यात्रा सस्मरणः बेइजिङको यात्रा

 

 

धेरै वर्षअघिदेखि चीनको यात्रा गरौं गरौं लागेको थियो तर आफूले सोचेजस्तो हुँन्न जीवन । त्यस्तो सजिलो पनि छैन भन्ना साथ फुत्त हिड्नलाई ।

यसपटक भने जन्मभूमीको छिमेकी देश चीन यात्राको चाँजो मिल्यो । काठमाडौं बस्दा चीनको सिमाना अर्थात् तातोपानीसम्म पुगेको थिएँ कसैलाई गफ दिनुपरो भने अँ म चीन पनि पुगेको छु भन्न भएकै थियो । तर त्यो गफका लागि गफ मात्र हुन्थ्यो ।

तर यसपटक साँच्चै नै चीनको भ्रमण गर्ने अनुकूल मिल्यो । गत वर्ष अर्थात् २०१७ को मार्चतिर नै हुनुपर्छ श्रीमतीजीले चीन घुम्न जाउँ भनेर प्रस्ताव राखिन् मैले घुम्न जाने कुरामा नाइनास्ती गर्ने कुरै भएन । त्यसपछि हामीले सन् २०१८ सालको फेव्रुअरी महिनाको २६ तारिखदेखि मार्च ३ तारिखसम्मका लागि ट्राभल एजेन्सीमार्फत् चीनको बेइजिंङ र सांघाइ शहर घुम्ने बन्दोबस्तो मिलायौं ।

सन् २०१७ को डिसेम्बर लाग्दा नलाग्दै वासिंङटन डीसीस्थित चिनियाँ कन्सुलेट कार्यालयबाट भिसा लियौंं ।

चीनको यात्राका लागि हामी दुवै उत्साहित थियौं । सानो छँदा चिनियाँ सचित्रका म्यागेजिनहरु पत्रिका पसलमा गएर हेर्न र किन्ने गर्थे । हामी स्कुल पढ्दा प्रायशः त्यस्ता म्यागेजिन कक्षा किताबको गाता लगाउन काम लाग्थ्यो । त्यसमा रहेका चीनका विभिन्न स्थानका तस्वीरहरु सुन्दर लाग्दथे सकेसम्म आफ्नो कक्षा किताबको गाता नच्यातिउन भनेर जोगाउन मन लाग्थ्यो । ती गातामा देखिएका पार्क र अन्य दृष्यहरु हेरेर कस्तो होला चीन भन्ने सधैं मनमा लाग्दथ्यो ।

त्यसो त स्कुले विद्यार्थीकालदेखि नै चीनका क्रान्तिकारी नेता माओसेत्तुंगका बारेमा हल्काफूल्का आफूभन्दा अगाडिका काका दाइहरुले गफ मारेका सुन्न पाइन्थ्यो । चीनमा त कम्युनिष्टले शासन गर्छन् रे सबै सरावरी हुन्छन् रे धनी गरीव हुन्नन् रे भन्नेजस्ता कुराहरु सुनेको थिएँ । यस्तै यस्तै कारणले बच्चा उमेरदेखि नै चीन कस्तो होला भन्ने जान्ने र त्यहाँ पुग्न पाए हुन्थ्योभन्ने चाहना थियो ।

केही वर्षदेखि अमेरिकाको बसाईमा यसो देख्दा अमेरिकामा पाइने भान्साघरका सामानदेखि विद्युतिय सामाग्री, लत्ता कपडा जुत्ता सबै प्रायसः चीनमा बनेका उपभोग नगर्ने अमेरिकन नै हुँदैनन् भन्दा फरक पर्दैन ।

केही वर्षदेखि आएर चीनको विकासले निक्कै नै फड्को मारेको अमेरिकाले समेत कम्युनिष्ट देश भनेर छीछी दूरदूर गर्नुको बदलामा चीनसँगको सुमधुर सम्बन्ध बढाएको देख्दा पक्कै पनि चीन विश्वमा सुपरपावरतिर लम्किरहेको छ भन्ने अनुमान नलगाउने कुरै भएन ।

