बलात्कार विरुद्धको कानुन फितलो नै हो त ?
|पछिल्लो समयमा बढ्दै गएका बलात्कार घटनालाई केलाउँदा बलात्कार विरुद्धको कानुनमाथि नै प्रश्न चिन्ह खडा हुन्छ । दिनप्रतिदिन किन बढ्दैछन् बलात्कारी ? दोषी निर्क्यौल गर्न पछि हट्ने सुरक्षाकर्मी र उचित कारवाही गर्न नसक्ने यो मुलुकको कानुनलाई आम नागरिकले के संज्ञा दिने ?
बालिका, युवती या वृद्धा जुनसुकै उमेरका महिलालाई शारीरिक, मानसिक, आर्थिक तथा यौनजन्य यातना दिनु तथा अन्य दुर्व्यवहार गर्नु हिंसा हो । कुनै पनि मानिसले यौनसङ्ग सम्बन्धित भावना राखेर जिस्काउने, नजिक आएर छुन खोज्ने, इच्छाबिना स्पर्श गर्नु नै यौन दुर्व्यवहार हो । महिला हिँसा हो यो ।
समयको परिवर्तनसँगै कैयौं कुराहरु आधुनिक भए तर महिला हिंसाका विषयमा केही (सबै नभनौं) पुरुषहको सोच अहिलेसम्म उत्तिकै संकुचित देखिन्छ । आजको २१ औं शताब्दीमा आएर पनि अझैँ महिलाहरू सुरक्षित हुन सकेका छैनन् । झनै बालिकाहरुमाथिको दुर्व्यवहार त दिन–दिनै बढ्दै गएको पाइन्छ ।
महिलामाथिको हिंसा बन्द गर, चेलिबेटि बेचबिखन अन्त्य गर, बालशोषण बन्द गर भन्दै जति नै नारा जुलुस लगाऔं तर जबसम्म मानिसको सोंचमा परिवर्तन आउँदैन नि तवसम्म महिलाहरुले सुरक्षाका अनुभूति गर्न पाइँदैन । त्यसमा पनि अझ बालिकाहरु एकदम असुरक्षित हुन थालेका छन् । नेपालमा हरेक बर्ष हजारौंको संख्यामा बालबालिका शारीरिक दुर्व्यवहार लगायत यौनजन्य शोषणको सिकार भएको तथ्यांक नै छ । दुर्व्यवहार महिलामाथि जोबाट जुनसुकै बेलामा पनि भएको र हुनसक्ने देखिन्छ । यौनजन्य दुर्व्यवहार भएको बढ्दो क्रममा आइरहेको छ । प्रत्येक दिन हामीले एउटा न एउटा नारी कि त बालिकाको यौन शोषण भइरहेको समचार सुनिरहेका हुन्छौं ।
अब महिला तथा बालिकाहरु कसरी र कहाँ सुरक्षित हुने ? बाटोमा, स्कुलमा, समाजमा या घरमा ? एउटी महिलाले आफ्नी छोरी स्कुलबाट घर नफर्केसम्म शान्ति पाउदिनन् । छोरी नआएसम्म उनका अभिभावकलाई कतै केही भयो कि भनेर डराइहाल्नु पर्ने अवस्था सृजना हुँदैछ । आफ्नी छोरीले घुम्न जान्छु भन्दा, पिकनिक जान्छु भन्दा र स्कुलबाट केही दिनको लागि घुम्न जान्छु भनेर अनुमति माग्दा खुल्ला मनले जाउ भन्न सक्ने अवस्था छैन । यो समाजसँग छोरीका बाबु–आमाले धेरै डराउनुपर्ने अवस्था छ । जुनसुकै ठाउँमा पनि बालिकामाथि आफ्नो गिद्दे दृष्टि लगाउनेहरुको कमी छैन यहाँ ।
महिलामाथिका बलात्कारका घटना त पहिले देखिनै प्रशस्तै सुनिदै आएका हुन् । तर पछिल्लो समयमा त स-साना नानीहरु पो दिनहुँ बलात्कारको सिकार बनिरहेका छन् । यौन भनेको के हो भन्ने थाहा हुन नपाउँदै उनीहरु यौन हिंसाका सिकार बनेका छन् । त्यसमा पनि उनीहरुलाई के थाहा बलात्कार भनेको के हो ? यी र यस्ता कुराहरु सिक्न नपाउँदै उनीहरु हिंसाका सिकार हुन बाध्य छन् । यहाँ त कोही कसैको पनि विश्वास गर्ने अवस्था देखिँदैन । बलात्कारलगायतका घटनाहरू विगतको सामाजिक परिपाटीबाट विकसित हुँदै आएको पुष्टि हुन्छ ।
बलात्कारको घटनालाई हेर्न हो भने २०७४ चैत्रमा मात्र एक सातामा बर्दिया जिल्लाबाट मात्र तीन बालिका बलात्कृत भए । यसमा संलग्न भन्दै बढैयाताल गाउँपालिका ९ मा ४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले ६२ वर्षीय चूडामणि दमाईंलाई पक्राउ गरेको थियो ।
त्यसअघि पनि बलात्कारका २ घटनाका अभियुक्तलाई पनि प्रहरीले पक्राउ गरेको थियो । बर्दिया-१ की ९ वर्षीयालाई बलात्कारको अभियोगमा सोही ठाउँकै ४८ वर्षीय नरबहादुर घिमिरे र बढैयाताल गाउँपालिका ७ की ५ वर्षीयालाई बलत्कार आरोपमा स्थानीय १७ वर्षीय कृष्ण थारूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
