मीनाको ममता र नमुना बाल गृह
|समाजसेवाप्रतिको अभिलाषा
बि सं २०५७ सालमा महिला विकास तथा बालबालिका चेतना केन्द्रद्वारा असहाय बृद्ध अनाथ आश्रम नामक गैरसरकारी संस्था दर्ता गरेर काम थाल्दा मिनाले ‘कमाइखाने’ भाँडो बनाउन खोजेको भन्दै कतिपयले कुरा काट्दा उनलाई राम्रो काम गर्न खोज्दा पनि साथ नपाइने हो कि भन्ने भयले सताएको थियो । तर, मिनाको दिगो र दूरदर्शी योजना मुताविक उर्लाबारी–७ मा बाल गृह सञ्चानमा ल्याइएको पनि अब १८ वर्ष भइसकेको छ ।
बि सं २०२२ सालमा १० वर्षकै उमेरमा मोरङबाट विवाह गरेर ताप्लेजुङ पुर्याइएकी मिनाको वैवाहिक जीवन सफल हुन नसक्नु नै यो बालगृह जन्मिने मुख्य कारण हो । त्यतिबेला पढ्ने उमेरमा विवाह भएकाले पछुतो मानिरहेकी उनले नयाँ घरमा लामो समयसम्म संघर्ष गरिरहिन् । तर, श्रीमानले अर्की श्रीमती थपेर आफूलाई पाखा लगाएपछि आत्मसन्तोष र शान्तिको खोजी गर्दै उनी समाज सेवामा लागिन् । आफूले सानैमा विवाह गर्दा भोगेको जस्तो पीडा अरू कुनै पनि अनाथ बालबालिकाले भोग्नु नपरोस् भनेर मोरङ्को उर्लाबारीमा असहाय बृद्ध अनाथ आश्रम खोल्ने निधो गरिन् । उनको यो अभियानमा अन्य महिलाहरुले पनि होस्टेमा हैँसे गरे ।
मिनाकै योजनामा सञ्चालनमा ल्याइएको नमूना बाल गृह प्रदेश नं. १ कै उत्कृष्ट बाल गृहकारुपमा रहेको छ । समाजसेवाप्रति उत्साहित मिना आफ्नो पीडा भुलेर आज ४६ जना बालबालिकाहरुको हेरचार गरिरहेकी छिन् । उनी बाल गृहमै बसेर बालबालिकाहरुको हरेक गतिबिधि नियाल्छिन् र मालीले बगैँचा चाकर गरेझैँ हेरचाह गर्छिन् । मिनालाई बाल गृहमा रहेका बालबालिकाले ‘आमा’ भनेर सम्वोधन गर्छन् । दिनरात नभनी तीबालबालिकाको सेवामा उनी जुट्ने गर्दछिन् । काखे शिशुदेखि उच्च मावि तहसम्म पढ्ने बालबालिकाकी आमा हुन्, उनी । उनले अनाथ बालबालिकालाई सहयोग गर्नु सबैभन्दा ठूलो मावन धर्म ठानेकी छिन् । त्यसैले पनि उनी आफ्नो गच्छेअनुसारको मानव धर्ममा निरन्तर सक्रिय भएर लागिरहेकी छिन् । मिना भन्छिन ‘सुरुमा विरोध गर्नेहरुले पनि अहिले मलाई सकारात्मक रूपमा लिन थालेका छन् ।’
समाजमा उनको कामप्रति सकारात्मकता बढेपछि उनलाई थप उर्जा मिल्यो। आफ्नो लगाव र मेहनतका कारण समाजसेवाका कर्महरुमा कम बाधा अड्चन आएका छन् । उनी निरन्तर आफ्नै गतिमा समाजसेवामा हिँडिरहेकी छिन् । समाज विकासको राजमार्गमा उनको यात्रा निरन्तर छ । उनी यसैमा निरन्तर लागिरहन चाहन्छिन् ।
वैवाहिक जीवन विफल भएपछि अर्को बिहे गरेर सीमित सन्तानकी आमा बन्ने अवसर छाडेर असंख्य सन्तानकी आमा बन्ने अवसर संगालिरहेकी मिना अहिले मुलुककै उदाहरणीय आमा गनिएकी छिन् । अहिले मीना बरालका ४६ जना सन्तान छन् । मीनाले त्यति धेरै सन्तानलाई आफ्नै कोखबाट जन्म नदिए पनि सबैका लागि जन्म दिने आमाकै बराबर ममता दिएर हुर्काइरहेकि छन् ।