त्यसैगरी विश्वका विकसित देशहरुका मुख्य शहरमा समेत चिनियाँ नामबाट चाइना टाउन भन्ने शहर नै निर्माण गरिएका देखिएका थिए यसले गर्दा पनि चीनको विस्तार विश्वमा जहाँ पनि भएको रहेछ भनेपछि चीनमा नै त अझ कस्तो होला भन्ने कौतुहलता जाग्नु स्वभाविक थियो ।

यस्तै यस्तै उत्सुकता मेट्न हामी फेव्रुअरी २५ तारिख विहानै वासिंङटन डीसीबाट सियाटल हुँदै सियाटलबाट हेनान एयरलाइन्सबाट हामी जोईपोई साढे ११ घण्टाको यात्रापछि २६ तारिख स्थानीय समय अपरान्ह ५ बज्दा नबज्दै बेइजिंङको एयरपोर्ट पुग्यौं । एयरपोर्ट पुग्नासाथ इन्टरनेट सेवा चलाउनु पर्यो भनेर यसो फ्रि वाइफाई त जोडियो जसोतसो गरेर तर चल्ने भनेको मात्र वीच्याट रहेछ । अन्य सामाजिक टुइटर, फेसबुक, इन्स्टग्राम सबै बन्द ।

एयरपोर्टबाट पार भएर बाहिर निस्कनासाथ बेइजिंङको यात्राका लागि रिवार्ड ट्राभल्सबाट एक जना गाइड हामीलाई पर्खेर बसेकी रहिछन् हामीजस्तै अरु १५ जना त्यहीं भेला भयौं र हामीलाई बसमा राखेर सन् २००८ मा ओलम्पिक खेलको उद्घाटन स्थल नजिकै रहेको नेशनल कन्भेन्सन सेन्टर ग्रयाण्ड होटलमा पुर्याइन् ।

भोलीपल्टबाट हाम्रो बेइजिङ घुम्ने कार्यक्रम रहेको थियो विहान ब्रेकफास्ट खाएर ८ बज्दा नबज्दै बस चढेर हामी अमेरिकाबाट नै घुम्न गएका ४० जनाको समुह बेइजिङको तियानमेन स्कायर र फरविडनसिटी गयौं । तियानमेन स्क्वायर चीनको चर्चित स्थान थियो । पछिल्लोपटक सन् १९८९ मा चिनियाँ कम्युनिष्ट पार्टीभित्र हुने सरकारी भ्रष्टचारको विरोध र प्रजातन्त्रको माग गर्दै हज्जारौं चिनियाँ विद्यार्थी सो स्थानमा उत्रेका समाचार पढिएको थियो । जहाँ तत्कालिन चिनियाँ सरकारले आन्दोलनकारीहरुलाई सेना लगाएर कयौं हताहत बनाएको स्थान थियो । ब्रिटिस केबलका अनुसार १० हजार भन्दा धेरै आन्दोलनकारीहरुको हत्या गरिएको जनाइएको छ । तर त्यहाँ के कति हताहत गरिए आधिकारिक तथ्यांक कतैबाट पुष्टीभने भएको छैन । आजकाल त्यहाँ पस्न धेरै अगाडि बाटाहरुदेखि सेनाको जाँच पार गरेपछि मात्र त्यो खुल्ला स्थानमा पुग्न सकिन्छ ।

आधुनिक चीनका निर्माताका रुपमा चिनिने अध्यक्ष माओले चीनमा क्रान्ति गरी पहिलो भाषण गरेको स्थानका रुपमा पनि सो स्थान परिचित छ । हामीलाई चिनियाँ पर्यटक गाइडले भन्दा सोही कुराको मात्र जानकारी दिइन् भने तियानमेन स्क्वायरमा भएको आन्दोलनका बारेमा सरकारको विरोध गर्ने केही मान्छेहरु मारिए । चिनियाँ नागरिकहरु सरकारको गठन प्रक्रियामाभन्दा नि प्रति व्यक्ति आय बढ्दै गएको छ काम गर्न र बस्नका लागि सरकारले प्रबन्ध गरिदिएको छ यसैले यस्ता राजनीतिक भाग दौडमा हिड्ने फूर्सद हुँदैन भनेर चीनको सत्ता र शासन प्रणालीको मात्र हैन पटक पटक अध्यक्ष माओको समेत ती गाइडले खुलेर प्रशंसा गरिन् र उनले पश्चिमा देशहरुले केही चिनियाँहरुलाई उचालेको समेत भन्न भ्याइन् ।

