कारण

कारण
जे पनि हुनसक्छ
जस्तो पनि हुनसक्छ
जो पनि हुनसक्छ

तर पनि मानिस भन्छन्
“तेरै कारण”

नराम्रो कुराहरू जति सबै
“तेरै कारण”
“तिम्रै कारण”
“तपाईँकै कारण”
“हजूरकै कारण”

दोष थोपर्न कति सजिलो छ

घाँटी खसखस गर्यो
“फलानोको कारण”
अपजस आयो
“ढिस्कानोको कारण”
लड्यो, चोट लाग्यो
“सराप्नेको कारण”
अशुभ केही आइलाग्यो
“बिरालोले बाटो काटेको कारण”
नराम्रो घटना घट्यो
“उल्का खसेको कारण”
ज्योतिषी भन्छन्
“खराब ग्रहको कारण”

फेल भयो
घाटा लाग्यो
जुवा हार्यो
खेल हार्यो
काम बनेन
चुनाव हार्यो
ब्रेक-अप भयो
“सबै सबै अरुको कारण”

राम्रो कुरा काम जति चाहीँ
“मेरै कारण”

मानिसको जातै यस्तो
गाउँ खाने कथा जस्तो
राम्रो “कारण” जति आफ्नो भन्ने
नराम्रो “कारण” जति अरूलाई भिडाउने

Add a Comment

Your email address will not be published. Required fields are marked *