नेपाली पहिचान र नेपाली भाषा पाठशाला
|“मैले नेपाली सिकिन भने मेलो हजुलआमा नेपालबाट आउँदा म नेपालीमा कुला गर्न सक्दिन, मेलो हजुआमालाई अंलेजीआउँदैन, अनि म नेपाली स्कूल आ’ को नि !” तोते बोलीमा सुप्रिम तिम्सिनाले भने ।
“मेरो आमा नेपालमा हुनुहुन्छ । नेपाल जाँदा मैले नेपालीमा कुरा गर्न सकिन भने आमाले मलाई मायाँ गर्नुहुन्न, त्यही भएर नेपाली पढन आकी !” केही वर्षदेखि नेपाली स्कूलमा निरन्तर पढिरहेकी सेजल घिमिरेले भनिन् ।
साना नानीहरुले भानु जयन्तीको अवसरमा आयोजना गरेको वकृत्वकलामा सकिनसकी यसरी नेपाली शब्द फुटाएको देख्दा हिड्यो भने ढिलो भएपनि गन्तब्यमा पुगिने रहेछ जस्तो लाग्यो । आँट गरेरै त मान्छे चन्द्रमामा पुगेको होलान नि होइन र ? केटाकेटीको खेल्ने समयको थोरै अंश केही उर्जाशील काममा लगाउँदा कति फरक पर्ने रहेछ भन्ने नमुना हुन यि नानीहरु । त्यसो त उनीहरुको थोरै होस्टेमा हैंसे गरिदिने अबिभाबकहरु र विद्यालयका शिक्षक शिक्षिकाहरु नभए अमेरिकामा जन्मेर हुर्केका बच्चाहरुलाई यसरी पढ्न लेख्न कहाँ सम्भब हुन्छ होला र ! वास्तबमा सगरमाथा चढनेले नै चुचुरो छुन्छ भनेको पनि यही हो नि हगी ? गन्तब्य सबैको एउटै हो मात्र हिंड्ने बाटाहरु फरक ।
भाषा र संस्कृतिको भोक लागेपछि घर छोडेर पर गएका मान्छेहरुले भोक मार्ने बिभिन्न उपायहरु खोज्दारहेछन र भोकाएका बेला मान्छेले जोसङ्ग जे छ त्यही पस्किन्छ नै । कोही नाचेर भोक मार्छन त कोही गाएर, कोही लेखेर भोक मार्छन त कोही चुट्किला सुनाएर । मैले पनि लेखेर भोक मार्न कोशिस गरें तर मनका कुराहरु विद्युतिय कापीमा पोख्दा मात्र मेरो तलतल मेटिएन । उपायहरु खोज्ने क्रममा आफनै भाषा/संस्कृती आँखा अगाडि आयो । सिकाउने मान्छेपनि आफैसङ्ग भएकाले सानी छोरीलाइ प्रविधिले दिएको लेख्दै मेटदै गर्ने सेतो पाटी किनिदिएँ र उसका कलिला औंलाहरु त्यसमा खेलाउन थालें । मैले थाहै नपाइ अंग्रेजीका अक्षर लेख्न जानिसकिछ उसले । उसले लेखेको देखेर अचम्म लाग्यो । छोरीले जानेका तिनै मिल्ने मिल्ने अंग्रेजी अक्षरहरुमा नेपाली अक्षरका फुर्का लाउन सिकाउन थालें । उसले लेख्न जानेको वान नेपालीमा धर्को हो भनेर सिकाएं । अंग्रेजी टु र वानलाइ जोडेर डल्लो जोडदा “ख” हुन्छ भनेर सिकाएं । सत्तेहोला “क” सिकाउनुअघि उसलाइ मैल “ख” लेख्न सिकाएं । कलिला औंलाहरु सेतोपाटी भरी कुदेर अंग्रेजी “जे” लेखेका बेला वान थप्दा “ग” हुन्छ नि भनेर “ग” लेख्न सिकाएं ।
आमालाई किन हो आफूले जानेजति सबै छोरीका दिमागमा हालिदिन मन थियो तर छोरीको उमेर सिकेको कुरा सम्झन सक्ने भइसकेको थिएन । मात्र दुई चारवटा अक्षर सिकाएं । उब्रिएको समयमा बरु उसैसङ्ग खेल्न थालें । समय चिप्लिरहयो मबाट । घरमा अर्को सदस्य थपियो अर्थात उसको भाइ जन्मियो । आफनो भाषा सिकाउने कामलाई थाति राखेर म उनीहरुका बालसुलभ भाषा सिक्न थालें । दुईजनासङ्ग ब्यस्त हुंदा म मात्र घाम झुल्किएको र अस्ताएको थाहा पाउथें । बांकी अरु समय सधैं मबाट चिप्लिरहन्थ्यो । मलाई अलिअलि फुर्सद निस्कंदा समय मबाट भागेर धेरै पर पुगिसकेछ । विगतलाई फर्किएर हेर्दा मैले अचेट्न नसक्ने परिवर्तन आइसकेछ तर आफूभने जहांको त्यहीं । चिप्लिएको समयले छोराछोरीपनि ठूला पारििददैं गएछ ।
