पुस्तक समीक्षा “ऊ स्वतन्त्र, उसका विचार स्वतन्त्र !”

यतिखेर थाहा भएको कुराले पनि बडो अनौठो पारेको छ । सामान्य नै किन नहोस्—गम्भीर भएर सोच्दा त्यसले एउटा आश्चर्य पैदा गर्दो रहेछ । कुरा के भने हाम्रो आँखामा कत्रो विशाल ज्योति छ । ज्योतिको त्यो विशालता आफूसँग हुँदाहुँदै पनि हामीलाई थाहा छैन कि मसँग कति ठूलो ज्योति छ । यदि आफूसँग ज्योति नहुँदो हो हजारौँ सूर्य किन नउदाउन् त्यसको के अर्थ ? ज्योति आफूसँग हुनाकै कारण सूर्य प्रकाशमय छ । आफू हुनाकै कारण त्यो प्रकाशमय छ । आफू नहुँदा यहाँ प्रकाश हुनु नहुनुको के अर्थ ? त्यस्तै सृष्टि स्थितिको के अर्थ ? प्रलय नै भए पनि आखिर के अर्थ ?

आफू अस्तित्वमा रहेकै कारण यहाँ हर थोकको अस्तित्व छ । ब्रह्माण्डको अस्तित्व हामीसँग छ र त उसको अस्तित्व छ । आफ्नो अस्तित्व नहुँदाको दिन ब्रह्माण्ड हाम्रो लागि अस्तित्वमा कहिल्यै रहने छैन । किन्तु उसको अस्तित्व रहला नै तर हाम्रो लागि रहने छैन ।

त्यस्तै कुनै पनि कुरा आफूसँग हुनाकै कारण त्यसको पहिचान गर्न सकेका हुन्छौँ । जस्तो सूर्य हामीसँग छ र त उसको अस्तित्व पहिचान गर्न सकेका छौँ । त्यस्तै जल, वायु, आकाश, पृथ्वी आफूसँग हुनाकै कारण हामीलाई त्यसको जरुरी छ । यदि नहुँदो हो जरुरी थिएन । भनेपछि हामीसँग जे छ त्यो सृष्टिमा छ र जे छैन त्यो सृष्टिमा पनि छैन । उसो भए हामी आफैँमा एक ब्रह्माण्ड रहेछौँ । होइन त ? हो यहीँनेर मेरो प्रश्न छ हामी आफैँमा प्रकाशमय भएर पनि फेरि किन आफूलाई देख्न सकिरहेका छैनौँ ?

साहित्यकार भागवत खनालकृत ‘आत्मबोध’ पढ्दै गर्दा मैले आफैँलाई यस्तो प्रश्न गरेँ । यतिखेर महसूस गर्दैछु थाहा पाउनु र बोध हुनु यी दुई कति फरक कुरा रहेछन् । जीवनका अनेक आयामसँग निकट रहेका उनका निजात्मक निबन्धले यस्तैउस्तै कुरा देखाउन खोजेका छन् । यस कृतिमा जीवन, जगत् र विचार आपसमा नफुक्लिने गरी अन्तर्सम्बन्धित छन्; जसमा स्रष्टाको जीवन झिकिदिने हो भने त्यो पूरापूर अपूर्ण हुनेछ, अझ त्यसबाट विचार झिकिदिने हो भने झनै अपूर्ण हुनेछ । अस्तित्व पहिचान, स्वको खोजी र परिस्थितिको स्वीकृतिमा रचिएको उनको प्रस्तुत कृति जसले केही भिन्न परिचय निर्माण गरेको छ । तीसवटा आलेख समाविष्ट प्रस्तुत कृतिमा यस्तो लाग्छ लेखकले जीवनभर पढेका, जानेका, अनुभव गरेका यावत कुरा अक्षर बनेर थिग्रिएका छन् । यसपहिले नै उनको ‘बाबा मेरो पीआर आयो’ कथासंग्रह पाठकमाझ आइसकेको छ ।

संसारमा कसैले कसैलाई प्यार गर्दैमा उसको जीवन धन्य हुन सक्दैन । प्यार त आफूले आफैंलाई गर्न सक्नु पर्ने रहेछ । तब मात्रै जीवन भनेजस्तो हुनेछ । मानिस सधैँ अरूको माया पाउन भड्किरहन्छ । त्यसको लागि ऊ यति धेरै तृष्णातुर हुन्छ कि कुरै नगरौँ । हामी अरूबाट केही पाउने अपेक्षामा उसलाई सदा खुशी बनाउने अनेक प्रयास गर्छौं । तब थाहै नपाई हामी उसको अनुग्रहमा बाँच्न थाल्छौँ । दुःखको कुरा हामी स्वयंले आफूसँग कहिले केही अपेक्षै राखेनौँ । अझ पनि हामीलाई यो थाहा छैन कि आफूले आफैँसँग अपेक्षा ग¥यौँ भने असम्भव केही छैन भन्ने कुरा । त्यस्तै हामीलाई यो पनि थाहा छैन कि आफूले आफूलाई अगाध प्रेम गर्न सक्यौँ भने त्यसको शक्तिले अरूलाई पनि आफूतिर आकर्षण गर्छ भन्ने कुरा ।