थपिए एकसे एक सहयोगी हातहरू
स्थापनाकालमा उर्लाबारी–६ स्थित राधिका माविले आश्रमका लागि चार कट्ठा जग्गा उपलब्ध गराएको थियो भने स्थानीय समाजसेवी सर्वलाल धिमालले पनि २ कट्ठा जग्गा प्रदान गरेका थिए । स्थानीय पूर्व मेजर हर्कबहादुर राई, हेमराज न्यौपाने, कालिमाया श्रेष्ठ, शोभित निरौला, अनन्त बराल, खड्गकुमारी ढुंगानालगायतले १४ कट्ठा जग्गा दिएका थिए । हाल १ विघा क्षेत्रफलमा बाल गृह रहेको छ । बाल गृहको ९ कोठाको दुई तले भवन, ४ कोठाको पक्की दुई तले भवन, २ कोठा व्यवस्थित भान्सा घर, जस्ताको छानो लगाएको पक्की संरचनाकै गाईगोठ रहेको छ । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पहलमा भारतीय दूतावासले आश्रमलाई एबुलेन्स प्रदान गरेको थियो । उक्त एबुलेन्स हाल बालगृहले नै हुर्काएका एक युवकले चलाउँछन् ।
बि सं २०५८ सालमा सञ्चालक समितिले सप्ताह पुराणको आयोजना गरी एक कोठाको भौतिक संरचना निर्माण गर्यो । त्यसपछि सहयोगी दातासँग अनुरोध गरेपछि ९ जनाको परिवारले एक-एक कोठा बनाइदिए । स्थानीय समाजसेवी गंगाप्रसाद- गायत्रा खरेल, पूर्व क्याप्टेन लालबहादुर-कृष्णदेवी राई, गंगादेबी भट्टराई,रिता कार्की,राधा निरौला,मानबहादुर फागो,कृष्णकुमार राई र राधिका खड्काले १-१ कोठा भवन निर्माण गरिदिए । त्यस्तै उर्लाबारी– ४ का खगेन्द्र राई र श्याम राईको सक्रियतामा ८ जनाको संयुक्त लगानीमा दुई कोठा भवन निर्माण गरिएको छ ।
झाँगिदै छ साझा फूलबारी
बि सं २०५९ सालमा आश्रमको भवन निर्माण पूरा नहुँदै मीनाले ७ जना असहाय बालबालिका र दुई जना बृद्धबृद्धालाई आफ्नै घरमा राखेर पालनपोषण थालेकी थिइन् । भवन निर्माण सम्पन्न भएसँगै आश्रममा बालबालिका र बृद्धबृद्धालाई स्थानान्तरण गरियो । त्यसपछि अरु असहाय बालबालिका र बृद्धबृद्धा पनि थपिन थाले । हाल मेचीदेखि महाकालीसम्मका २२ जिल्लाका ४६ जना बालबालिकाहरु यहाँ आश्रित छन् । बिकट कर्णाली प्रदेशको दैलेख, पाल्पा, चितवन, भक्तपुर, ओखलढुंगा, खोटाङ, भोजपुर, सखुंवासभा, तेह्रथुम, धनकुटा, उदयपुर, सुनसरी, मोरङ, झापा, इलाम, ताप्लेजुङ, पाँचथरलगायत जिल्लाका बालबालिकाहरु यहाँ एकै छानामुनि हुर्किरहेका छन् । जसमा लोपोन्मुख चेपाङ, अल्पसंख्यक धिमाल, उच्च हिमाली क्षेत्रका शेर्पा, तराईका दनुवार, दलित, बाहुन, क्षेत्री, राई, लिम्बु र मधेशी समुदायका बालबालिका छन् ।
