विपद् अवसर होइन, अवसर सिर्जना गर्ने जिम्मेवारी हो

‘विपद्लाई अवसरका रूपमा लिनुपर्छ’-नेपालमा विपद् आउनासाथ सार्वजनिक विमर्शमा दोहोरिने एउटा परिचित वाक्य हो। तर प्रश्न यो हो-विपद् कसरी अवसर भयो ? र कसका लागि भयो ?
विपद् आफैँमा अवसर होइन। विपद् पीडा हो, क्षति हो, विछोड हो। मानिसको ज्यान जानु, घरबार उजाडिनु, परिवारका सदस्य गुम्नु, आय-आर्जनको आधार भत्किनु र भविष्यका सपना समाप्त हुनु कुनै पनि सभ्य समाजका लागि ‘अवसर’ हुन सक्दैन।
विगत एक दशकलाई मात्र हेर्ने हो भने नेपालले विनाशकारी भूकम्पदेखि नदीजन्य विपद्, बाढीपहिरो र कोभिड-१९ महामारीसम्म अनेकौँ संकट बेहोरिसकेको छ। पोखरा, मनाङ, मेलम्ची, भोटेकोसीदेखि राजधानीसम्म विपद्का अनेक रूप देखिए। गत वर्ष बाढीले क्षति पुर्याएका कतिपय क्षेत्रमा यसपटक फेरि प्रलयकारी विपद् आयो।
हरेकपटक मानिस मरे। परिवार छुट्टिए। घरबास गुम्यो। रोजगारी र आयआर्जनको आधार भत्कियो। अनि त्यसपछि हामीले फेरि उही कुरा सुन्यौँ- ‘अब यसलाई अवसरमा बदल्नुपर्छ ।’
तर कस्तो अवसर ?
के अवसर बनाउन नागरिकले ज्यान गुमाउनु नै पर्ने हो ? कति ज्यान गुमाएपछि एउटा विपद् ‘अवसर’ बन्छ ? अनि ज्यान गुमाएर प्राप्त हुने त्यो अवसर आखिर कसका लागि हो ?
यी प्रश्न केवल भाषाको प्रश्न होइनन्। यो हाम्रो सोच र सार्वजनिक विमर्शको प्रश्न हो ।
विपद्पछि पुनर्निर्माण गर्नुपर्ने हुन्छ। अझ सुरक्षित पूर्वाधार बनाउनुपर्ने हुन्छ । नीति र योजना सुधार्नुपर्ने हुन्छ। जोखिमयुक्त बस्तीको व्यवस्थापन गर्नुपर्ने हुन्छ । भविष्यमा क्षति कम गर्न लगानी गर्नुपर्ने हुन्छ। यी सबै काम आवश्यक छन्।
तर त्यसका लागि विपद् आउनु आवश्यक छैन ।
मानिसको ज्यान गएपछि मात्र हामीले गर्नुपर्ने काम सम्झिन्छौँ भने समस्या विपद्मा मात्र छैन, हाम्रो नीति, प्राथमिकता र शासन प्रणालीमै छ ।
सिक्न र सिकाउन मानविय क्षति नै पर्खनुपर्ने हो भने शिक्षण संस्थाको आवश्यकता किन? विगतका अनुभवबाट सिक्न नसक्ने हो भने संस्थागत स्मृतिको अर्थ के ? जोखिम पहिचान, पूर्वतयारी, नीति, योजना र कानुन किन चाहियो ?
नियत राम्रो राख्दैमा नतिजा राम्रो आउँदैन। त्यस्तै, असल नियतले गरिएको सार्वजनिक बहसले पनि सही सन्देश दिन्छ भन्ने छैन ।
‘विपद्लाई अवसर बनाऔँ’ भन्ने वाक्य सुन्दा सकारात्मक लाग्न सक्छ। तर यसले अनायासै एउटा खतरनाक भाष्य निर्माण गर्छ- मानौँ ठूलो क्षति भएपछि मात्र ठूलो परिवर्तन सम्भव हुन्छ ।
त्यसो होइन ।
परिवर्तनका लागि मानिस मर्नुपर्दैन ।
नेपाल पछाडि पर्नु कुनै एउटा स्टेकहोल्डरका कारण मात्र होइन। ‘आफूबाहेक अरूलाई’ जिम्मेवार ठान्ने समाजको उपल्लो तहको साझा चरित्रले पनि यसमा भूमिका खेलेको छ। देश बनाउने, अवसर सिर्जना गर्ने र विकासको बाटो खोज्ने बहसमा सार्वजनिक बौद्धिकहरूको भूमिका महत्त्वपूर्ण हुन्छ ।
त्यसैले उनीहरूले एउटा अर्को प्रश्न पनि उठाउनुपर्छ
के हामीले मानवीय क्षतिपछि मात्र देखिने ‘अवसर’को ढोका नै बदल्नुपर्दैन ?
ज्यान नगुमाई अवसर सिर्जना गर्न सकिन्छ भन्ने राष्ट्रिय भाष्य निर्माण गर्ने जिम्मेवारी पनि बौद्धिक वृत्तकै हो ।
विपद्पछि पुनर्निर्माण आवश्यक छ। क्षतिग्रस्त संरचना अझ सुरक्षित बनाउनु आवश्यक छ। विगतका कमजोरीबाट सिक्नु आवश्यक छ ।
तर त्यो विपद्को अवसर होइन, विपद्बाट सिकेर पूरा गर्नुपर्ने हाम्रो जिम्मेवारी हो ।
अवसर नागरिकको मृत्युबाट होइन, नागरिकको जीवन जोगाउने क्षमता, दूरदृष्टि, नीति, योजना र जिम्मेवार शासनबाट सिर्जना हुनुपर्छ ।
विपद् अवसर होइन ।
मानिसलाई जोगाउनु नै पहिलो अवसर हो ।