जीवनमा अरूलाई बिर्सिएर केही फरक पर्दैन जति आफूलाई बिर्सिंदा पर्नेछ । तब स्वयं जीवन समाप्त हुनेछ । त्यसो हुँदा आफूले अरूलाई र अरूले आफूलाई चिन्ने प्रयास गर्नु आवश्यक छैन । किनकि ‘मलाई मैले जति राम्रोसँग अरू कसैले चिन्दैन ।’ लेखकले मेरो प्यारो म निबन्धमा यस्तै केही, आफूलाई जागृत गराउने थिम बोलेका छन्, “आफ्ना निम्ति सबैभन्दा हितैषी र सुख दुःखको स्याथी साथी आफैँ हो । त्यसैले भगवान् बुद्ध भन्छन्, आफ्नो साथी आफै बन, आफ्नो निर्माता आफै बन, आफ्नो प्रकाश आफै बन, आफ्नो हृदयको निःशब्द पुकार आफैले सुन । अप्प दीपो भव (पृ–९) ।

मानिस आफू जस्तो छ त्यही दृष्टि अनुकूल उसले जगत् नियालेको हुन्छ । उसकै दृष्टि अनुरूप जगत् परिभाषित हुन्छ । यस सृष्टिमा जति मानिस छन् त्यति नै किसिमका जगत् पनि । आखिर जगत् त एउटै हो नि ? किन्तु दृष्टिकोणले त्यसरी फरक पार्दो रहेछ । कसैको दृष्टि कसैसँग नमिल्ने हुँदा हरेकको आआफ्नै जगत् छ । लेखक भन्छन्, जगत् राम्रो देख्न प्रथमतः आफ्नो दृष्टि सुन्दर हुनुपर्छ । कुरूप दृष्टिमा दृश्य पनि उस्तै कुरूप हुनेछ ।

स्रष्टा खनालका निबन्ध पढ्दा एउटा बेग्लै किसिमको अनुभूति हुन्छ । मलाई वैचारिक सिर्जना मनपर्ने हुँदा शायद यसो भएको हुनसक्छ । कुनै पनि विचारले जीवनलाई हेर्ने फरक दृष्टिकोण दिन्छ । यी निबन्ध पद्दै गर्दा एउटा उज्यालो आफूभित्र पस्दै गरेको महसूस हुन्छ । कति शुक्तिमय वैचारिक अभिव्यक्ति ठाउँठाउँमै कोट गरूँजस्तो लाग्छ जस्तो, “म स्वयं बाहेक कुनै पनि अर्को व्यक्तिले मलाई असल या खराब बनाउन सक्दैन ।”

जीवन जगत्लाई हेर्ने लेखक खनालका धारणा आफ्नै खालका छन् । ती प्रकृतिका निकट छन् । त्यसो हुँदा ती अकाट्यझैँ लाग्छन् किनकि प्रकृति कहिल्यै कृत्रिम हुँदैन र असत्य पनि । मानिस जब प्रकृति विपरीत हुन्छ अनि त जिउन निकै कठिन हुन्छ । त्यस्तो विपथगामी मार्गको अभिलाषी हुँदा नचाहँदा नचाहँदै रात झर्ने गर्छ जस्तो कि हाम्रो देशमा झर्दै आएको छ । तब सुकरातलाई जेलबाट भगाउन चेलाहरूले गरेको प्रयासमा उनको अभिव्यक्ति कति सान्दर्भिक लाग्छ, “म भाग्दिनँ किनकि म बाँचे भने मेरो विचार मर्नेछ र म मरेँ भने मात्र मेरो विचार बाँच्नेछ (पृ–१८) ।

(अनिता पन्थी)

उनको यस अभिव्यक्तिमा हाम्रो देशका शासक सम्झिएर बडो धिक्कार लाग्यो । खै नेताहरूले आफ्नो सिद्धान्त बाँच्न सकेका ?

मृग मरीचिकाको आकर्षणमा भागदौड गरिरहेको जीवन जहाँ त्रासैत्रास छ । केही गुम्ला कि कहीँ हारिएला कि कहीँ मरिएला कि ? यस्तैमा मृत्युको भय केही मत्थर भएको महसूस हुन्छ । किनकि यहाँ केही पनि कुराको मृत्यु छैन बरु ऊ रूपान्तरित हुनेछ । किन्तु मर्ने छैन । मनु अघि नै उसले आफूलाई अर्को रूपमा कहीँ सुरक्षित गरिसकेको हुन्छ । उसले “… आफ्नो एउटा जीवनलाई सहस्र जीवनमा परिणत गरिदिन्छ । ऊ आफ्नो जुनी सकिए पनि अरूको जुनीमा जिउन चाहन्छ । मेरा पिता ममा सरेर बाँचिरहेछन् । म मेरा सन्तानमा सरेर बाँच्नेछु । यसै गरी चलिरहेछ जीवनको लय । जबसम्म प्रलय हुँदैन, जीवन यसै गरी अर्को जीवनमा विलय हुँदै जानेछ … (पृ–१४) ।

अन्तश्चेतना जागृत गराउने, प्रज्ञावान् बनाउने खनालका निबन्धहरू सकारात्मक परिवर्तन ल्याउने खालका छन् । गतिशीलतालाई उनले स्वाभाविक तवरले स्वीकार्न सकेका छन् । वास्तवमा मानिस अस्वीकृतिका कारण दुःखी हुनेगर्छ । ऊ हरेक कुरामा स्थायित्व खोज्ने गर्छ । त्यसो हुँदा विघटन रुचाउँदैन, विछोड मन पराउँदैन । हो यहीँनेर लेखक भन्छन्, विछोड आफैँमा एउटा सुन्दर घटना हो, किनकि त्यसले झन् अर्को सुन्दर संयोग ल्याउनेछ । त्यस्तै अर्को कुरा विछोड आफैँमा एउटा स्वाभाविकता हो जसलाई स्वीकार्नुदेखि अर्को विकल्प छैन । हामीले रुचाए पनि नरुचाए पनि आखिर त्यो भएरै छोड्छ किनकि त्यो हुनु नै छ ।

