आमालाई चिठ्ठी

म हजुरलाई भेट्न आउँदैछु । धेरै समयको प्रतिक्षा पछि बल्ल जुध्यो समय हजुरको आँगनमा टेक्ने । जीवन त खोला रहेछ । बग्दाबग्दै समय बितेको थाहा नै भएन । हजुरको याद अटुट छाप बनेर लाल मोहर बनिसकेको छ । महसुस गर्छु चित्त बुझाउँछु । छतपटिंदै मन शान्त पार्दै बस्छु । शरिर यता मन उता ! के गर्नु जीवन बुझ्नै गाह्रो,कर्म गर्दा गर्दै भोलिको झिनो सुखको आसमा दुःख झेल्दै बसें । कहिले साहस हारिन आमा हजुरको नामसँगै परिचय बोकेर मैले आफ्नो अस्तित्व बनाउँदै गएँ । अपरिचित ठाउँमा परिचित बनेर । जहॉ बगे पनि जता हिंडे पनि मेरो सहअस्तित्व तपाईंमै समर्पित छ ।
हो आमा बिहानीको घामसँग तपाईंको न्यानो मायाको अनुभुति गर्छु । तपाईंले दिएको संस्कारलाई शिरमा राखेर पालन गर्दैछु र गर्नेछु जिवन भर । तपाईंकै सुवासमा म परिचित बन्ने छु । म छोरी तपाईको | प्रत्येक दिन म भावनामा बग्छु र तपाईंको फोटो देख्दा मन ढुक्कले फुलाउँछु गर्वले शिर उठाउँछु ।
आज म तपाईंसँगै बस्न आउँदैछु छुट्टी मिलाएर । मैले धेरै सोचें १ महिनाको छुट्टी पर्याप्त छैन । मेरो धित मर्ने गरेर बस्ने तर विवश छु आमा ! म आउनेछु फेरि भेट्न समयले साथ दिएसम्म । दुई दिन मात्र बाँकिछ । अब गन्दा-गन्दै क्यालेन्डरको गति अगाडि बढ्दै छ । एकातिर मन हर्षले उन्माद छ । तरखरमा समय बित्दै छ ।
आज म हजुरलाई भेट्न विमान चढ्दैछु ।
बिस्तारै प्लेनले गति लिन्दै छ । धर्तीलाई छोडेर आकाशमा उड्ने प्रणमा । हो म अब विमानसँगै धर्ती छोड्दै आकाशको मार्गमा लाग्दैछु । जताततै बादलको लुकामारी खेल हेर्दै म अगाडि बढ्दैछु । टन्न लागेको घाममा निलो आकाश प्लेनको झ्यालबाट हेर्दा बादलको लुकामारी खेलको सागरमा पौडिंदैछु । कति मज्जाले खेल्दैछ । आफ्नै आँगनमा जता मन लाग्यो उतै । धर्ती र आकाशको बिचको क्षितिजमा !
मेरो मनको आकाश उज्याली रहेछ घामसँगै ! हो आमा आज म कति खुसि छु कति । पिडा छैन, मेघ गर्जेको छैन । कालो बादलको आभास छैन । पहाडहरू शिर ठाडो पारेर उभिरहेको छ । हरियाली समेट्दै रुखहरू सजिएका छन् । आज कति सुन्दर लागि रहेको छ । यो धर्ति सबै आफ्नै पनमा तल्लिन छ । मस्त छ आनन्द छ मायाको वरिपरि । एकान्त मनको कुनामा खाली छ । सोच पनि छैन । न दुःख न पिडाको अनुभुती ।
आज आ-आफ्नै चल खेलमा मस्त छ जीन्दगी ! कुनै नयॉ जीवनको जन्म भएको जस्तै । शुद्ध, सत्य, शान्त र सौम्य लाग्छ जता ततै ! विचार शुन्य, भाव शुन्य र पिडा रहित जिवनको पलहरूले समेट्दै छ । निःसन्देह । उड्दै गरेको जहाज पृथ्वीको धरातल छुन खोज्दै छ । म लालायित छु हजुरलाई छुने प्रयासमा । हजुरको काखमा आएर थाकेका थकान सबै मेटाउने छु । हजुरको हातको स्पर्षमा नयॉ जागरण पलाउनेछ । हिमाल हाँस्ने छ, मयुर नाच्ने छ । डाँफे र मुनालको सौन्दर्यतामा लाली गुराँसले सजाउनेछ । रुखहरूमा लटरम्म फुलेर मेरो आँगनमा । मेरा सबै दिदी बहिनी गण्डकी, कोशि, कर्णालीको प्रवाह झैं खुशीले रमाउनेछन् । मैले एउटा सुखद अनुभुती पाउने छु । आमाको ममता सन्ततीको लागि मेरो पौरख हो । भाग्यको निसानीहो । आशिर्वाद पुजाको प्रसाद हो आमा ! मेरी आमा….. हो म आउँदैछु |
– ०४/१७/ २०२२
