कुरा फेरि भाषाकै

भारतमा नेपाली भाषाले संवैधानिक मान्यता पाएको पनि अब त २३ वर्ष नाघिसक्यो। अब यसको सही लेखाजोखा गर्नुपर्ने दिन आएको छ। हामीले केही पाएकै छैनौँ, केही उपलब्धि हासिल भएकै छैन, व्यर्थ भएको छ भन्ने नकारात्मक विचार जनमानसमा बढी जरा गाडेको देखिन्छ। प्रचार गर्नेहरूले पनि यस्तै नकारात्मक विचारलाई अघि बढाएको देखिन्छ। यद्यपि यो नकारात्मक विचार पनि सत्य होइन। यतिञ्जेलमा हामीले धेरै उपलब्धि हासिल गरेकै छौँ।

सबैभन्दा ठूलो कुरा त हामीले बोल्ने गरेको हाम्रो मातृभाषा नेपाली भारतको पनि भाषा हो र नेपालीभाषी मानिसहरू भारतमा पनि बस्छन् भन्ने संवैधानिक मान्यता प्राप्त भएको छ। यसबाहेक धेरै कुरा पाएकै छौँ। यसबारे हामीले जानकारी नपाएर मात्र हामीले केही उपलब्धि पाएका छैनौँ भन्ने प्रचार भएको हो। अब यी दुई–चार कुरा सोचौँ;

१. खासगरी सरकारले मान्यता र सबै सहुलियत दिएकै छ, तर हामी आफैँले पो आफ्नो मातृभाषालाई मान्यता दिएका छैनौँ। हाम्रो मानसिकता नै आफ्नै भाषाप्रति नकारात्मक छ। हामीले ग्रहण गर्ने हात नै लुलो छ। हाम्रो लुलो हातमा सहुलियत र सुविधाहरूको ठूलो भारी राखिदिँदा थाम्न नसकेको अवस्था छ। नेपाली भाषा पढ्न र लेख्न नजान्दा ग्लानिबोध गर्नुको सट्टा गर्वबोध गर्छौँ। हाम्रो भाषालाई खाली नोकरीसँग जोडेर हेर्ने गर्छौँ।

२. हाम्रा जनप्रतिनिधिहरूले यदि आफ्नो–आफ्नो ठाउँमा नेपाली भाषाका निम्ति बोलिदिए सयौँ रोजगारीको सम्भावना छ। अनेक विद्यालय र कलेजतिर नेपाली पठन–पाठन, कार्यालयतिर नेपाली अनुवादक आदिका पदहरू बढेर नेपाली पढ्नेहरूको ठूलो बजार खुल्न सक्छ।

३. विद्यार्थीहरूले अङ्ग्रेजी व्याकरण सिक्न ध्यान दिएझैँ नेपाली व्याकरण सिक्न पनि अझ ध्यान दिनुपर्छ। अरू विषय अङ्ग्रेजी माध्यममा पढे पनि एक विषय नेपाली नै लिने गरून्। त्यसलाई राम्ररी सिके पनि भाषाका निम्ति ठूलो उपलब्धि हुन्छ।

४. हामीले सरकारी कार्यालय, पञ्चायत कार्यालय, कुनै पनि स्थानीय कार्यालयमा नेपालीमै आवेदन लेख्ने अभ्यास गरौँ। त्यहाँ नबुझे अनुवादकको व्यवस्था गर्न कर लाग्छ। नेपालीभाषी अधिकारी भएको ठाउँमा नेपालीमै लेखौँ। भारतभरि आफ्नो–आफ्नो भाषामा आवेदन आदि लेख्दा हुन्छ भने यहाँ नेपालीमा लेख्दा के हुन्छ भन्ने दृढता धारण गरौँ। झन् सिक्किम त नेपालीभाषीकै बोलबाला भएको ठाउँ हो, त्यहाँ अझ बढी प्रयोग गरौँ।

५. हाम्रा साहित्यिक र भाषिक सङ्घ–संस्थाले सक्रिय रूपमा सहुलियत–सुविधा पाउने ठाउँहरूको खोजी गरून्। नेपाली साहित्य सम्मेलन, दार्जिलिङ, नेपाली साहित्य परिषद्, सिक्किमजस्ता संस्थाले सक्रिय रूपमा यस्ता कार्यमा अघि सरून्।

६. प्रत्येक विद्यालय र महाविद्यालयमा नेपाली जान्ने सुयोग्य व्यक्तिलाई नेपालीको शिक्षणकर्मीका रूपमा नियुक्ति दिने चलन बसालौँ। नेपाली पढाउनका निम्ति सर–गुरुहरूले अझै बढी ध्यान दिऊन्। आफैँ राम्रो अध्ययन गरेर पढाउने गरौँ। विद्यालयले पनि नेपाली पढाउने शिक्षकहरू नेपाली राम्रो पढेकैलाई दिने प्रथा चलाऊन्। जोसुकैलाई नेपाली पढाउन दिनुहुँदैन। यसका साथै विद्यालयले जुनसुकै पाठ्यपुस्तक चयन गर्नुहुँदैन। पुस्तकको स्तर, ढाँचा, सन्देश आदिबारे चिन्तन गरेर मात्र त्यसको सिफारिस गरौँ।

७. गान्तोक, दार्जिलिङ, खरसाङ, कालिम्पोङ, सिलिगुडी आदि जस्ता हामी धेरै भएका साना–ठूला सहरहरूका पोस्टर, ब्यानर, होर्डिङ, साइनबोर्ड नेपालीमै लेख्ने चलन बसालौँ। बाहिरबाट आउनेहरूले पनि हाम्रो भाषिक उपस्थितिको बोध गर्न सकून्। हाम्रा दुई–चार शब्द भए पनि जानून्।

८. हाम्रा आम मानिसले नेपाली दैनिक समाचारपत्र, मासिक पत्रिका तथा आफ्नै कमाइको कम्तीमा ५ प्रतिशत भए पनि नेपाली पुस्तक किन्ने चलन बसालून्। नाथे पान खाएर थुक्नलाई महिनामा सय–सय रुपैयाँ खर्च गर्छौँ भने स्थायी रूपमा बस्ने राम्रा किताब पनि बेला–बेलामा किन्दै गरौँ।

हाम्रो भाषा त्यति कमजोर छैन, जति हामी हीनताबोध गर्छौँ। यो भाषा नेपाल र भारतको मात्र नभई अब त विश्वव्यापी बनेको छ। हाम्रो वाङ्मय ठूलो छ। हाम्रो साहित्य धनी छ, भाषा पनि समृद्ध छ। नेपाली अप्ठ्यारो भन्ने दुष्प्रचार बढेको छ। यस्ता प्रचार गर्नेहरू नेपाली भाषालाई लत्याएर फेल भएका, भाषिक ज्ञान नभएका, आफ्नो भाषाप्रति घृणा गर्ने अधपिल्टा व्यक्तिहरू हुन्।

आफूले सधैँभरि बोल्ने भाषा कदापि कठिन हुँदैन। बरु हाम्रो मानसिकता नै कठिन छ।

एक थुकी सुकी, हजार थुकी नदी…

Add a Comment

Your email address will not be published. Required fields are marked *