जीवनमा जति पनि कुरा घट्छन् ती सम्भव भएकै कारण घट्छन् र ती सम्भवहरू नित्य स्वाभाविक हुने गर्छन् । फूल फुल्नु एउटा सुन्दर घटना हो भने झर्नु अर्को घटना । यी दुवै कति स्वाभावकि घटना छन् । त्यसबीचका अरू अनुकूल, प्रतिकूल घटना पनि उतिकै स्वाभाविक छन् । किन्तु फुल्नुदेखि अरू घटना हामी सहज मान्दैनौँ । त्यसकारण दुःख तथा सन्देह सिर्जिने गर्छ । हामीले ठान्ने गरेको असुन्दर घटना किन्तु त्यो असुन्दर होइन अर्थात् कुनै पनि थोक आफैँमा सुन्दर असुन्दर भन्ने छैन । जेहोस् त्यो असुन्दरप्रतिको अस्वीकृतिमा हाम्रा ठीक बेठीकहरू निर्धारण हुँदै आएका छन् । हो यहीँनेर खनालले कस्तो चित्तबुझ्दो प्रसङ्ग उठाएका छन् । उनी भन्छन् फूल झर्नुपर्छ । नझर्नको लागि त कि त्यो फूल प्लाष्टिकको हुनुप¥यो ।

लेखकले ‘आत्मबोध’मा आफ्नो सिर्जनात्मक प्रभाव खुशी लाग्दो तरिकाले छोड्न सकेका छन् । उनी अर्को ठाउँ मित्रलाई गितारको तारसँग तुलना गर्दै भन्छन्, ज्यादा खुकुलो छोड्दा राम्रो धून नआउने डर त्यस्तै ज्यादा कसिलोमा तार टुट्ने डर । आखिर जीवन पनि के त्यस्तै छैन र ? हामीले ठीक त्यही तारको यथार्थ बाँच्दै आएका छौँ । जीवनको सुन्दर धून निकाल्न हरेक सुन्दर कुरा हामी आफ्नो अधीनमा होस् चाहन्छौँ । किन्तु त्यसो होइन लेखक भन्छन्, नराम्रो मात्र होइन राम्रोको पनि साथ छुट्नु पर्छ । किनकि राम्रोको आवश्यकता अरूलाई पनि उतिकै परिरहेको हुन्छ ।

गहिरो अध्ययन भएका स्रष्टा । त्यसैको प्रभावमा उनले वैचारिकता र विविधता दिन सकेका छन् । किन लेख्नु हुन्छ ? निबन्धमा एउटा यस्तो आभास हुन्छ; जसमा उनले सम्पूर्ण कवि कलाकारको आत्मालाई अभिव्यञ्जित गरेका छन् । हाम्रो समाज कुनै पनि कर्म गर्नुको पछाडि त्यसको मूल्य तौलिने गर्छ । उग्र उपभोक्तावादी हुँदै गएको आजको मान्छे आफ्नै हृदयको आवाज समेत नसुन्ने भएको छ । आफ्नो आवेग, संवेग, करुणा तथा हार्दिकता, सद्भाव र मानवताजस्ता अति संवेदनशील कुराको समेत ऊ मूल्य तोक्ने गर्छ । त्यसैले हाम्रोमा कला साहित्यको किञ्चित कदर हुन सकेको छैन । आर्थिक समृद्धि नहुने काम जति नै अमूल्य भए पनि ऊ मूल्यहीन देख्नेगर्छ । त्यसो हुँदा कला साहित्य सभ्य समाजको उन्नत रूप हो भन्ने ज्ञान उसलाई हुँदैन । त्यसैले यहाँ सबैभन्दा बढी उपेक्षित कवि कालाकार हुने गर्छन् । बरु हाम्रो समाजमा एउटा जुवाडेले सम्मान पाउँछ किनकि ऊसँग पैसा छ, ऊ क्यासिनो जान सक्छ । पैसा भएपछि यहाँ जस्तै खालको चरित्र पनि महान् हुन सक्छ ।

लाग्छ हाम्रो समाज त्यतिखेर उन्नत हुनेछ जतिखेर कवि कलाकारको मर्यादा कायम रहन्छ अर्थात् समाज त्यस हैसियतमा पुग्छ । तर पनि अहिले चित्त दुखाउनु पर्ने कुनै कारण छैन; समाजको विवेकपूर्ण हैसियतै छैन त उसले कसरी स्रष्टा तथा सिर्जनाको पहिचान गर्न सकोस् । ऊ बरु चिया पसलमा निरर्थक भुल्दा जीवनको सार्थकता भेट्छ तर कला साहित्यको साधनामा ऊ त्यो कुरा भेट्दैन ।

साहित्यकार खनालका निबन्धहरू जीवन बल्दन सहायता पुग्ने विशेषताका छन् । त्यस्तै यी निबन्ध पूर्वीय र केही पश्चिमी विद्वान्का विचारबाट प्रभावित छन् । हरेक उचाइको तल एउटा खाडल हुन्छ शीर्षकमा पनि त्यस्तै केही पूर्वीय प्रभाव र जीवनदायी प्रसङ्ग छन् । एउटा निश्चित उचाइ पुगेपछि सिर्जिने अभिमानले मान्छे कसरी दृष्टिविहीन हुन्छ ? र अन्त्यमा आफ्नो अभिमानले निर्माण गरेको खोल्डोमा ऊ आफैँ कसरी खस्छ ? उसको अभिमानले उसलाई कुन स्थितिमा पु¥याउँछ थाहै नहुने रहेछ । यसै सन्दर्भमा ‘सिद्धिविनाको प्रसिद्धि जहिल्यै घातक हुने रहेछ’ लेखक भन्छन्, ‘मनुष्यको भविष्य एउटा अँध्यारो सुरुङ रहेछ ।’

पछिल्लो समय सहज सुविधायुक्त जीवन बाँच्दै गर्दा; समाज जति सभ्य, शालीन, शिष्ट हुनुपर्ने हो त्यति हुन सकेको लाग्दैन । हरेक दिन हामीबाट शालीनता, शिष्टता, मानवता हराउँदै गएको छ । सिस्नोजस्तो जर्जर हुँदै गइरहेको छ । किन यस्तो भइरहेछ ? आखिर निरक्षरताबाट साक्षरता बढेको बढ्यै छ, शिक्षित हुँदै गएको छ र पनि असङ्गति किन ?

