सन्दर्भ कृष्णाष्टमी: चर्चा महायोध्दा बलरामको
|कृष्ण अर्थात भगवान श्रीकृष्णका बारेमा हामी सबै जानकार छौं । आज कृष्णको जन्म दिन । कृष्णलिला,महाभारत युध्द र कृष्णार्जुन सम्वाद अर्थात गीताका बारेमा कस्लाई थाहा छैन र ? त्यही समय र परिवेशमा युध्दमा र विध्द्वतामासमेत भगवान श्रीकृष्ण समान नै थिए बलराम । तर पनि किन छायाँ छन् त यी विध्द्वत योध्दा ? उनको जन्म अर्थात बलराममको जन्म अस्तिको दिन मात्र हो तर दाइको जन्म कहिले हो भनेर सुइँको नपाउने हामी दाइको जन्मको दुई दिनपछिको भाइको जन्म भने यसरी मनाउँछौं कि मानौं हाम्रा लागि योभन्दा अर्को ठूलो पर्व वा अवसर कुनै छैनन् ।
महाभारतको युध्दमा त्योबेलाका सबै राजा महाराज र योध्दा महायोध्दाहरू दुई पक्षमा बाँडिए । कोही पाण्डव र कोही कौरवको पक्षमा लागेका थिए । तर पनि यसमा दुई ठूला योध्दाले भने कसैको पक्षमा भाग लिएनन् । युध्दमा भाग नै नलिने कसरी महायोध्दा भए वा किन युध्दमा भाग लिएनन् तिनले र ती को को थिए त ? ती थिए महायोध्दा बलराम र अर्का एक थिए- भगवान श्रीकृष्णका पत्नी रुक्मिणीका दाइ रुक्मी ।
बलराम महाभारत युध्दको पक्षमा थिएनन् अर्थात उनी त्यो भाइ भाइको युध्द हुनु हुँदैन भन्ने चाहन्थे । यो युध्द नहोस वा यसमा एक पक्षमा लाग्नु अर्को पक्षलाई अन्याय गर्नु हो उनको मान्यता थियो । उनी आफ्नो कारणले कसैमाथि अन्याय नहोस भन्ने चाहना पनि राख्थे ।
गदा युध्दमा निपुण तथा बुध्दिमानसमेत रहेका बलरामले भिम र दुर्योधन दुवैलाई नै व्दन्दयुध्द र गधायुध्द सिकाएका थिए । दूवै उनका प्रिय शिष्य थिए । त्यसैले उनी आफ्ना कुनै शिष्यहरूको पक्ष विपक्षमा युद्ध लड्न चाहँदैन थिए । उता रुक्मीको भने पाण्डव र कौरव दूवै पक्षसङ्ग कुनै लगाव पनि थिएन र राम्रो वा मित्रवत सम्बन्ध पनि थिएन । जसले गर्दा युध्दको मूल्य चुकाउनुमा रुक्मीको कुनै स्वार्थ गाँसिएको थिएन ।
महाभारत युध्दमा भाग लिनु भनेको धर्म सङ्कटमा पर्नु हो र धर्म सङ्कटमा फसे तिनको पतन निश्चित हुन्छ भनेर श्रीकृष्णलाई पनि सम्झाएका थिए बलरामले।
दुवै पक्षका एक एक जना आफ्ना योध्दा उनका शिष्य त छँदै थिए त्यसमा पनि पाण्डवको पक्षमा लागे कौरवमाथि अन्याय हुने र कौरवको पक्षमा लागे पाण्डवमाथि अन्याय हुने बालाराम ठान्थे । धर्म सङ्कटमा परेका बलरामलाई त्यसो त युधिष्ठिरले आफ्नै परिभाषा अनुसारको धर्मको व्याख्या गरेर कौरवको पक्षमा लागेर पाण्डवका विरुध्द लडे पनि आफ्नो कुनै गुनासो नहुने बताएका थिए । तर पनि बलराम कौरवको पक्षमा किन लागेनन् भने एक त पाण्डवको पक्षमा उनका भाइ कृष्ण पनि थिए भने आफ्नो भाइको सामर्थ्यका बारेमा पनि उनलाई राम्रोसङ्ग थाहा थियो । यी सबको बुध्दी भ्रष्ट भएको छ त्यसैले उनीहरू भाइ भाइ अहिले एक आपसमा लड्न लागेका छन् भन्दै बलराम महाभारत युध्दको समयमा तिर्थ यात्राम निस्किएका थिए ।
