व्यङ्यात्मक निबन्ध: चिया
|पानीमा दुध, चिनी अनि चियापती हालेर आगोमा उमालेर तयार गरिने चिज नै चिया हो । चिया बनाउन नजान्ने मान्छे त कम नै हुन्छन होला ! हिजो आज जहाँ जता पनि पाहुना लागेर गहियो भने सुरूमा नै चिया सोधि हाल्छन ।
मान्छे मान्छेको रूचि पनि अनौठो अनौठो किसिमको हुन्छ । मेरो एक साथीको बुबा थिए उनी चिया भनेपछि हुरूक्कै हुने । विहान उठ्दा बिस्तरामा चिया आई पुग्थो, त्यो सकाउन पाएको छैन फेरी मगाई हाल्ने भात खाने समय सम्म त लगभग छ सात कप चिया उनले सकाउने रैछन, पकाउने मान्छे उनको त्यो चिया प्रतिको मोह देखेर वाक्क भैसकेका थिए । यतिसम्मको चियाको भोगी थिए कि ट्वाईलट जाँदा पनि एक कप चिया साथमा लिएर जान्थे ।
“अंकल ट्वाईलट जाँदा चाई चिया लिएर किन जानु हुन्छ नि” एक दिन मैले सोधेको थिए । बुढाले हिस्स हास्दै “चिया नपिएसम्म त ट्वाईलटमा दिसा नै आउदैन बावु” रे ।
सानो होटलमा जानु होस त्यहाँ चिया खानेको भिड उस्तै, सहर ठूलो पसलमा जानु होस त्यहाँ पनि चिया खानेको उस्तै भिड, गल्ली गल्ली चोक-चोक हिजो आज जता ततै चिया पिउने मान्छेको भिड देख्न सक्नु हुन्छ । घरमा बिहान उठेर चिया पिई एकछिन पछि चोकको पसलमा जम्मा भएर चिया पिउदै गफ गाफ गर्ने एक हुल बुढाहरूको टोली प्रायः जसो धेरै ठाउँमा देख्न सक्नु हुन्छ । एक पटक म घरमा सामान ल्याउनको लागि सदरमुकाम सम्म पुगेको थिए । एक साथी बिच बाटोमा भेट भयो । ऊ अल्लि ठुलो ठालो मान्छे,जाउ चिया पिउन भनेर ठूलो अझ भनौ भि आई पि होटल छिरायो । दुई कप त्यो पनि सानो सानो कपमा वएटरले चिया लिएर आयो ।
दुई तिन सर्को खाएर सक्काईयो ‘मन मनै सोचे दश पन्ध्र रुपैयाँको होला’ एकछिन पछि वएटरले बिल लिएर आयो एस्सो हेरेको त म तिन छक परे दुई कप चियाको पाच सय लेख्या रहेछ गोजी छापे दुई चार रूपया भन्दा रहेन्छ एहि दिए अहीले घर कसरी जानु साथीको अगाडि मैले तिर्छु बिलसम्म भन्ने आट गरिन उसले नै तिरि दियो । जिन्दगीमा आजसम्म मैले पिएको सबैभन्दा महगो चिया त्यही थियो जून हाम्रो गाउँमा फूलमाया दिदिको चिया पसलमा दश रूपया चियाको स्वाद भन्दा पनि फिक्का थियो।
घरमा कोही आफन्ती आए चिया, बिहान होस चिया, दिउसो होस चिया बेलुकाको समय होस चिया प्रायः जसो सबैका घरमा भएको दिन चर्या कार्य जस्तै हो यो । पाहुना भएर कतै गईयो भने पनि जुन जुन घरमा पसिन्छ सुरूमा सन्चो विसन्चो सोध्ने बितिकै चिया आई पुग्छ । मेरो एक जना मगर साथी थियो एकदिन उसले उस्को घरमा दिउसोको समय बस्न बोलायो । मेरो पनि खासै काम थिएन टाईम पास गरौ भनेर उसको घर गए ।