दुःखको कुरा हामीलाई शिक्षा त दिइयो नै परन्तु संस्कार दिइएन । संस्कार बेगरको शिक्षाले प्रतिदिन हामी रुखिँदै गएका छौँ । शिक्षा दिनु पहिले नानीहरूलाई संस्कार दिनुपर्ने थियो । संस्कारविनाको शिक्षाले हर दिन समाज स्खलित हुँदै गएको छ । मानिसबाट जब संस्कार हराउँछ अनि ऊ पखेटा लागेको कमिला हुनेछ र अन्ततः ध्वस्त पनि । आजको शिक्षाले धनी हुन सिकायो, प्रतिस्पर्धी हुन सिकायो, सम्पन्नताको खोज गर्न सिकायो परन्तु संस्कार सिकाएन । बरु संस्कार बिर्सिन लगायो । त्यसरी बिर्सिनुलाई अर्को संस्कार बनायो । खासमा शिक्षित हुनु, धनी बन्नु, सुखी हुनु मात्र सभ्यता होइन । सभ्यता भन्ने कुरा जहिल्यै उसलाई मानव हुन निर्देशित गर्ने संस्कारमा हुन्छ ।

अमानव बनाउँदै लगेको आजको शिक्षाले हामीलाई पतनको मार्गमा डो¥याइरहेको आभास हुन्छ । त्यसैले हामीबाट हार्दिकता, सहिष्णुता गुम्दैछ । यहीँनेर बुझ्नु पर्ने कुरा के भने शिक्षाले सूचनाको भारी बोकाउँछ भने संस्कारले ज्ञानी हुन निर्देश गर्छ । ज्ञानविनाको विज्ञान जहिल्यै खतरापूर्ण हुनेछ । बाको घर निबन्ध पढ्दा यस्तै केही अनुभूति हुन्छ । परन्तु यसरी अनुभूति गराउने अभिप्रायले लेखिएको निबन्ध भने यो होइन । जेहोस् यसमा अतीत स्मरण गरिएको छ ।

समयभन्दा अघि यहाँ केही पनि कुरा नघट्दो रहेछ । मान्छेको बुझाई पनि त्यस्तै रहेछ । ठीक समयमा ठीक कुरा उसलाई कसैले सिकाउनु पर्दैन । समय आएपछि उसले स्वतः सिक्नेछ । सिक्न नचाहे पनि सिक्नेछ । म अहिले यही निष्कर्षमा छु । महाभारत तथा रामायण पढ्दा लाग्थ्यो ती सब घटना मिथकीय हुन् जुन यथार्थमा सम्भव छैन । आजको समयमा झनै सम्भव छैन । तर होइन ती पात्र वास्तविक होऊन् नहोऊन् त्यससँग घटनाको कुनै सरोकार रहँदैन । सरोकार त त्यस घटनाको अभिप्रायसँग जोडिएको हुनेरहेछ । त्यसो हुँदा अहिले पनि महाभारत घटिरहेको छ र रामायण पनि । हर युगमा यस्ता घटना घटिरहनेछन् । त्यस्तै दुर्योधन, दुःशासन, शकुनीजस्ता पात्रको देहावसान एक दिन अवश्य होला नै तर उसको प्रवृत्तिगत गुणको अन्त्य कहिल्यै हुने छैन । ऊ नमर्दै उसलाई जीवित राख्ने उसको चारित्रिक गुण अर्कोमा रूपान्तरित भइसकेको हुनेछ । त्यसो हुँदा यहाँ दुर्योधनको, दुःशासनको कहिल्यै अन्त्य छैन । त्यस्तै अरू-अरूको पनि । अनेकौँ दुःशासन शीर्षकमा यही थिम रहेको छ ।

एकचोटि आफूले भोगिसकेको जीवन पछि फर्किएर हेर्दा त्यो आफैँमा एउटा काल्पनिक कथा हुने रहेछ । लेखक खनाललाई शायद त्यही भएको छ । आफ्नो सिर्जनामा उनले त्यसरी अतीतको जीवन बाँचेका छन् जुन पछिल्लो पुस्तालाई एकदम अनौठो लाग्ने छ । पहाडको शहर भनेर चिनिने पाल्पा तानसेन जहाँ उनले उच्चशिक्षा हासिल गरे । बुद्धिजीवी तथा प्रतिष्ठित मान्छे निर्माण गरेको शहर जसको स्मृतिमा उनी अहिले बडो अनुगृहीत छन् । तानसेन तडप निबन्धमा उनको केही असन्तुष्टि पनि छ । मैले तानसेनको गुण तिर्न सकिनँ भन्ने ग्लानि छ । आफू सिर्जनात्मक हुन सकिनँ भन्ने पनि छ ।

