हाम्रा छोरा-छोरी आफ्नै घर परिवारमा परायजस्ता नबनुन् भनेर नेपाली पढाइरहेछु – सुजाता ढुङ्गेल
|अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा बिगत १२ बर्षदेखि नेपाली मूलका बालबालिकाहरूका लागि सञ्चालित नेपाली भाषा पाठशालाको स्वयम्सेवी शिक्षक नम्रता गुरागाईंले सोही पाठशालामा स्वयम्सेवी शिक्षककारुपमा नेपाली भाषा र संस्कृति सिकाइरहनु भएकी शिक्षिका सुजाता ढुङ्गेलसङ्ग गर्नु भएको कुराकानीको सम्पादीत अंश यहाँ प्रस्तुत छ –
१. मातृभाषा भनेको के हो ? यसको महत्व के छ ?
एउटा शिशु यो धर्तीमा जन्मने बित्तिकै उसकी आमाले उसँग आत्मिय भाव मिसाउँदै बातचित गर्न थाल्छन् चाहे त्यो बालकले आमाका कुरा बुझोस् या नबुझोस् । त्यसै भाषा, त्यसै बोलीबाट आफ्नो चालचलन, संस्कृतिले सिंचित गर्दै उक्त बालकलाई आमाले नै वास्तविक जीवन प्रदान गर्छिन ।
उक्त बालक हुर्कदै जाँदा सोही भाषाका ब्यक्तीहरुसँगको उठबस र सेरोफेरोमा हुर्कन्छ । जसबाट उसले आफु को हुँ भनेर औंल्याउन सक्ने हुन्छ । त्यसैले, वास्तवमा भन्नु पर्दा आफूलाई जन्म दिने आमा र त्यही सेरोफेरोबाट प्रस्फुटित भाषा नै मातृभाषा हो । आमाबाट जुन भाषा सिकिन्छ,त्यो नै मातृ भाषा हो ।
२. तपाईं किन अमेरिकामा जन्मेर हुर्कदै गरेका भाइबहिनीहरुलाई नेपाली भाषा सिकाउनु हुन्छ ?
हामी बिभिन्न कारणबश नेपालबाट अमेरिका आयौं,यहीं बस्यौं । थाहा छैन, कहिलेसम्म बसिन्छ । हामी विदेशिएका कारणले हाम्रा सन्तती आज बिदेशमा जन्मिरहेका,हुर्किरहेका छन् । उनीहरु नेपालीका सन्तान हुन् । उनीहरुको नैसर्गिक अधिकार हो नेपाली भाषा सिक्न पाउनु । कसले र कसरी नेपाली भाषा सिकाइदेला मेरा सन्तानलाई भनेर मैले कुरेर बस्दा ढिलो भइसकेको हुन्छ भन्ने त्रासले मैले आँफै नेपाली सिकाउन सन् २००७ देखी निरन्तर लागिरहेको छु । भबिष्यमा यदि यि सन्तानले नै “मलाई नेपाली किन नसिकाएको बालकाकालमा“ भनेर प्रश्न गर्दा हामीलाई ग्लानी नहोस, आफ्नो देश नेपाल जाँदा हाम्रा सन्तती हाम्रै घरपरिवारमा पनि परायजस्ता नबनुन् भन्नका लागि नेपाली सिकाएको हो अहिले ।
मान्छेलाई जे कुराको अभाब हुन्छ नि त्यसैको महत्व ज्यादा हुन्छ । नढाँटी भन्नु पर्दा हामी सब भौतिक सुखसुबिधा खोज्दै अमेरिका आयौं र ति सबै सुबिधा र सम्पन्नतामा हाम्रा सन्तानहरु हुर्कदै छन तर उनिहरुलाई यो सम्पन्नताको कुनै महत्व हुँदैन किनकी उनीहरुले बिपन्नता देखेकै छैनन् । भोली कुरा बुझ्ने भएर नेपाल जाँदा त्यहाँ नेपाली भाषा नजानेको पछुतो वा समस्या नपरोस् हाम्रा सन्ततीलाई भन्नका लागि नेपाली सिकाएको हौँ ।
आफ्ना आमा बाबु, इष्टमित्र सारासँग हाम्रा सन्तानले सधैं सहजै आत्मसाथ गर्न सकुन् भन्नको लागि र बिदेशमा बसेतापनि नेपाली भाषाको सेवा गरेर नेपाल आमाप्रती आफ्नो कर्तब्य पालना र उनीहरू माथि न्याय गर्दै आत्मसन्तुस्टी लिनको लागि म अमेरिकामा जन्मिएर हुर्किएका भाइ
बहिनिहरुलाई नेपाली भाषा सिकाउँछु ।
३. नेपाली भाषा सिकाउन कत्तिको सजिलो छ त ?
एकदमै कठिन छ । त्यसमा पनि बिदेशमा (अमेरिकामा) जन्मे हुर्केका केटाकेटिलाई नेपाली भाषा सिकाउनु ज्यादै जटिल कार्य हो । न स्कुलमा सुन्छन् कसैले नेपाली बोलेको, न रेडियो टिभीमानै आउँछ नेपाली कार्यक्रम, न बाहिर पसल तिर नै कतै कसैले बोलेका हुन्छन् । अझ त्यस माथि कती जनाको त घर भित्र पनि बाबुआमाले अङ्रेजी भाषामा नै कुराकानी गरिदिंदा ति कलीला केटाकेटिको मनस्थितिमा नेपाली भाषाले एउटा त्यान्द्रो जतीपनि ठाउँ पाएको हुँदैन । उनीहरुमा नेपाली भाषा प्रती वितृष्णा जागेको हुन्छ । उनीहरुलाई सकभर नेपाली बोल्न नपरे हुन्थ्यो जस्तो हुन्छ, पढ्न नपरे हुन्थ्यो ज्स्तो हुन्छ अझ त्यस माथि लेख्न त झनै नपरे हुन्थ्यो जस्तो हुन्छ । यस्तो स्थितिका केटाकेटीलाई नेपाली कक्षा हप्ताको एक दिन, एक दुई घण्टा मात्र पढाएर बोल्न, लेख्न र पढ्न सिकाउने कुरा कुनै पनि हालतमा चानचुने कुरा होइन ।
हाम्रो नेपालका बिकट जिल्लाहरु जस्तै हुम्ला, मुगू, डोटी जस्ता जिल्लाका विद्यार्थीहरुलाई अङ्रेजी भाषा सिकाउन र बिदेशमा जन्मे हुर्केका बालबालिकालाई नेपाली भाषा सिकाउन उत्तिकै चुनौतीपूर्ण कार्य हो। सिकाउन गाह्रो हुन्छ भनेर, अथवा यसरी सिकाएर कतिन्जेल साध्य लाग्छ र भनेर सिकाउन नै कोशीश नगर्नु भनेको युद्ध भूमिमा शत्रुसँग सामना नै नगरि डराएर घुंडा टेक्नु जस्तो हो । म योद्धा हुँ म आफु जन्मेको थलो छोडेर आएको एक जवान ब्यक्ती हुँ । मैले नेपाली भाषालाई माया गर्छु त्यसैले यो युद्ध रुपी वातावरणमा पनि म सब चुनौतिको सामना गर्दै मैले सके जती, मेरो जिउ ज्यानले धानेसम्म म लडिरहन्छु, सिकाइरहन्छु, कर्म गर्दै जाँदा फल अवश्य मिल्छ ढिलो चाँडो भन्ने कुरामा विश्वास गर्छु ।
४. निरन्तर रुपमा नेपाली भाषा सिकाउन कसरी सम्भब भएको छ ? कसैले सहयोग गरिराखेको छ कि ?
प्रश्नमा यहाँले सहयोग मात्र भन्नु भयो यदि आर्थिक सहयोगको कुरा गर्नु भएको हो भने चाँही त्यसको उत्तर “शुन्य“ छ (हँस्दै हा..हाँ…हाँ…) । मैले कहिल्यै पनि शुल्क लिएर नेपाली भाषा पढाउने वा सिकाउने गरेको छैन आजका दिनसम्म, भोली के हुन्छ थाहा छैन । अन्य कुरामा पक्कै सहयोग छ नत्र कसरी यती लामो १२ बर्ष सम्म निरन्तर लागिरहन सक्थें र ? सबैभन्दा ठूलो सहयोग मेरो श्रीमान सुनिल ढुंगेलको छ जसले शनिबार आइतवारको समयमा स्वयंसेबक भएर नेपाली भाषा पढाउन जाँदा आजसम्मा एक पटक नजाउ भन्नु भएको छैन । सधैं मलाई उत्साह र जांगर भरिदिने मेरा श्रीमानलाई यसै अन्तर्वाताको माध्यमबाट धन्यवाद दिन चाहन्छु । उहाँको साथै मेरा तिनै जना छोरा छोरी सुकृति, सुहानी र सुभमहरुको पनि सहयोग छ । कुरा बुझिदिन्छन आमा ब्यस्त छे संधै भनेर । उनीहरुलाई सरसफाइ गरिदिने बेला, पार्कमा खेलाउन लाने बेला, बजार घुमाउन लाने बेलामा मैले नेपाली कक्षा जानु पर्छ भन्दा जान्न भन्दैनन् ।
कती पटक त नेपाली कक्षा भएकै बेलामा उनीहरुका साथीहरुको जन्मदिनको परेको हुन्छ तर उनिहरुलाई थाहा छ नेपाली कक्षा पछि मात्र वा अघी मात्र साथीको जन्म दिनको पार्टीमा जान पाइन्छ वा जानुपर्छ । त्यसमा उनीहरुले कहिल्यै झगडा गर्दैनन् । मलाई अहिले एउटा कुराको याद आयो, मैले नेपाली भाषा पढाउन शुरु गर्दा सानी छोरी ३ बर्षकी थिई । छोरा सुभमलाई त मैले २ महिनाको हुँदा देखी कारसिटमा बोकेर नेपाली भाषा पढाउन जान्थें । पारिवारिक सहयोग यसरी प्राप्त भएको छ मलाई ।
यसको अलावा २००७ देखी २०११ सम्म नेब्रास्का नेपाली सोसाइटी र २०१२ देखी हालसम्म नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाले नेपाली भाषा सिकाउने, पढाउने एउटा नेपाली पाठशाला रुपी चौतारीको बन्दोबस्त गरिदिएको छ जुन चौतारीमा मलाई बिभिन्न गुरु तथा गुरुआमाहरुले सधैं मद्धत गर्नुहुन्छ पढाउनका लागि । तिनै गुरुआमाहरु मध्येकि एक तपाईं ( नम्रता गुरागाईं) पनि हुनुहुन्छ । सधैं साकारात्मक सोचले निरन्तरता दिने केही अभिभाबकहरु हुनुहुन्छ उहाँहरुको शुभकामनाले पनि मलाई अघी बढ्न सहयोग भइरहेको छ ।
५. अमेरिकी ब्यस्त जीवनमा भाषा सिकाउन कसरी समय निकाल्नु हुन्छ ?
अरुको जस्तै ब्यस्त छ मेरो जीवन पनि । सोमबार देखी शुक्रबारसम्म बिहान ८ बजेदेखी साँझ ५ बजेसम्म कार्यालयमै हुन्छु । साँझ ६ बजे देखी ९ बजेसम्मको समयमा छोरा छोरीलाई बिभिन्न अतिरिक्त कृयाकलापका कक्षामा ल्याउँदा लाँदा, उनीहरुलाई खुवाइ पिलाई, गृहकार्य गराउँदा गराउँदै निद्राले छोपिसकेको हुन्छ । बाँकी रह्यो शनिबार र आईतवार त्यही २ दिनमा बाँकी सम्पूर्ण सामाजिक कार्यलगायत आफ्नो घरको काम सिध्याउनु पर्छ । सोही दिन अलिकती समय परिवारसँग सुटुक्क चोरेर नेपाली पढाउन जान्छु । भनिन्छ नि जहाँ इच्छा त्यहाँ उपाय ।
६. तपाईंले पढाएका विद्यार्थिहरुसँग तपाई के आशा राख्नु हुन्छ ?
कक्षामा निरन्तर रुपमा आऊन । कहिले आउने कहिले नआउने नगरुन् । यत्ती दु:ख गरेर पढाएको बालुवामा पानी हाले झैं खेर नजाओस् । नेपाली कक्षामा आएर मात्र पनि हुँदैन कमसेकम घरमा पनि हप्तामा एकपटक आमा-बबासँग बसेर पढुन् र गृहकार्य गरेर ल्याउन् । नेपाली भाषा र संस्कृतिलाई पनि एउटा अभिन्न अंगको रुपमा लिउन्, लेखुन्, पढुन्, एउटा असल नागरिक बनुन्, आफू बसेको समाज र नेपाली समाजलाई सधैं गरिमामय बनाउन् । नेपाली भाषालाई पनि आफ्नो उन्नतीको शिखर सम्म पुर्याउन् । अनी उनिहरुले त्यसमा गर्व गरुन् र हामीलाई पनि गौरवान्वित तुल्याउन् । त्यती गर्दा गर्दै पुनः नेपाली भाषा अर्को पिंढिमा सार्ने बेला भईसक्छ । अहिले मैले सिकाए झैं मेरा विधार्थीले पनि भोली नयाँ आउने पिंढिलाई नेपाली भाषा सिकाउँदै जाउन् । नेपाली भाषालाई विदेशमै (अमेरिकामै) बसे पनि अजम्बरी बनाइरहुन् ।