साथीले हात मिलायो अंकल अन्टीलाई नमस्कार गरे अनि भित्र पसे । एकछिन पछि अन्टीले चिया पिउने हो बावु भनि सोध्नु भयो । मैले हुन्छ अन्टी लिएर आउनु भने । दुई गिलासमा लिएर आउनु भयो मैले एउटा समाए आर्को साथीले समायो । हातमा लिएर एक सर्को के तानेको थिए तीतो र टर्रो मुख नै बिगाह्रो एस्सो हेरेको त रौसी पो रहेछ थु थु गरेर देखेर सबै खित्का छोडेर हासे । उनीहरुको घरमा रौसीलाई चिया भनि सम्बोधन गर्ने रहेछन । “हामी त मगरको जात हाम्रो चिया त यहि हो नि तपाईले पनि खानु होला भनेर पो ल्याईदिएको मैले त सोचे तपाईले बुझ्नु भयो होला” अंकलले हास्दै भन्दै हुनु हुन्थ्यो । जीवनमा मलाई चियाले पहीलो पटक झुक्काएको त्यही थियो ।
कुनै विवाह होस वा कतै कार्यक्रम किन नहोस आयोजना गर्नेहरूले चियाको व्यबस्था अबस्य गर्छन । विवाहको लागि केटी हेर्न जादा प्रायः सबै घरमा बेहुलीले केटा पक्षलाई चिया नै लिएर आउने चलन पनि कयौ वर्ष देखि चल्दै आएको छ जसले केटा अनि केटीले एक अर्काको अनुहार समेत हेर्ने मौका जो पाउँछन् । कतिको त अचम्मको स्वभाव हुन्छ भातलाई तरकारी नै आवश्यकता पर्दैन चियाले भात मुसेर भकाभक खान्छन । मेरो घर देखि अल्लि पर बुढाबुढी मात्र बस्थे कहिले काहि म त्यहाँ गएको बेला उनीहरुको खुवाई देखेर तिन छक्क परेको हुन्थ्ये भात पकायो अनि चियासँग भात मुसेर रस लाउने गरि खाने । “आमा मिठो हुन्छ र एसरी खादा” मैले अचम्म मान्दै सोधे । “चियामा चिनी हालेपछी मिठो नभएर तितो हुन्छ त बाबु” भन्दै खित्त खित्त हास्न थाल्थे बुढा बुढी म भने दङ्ग पर्थे । अफिस होस वा विध्यालय पाटी कार्यालय होस या सिहदरवार हरेक ठाउमा चिया पकाउने र ल्याउने त कर्मचारी नै राखिएको हुन्छ । कोही त एति सम्म हुन्छन कि एक पटकमा एक माना नै चिया पानी खाए झै पिउछन । गाउँमा सामान्य चिया पसल गरेर बस्ने मान्छेले पनि लाखौ कमाएको मैले कयौ देखेको छु मान्छे चियाको भोगि कति सम्म हुन्छ भन्ने त्यहा बाट पनि थाहा जो पाउन सकिन्छ । कसैलाई गुलीयो,कसैलाई ठिक्कको स्वाद अनुसारको मन पर्छ । हरि बहादुर भन्ने काका छन उनलेआफुले भनेको समयमा चिया पिउन पाएनन् भने बुढीलाई एति धेरै गाली गर्छन चियाको कारण नै हरेक दिन पती पत्नीको झगड़ा नै हुन्छ ।
एक साथीको बिहेको लागि भनेर केटी हेर्न सँगसँगै गईयो । त्यस दिन लगभग पाँच ठाउँमा केटी हेर्नु पर्ने थियो । घरमा एक कप मिठो चिया पिएर म साथीको घरमा पुगे । जब साथीको घरमा पुगे त्यहाँ पनि चिया नै ल्याएर दिए । विस्तारै हामी साथीको लागि केटी हेर्न गईयो । जुन घरमा गयो त्यहि घरमा सुरूमा नै चिया ल्याएर टक्राई दिने । त्यस दिन त बेलुका कसैले चियाको चि शब्द बोल्यो भने पनि उल्टि आउला जस्तै भएको म कहिल्यै भुल्न सक्दिन । भात बिना मान्छे बाँच्न सक्ला तर चिया बिना बाँच्न नसक्ने कयौ हुन्छन । कतिले त दिनमा नै चार पाँच कप त्यो पनि एक एक मानो चिया पिउछन । पसिनाले खल खल शरीर पूरै भिझेको मान्छे पनि जतिसुकै गर्मी किन नहोस चिया पिउन छोड्दैन । म झट्ट सम्झिन्छु ईन्डियाको प्रधानमन्त्री मोदीले पनि त पहिला चिया बेच्ने काम गर्नु हुन्थ्यो नि आज भारतको प्रधानमन्त्रीभएर देश चलाउदै हुनुहुन्छ । साच्चै चियाको पावर त ठूलो नै पो रहेछ जस्तै लाग्यो ।