प्रचार–प्रसारमा समेत उल्लेखनीय योगदान पु¥याएको भेटिन्छ । लेखकले रेडियो नेपालबाट बजाइने गीतहरूको सम्बन्धमा गायकद्वयका भनाईलाई पनि उद्धृत गरेका छन् जसअनुसार ‘रेडियो नेपालमा एकपल्ट गीत बजिसकेपछि त्यो गीत भाग्सु देहरादूनदेखि उता हिमाचलको कुनाकाप्चादेखि आसामसम्म्म पनि मानिसहरूको कानसम्म पुग्थ्यो । खरसाङ रेडियोमा बजेको गीत चाहिँ कमान बस्तीतिर धेरै सुनिन्थ्यो । यसरी दार्जिलिङ्गका गीतहरूलाई प्रसार प्रचार दिनमा रेडियो नेपालको अहम भूकिालाई भुल्नु हुँदैन ।’ आजका नयाँ पीढिलाई आफ्नो सन्देशमा गायक दाज्यूभाई भन्दछन् –‘सङ्गीत सङ्गीतका लागि नै हुनु पर्छ , गीतमा मेलोडि हुनु पर्छ, मिठास हुनु पर्छ ।’
गीत–सङ्गीतलाई कर्णाप्रिय र लोकप्रिय बनाउनमा गीतका शब्द, मेलोडि, स्वरमा मिठास, सुर, लय र ताल को ठूलो महत्व हुन्छ र यस्ता गीत नै कालजयी पनि हुन्छन् । लेखकले पुस्तकमा सामेल गरेका गीत सङ्गीतका दशौं रत्नहरूमध्ये अन्तिम रत्न वि. सं. २०२० सालमा भएको आधुनिक गीत प्रतियोगितामा ‘गोरेटो त्यो गाउँको’ गाउँदै प्रथम स्थान प्राप्त गर्ने प्रेमध्वज प्रधान हुन् । आफ्नी जन्मदात्री आमाबाट गायन कला र त्रिताल, दादरा र कहरवा जस्ता तालहरू सिकेका प्रेमध्वज प्रधान, समय बित्दै जाँदा नेपाली गीत सङ्गीतको क्षेत्रमा एक जना अविस्मरणीय गायक र बरायईलीको कृति ‘बिर्सनै नसकिने हाम्रा गीत–सङ्गीतका पदचापहरू’ का हिस्सा बन्न पुगे ।
रेडियो नेपालद्वारा वि. सं. २००९ मा आयोजित स्वर परीक्षामा ‘क’ श्रेणी पाए पाएपछि सुरु भएको प्रेमध्वज प्रधानको साङ्गितिक यात्राले ठूलो फडको हान्न थाल्यो र अनेक गीतकारका रचनाले ती गीतहरूलाई मधुरता प्रदान गरे । उनी नेपाली चलचित्रमा पाश्र्वगीत गाउने प्रथम गायक पनि बने । अनेक चलचित्रका लागि स्वर दिइसकेका प्रेमध्वजले अनेक गीतहरूका लागि सङ्गीतकारको भूमिका पनि खेलेको पाइन्छ । आज उनी भौतिक रूपमा हामीमाझ नभए पनि उनले स्वर दिएर कालजयी बनाएका अनेक गीतहरूले उनलाई अमरत्व प्रदान गरेको छ ।
पुस्तकमा समावेश अन्तिम लेख लोकगीतसित सम्बन्धित छ । यसमा लेखक बराईली लेख्दछन् –‘मनभित्रका उकुसमुकुस भावना र अभिव्यञ्जनालाई स्वरमा घोलेर व्यक्त गर्ने माध्यम हो लोकगीत । यो लोकजीवनको एक समसामयिक झलक हो र यही नै लोक संस्कृतिको आधार पनि हो । लोक सङ्गीत हाम्रो जीवन शैलीसँग गाँसिएको छ । लोक लय र लोक गीतहरू ग्रामीण जनजीवनकै उपज हुन् ।’
हुन पनि खेतमा धानको बाली रोप्दै, घास काट्दै र वनमा दाउरा बटुल्दै पुरुष–महिलाका मुखबाट निस्कने वा सारङ्गी रेट्दै घर–घर डुली गाउने गाइनेहरूका मुखबाट निस्कने गीत नै लोक गीत हुन् ।