लेखक खनालसँग म त्यति धेरै निकट छैन । तर यी निबन्ध पढ्दा लाग्छ उनी अल्पभाषी मानिस रहेछन् । सोच्छु अल्पभाषीहरू स्वप्निल हुने रहेछन् कि कुन्नि ? सम्भवतः धेरै बोल्ने मान्छे स्वप्निल हुन सक्दैन । केवल मौनतामा ऊ त्यसरी स्वप्निल हुनसक्छ । दरबारमार्ग अढाई घण्टा शीर्षक एउटा त्यस्तै स्वप्निल रचना लाग्छ । हुन त यसमा त्यस्तो काल्पनिकता केही छैन र पनि यसमा स्वप्निलताको आभास हुन्छ ।

मानिसहरू ज्ञानलाई कति जटिल रूपले हेर्ने गर्छन् । त्यसैले ज्ञान ऊदेखि टाढिँदै गएको छ । वास्तवमा ज्ञानी हुनु भनेको आफूसँगको अज्ञानता थाहा पाउनु रहेछ । अध्ययन अनुशीलन गर्नु त्यसैको एक सिलसिला रहेछ । अझ भनौँ आफूभित्रको अज्ञानता थाहा पाउने एक अनुष्ठान रहेछ । त्यस अनुष्ठानको लागि प्रथमतः सन्देहशील हुनु पर्नेछ । त्यस अवस्थामा बल्ल उसले केही सिक्न सक्छ अर्थात् आफूभित्रको अज्ञानता पहिल्याउन सक्छ । त्यसको अभावमा उसलाई आफू ज्ञान र विवेकले पूर्ण भएको भ्रान्ति हुनेछ । अल्बर्ट आइन्स्टाइनले कहीँ भनेका छन्, “म जति अध्ययन गर्दै जान्छु उति नै महसूस हुन थाल्दछ कि म कति धेरै अज्ञानी रहेछु (पृ–७६) ।”
त्यस्तै चाल्र्स डार्बिनको भनाइ छ, “ज्ञानले कहिल्यै पनि अज्ञानताले जस्तो कन्फिडेन्स प्रदान गर्न सक्दैन (पृ–७५) ।”

ज्ञानको कुनै सीमा छैन र अज्ञानताको पनि । सामान्य बुझाईमा मानिसको व्यक्तित्व उसको बाह्य असाधारणतामा हेरिने गरिन्छ जो वास्तवमा साधारण हुनेगर्छन । परन्तु असाधारणहरू सधैँ साधारण हुनेगर्छन् र साधारणहरू असाधारण हुने प्रयासमा अनेक आवरणले आवेष्टित हुन्छन् । बुद्ध असाधारण हुनाकै कारण साधारण हुन ठूलो त्याग र तपस्या गरे । हेर्नु त साधारण हुनु आफैँमा कति कठिन कुरा रहेछ । सामान्य व्यक्ति कहिल्यै साधारण हुन सक्दैन । उसभित्रको विशिष्टताले मात्र ऊ साधारण हुन सक्छ । लेखकले साधारण—असाधारण आलेखमा यही दृष्टिकोण राखेका छन् ।

खनालका यी निबन्ध ‘निबन्ध’ मात्र होइनन् । अरू पनि केही हुन् । यसमा कहीँ कतै कथाको आभास त कतै यात्रा संस्मरण अनि कतै अतीतविहीन भएर वैचारिकता लेखिएको त कतै अतीत स्मृतिसँग वर्तमान जोडिएको छ । सराबी साँझमा सदाचार संवाद एउटा यस्तो निबन्ध हो जसले कथाको झल्को दिन्छ । यसले साम्यवाद तथा लोकतान्त्रिक समाजवादको पक्षमा बोल्दै आएका नेताहरूको निर्लज्जताबारे केही गम्भीर कुरा गरेको छ ।

त्यस्तै उनका निबन्धमा गाउँ र शहर दुवै मिसिएका छन् । धर्म, संस्कृति, परम्परा, आस्था र विश्वासले ओतप्रोत विगतको जीवन आजको पुस्तालाई निकै नौलो कुरा छ । म पनि कालीगण्डकीको सन्तान हुँ जस्तो शीर्षकमा वर्णित जीवन अब कहिल्यै नघट्ला ।

मानिस बडो विचित्रको प्राणी रहेछ । उसको प्रवृत्तिगत स्वभावलाई कुनै पनि सभ्यताले विलीन गर्न नसक्दो रहेछ । उसको त्यो प्रवृत्ति बाहिर प्रस्फुटन नभए पनि अनुकूलताको पर्खाइमा कहीँ न कहीँ दबिएर बस्ने हुँदा; आचारसंहितामा भन्दा ठूलो शक्ति उसको त्यस चारित्रिक गुणमा हुँदो रहेछ । त्यसैले उसलाई अरूदेखि बेगल बनाएको छ । त्यही निजताले नै यस सृष्टिमा एकअर्कोसँग नमिल्ने गरी प्रत्येक व्यक्ति भिन्नभिन्न छ । अनि त्यसैको प्रभावमा हरेक व्यक्तिको अनुभूति तथा बोध क्षमता फरक फरक हुने रहेछ । सबैको आफ्नो निजत्व शीर्षकमा यस्तैउस्तै कुरा छ ।

लेखकले आफ्नो सिर्जनामा जीवनको कुनै पनि स्मृति लेख्नकै लागि त्यसरी लेखेका छैनन् । त्यसबाट केही विचार अभिव्यक्त गर्न विगतलाई सम्झिएका मात्र हुन् । उनका कतिपय आलेखहरू यस्ता छन् जसमा भूतप्रेतको रहस्यदेखि लिएर प्राचीन ग्राम्य जीवनको सभ्यता, संस्कृति र प्रकृतिको निकटतामा ती स्वच्छन्द छन् । चिउरेनी ढिकः एक अभिज्ञान त्यस्तै एक निबन्ध हो ।