मिनाले थालेको यो अभियानमा स्थानीय समाजसेवी तथा महिला नेतृहरु भागिरथा अधिकारी, सितादेबी निरौला, अतिहिरा राई, हिरादेबी राई, चन्द्रकला गौतम, सुशिला थापा, कविता थापा, देवका खनाल, मिनादेबी कार्की, लक्ष्मीदेबी सुब्बा र रामप्यारी तामाङले सुरुवाती चरणमा साथ र हौसला दिएका थिए । र, कतिपय अझै पनि उत्तिकै सकृय रहेका छन् । महिलाहरुको समूहबाट मात्र सुरुवात गरिएको आश्रमबाट बृद्धबृद्धाहरुको उचित व्यवस्थापनसँगै नमूना बाल गृहको अवधारण विकास गेर तदनुरुप कार्य सञ्चालन गरियो । महिलाहरुको अगुवाईमा थालिएको यस सामाजिक अभियानमा २०६५ सालदेखि पुरुषहरुको पनि सहभागीता रह्यो । सञ्चालक समितिमा महिलाहरुको ६० प्रतिशत र पुरुषहरुको ४० प्रतिशत प्रतिनिधित्व रहेको छ ।
बाल गृहको अध्यक्षमा मिना छिन् भने उपाध्यक्षमा भागिरथा अधिकारी छिन् । त्यस्तै, सचिबमा तेजबहादुर घिमिरे (जीवन), सह–सचिबमा सुशिला थापा र कोषाध्यक्षमा इन्दिरा खनाल रहेका छन् । त्यस्तै, सदस्यहरुमा हिरादेबी राई, कल्पना राई, केदार नेपाली, प्रल्हाद थापा, खगेन्द्र गुरागाईं र तेजबहादुर थापा रहेका छन् । सोही गृहकी बालिकाको नामबाट यसको नाम नमूना बालगृह राखिएको हो ।
बालगृह सञ्चालन गर्न वार्षिक १८ लाख रुपैयाँ खर्च हुन्छ । खानपान, स्वास्थ्य उपचार, शिक्षा, शैक्षिक सामग्री, लत्ताकपडालगायतमा मासिक १ लाख ५० हजार भन्दा बढी रकम खर्च हुने गरेको छ । यहाँकोे खर्च सहयोग दाता र ऋणपानकै भरमा चलिरहेको छ । संस्थापक अध्यक्ष मिनाले आफ्नो भएभरको सम्पत्ति बालगृहको नाममा हस्तान्तरण गरिसकेकी छिन् । मिनाले गृहलाई आफ्नो सम्पत्ति बिक्रीबाट आएको ७० लाख रुपैयाँ बालबालिकाको भबिष्य निर्माणका लागि प्रदान गरेकी हुन् । अध्यक्ष मिनाले प्रदान गरेको र गृहको अक्षकोषमा रहेको रकमले उर्लाबारी–७ को बैँशाबारीमा एक विघा ५ कट्ठा जग्गा खरिद गरिएको छ । उक्त जग्गामा नमूना कृषि फार्म दर्ता गरी सञ्चालन गर्ने प्रक्रिया थालिएको छ ।
शिक्षा, रोजगारी र आत्मनिर्भार्ताको बाटो
बालगृहमा रहेका दुई जना बालिका कक्षा ११ मा कृषि बिषय लिएर अध्ययन गरिरहेका छन् । त्यस्तै, ५ जना उच्च शिक्षा लिइरहेका छन् भने ८ जना स्थानीय निजी विद्यालयहरुमा अध्ययरत छन् । त्यस्तै, उर्लाबारी–८ को लक्ष्मी माबिमा १२ जना अध्ययरत छन् भने २ कक्षासम्मका १९ जना बालबालिका सोही गृहमा रहेको नमूना सदनमा पढ्छन् । उनीहरूमध्ये केहीको शुल्क विद्यालयहरुले छुट दिएका छन् भने केहीको बालगृहले नै व्यहोर्ने गरेको छ । बालगृहभित्रै चल्नेगरी दर्ता भएको नमूना शिक्षा सदन पनि पाँच वर्षदेखि निरन्तर सञ्चालनमा छ । तिन कक्षासम्म जिल्ला शिक्षा कार्यालय मोरङबाट स्वीकृति प्राप्त गरेपनि आवश्यक सहयोग नजुटेका कारण २ कक्षासम्म मात्र सञ्चालनमा आइरहेको छ । बालगृहमा रहेको नमूना बाल केन्द्रमा