सङ्क्षेपमा भन्नु पर्दा, पुस्तक प्रत्येक सङ्गीतप्रेमी पाठकहरूले एकपल्ट पढ्नैपर्ने योग्य छ । संग्रह गरेर राख्दा पनि नेपाली गीत–सङ्गीतलाई एउटा उचाईमा पुर्याउने विभिन्न हस्तीहरूको सम्बन्धमा नयाँ पुस्ताका लागि रोचक एवम् जानकारीमूलक पुस्तक हुनेछ । लेखक स्वयम् पुस्तक प्रकाशक भएको र प्रकाशन व्यवस्थापन श्रीमती नैना बराईलीले गरेको देखिन्छ । नेपाली साहित्यसित सम्बन्धित विभिन्न विद्वानहरूको मन्तव्यले पुस्तकलाई थप महत्वपूर्ण पनि बनाएको छ भनेमा अत्युक्ति नहोला । आफ्नो मन्तव्यमा बराईलीले नेपाली आधुनिक सङ्गीतको इतिहास नै प्रस्तुत गरेका जस्तो पनि लाग्दछ । सन् ९० देखि दिल्लीलाई कर्मक्षेत्र बनाएर नेपाली साहित्य र गीत–सङ्गीतको क्षेत्रमा लेखन, अध्ययन र अन्वेषण गर्ने बराईलीका प्रयासलाईसफल बनाएको अनुभव पनि हुन्छ । पुस्तकाकारको रूपमा प्रस्तुत १६६ पानाको यस कृतिको आवरण सज्जाको दायित्व बोकेका राजेश छेत्रीले दशजना गायक कलाकारहरूका तस्बिरलाई आवरण पृष्टमा सजाएर राख्दै पुस्तकलाई आकर्षक रूप दिन सफल भएको पाइन्छ । अन्तिम पृष्ठले चाहिँ लेखकको जीवनी र साहित्यिक गतिविधिबाट परिचित गराउँदछ ।
अन्त्यमा केही शब्द लेखकका सम्बन्धमा । दार्जिलिङ्गको लोअर कलेज भेल्ली चियाकमानमा सन् १९६० को जून महिनाको १४ तारिखमा जन्मेका जे. के.बराईली नेपाली साहित्यको क्षेत्रमा नयाँ नाम होइन । सन् ९०को दशकमा दिल्ली प्रवेश गरी बस्नथाल्नुअघि नै र्दािर्जलिङ्गको साहित्यिक क्षेत्रमा चर्चित भइसकेका व्यक्ति हुन् । विभिन्न पत्र–पत्रिकामा सन् १९७५देखि नै आफ्ना लेख, कविता, निबन्ध आदि छापिएबाट चर्चित भइसकेका बराईलीको नामका साथ यदा कदा ‘तृषित’ उपनाम पनि जोरिएको देखिन्थ्यो । तर पछि उनले यो उपनाम त्यागेको देखिन थाल्यो । किन ? यसको कारण त उनैलाई थाहा होला तर वर्तमान दुई पुस्तक पनि उपनामरहित भेटिएको छ । सानै उमेरदेखि गीत र सङ्गीतमय परिवेशमा हुर्किएकाले होला गीत–कविता आदिको लेखन, कम्पोजिशनमा पनि उनको दखल देखिन्छ । सन् १९९७ मा दार्जिलिङ्गबाट गो. द. नि. सं द्वारा आयोजना गरिएको जिल्लाव्यापी सङ्गीत प्रतियोगितामा श्रेष्ठ शब्दकारको पुरष्कारबाट सम्मानित हुने जे.के. बराईलीका कतिपय गीतहरू आकाशवाणी खर्साङबाट पनि बज्ने हालका वर्षहरूमा उनका अनेक रचनाहरू नवोदित गायक-गायिकाका स्वरमा रेकर्ड भई तिनका सी. डी. पनि निस्केको भेटिन्छन् । निष्ठा र लगनकासाथ गरिने कामले नै मानिसलाई एक सफल व्यक्तिको रूपमा समाजमा खडा गर्दछ भन्ने उक्तिलाई पनि बराईलीको जीवनले चरितार्थ गरेको भेटिन्छ ।
समग्रमा, प्रस्तुत ‘बिर्सनै नसकिने हाम्रा गीत–सङ्गीतका पदचापहरू’ ले सङ्गीत जगतमा एउटा महत्वपूर्ण दस्तावेजको स्थान पाउला र भविष्यमा लेखक जे. के. बराईलीको स्वास्थ्य र व्यस्त दिनचर्याले अनुमति दिएमा नेपाली गीत–सङ्गीत जगतका अन्य अग्रजहरूका सम्बन्धमा पनि कलम चलाउन भ्याउलान् भन्ने विश्वासका साथ आफ्नो मन्तव्यलाई यहीँ बीट मार्दछु ।
