छाता

छुलुक्क पिसाब आउलाझैँ भयो । तर म उठ्न सक्ने अवस्थामा थिइनँ । मुखबाट र्यालका फिँजहरू बगिरहेका थिए ।
“तँ त पहिला पनि एक चोटि मरेर बाँचेको होस् । तँलाई समेत थाहा नभएको एउटा कुरा भनूँ ?” मलाई मजस्तै देखिने मान्छेले निद्रामा आएर भन्यो । साक्षात् मेरो अतित मसँग बोलिरहेको थियो । म काँडाले घोचेझैँ नीलो भएँ ।
“मनलाई बलियो राख्ने, हिम्मत गरेर अघि बढ्ने र झिनामसिना विघ्नबाधादेखि नतर्सने । यी कुराहरू धैर्यताका साथ मनन गर्नेलाई म कहिल्यै सताउँदिनँ तर परिस्थितिसँग जो डराउँछ, डटेर सामना गर्दैन, उसलाई म पछ्याउन छोड्दिनँ ।”
निमोनियाले सचेत गरायो । म लुगलुग काम्दै त्यो मान्छेको अगाडि निःशब्द भएर टोलाइरहेँ । ऊ मलाई हेरेर गलल्ल हाँस्यो । “हेर ! यो त बिनासित्ती आत्तिँदो रहेछ, डरछेरुवा !”
“जान्छु अब, मलाई देखेर तर्सनु पर्दैन ।” यति भनेर ऊ बिदा भयो ।
त्यसै बेला मेरो आँखा खुल्यो । पसिनाले चिटचिट भएको थिएँ । सुस्तरी खाटबाट उठेँ र घटघट सेलाएको तातो पानी पिएँ । फेरि सुत्न खोजेँ तर निद्रा लागेन । मेरो अतितको सम्झनाले मन स्थिर थिएन । घरछेउमै एउटा मैदान थियो, जसको मध्यमा एउटा पुरानो मन्दिर थियो । मन्दिरभित्र वर र पीपलका रूखहरू थिए । त्यहाँ सुनसान हुँदा ती दुई रूखले नै मन्दिरको निगरानी गर्थे ।
बर्खाको बेला स्कूलबाट घर फर्किँदा पानीले रुझाउँदा त्यहीँ ओत लाग्ने गर्थ्यौँ । दौडिएर घर पुगुन्जेलसम्म पानीले भिजाइसक्थ्यो। फुर्तिला जिउ भएका साथीहरू भिज्दै भए पनि कुदेर घर पुगिसक्थे ।
“आमा, यसपालिको बर्खामा छाता किनिदिनुस् न है ।” जहिल्यै पानी नरोकिएसम्म एकै ठाउँमा बसेर पर्खिरहनु पर्थ्यो । आमाले हुन्छ भन्नुअघि नै म खुसीले गदगद भएर उफ्रिसकेको थिएँ । उहाँले नाइँ भन्न पनि सक्नुभएन ।
एक दिन आमाले बजार जाँदा छाता किनेर ल्याइदिनुभयो । मेरो मनमा ठूलो हर्ष छायो । मलाई पानी नपरेको दिन, घाम नलागेको दिनमा पनि छाता ओढ्न साह्रै मन पर्थ्यो । त्यो छाता ओढ्दा यतिसम्म फनफनी घुमाउँथेँ कि एक दिन त त्यसको करङ नै भाँचियो ।
त्यो दिन आकाशमा गड्याङगुडुङ नगरे पनि मुटुमा चट्याङ परेझैँ भयो। आँखाबाट नुनिलो झरी निथ्रुक्कै झर्यो । अबेर घर पुगेँ । आमालाई कसैगरी हँसाउँदै केही बेर अलमल्याएँ । अनि झट्ट सम्झिएको नाटक गरेर भनेँ, “आमा, मैले त छाता आज स्कूलमै भुलेछु नि । भोलि सम्झेर ल्याउँछु नि है ।”
राति छाता सम्झेरै निदाएँ । निद्रामा पनि साथीहरूसँग छाता खोसाखोस गर्दा भाँचिएकै सपना देखेँ । झल्यास्स ब्युँझिएँ । आमाले थाहा पाउनुहुन्छ कि भनेर बिहान नहुन्जेल निदाएको नाटक गर्छु भन्दै फेरि सुतेँ । भोलिपल्ट बिहान स्कूल जानुअघि आमाले छाता नबिर्सीकन ल्याउन भन्नुभयो तर भाँचिएको छाता मेरो झोलाभित्रै थियो । आमासँग कहिल्यै केही कुरा लुकाउन नसक्ने म सायद पहिलो पटक मैले सत्य के हो भन्न सकिनँ ।
मनमा कालो बादलहरू ठोक्किँदै थिए तर पनि मुहारमा झलमल्ल घाम लागेको जस्तो गरेँ । अलि पर पुग्नासाथ, आज गाँस काटेर भए पनि यो छाता बनाउँछु भन्ने विचार मनमा आयो । बल्ल मन हलुका भयो ।
“बरु बाँकी रहेको उधारो पछि तिर्छु, ह्या !” भन्दै स्कूलतिर लाग्दै थिएँ ।
अचानक बादल गर्जिन थाल्यो । ठूलो हुरीबतास चल्यो । असिना-पानी पर्ला जस्तै सङ्केत थियो । बिच बाटोमा रोकिन मिल्ने ठाउँ पनि कतै थिएन । मैले यति कुरा मनमा खेलाउन नपाउँदै मुसलधारे पानी पर्यो । म भित्रदेखि बाहिरसम्म नमज्जाले भिजेँ । धन्न छिमेकी काकाले देख्नुभयो । म यस्तरी भिजेको थिएँ कि झोलाभित्रका किताबसम्म सबै बिग्रिएछन् । काकाले त्यो देखेर मलाई घरसम्म पुर्याइदिनुभयो । म त्यो दिन बिरामी परेँ । सामान्य ज्वरो होला जस्तो लागेको थियो तर होइन रहेछ । मलाई निमोनिया भएछ । म सिकिस्तै बिरामी भएँ ।
पछि आमाले सबै कुरा थाहा पाउनुभयो । मलाई नमज्जासँग गाली गर्नुभयो तर त्यो गालीको वर्षामा पनि ठूलो ममताको इन्द्रेणी छर्लङ्गै देखिन्थ्यो । मलाई दुख्दा आमाका आँखाहरू टिलपिलाउँथे । जस्तो मौसम भए पनि, यामहरू जतिसुकै बदलिए पनि आमाको प्रेम कहिल्यै परिवर्तन हुँदोरहेनछ ।
ऋतुहरूमा आमाको स्नेह वसन्त हो । जीवनको सबैभन्दा बलियो छाता आमाको माया रहेछ, जसले निरन्तर अनेकौँ बाधा छेकिरहन्छ । दुःखको ताप र रापबाट सधैँ जोगाइराख्छ । वास्तवमा भन्नुपर्दा, त्यो छाता संसारको कुनै पसलमा पाइँदैन ।