एक जना सहयोगी शिक्षिकालाई मासिक रुपमा ३ हजार रुपैँयाबाहेक अन्य सहयोग राज्यबाट प्राप्त नभएको गृहकी सहसचिब सुशिला थापा बताउँछिन् । स्थानीय गरिब तथा विपन्न तथा गृहका १९ जना गरी ३६ जना बालबालिकाहरु नमूना शिक्षा सदनमा २ कक्षासम्म अध्ययन गर्ने गरेको उनले जानकारी दिइन् । बाल गृहमा रहेको विद्यालयमा आवश्यकअनुसारको शिक्षकहरुको ब्यवस्था नभएकाले पठनपाठनमा समस्या हुने गरेको छ । देशविदेशमा रहेका सहयोगीदाताहरुको भरमा चलिरहेको बाल गृहमा सरकारी सहयोग भने अझै पुग्न सकेको छैन ।
सञ्चालक समितिले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारसम्म बालगृहका बारेमा जानकारीसहित सहयोगका लागि पटकपटक हारगुहार गरेपनि सहयोग हात परेको छैन । प्रदेश सरकारका मन्त्रीहरु बालगृहमा पुगेर प्रत्यक्ष अवलोकन पनि नगरेको होइन । प्रतिनिधिसभाकी उपसभामुख उर्लाबारी निवासी शिवमाया तुम्वाहाम्फे, मोरङ क्षेत्र नं. १ का प्रतिनिधिसभा सांसद घनश्याम खतिवडा, प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल)लगायतले बालगृहको प्रत्यक्ष अवस्थाबारे निरीक्षण गरी आवश्यक सहयोगका लागि पहलकदमी गर्ने प्रतिबद्धता भने जाहेर गरेका छन् ।
यतिबेला बाल गृहमा महिला र पुरुषका लागि छुटाछुट्टै भवन आवश्यक रहेको तथ्य बालगृहका सदस्य प्रह्लाद थापाले औँल्याए । १६ बर्षदेखि २१ बर्षसम्मका वयस्कसमेत बालगृहमा रहेका कारण महिला र पुरुषका लागि छुट्टाछुट्टै भवनको अति आवश्यक रहेको उनको भनाई छ । भवनका लागि सञ्चालक समितिले स्थानीय सरकार, प्रदेश सरकार तथा केन्द्रीय सरकारसँग अनुरोध र ताकेता पनि गरिरहेको छ ।
आठ जनाले पाए नागरिकता
नमूना बाल गृहमा आश्रित रहेका ८ जनाले अहिलेसम्म नागरिकता लिइसकेका छन् । उनीहरुको नागरिकता बालगृहले नै बनाइदिएको हो । यहाँ बस्ने प्रत्येक बालबालिकाको जन्मदर्ता उर्लाबारी नगरपालिकाले गर्नेे गर्छ । जिल्ला प्रशासन कार्यालय मोरङमार्फत बाल गृहले नागरिकता बनाइदिने गरेको अध्यक्ष मिनाले बताइन् । नागरिकता बनाउँदा बाबु वा आमाले गर्ने सनाखत बालगृहले नै गर्दा अहिलेसम्म कुनै कानूनी र व्यवहारिक अड्चन भने नदेखिएको उनको भनाई छ । सबैको साथ र सहयोगका कारण नागरिकता बनाउन सहज भएको उनी
बताउँछिन् । बालगृहमा आश्रित ७ जना सक्षम भइ हाल अध्ययनसँगै रोजगारीसमेत गरिरहेका उनले बताइन् । उनीहरुलाई आफन्तको खोजी गरी पुर्नस्थापित गरिसकिएको छ । त्यस्तै, रीता विकले गृहबाटै विवाह गरी आफ्नो घरजम गरेर बसेकी छिन् भने राम राउत बाल गृहकै एबुलेन्स चलाउँछन् । राउतको पनि बाल गृहबाटै विवाह गराउने मिनाको योजना छ ।
बढ्दैछ एक रुपैयाँबाट एक करोड अभियान