त्यहाँ नजिकै नै माओको शव अहिलेसम्म प्रदर्शनीका लागि राखिएको छ भन्ने थाहासम्म थियो त्यसका बारेमा हाम्री गाइड नीना गाओलाई सोद्दा विहान १२ भित्र नै लाइनमा लागिसक्नुपर्ने र त्यसमा पनि हामी पुगेको दिन विदा रहेको जानकारी गराइन् ।
निक्कै चीसो बतास चलिरहेको थियो हामीसँग जाने सबै अमेरिकन पर्यटकहरु थिए केही पर्यटकहरुले माओले लगाउने एउटा हरियोटोपीमा माथि एउटा रातो पाँचतारा अंकित टोपी किनेर जाडो छेके ।

तियनमेन स्क्वायरमा कतै कतै सेनाहरु परेड खेल्दै देखिन्थे भने कतै हजारौं स्थानीय र विदेशी पर्यटकहरु आआफ्ना गाइडको पछि लागेर सेल्फीमा रमाउँदै घुमिरहेका थिए । हामी त्यहाँबाट फरविडनसिटीतिर लाग्यौं ।

युनेस्को अन्तरर्गत विश्व प्राचीन सं्रगालयअन्तर्गत रहेको १५ औं सताब्दीमा चीनका राजामहाराजाहरुको शासन गर्ने दरवारका रुपमा स्थापित सो फरविडनसिटी अहिले बाह्य र आन्तरिक पर्यटकहरुका लागि राम्रो आम्दानीको स्रोत भएको रहेछ । बाह्य पर्यटकमात्र हैन स्थानीय पर्यटकको समेत भीडभाड भएको सो संग्रालय हेर्नेहरु प्रतिदिन ८० हजार व्यक्ति त्यहाँ पुग्ने गर्दारहेछन् । विदेशी पर्यटक र स्वदेशी पर्यटकलाई सो स्थानमा लाग्ने शुल्क एकै हुनेरहेछ ।

ती भवनमा कतै पनि फलामको प्रयोग नै नगरी काठ र ढुंगा माटोबाट तयार पारिएका उस्तै उस्तै खालका ९ वटा दरवार भित्रभित्रै घुमेर हामी झण्डै २ घण्टाभन्दा धेरै समय बिताएर फेरी अर्को स्थान समर प्यालेस पुग्यौं । १५ औं शताब्दीमा तत्कालिन चीनका राजामहाराजाहरुले हज्जारौं मान्छेहरु परिचालन गरी आफैं ताल निर्माण गराएर गर्मी छल्नका लागि बनाइएका दरवारको समेत अवलोकन गर्दा लाग्यो चिनियाँहरुले १५ औं सताब्दीमा बनाएको त्यस्ता संग्रालयहरु आज चीन भरीका मात्र हैन संसारभरबाट त्यहाँ पुगेर अबलोकन गर्ने र चिनियाँहरुको प्राचिन साँस्कृतिक जानकारी लिन महत्वपूर्ण स्थान तिनै हुन् ।

बेइजिङको पहिलो दिनको निर्धारित यात्रा साँझ ५ बजेसम्ममा बासस्थान आएर सकियो । बाँकी साँझका लागि यो पंक्तिकारका पुराना मित्र हरिश्चन्द्र घिमिरे बेइजिङस्थित नेपाली दूताबासमा हुनुहुन्छ र हामी भेटघाट गर्नुपर्छ भनेर पहिले नै कुरा भएको थियो । हामीलाई उहाँसँगै बेइजिंङमा रहेको नेपाली दूताबासतिर लाग्यौं । दूताबासमा राजदूत लिलामणि पौडेल, डीसीएम सुशिल लम्साल र सेनाका जर्नेल पाण्डेजीसँग चिनजान र केहीछिन भलाकुसारी गरी हामी बेइजिङकै वाङफुजिंङ रोडतिर लाग्यौं । जहाँ न्युयोर्क म्यानाटनका जस्ता अग्ला अग्ला भवनहरु र पश्चिमा ग्याप, एम्पल, प्राडा जस्ता स्टोरहरु देखिन्थे ।