एकदिन भन्दा दुईदिन भन्दा भाइपनि दिदीसङ्ग खेल्न सक्ने भयो । फेरी समयको फेर समात्न कोशिस गर्न थालें म । नयां कुरा पढने ब्यक्तिगत चाहनालाई थाति राखेर सन्तानका चाहानाहरु पढन थालें । उनीहरुले हेर्ने गरेका कार्टुन उनीहरुसंगै बसेर हेर्दा सम्झनाको आफनो बाल्यकाल जुरुक्क उठेर आउंथ्यो । मैले जे पायो त्यही खेलेका खेलहरु नियमबद्द र सबैले पालैपालो खेल्ने चलनमा देख्दा आफूमात्र जान्ने पल्टेर अरुलाई खेल्न नदिने मेरा साथीहरु आँखाभरी आउँथे । धेरै भयो उनीहरुसङ्ग भेट नभाको । सांची उनीहरु अहिले कस्ता भए होला हगी ? कोही मजस्तै आमा भएका छन रे । कोही हजुरआमा नै भैसके अरे । कोही बाउ भएर जिम्मेबारीको भारी बोकेर तलमाथि गर्दैछन रे, भेटनेहरु भन्छन । घर जाँदा पक्कैपनि तिनीहरुलाइ भेट्नेछु र मैले हेरेको कार्टुनको बारेमा भन्ने छु भन्दै म संझनाको मेरो सानो उमेरको धेरै पर पुगेर फर्किन थालें सधैं । ति कार्टुनका धेरै खेलहरुबाट धेरै कुरा सिक्दै गएं ।
कहिलेकाहिं सानासाना कुराले मस्तिष्क साह्रै हुडल्थ्यो । सबैभन्दा धेरै अङ्ग्रेजी भावेल र कन्सोनेन्ट सिकाउने कार्टुन, “वर्ड वल्ड” हेरेर म भित्रैदेखि बिथोलिएं । मैले त्यो कार्टुनमा देखिएका पात्रहरुलाई आंखा नझिम्क्याइ हेरें । स्वर वर्णको पात्र “कमिलो”अर्थात “एन्ट” र ब्यन्जन वर्णको पात्र “सुंगुर” अर्थात “पिग” एक आपसमा झगडा गर्दा शब्द बन्न नसेकेको कथाले मलाई हल्लाउनसम्म हल्लायो । साधा कागजजस्तो दिमाग भएको बाल हृदयमा लेख्ने र पपढ्ने कुराको त्यो तहमा पुगेर सिकाएको देख्दा म पग्लेर पानी-पानी भएं । आजसम्म मैले जानेका सबैकुरा कमजोर रहेछन जस्तो लाग्यो । कार्टुन हेरीसकेपछि मैले आफू उभिएको धरातललाईनै छोएजस्तो भयो । त्यो कथाको मन्चन गर्ने पिविएस किड्सलाई साह्रै धेरै धन्यवाद दिंदैं कार्टुनबाट सिकेको कुरा मैले मेरा छोराछोरीलाई नेपालीमा सिकाउन थालें ।
सिडनी, नेब्रास्कामा नेपाली भाषा बोल्ने सिङ्गो आफनो एक्लो परिवार धेरै वर्षसम्म कुहिराको कागजस्तै हराइरहयो । तैपनि मैले मेरा नानीहरुलाई नेपाली अक्षर लेख्न र पढ्न सिकाउन छोडिन । आफ्नो भाषामा बोल्ने मान्छे भेट्न कि त ३ घण्टा खर्चेर डेनभर पुग्नुपर्ने कि त ६ घण्टा खर्चेर ओमाहा पुग्नुपर्ने हाम्रो त्यतिबेलाको यथार्थलाइ घटाएर कहिले १०-१५ मिनेटमा झार्न सकिएला, हामी दिन गनिरहेथ्यौं । त्यही बेला समयले हामीलाइ नर्थ क्यारोलाइना सार्न सघायो । यहाँ आउँदा चिनेको एउटै परिवार पनि धेरै लाग्यो । क्रमशः हाम्रो चिनजान बढदै गयो । पसलमा होस या पार्कमा जहां गएपनि नेपाली भेटिने हुंदा हामीलाई धेरै समय लागेन मान्छे चिन्न । तिनै चिनजानका मान्छेहरुबाट नेपाली स्कूल खुलेको र आफ्ना नानीहरु त्यहां पढाउन लगेकोसम्म सुनेपछि मलाई त्यो स्कूलमा पुगेर नेपाली पढाएको हेर्ने चाहाना तिब्र रुपमै जागेर आयो । सांच्चैभन्दा कानुले आंखा भेटेजस्तै खुशी लाग्यो ।