देशको बेथिति तथा अव्यवस्था भोग्न विवश नेपाली नागरिकको जीवन कति दुरुह हुँदै गएको छ । खनालको सिर्जनामा त्यसको केही सामान्य प्रभाव देखिन्छ । तर स्वार्थ तथा असफल राजनीतिको लौरो समाएर पिङ खेल्नेप्रति उनको त्यस्तो केही गुनासो छैन । असन्तुष्टि र विरोधदेखि टाढिएर उनी शालीन ढङ्गले प्रस्तुत भएका छन् । खासमा कला साहित्यले यस्तै शिष्टताको अपील गर्छ ।

यस सृष्टिमा कोही हुनु नहुनुले कुनै अर्थ राख्दैन । कसैको अनुपस्थितिमा एक निमेष रोकिएर ऊ शोक गर्दैन, विचलित हुँदैन । उसलाई कसैको अभाव खड्किँदैन । त्यसो हुँदा हर व्यक्तिको जीवन हुनु नहुनुको मूल्य ऊ आफैँमा सीमित छ । त्यस्तै अर्को कुरा के भने जन्मिँदा हामी सबै उस्तै हुन्छौँ; फरक त पछि आफूले निर्माण गर्दै जाने विषय रहेछ । त्यही निर्माणको क्रममा ऊ स्वयं आफैँ अस्तित्ववान् हुँदै जाने हो । दोस्रो व्यक्तिलाई उसको अस्तित्वको कुनै मूल्य रहँदैन । जीवनको मूल्य निबन्धमा ठीक यही आशय उद्भाषित छ ।

जीवनमा कति बाँचियो भन्दा पनि कसरी बाँचियो भन्ने कुराले विशेष महङ्खव राख्ने रहेछ । त्यसरी बाँच्ने सिलसिलामा आउने अस्वीकृतिहरू नै दुःखका कारण रहेछन् । हरेक परिस्थितिलाई स्वीकार्न सक्दा जीवन आफैँमा धन्य हुनेछ । जीवनको मूल्य आलेख यही जीवन दर्शनमा रचिएको छ ।

साहित्यकार खनालको लेखनमा एउटा प्रबल विशेषता के छ भने कुनै विषय सन्दर्भ लेख्न बस्दा भरे निरन्तरता हराएर त्यो अर्कै मोडमा टुङ्गिन्छ । त्यसो किन भएको छ भने उनले विषयवस्तुलाई भन्दा बढी वैचारिकतालाई प्राथमिकता दिएका छन् । उनका निबन्ध विषयवस्तुले होइन बरु ज्यादा विचारले डोरिएका छन् । विषय सन्दर्भ विचार व्यक्त गर्ने एउटा माध्यम बनेको छ । तत्काल मनमा आउने स्मृति र भावले त्यसो भएको उनी बताउँछन् । किन्तु चेतनप्रवाह शैलीमा रचिएका निबन्ध भने यी होइनन् ।

‘आत्मबोध’ कृतिमा समाजले सोच्दै आएको बुझाइदेखि केही अलग दृष्टिकोणहरू रहेका छन् । जेहोस् खनालले तर्क, विश्लेषण र दृष्टान्तद्वारा आफ्नो मत पुष्टि गर्न सकेका छन् । नग्नतादेखि नग्नतासम्म त्यस्तै अर्को आलेख छ । जसमा नग्नता शारीरिक मात्र हुँदैन उनी भन्छन् जहिलेदेखि सभ्यताले शारीरिक नग्नतालाई अस्वीकार ग¥यो तहिलेदेखि वैचारिक र सांस्कृतिक नग्नताको प्रादुर्भाव भयो । शरीरमा मात्र होइन वाणीमा पनि आवरण चाहिन थाल्यो । सत्य, कटु र झूट स्वादिलो हुन थाल्यो । नग्न कुरा बोल्नु अनम्रता मानियो । सत्य सधैँ नग्न हुन्छ भन्ने थिमसँगै उनी अर्को ठाउँ चार्ली च्याप्लिनले आफ्नी छोरी जेराल्डिनलाई लेखेको भनाइ (पत्र) सम्झिन्छन्, “तिमीले आफ्नो वस्त्रहीन शरीर त्यो व्यक्तिलाई मात्र सुम्पिदिनू जसले तिम्रो निर्वस्त्र शरीरको नभई नग्न आत्माको सच्चाइसँग प्रेम गर्दछ (पृ–१३२) ।

सत्यलाई नग्नतासँग किञ्चित डर हुँदैन । जब कि असत्यलाई सत्यसँग अर्थात् नग्नातासँग नित्य त्रास भइरहन्छ । लेखकले अन्त्यमा यस्तो निष्कर्ष दिएका छन् ।

जीवनमा मैले यस्तो गरेँ त्यस्तो गरेँ भन्ने भ्रान्ति बाँचिसकेपछि; आज आएर लेखक सन्देहको एक मोडमा पुगेका छन् । ‘आत्माबोध’ पढ्दै गर्दा थाहा पाउँछु मेरा कतिपय विचार उनीसँग दुरुस्तै मिल्दा रहेछन् । उनीसँग जस्तै मसँग पनि केही सन्देह छ । उनी भन्छन्, “आफ्नो जीवन आफ्नै चयनबाट चलिरहेछ भन्ने बहाना गरियो । आज आफैलाई प्रश्न गर्छु के यो जिन्दगी चयनमा छ ? आफ्नो भाग्यको आधारशीला आफैले खडा गरेको हो कि फगत संयोग र नियमित आकस्मिकता मात्र ? जीवनको अर्थ खोज्दाखोज्दै अब त उल्टै जीवनले अर्थ खोज्नकै लागि अर्थ खोज्न थालेको महसुस हुन्छ, … (पृ–१३७) ।”