उता त्यहीं नजिकै गल्लीको पसलहरुमा बिच्छी तार्दै गरेका त्यस्तै खानाका विभिन्न प्रकारहरु बिक्री गर्दै गरेका ससानो बजार देखिन्थ्यो । साँँझ सो स्थानमा घुमेर हामी आफ्नो बासस्थान होटलतिर पुनः फर्कियौं ।

भोलिपल्टदेखि फेरी घुम्नु त छँदै थियो । हाम्रो नियमित तालिकाअनुसार विहान सन् २००८ मा ओलम्पिक खेल उदघाटनस्थल नेष्ट पार्क पुग्यौं र वरपर ४५ मिनेटजस्तो त्यहाँ घुमघाम गरेर हामी विश्वको सातौं आश्चर्यमध्येको एक आश्चर्य चीनको ग्रेटवाल हेर्न लाग्यौं ।

ओलम्पिक पार्क सन् २००८ को ओलम्पिक खेलका लागि निर्माण गरिएको पार्क रहेछ । सो पार्क निर्माण गर्दा त्यहाँ रहेका स्थानीय बस्तीहरु सरकारले अधिकरण गरी विशाल पार्क र सम्पूर्ण सिटी नै नयाँ निर्माण गरिएको रहेछ । हाम्री पर्यटक गाइड हामीलाई भन्दै थिइन्, बेइजिंङमा सरकारले कसैको घरजग्गा अधिकरण गर्न लागेका ती व्यक्तिहरु दुखी हैन खुशी हुन्छन् किन भने सरकारले ३० प्रतिशतभन्दा धेरै स्थानीय मूल्यभन्दा बढी रकम दिने अनि उनीहरुका लागि अन्य कुनै क्षेत्रमा अपार्टमेन्टको व्यवस्था गरिदिने हुनाले घर अधिकरण भएमा स्थानीयहरु खुशी हुने जानकारी गराइन् । त्यो विहानी सोही पार्क घुमेर हामी ग्रेटवालातर्फ लाग्यौं । ग्रेटवाल जानुअघि एउटा जेड उद्योगभित्र लगियो जो हाम्रो घुम्ने योजनाअनुसार नै थियो ।

जेड उद्योग
जेड भन्नाले एकखाले ढुंगा हो । यो अत्यन्त महंगो र चिनियाँहरुमा सक्कली जेड घरमा राखेमा वा त्यसका गहना लगाएमा भाग्य चम्किने वा घरपरिवार र व्यक्तिलाई राम्रो हुने विश्वास छ । कुनै समयमा चीनमा राजा महाराजाहरुले मात्र प्रयोग गर्ने वा गरगहना विभिन्न सजावटका सामग्री बनाएर दरवारमा राख्ने ढुंगाका रुपमा प्रयोगमा गरिन्थ्यो । यो ढुंगा विशेष गरेर बर्मा र चीनका अति विकट पहाडमा पाइन्छन् । बेइजिंङमा रहेको जेड पत्थरबाट बनाइएका गरगहना र अन्य हस्तकलाका सामग्रीहरुको परम्परागत उद्योगमा हामीलाई घुमाउन भन्दा पनि चिनियाँ सरकाको स्वामित्वमा रहेको सो उद्योगमा किनमेल गराउन लगिएको थियो ।