घिमिरेले बालिकालाई पटक–पटक बलात्कार गरेको खुलासा हुँदा हुँदै पनि उनलाई राज्यले उचित कारवाही गरेको देखिँदैन । घिमिरेले पटक–पटक पिडा दिएपछि बालिकाले सहन नसकेर आफन्तलाई बताएपछि प्रहरीले घिमिरेलाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गरेको थियो ।
यता १३ वर्षीयामाथि बलात्कार गरेको अभियोगमा ६ महिनाअघि बाँसगढीका लौटन थारू पक्राउ परेका थिए । गत भदौ अन्तिम साता विवाह गर्ने निहुँमा एक किशोरीमाथि सातादिन करणी गरेको आरोपमा मगरगढीका सुशील थारू पक्राउ परे । जमुनीका ४० वर्षीय धनबहादुर बलात्कार गरेको अभियोगमा पक्राउ परेका थिए । बर्दिया जिल्ला अदालतका अनुसार उमेर नपुगेका मात्र नभई उमेर ढल्केका महिलासमेत बलात्कारको सिकार भएका छन् ।
करिव ३ वर्ष अघि ८० वर्षीय वृद्धले आफ्नै नातिनीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा कारागारमा रहँदा उपचारकै क्रममा ६ महिनाअघि मृत्यु भएको थियो । केही समयअघि आमामाथि यौन दुव्र्यवहार गरेको भन्दै एक युवकविरुद्ध जबरजस्ती करणीको मुद्दा दायर भएको छ । आमाले अदालतमा आएर आफ्नै छोराविरुद्ध बयान दिइन् । हाडनाता कायम भएका एक युवकले बलात्कार गरेको अभियोगमा अदालतले २१ वर्ष कैद र १ लाख पीडितलाई क्षतिपूर्ति दिने फैसला गरेको थियो । यसैगरी पत्नी बिदेश गएको बेलामा छोरीलाई जंगलमा लगेर आफ्नै बाबुले बलात्कार गरे ।
पछिल्लो अवस्थामा कञ्चनपुरकी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरियो । घटना भएको करिव २ महिना बितिसक्दा पनि कारवाहीको त के कुरा राज्यले दोषीसमेत पत्ता लगाउन सकेको छैन । यस विषयमा संसद्मासमेत चर्को बहस समेत चल्यो । विभिन्न स्थान र समयमा मुलुकभित्र बलात्कार र बलात्कारपछि हत्याजस्ता जघन्य अपराधका घटना भइरहेको भन्दै दुबै पक्षका सांसदले दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै संसदमा चर्को आवाज उठाए । तर सडक र सदनसम्म कुरा उठे पनि दोषीलाई कारवाही र पिडितलाई न्यायको भने अहिलेसम्म कुनै संकेत छैन ।
दोषीलाई जोगाउन राज्य स्वयं लागेको अनुभूति समेत पीडितले गर्न थालेका छन् । यस्ता अवस्थामा निर्दोषले न्याय माग्न जान ठाउँ खोइ ? अपराधमा सामेललाई जोगाउन गरिएको प्रयत्न झन ठूलो अपराध हो । यस्तै हो भने एउटा बालिकालाई न्याय माग्दा अर्को बालक मारिनुपर्छ । यस्तो कहिलेसम्म ?
यहाँ त कोबाट को सुरक्षित भन्ने चिन्ताको विषय हुन थालेको छ । आफ्नै बुबाले छोरीलाई, नातीले हजुरआमालाईसमेत बलात्कार गरेको घटनाहरु सार्वजनिक भएका छन् । आमाका काखका दूधे बालिकाहरु पनि बलात्कृत भएका छन् ।
अबका दिनमा बालिकामाथि हुने यौन हिंसा तथा दुव्र्यहारका बारेमा सानैबाट स्कुलमा शिक्षा दिइनुपर्छ । घरमा आमाबाबुले पनि यस्ता कुरा सम्झाउने कोसिस गर्नुपर्दछ । आफ्नो सुरक्षा केही हदसम्म भए पनि गर्न सक्ने खालको शारीरिक अभ्यासमा पनि जोड दिनु आवश्यक देखिन्छ भने राज्यले बलात्कारीलाई दिइने सजायमा कडाइ गर्नु आवश्यक देखिन्छ । अरुको जीवनमाथि गिद्दे दृष्टि राखेर हिंड्ने बलात्कारीलाई राज्यले कि त मृत्युदण्ड देओस् कि नपुंसक बनाउने कानुन ल्याओस् । होइन भने समाजमा बलात्कारका घटनाहरुको सामना अझै हाम्रा दिदी, बहिनी, आमा तथा हजुरआमाहरुले समेत गर्नु पर्ने हुन्छ । यसमा चाँडो भन्दा चाँडो राज्यको ध्यान जाओस् ।