बुवा

बुवा तपाईँ मेरो लागि बन्नु भयो घोडा ।
हिँड्नु भयो संघर्षको मैदानमा दुखेपनि गोडा ।
जति गल्ति गरेपनि म माथि राखिरह्यौ आशा ।
दुःख गरेर बुझाउनु भयो सुखको भरिभाषा ।
बुवा तपाईँ मेरो लागि बन्नु भयो गाडी ।
मागेका सबै चिज राखिदिनु भयो अगाडि ।
हामीले गर्दा कहिलेकाहीँ परेली त्यो भिज्यो होला ।
हाम्रो रुखो बोलीले कमलो त्यो मुटु बिझ्यो होला ।
मार्यौ आफ्नो इच्छाहरु, मार्यौ आफ्नो रुची ।
तातो घाममा पनि गर्यौ काम पसिना पुछी ।
भयो होला खुसी सङ्गाल्न ढिलो-चाँडो ।
तर रित्तिएन कहिल्यै ममताको भाँडो ।
चुहुँदा त्यो बर्खामा हाम्रो घरको छानो ।
रुझेर आफू राख्नुभयो हामीलाई ओभानो ।
मलाई दुख्दामा हजुर पहिला रुनुहुन्थ्यो ।
मेरो घाउ आफ्नै मानी सुम्सुमाउँदै छुनुहुन्थ्यो ।
बुवा तपाईँ मेरो लागि बन्नु भयो झुला ।
यहाँले दिनुभएका आँट पहाडभन्दा ठुला ।