नमूना बालगृहको दिगो आर्थिक स्रोत नहुँदा सहयोगीदाताकै भर पर्नुपर्ने अवस्था छ । त्यसलाई परिपूर्ति गर्नका लागि अहिले ‘एकरुपैयाँबाट एक करोड’ भन्ने अभियान सञ्चालनमा ल्याइएको छ । ८ हजार ५ सयजना सहयोगिदाताहरुबाट दैनिक १ रुपैयाँका दरले पाँच वर्षसम्म सहयोग संकलन गर्दा डेढ करोड रुपैयाँ बचत हुन्छ । त्यति रकम अक्षय कोषमा जम्मा गर्न सके संस्था सञ्चालनका लागि आर्थिक स्रोतको समस्या नहुने अध्यक्ष मिनाको सोच छ । अक्षय कोषलाई भने प्रभावकारी रुपमा सञ्चालन गर्नु अत्यावश्यक रहेको उनको भनाइ छ । कोष गृह सञ्चालनको दिगो आयस्रोत समेत हुने भएकाले मिनाले सबैलाई सहयोगका लागि अनुरोध गरेकी छिन् ।
बाल गृहका सारथी
नमूना बालगृहकी अध्यक्ष मिनापछि बालबालिकाको हेरचार र पालनपोषणमा खट्ने अर्की महिला हुन्, सुशिला थापा । आश्रित बालबालिकाले उनलाई पनि ‘सुशिला आमा’ भनेर सम्बोधन गर्दछन् । सुशिलाका पति विमल थापा पनि बाल गृहमै समर्पित छन् । उनीहरु दुबै बालबालिकाहरुको उज्वल भविष्य कोर्ने कार्यमा थापा दम्पति अहोरात्र खटेका छन् ।
‘बालगृहका बालबालिका बिरामी भए भने राती १२ बजे सुतेकै ठाउँबाट आउनु पर्छ,’ सुशिलाले सुनाइँन् । ‘हामीलाई बालगृहबाट कुनै नाफा लिनु छैन । बस् यी नानीहरु हुर्किएर समाजमा उदाहरणीय बनून् भन्ने कामना मात्र छ ।’ थापा दम्पतिको चाहना यही नै हो ।‘बालगृहमा टन्नै खान पाउँछन् र पो धाउँछन् भन्ने पनि धेरै भेटिए,’ उनले दुखेसो पोख्दै भनिन्, ‘हामी यहाँ खानका लागि नभएर ती अबोध बालबालिकाको भबिष्य निर्माणार्थ खटिएका हौं ।’ यस बालगृहका बालबालिकाहरुको हितमा तेजबहादुर घिमिरे (जीवन) , प्रह्लाद थापा, खगेन्द्र गुरागाई, खगेन्द्र भण्डारी, माया शेर्पा, कला दाहाललगायत निःशुल्क रुपमा खट्ने गरेका छन् ।
यसो भन्छन्- सांसद लिम्बू
बाल गृहका बारेमा प्रदेश सांसद कुलप्रससाद साम्बा (लिम्बू) भन्छन्, ‘नमूना बालगृह प्रदेश नं. १ को मात्रै होइन, मुलुककै अमूल्य निधी हो । यसको संरक्षण र प्रबर्धनका निमित्त म प्रदेश सरकारसँग जोडदार रुपमा कुराहरु उठाइरहेको छु ।’
उनी थप्छन्, ‘सामान्यतया १-२ जना छोराछोरीको आधारभूत आवश्यकता पूरा गर्न हम्मेहम्मे परिरहेको अवस्थामा मेचीदेखि महाकालीसम्मका ४६ जना अनाथ बालबालिकाहरुको हेरचार र लालनपालन गर्नु चानचुने कुरा होइन । यो महान कार्य गर्नेहरु प्रति हृदयबाटै धन्यवाद एवम् आभार प्रकट गर्दछु ।’
बालगृहका बालबालिकाको भबिष्य निर्माण गर्ने सवालमा आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता पनि उनले जाहेर गरे । निस्वार्थ रुपमा थालिएको महान अभियानलाई सार्थक बनाउन सबैलाई साथ र सहयोग गर्न पनि उनले अनुरोध गरे ।