सूक्ष्म दृष्टि भएका खनाल दीन दुःखी तथा सिमान्तकृतको मौन आवाज सुन्न सक्ने एक स्रष्टा हुन् । सिमान्त चेतना शीर्षकले यही भन्छ । कताकता महाकविको निबन्धात्मक आभास हुने प्रस्तुत आलेखमा त्यस्तै एउटा सुवास छ । हेर्नु त एक पेट भोक टार्न दिनरात सङ्घर्ष गर्ने ती चित्रे काका आफैँमा कति प्रज्ञावान् छन् । किन्तु उनीभित्रको प्रज्ञा कसैले बुझ्न खोज्दैन; उनी स्वयंलाई आफू प्रज्ञावान् भएको हेक्का छैन । कुनै पनि मानिसलाई उसको कर्मले नै प्रज्ञावान् बनाउने रहेछ । लेखक खनालको दृष्टिमा चित्रे काका कसैले नसुनेका कवि, कसैले नबुझेका एक दार्शनिक हुन् । त्यस्तै तिरस्कृत तथा उपेक्षित एक इन्जिनियर पनि ।

‘आत्मबोध’ अध्ययनको सिलसिलामा एउटा यस्तो महसूस हुन्छ । थाहा पाउँछु आफूलाई सुधार्नु पर्ने मसँग कति धेरै कमजोरीहरू रहेछन् । उक्त कृति पढ्दै गर्दा एक सम्यक् दृष्टि अनुभूतिसँगै जेहोस् म ढुक्क हुन्छु म लेखकले भनेजस्तै मार्ग रहेछु, “…राग र द्वेष राखिएन, सेखी र अभिमान गरिएन भने आफ्नो उपलब्धिका लागि कहीँ कसैबाट श्रेय पनि खोजिएन र कसैलाई खुसी पार्ने ध्येयले नभई आफ्नै अन्तःप्रेरणाबाट स्वस्फूर्तरूपमा यथोचित सत्कर्ममा सरिक भइयो भने त्यही नै हो कर्मको कुशलता (पृ–१४४–४५) ।

यस सृष्टिमा नपाउनु जन्म पाइसकेपछि कुनै पनि जीव कर्मविहीन हुन सक्दैन । थाहै नपाई उसले जन्मसँगै कर्म शुरु गरिसकेको हुनेछ । केही नभए सोचेर बस्नु पनि एक कर्म हो लेखक यसरी जीवनको निष्कर्ष निकाल्छन् । उनको कृतिमा यस निष्कर्षको ठूलो प्रभाव छ । त्यसो हुँदा उनका निबन्धमा अस्तित्ववादी चेत भेटिन्छ । हुन पनि जीवन अन्ततः अस्तित्वकै लडाइँ त रहेछ नि !

मानिस हर निमेष निर्माणको प्रक्रियामा बाँच्ने एक प्राणी रहेछ । तत्कालीन सम्भ्यतामा प्रतिदिन उसले थप सभ्यता जोड्दै आएको छ । यसो हुनु राम्रो हुँदाहुँदै पनि दुःख लाग्ने अवस्था के छ भने ऊ जति परिष्कृत हुँदै जान्छ त्यति नै कृत्रिम त्यति नै शुष्क र त्यति नै असहाय र दुर्बल पनि । त्यसो हुँदा आजको उसलाई केवल बाँच्नकै लागि पनि मोटिभेसनल क्लास चाहिएको छ । कस्तो विडम्बना ? आखिर उसलाई उन्नत सभ्यताले अझ सबल, अझ सशक्त बनाउनु पर्ने होइन ? किन यसो भइरहेछ भने ऊ जति समृद्ध हुँदै गएको छ त्यति नै प्रकृतिबाट टाढिँदैछ र त ऊ जड हुँदै गएको छ र अस्वाभाविक पनि । त्यसैले ऊ आफूले निर्माण गरेको सभ्यतामा बन्दी हुँदै गएको छ ।

प्रकृतिमा त्यस्तो जडता किञ्चित हुँदैन जस्तो मानिस हुँदै गएको छ । ऊ प्रकृतिलाई समेत आफूजस्तै बनाउने चेष्टा गर्छ । त्यसैले बेलाबखत यस धर्तीमा शुष्कता विरुद्ध आवाज उठाउन ठूल्ठूला दार्शनिकहरू जन्मिने गर्छन् । युग अनुकूल कठोर वञ्जरतामा चिस्यान भर्न ती जन्मिने गर्छन् । जस्तो दृष्टान्तको रूपमा रुसोलाई नै लिऊँ न । उनी भन्छन्, ‘प्रकृतिमा निश्चिन्त र स्वतन्त्र विचरण गर्ने नोबल सेभेजको सन्तान दुनियाँ र आफैँसँग समेत लड्नुपर्ने दुःखमय संसारमा फस्न पुग्यो ।’ त्यसैले ऊ आफ्नो शाश्वत चैतन्य ठम्याउन असमर्थ हुँदै गएको छ । उसले आजसम्म जेजति प्राप्त गरेको छ अन्ततः ऊ त्यसैको बन्दी बनेको छ । त्यो मानव र यो मानव निबन्धमा स्रष्टा खनाल युवाल नोहा हरारीबाट समेत केही प्रभावित देखिन्छन् ।

