गज़ल:
|
विधाता तिमीले बिहानी लुट्यौ
नफुल्दै नफल्दै जवानी लुट्यौ
अधर्मी रहेछौ दियौ यातना
दुवै नेत्रको ज्योति नानी लुट्यौ
लगायौ डॅडेलो सुखानन्दमा
सबै चाहनाको परानी लुट्यौ
बन्यौ मूक पाषाणको मुर्ति झैँ
सुनेनौ पुकारा निशानी लुट्यौ
गर्यौ घोर अन्याय निर्दोषमा
दिलासा लुट्यौ घामपानी लुट्यौ
चलायौ खुँडा वक्ष भो जर्जर
खुदै देहको राजधानी लुट्यौ
चुँड्यौ कोपिलामै नयाँ पालुवा
खुसी बर्सिने वागवानी लुट्यौ
भलो हुन्न तिम्रो कवै लोकमा
भरोषा ढलायौ जमानी लुट्यौ
भएको छु मूर्दासरी आज म
सहारा लुट्यौ जिन्दगानी लुट्यौ
(बहरे मुतकारिव महजूफ)