को हुन् त बलराम ? माथिको छोटो टिप्पणीले बलरामको सामान्य परिचयको सङ्केत त गर्यो । हो बलराम भगवान कृष्णका दाइ त हुन् नै तर पनि उनको जन्म कहिले र कसरी भयो यो पनि रोचक छ ।
बलराम पनि भगवानका अर्थात विष्णुका विभिन्न रूपहरूमध्ये एक मानिन्छन् । उनका अन्य नाम हुन्- दाऊ,संकर्षण,रौहिणेय,बलभद्र,अनन्त,बलदेव,हली,मुसली,रेवतीरमण,
निलाम्बर । बलराम शेष नागका अबतार पनि हुन् ।
सत्य युगमा शेष नागले भगवान विष्णुको सेवा गर्दा गर्दा विश्राम नै नपाएको गुनासो गरे । भगवान विष्णुले आशिर्वाद दिंदै भने – शेष नाग ! संसारमा जन्मने सबै प्राणी समय र भूमिकाअनुसार आ-आफ्ना कर्मसङ्ग जोडिएर आएका हुन्छन् । त्यसैले व्द्वापर युगमा मैले जन्म लिनु केही पहिले नै तिम्रो जन्म हुनेछ र म नै तिमीलाई आफ्नो दाजुको समान सेवा र सम्मान पनि गर्नेछु ।
त्यसैले उनको जन्म कृष्ण जन्म अष्टमीको दुई दिन पहिले नै भयो । त्यो पनि सौतेनी आमाको कोखबाट ! तर कसरी ?
हिन्दु धर्मका मिथक/पुराण साहित्य आदि बुझ्न र व्याख्या गर्न सजिलो छैन र यो अहिलेको हामीले पढ्ने बुझ्ने इतिहासजस्तो एउटा व्यक्ति परिवार वा समयको जीवनीलाई मात्र लिएर सोझो बाटो हिंड्दैन । यसका यति धेरै ठूला पत्रहरू छन् र ती चट्टानी पहाडभन्दा पनि कडा लाग्छन । हरेक व्यक्तिको जन्म र कर्म यसरी एक युगदेखि अर्कोसम्म जोडिएको हुन्छ कि कसैको जन्म र भूमिका अकारण भएको पनि हुँदै हुँदैन ।
अहिले आधुनिक प्रविधीले मानिसको जन्मका विभिन्न विधी विकाश गरेको अवस्था छ । तर हिन्दु धर्ममा यो विधी आजभन्दा लाखौँ बर्ष पहिले प्रयोगमा आएको थियो । बलराममको जन्म उनकी आमा देवकीको गर्भ स्थानन्तरण गराएर सौतिनी आमा रोहिणीको कोखबाट गराइएको थियो । अहिले विज्ञान र प्रबिधीको युगमा हामीले अचम्म मान्ने गरेको टेस्ट ट्युववेवी, सरोगेट्स वा भाडाको कोख आदि भनेको सुनेको र बुझेकोभन्दा पनि त्यो युगको यो कथा पत्याउनु कसरी ? नपत्याउनु कसरी ?!
मथुराका तत्कालिन यदुवंशी महाराज उग्रसेनका छोरा कंसले दानव राजाकारुपमा गरेको अत्याचारको अन्त्यका लागि भएको भगवान कृष्णको जन्म कथा अर्थात जन्म लिलाअनुसार कृष्णका माता पितालाई कंसले नै बन्दी बनाएर राखेको थियो । कृष्णको माता देवकी कंसको बहिनी र पिता वासुदेव ज्वाँइं नै थिए । आफ्नी बहिनी देवकीको आठौँ सन्तानले आफ्नो बध गर्छ भन्ने भयले कंसले बन्दि बनाएको थियो बहिनी ज्वाँइंलाई। बन्दि अबस्थामा भएको देवकी सातौँ गर्भलाई योगमायाले आफ्नो आफ्नो शक्ति लगाएर त्यो गर्भलाई देवकी कै सौता अर्थात वासुदेवकी अर्की पत्नी रोहिणीको कोखमा हस्तान्तरण गराईन् । त्यसरी नाबालकमै आफ्ना मामा कंशबाट मारिनबाट जोगाउन आफ्नी आमाको गर्भबाट अर्की महिला अर्थात आमाको कोखमा पुर्याइएर जन्मिएका थिए बलराम । उनको बाल्यकाल,युवा समय,रेवतीसङ्गको वैबाहिक जीवन,कृष्णसङ्गको सम्बन्ध,उनको प्रिय हतियार र पराक्रम आदिका अन्य पक्षहरू पनि त्यतिकै रोचक छन् । तिनलाई अर्को कुनै सन्दर्भमा चर्चा गरौँला ।
तस्वीर साभार: गुगल