उनका कति निबन्धहरू सरसर्ती पढ्दा सामान्य घटना, विश्वास र आस्थासँग जोडिएका क्रमिकताहीन क्रमिकताको एउटा शृङ्खला लाग्छ; जसमा त्यस्तो उल्लेख्य विषयवस्तु केही हुँदैन र पनि तिनले जीवन्त तथा प्रतीकात्मक अर्थ बोकेका छन् जस्तो देवता, कुब्जासुन्दरी र बुढो खनियाँको रुख त्यस्तै एउटा आलेख छ । उनको परिष्कृत भाषा शैली तथा प्रस्तुति पनि सुन्दर छ ।

उफ् आजकल नेपाली मानसिकता कुन रीतले निर्माण हुँदैछ ? बडो उदेक लाग्ने कुरा प्रतिकूल सोचेले ऊ कसरी निर्देशित हुँदैछ ? यतिखेर नेपालीको हकमा इमानदार हुनु आफैँमा अभिशाप बनेको छ । त्यस्तै मातृभूमिको सेवा गर्नु र स्वेदश बस्नुमा कुनै भविष्य नदेख्ने मानसिकताले एउटा संस्कारको रूप लिँदैछ । बुद्धिमानलाई पनि अर्तीको खाँचो छ शीर्षकमा पुग्दा यस्तै एउटा नमज्जा खालको पीडा अनुभूति हुन्छ, जसमा समाजको वास्तविकता उजागर छ । त्यस्तै यसमा लेखक अलिक बढी उपदेशात्मक भएको लाग्छ । त्यसो नभएको भए अझ राम्रो हुने थियो ।

आत्मबोध’मा खनालका बाल्यकालीन, किशोरकालीन कतिपय सन्दर्भ मलाई आफ्नै लाग्छ । आँपको बगैँचामा जीवन दर्शन आलेखमा पनि कहीँकतै आफूलाई पाउँछु । आफ्नै अतीतको बगैँचामा आँप टिप्न पुग्छु ।

मानिसमा अस्तित्व चेत जागृत भएपछि बल्ल उसले आफू हुनुको अस्तित्व खोजी गर्ने रहेछ । यसरी अस्तित्व खोज्दै जाँदा अन्ततः ऊ निस्सारतामा पुग्दो रहेछ । किन्तु निस्सारता नै सही जतिखेर उसले सिसिफस प्रयासमा जीवनको पीडादायी आनन्द प्राप्त गर्नेछ । आज पनि सिसिफस जीवित छ र त ढुङ्गो ठेलिरहेको छ । खनालले आफ्नो लेखनलाई त्यही सिसिफिअन कर्म ठानेका छन् र पनि लेखिरहेका छन् किनकि उनी भन्छन् म कर्मविहीन हुन सक्दिनँ र लेख्नु मेरो कर्म हो ।

कुनै पनि सामान्य विषय सन्दर्भ किन नहोस् त्यसलाई जति गहन तरिकाले बुझ्यो उति रहस्यमय लाग्ने रहेछ । अतीत र आत्मबोधमा पुग्दा ठीक यस्तै अनुभूति हुन्छ । जीवन कति अद्भुत रहेछ जब कि बाँच्न पाउँदा नपाउँदै अतीत भइसक्दो रहेछ । वर्तमान भन्नु त केवल एक पल न हो । जीवन त सम्पूर्ण अतीतमै थामिएको छ । हेर्नु त भर्खरै फेरेको सास थाहै नपाई अतीत भइसकेको छ । त्यस्तै बाँच्दा नबाँच्दै हामी अतीत भइसकेका छौँ ।

जीवनमा केही कुराको पनि स्थिरता नहुने रहेछ । हर थोक विनाशशील छ । उतिकै परिवर्तनशील पनि । त्यसैले यहाँ कोही भरोसायोग्य छैन । ऊ कदापि आफ्नो भइरहँदैन । कतिखेर ऊ पराई भइसक्छ थाहै हुँदैन । अनि थाहै हुँदैन पराई भनिएको मान्छे कतिखेर आफ्नो हुन्छ ।

अन्त्यमा रहेको निबन्ध अचेल खस्यौली अबेरसम्म सुत्छमा ठीक त्यही परिवर्तनले ल्याएको वर्तमान र विगतको स्मृति छ । त्यसमा ग्रामीण जीवनको परिवर्तित दृश्य चित्र छ । उस समय लेखकले बाँचेको किशोरकालीन जीवन आज उनी स्वयंलाई एउटा अपत्यारिलो कथा लागेको छ । बाँच्दै जाँदा अन्ततः आफ्नो विगत आफैँलाई अविश्वासिलो लाग्ने सत्य कति उदेक लाग्दो छ ।

स्वकीय अनुभूतिको केन्द्रमा रहेको ‘आत्मबोध’ एक विचारप्रधान निबन्धसंग्रह हुँदा जसमा समीक्षकीय टीका टिप्पणी गर्ने, प्रश्न उठाउने ठाउँ म भेट्दिनँ । त्यसो त कुनै पनि व्यक्तिको निजतामा प्रश्न गर्ने ठाउँ नै कहाँ रहन्छ र ? त्यस्तै उसका विचारसँग समहत हुनु नहुनु अलग कुरा हो । परन्तु समर्थन र विरोधको अवस्था रहँदैन । प्रत्येक व्यक्ति आफ्नो विचार राख्न स्वतन्त्र छ र उसको लागि उसको विचार नै सत्य रहनेछ । त्यसो हुँदा यस कृतिमा भन्नु केही छैन । बरु कला पक्षीय दृष्टिकोण र वैचारिक उच्चता, अनुच्चताको आधारमा केही भन्ने आधार प्रस्ट देखिन्छ । म के भन्न सक्छु भने खनालको प्रस्तुत कृति पठनीय छ । तत्सम शब्दको मीठासपूर्ण प्रयोग र खारिएको भाषाशैली सुन्दर छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *