गजल
|मन उदास भो वियोगले
सुख लुटे असंख्य शोकले
रहर,चाहना भए धुजा
विरह झाङ्गिदै छ क्षोभले
जड भए समग्र चेतना
नयन चिम्लिए प्रबोधले
नियतिको सधैँ छ ताडना
थिलथिलो छ देह चोटले
बिलखबन्द छन् प्रकल्पना
जलन मात्र भो विमोहले
अधिक शून्य भो जताततै
दिन सकेन शान्ति ओतले
भल बहन्छ रोज आँसुको
डगर बिर्सिए विनोदले
कति जुधौँ विदीर्णता सँग
सकस भो अनन्त बोझले
दिनदिनै छ घात दैवको
सब व्यथा कहन्छ डोबले
हुरहुरी बले उपासना
हरण भो खुसी निचोडले
मलिन भो सदैव जिन्दगी
चहक छेकिँदै छ ओसले
lll SIS ISI S
छन्द:– मनोरमा
विश्राम:- ६ अक्षर