एक शनिबार हामी नानीहरु लिएर नेपाली स्कूल गयौं । अरु उस्तै र उनीहरुजत्रै केटाकेटी एउटा सिसैसिसा भएको ठूलो कोठामा बसेर पढिराखेको बाहिरबाटै देखेपछि हाम्रा केटाकेटी बाहिर बसिरहन सकेनन् । भित्र पसेर अरुसङ्गै उनीहरु पनि बसेर पढ्न थाले । पढिसकेपछि हातमा साना साना खाजाका प्याकेट बोकेर खुशी हुंदै बाहिर आएर “मामु अर्को शनिबारपनि आउने है” छोरा छोरीले दूबैले एकैचोटी भने । उनीहरु नेपाली सिक्न खुशी भएर आउनु नै मेरो जीत भएकोले मैले पनि हरेक शनिवार लिएर आउन थालें । उनीहरु भित्र बसेर नेपाली लेखपढ गर्ने म बाहिर । भित्र गुरु आमाहरुलाई भ्याइ नभ्याइ भएको धेरै दिन बाहिर बसेर हेर्न सकिन मैले । भित्र गएर उनीहरुलाई अलिअलि सहयोग गर्न थालें । त्यसपछि हरेक शनिवार हामी आमा छोराछोरी विधार्थी र गुरुआमा भएर नेपाली स्कूल जान थाल्यौं । मसिना नानीहरुका कलिला औंलाहरुमा पेन्सिल राखिदिएर हामीले नेपालीमा घुमाउन थाल्यौं । अङ्ग्रेजी मिल्ने मिल्ने अक्षरलाई टपक्क टिपेर नेपालीमा अक्षरका फुर्का जोडन सिकायौं । सकिने बेलामा दिएको खाजा पढे वापतको पुरस्कार जस्तो भएछ उनिहरुलाई । उनीहरु त हरेक हप्ता खुशी भएर आउन थाले । आएपछि केही सिकेर जान थाले । नभन्दै केही महिनापछि बोल्न नसक्नेहरुबोल्न सक्ने भए, अलिअलि अक्षर फुटाउन सक्नेहरु मजाले पढ्न सक्ने भए र थोरै बोल्न, थोरै पढ्न सक्नेहरु मजाले लेख्न सक्ने पो भए ।
हामीले शुरु गरेको नेपाली पाठशालाको उदेश्य नानीहरुलाई पाँच कक्षासम्मको नेपाली पाठयपुस्तक पढ्न र लेख्न सक्ने बनाउनु भएकोले २०१५ मा एकजना आयुश्मा शर्मा र २०१७ मा दुईजना सम्पदा आचार्य र सगुन आचार्य दिक्षित अर्थात ग्रयाजुएट पनि भएका छन । अहिले स्कूलमा ५० जना विद्यार्थिहरु हरेक हप्ता आउँछन । नयाँ आउने विधार्थीहरुको चापाचापले कतिलाई अर्को वर्ष पख्नुस है भन्नु परेको छ ।
अनौपचारिक रुपमा अबिभाबकहरुबाटै चलेको नेपाली पाठशालामा अहिले ६ जना नयाँ र पुराना शिक्षक शिक्षिकाहरुले हप्ताको एक घण्टा ती पचासै जना विधार्थी भाइ-बैनीहरुलाई पढाइरहेको कुरा लेख्न पाउँदा असाध्य खुशी लागेको छ । गतवर्षसम्म स्वंयसेवक भएर सङ्गै पढाइरहेका मध्यबाटै केही शिक्षिकाहरुसङ्ग मैले भलाकुसारी पनि गरेकी छु । मैले वहाँहरुलाई सोधेका प्रश्नको उत्तर जस्ताको त्यस्तै लेख्दै जानेछु । खबर पाउँ है तपाईंहरूलाई कस्तो लाग्छ ?
नोट: स्वयंसेवी शिक्षकहरूसङ्गको कुराकानी क्रमसः केहीदिनपछि राखिनेछ । – नेपाली पोष्ट