पर्यटन व्यवसायसँग सँगै सरकारी स्तरमा नै संचालित यस्ता उद्योगमा पर्यटकलाई पुर्याएर गरगहना लगायतका सोभनियरका बस्तुहरु किन्न मन लाग्दा किन्न ठाउँ रहेछ । सो उद्योगका विशेषता भनेको परम्परागत रुपमा जसले सो व्यवसाय गर्दै आएका थिए तिनैका परिवारले मात्र सो उद्योगमा जेड खोपेर विभिन्न सामग्रीहरु ब्नाउने काम गर्नेरहेछन् । त्यहाँ झण्डै दुई घण्टाजति घुमघाम र किनमेल गर्नेले किनमेल गरेर हामी दिउँसोको भोजन गरेपछि ग्रेटवालतपर्फ लाग्यौं ।

ग्रेटवाला पुग्दा
संसारकै सबैभन्दा लामो पर्खालका रुपमा परिचित ग्रेटवाल चन्द्रमाबाट समेत देखिने वाल भनेर पढ्दै सुन्दै आएको वालमा पुग्ने रोमाञ्चकता पहिलेदेखि नै थियो । नभन्दै हामी दिउँसो स्थानीय समय १ बज्दा नबज्दै ग्रेटवाल नजिकको स्थानमा पुगेका थियौं । मौसमले पनि राम्रै साथ दिएको थियो । बादल र घामको लुकामारीमा सररर चीसो हावाको साथमा हामी उकालो चढ्यौं । हामीलाई ग्रेटवालका लागि दुई घण्टाको समय निर्धारण गरिएको थियो । हामी केही पर्खालको बाटो हुँदै २ माइल ठाडो उकालो चढेर माथि सातौं थुम्कोसम्म पुग्यौं । त्यो थुम्कोमा पुगेपछि भने ढोका बन्द गरिएको रहेछ । र, हामी केही तल पुनः बस रोकेको स्थानमा आयौं ।

ग्रेटवालको आफ्नै कथा छ । त्यो वाल बनाउँदा हजारौं मान्छेहरु मरेका छन् भने तिनका ती लासहरुलाई पनि त्यहीं पर्खालमै गाडिएका छन् । त्यो पर्खालको लम्वाई मात्र २१ हजार १ सय ९६.१८ किलोमिटर रहेको छ । चीनको पहिलो एम्पेरियर क्विन सिन हुवाइनले सातौं सताब्दीमा शुरु गरेका थिए । जसको प्रमुख उद्देश्य भनेको छिमेकी देश मंगोलियालाई बार लगाउनु थियो । पछि अन्य एम्पेरियरहरुले पनि पहिलो एम्पेरियरले शुरु गरेको पर्खाल बनाउने कार्यलाई सफतापूर्वक सम्पन्न गराएकै कारण आज विश्वको सातौं आश्चर्यमध्येको एक आश्चार्यका रुपमा संसारमा प्रख्यात भएको छ । वर्षेनी लाखौं आन्तरिक तथा बाह्य पर्यटकहरुको घुँइचो लाग्नेगरेको छ ।

चिनियाँ नेता माओत्सेतुङले आफ्नो जीवनमा चिनियाँहरुले ग्रेटवाल चढ्ने त्यो हिरो हो भन्ने भनाइ चलनमा रहेकाले पनि धेरैभन्दा धेरै चिनियाँ नागरिकहरु सो ग्रेटवाल चढ्न लालायित हुनेरहेछन् । यसै क्रममा यो पंक्तिकारदम्पत्तिले पनि आफूलाई पनि हिरोका रुपमा दर्ज गर्दै फेदीमा आएर एउटा बाँसमा दम्पत्तिकै नाम लेखेको सोभिनियर बनाउन लगाएर विश्वको मान्छेहरुद्धारा निर्मित सातौं आश्चार्यमध्येको एक आश्चर्य स्थानमा पुग्दाको क्षणलाई तस्वीर र मनमा कैद गर्दै संजु र म सहितको टाली पुनः आफ्नो बासस्थान बेइजिङ फर्कियो ।।

(साभारः नेपाल अमेरिका पत्रकार संघ (नेजा) को प्रकाशन  ‘प्रयास”अङ्क ९ मा प्रकाशित सामग्री ।)

Add a Comment

Your email address will not be published. Required fields are marked *