प्रधानमन्त्री ओली आज-भोलि सन्चै हुनुहुन्छ ?

(तस्वीर साभार: प्रमको सार्वजनिक सन्देशबाट ।)

नेपाली जनबोली भन्छ- ढाँटेको कुरा काटे मिल्दैन । छोराले गाउँलेलाई भनेछ- हाम्रा बा भकारीमा लुक्नु भएको छैन !

प्रधानमन्त्री ओली केही दिन पहिले अस्पताल भर्ना हुँदा धेरैले दुख प्रकट गर्नु भयो अर्थात प्रधानमन्त्रीको शीघ्र स्वाथ लाभको कामना गर्नु भयो । खासमा प्रधानमन्त्रीको स्वास्थ अहिले अचानक यस्तो भएको होइन,उहाँको यो अबस्था १२ बर्षभन्दा पहिले देखिको हो । एक साथीले प्रम ओली अस्पताल भर्ना भएको खबर सुनाउनु भएपछी मैले भनें- यो त स्वाभाविक नै हो कि १२ बर्ष यता उहाँ अस्पतालमा नै बसे बराबरको अबस्थमा हुनुहुन्छ । अब १२-१५ दिन अस्पताल,त्यसपछि थप १२-१५ दिन घरमा आराम र त्यसपछि एकाध महिना विदेशमा उपचार । देश र जनताको स्वास्थ्य र भविष्यलाई आफ्नो व्यक्तिगत स्वास्थ्यसङ्ग बाजीमा नराखे उहाँको महानता वा त्याग देखिने थियो ।
मलाई साथीले कुनै मानविय समवेदना नभएको तँ कस्तो नादान कुरा गर्छस भनेर रिसाउनु भयो ।

प्रधानमन्त्री स्वयम्ले म सन्चै छु र मेरा बिरुध्दका अनर्गल प्रचारका बारेमा पनि म बेखबर छैन भनेर बक्तव्य नै सार्वजनिक गर्नु भयो । उहाँका बिरुद्दमा अनर्गल प्रचार गर्नेलाई उहाँकै प्रवक्ताले पुलिसका खोरमा पठाएर ठेगान लगाउनु भएको खबरपनि सार्वजनिक भएको छ । प्रधानमन्त्रीज्यूले अस्पतालको बेडमा आराम गरिरहँदा पनि डाक्टर वा अस्पतालले पनि पटक पटक यही दोहोर्याइरहेकै थिए कि प्रधानमन्त्री ओली आज भोलि सन्चै हुनुहुन्छ । नभन्दै उहाँ हाँस्दै र हात हल्लाउँदै अस्पतालबाट प्रधानमन्त्री निवास पसेको पनि निक्कै दिन बितिसकेको छ । एक दुई दिन पहिले मात्र फेरि अर्को एक डाक्टरले प्रधानमन्त्रीको स्वास्थ्यमा कुनै समस्या नभएको,पहिले पहिले पनि प्रबिधी र सिप भएको भए त विदेश जाने नपर्ने तर नहुँदा नहुँदै पनि अहिले पनि हामीले प्रमको स्वास्थ्यलाई बिग्रनबाट स्वदेशमै जोगाएका छौं भन्नु भएछ ।

प्रम ओलीको शिघ्र समग्र स्वास्थ्य लाभको कामना गरौँ हामी सबैले एक स्वरमा ।
प्रधानमन्त्री केपी शर्मा ओली अर्थात प्रधानमन्त्री खड्ग प्रसाद ओलीको स्वास्थ्य शीघ्र लाभ होस् । शीघ्र लाभ होस् । उहाँलाई रोग व्याध केहीले नछोयोस । सिमे भूमे मसाने चाण्डाल सबैको दोहोलो होस् । सबैको दोहोलो होस् ।

तर सन्चो भएर अस्पतालको ढोकाबाट हाँस्दै र हात हल्लाउँदै प्रधानमन्त्री निबास फर्केको १२-१५ दिन भैसक्दा पनि उहाँ अर्थात प्रधानमन्त्री केपी शर्मा ओली आक्लक झुक्कल घर घरायसी,पारिवारीक/साँस्कृतिक अबसरमा खोपीका देउता अर्थात कुमारी घरकी कुमारीलाई झ्यालबाट आँखा झिम्काएको देखाएजस्तो बाहेक जगतले देख्न पाएको छैन । प्रधानमन्त्री दिनभरी कहाँ के गर्नु हुन्छ ? कार्यालय जानु हुन्छ कि हुन्न ? आफ्ना मातहतका मन्त्री सांसद सचिव ,देशी विदेशी पाहुनाहरुलाई भेट्नु हुन्छ कि हुन्न ? दिन भरि कहाँ के गरेर समय बिताउनुहुन्छ ? प्रचण्ड प्रधानमन्त्री हुँदाकै बखतमा किनिएको लाख मुल्यको पलङ्गमा सिरक ओडेर सुत्नुहुन्छ कि घुम्ने कुर्सीमा खास्टो ओडेर बस्नुहुन्छ ?हाँस्नु हुन्छ कि हुन्न ? मान्छे चिन्नु हुन्छ कि हुन्न ? वरिपरि धामी झाँक्री बैध वा डाक्टर आदी अगाडी राखेर बस्नु हुन्छ कि ? दिनभरि एक्लै टोलाएर पो बस्नु हुन्छ कि ? दिनभरी पत्रिका पढेर वा रेडियो टिभी हेरेर सुनेर पो बिताउनु हुन्छ कि के गर्नु हुन्छ होला ? सामाजिक सञ्जालमा कहाँ कसले के आफ्ना बिरुध्द अनर्गल प्रचार गरेर भनेर खोजेर प्रहरीमा रिपोर्ट पो गर्नु हुन्छ कि ? बिहान बेलुका केही खानु हुन्छ की हुन्न ? माड मधुरो गिलो खोले जाउलो फलफूल के खानुहुन्छ होला ? डाक्टरलाई नसोधी कसैसँग बोल्न सक्नु हुन्छ कि हुन्न ? कसैको हात नसमाती हिंड्न गाह्रो पो हुन्छ कि ? यो यावत कुरा जनता जान्न चाहन्छन भन्ने कुरा उहाँ स्वयम् प्रधानमन्त्री ज्यूले चैं थाहा पाउनु हुन्छ कि हुन्न कुन्नि ?

नेपालको इतिहासकै कुरा गर्ने हो भने पृथ्वीनारायण शाहले एकीकरण गरेको राज्यको उहाँ पुग नपुग ४० औं प्रधानमन्त्रि हो । हामीले स्कूल पढ्दै अढाई सय बर्ष पुरानो राजसंस्था भनेकै ५० बर्ष हुनथालिसक्यो । त्यस यताका कति बर्षमा बागमती नदीमा कति पानी बग्यो ? राजदरवारमा कति रगत बग्यो ? मेची महाकालीमा कति नेपालीको रगत कसरी वा किन कति बग्यो त्यसको सबै नालीबेली कसलाई थाहा छैन होला र ? प्रधानमन्त्रीज्यूले यो सबै बिर्सनु भयो होला भनेर जनताको मन मान्दै मान्दैन ।

कतिपय शासकहरूमा आफू नै सर्बोच्च परमाधिपति भएको घोषणा गरेका वा बंशमा सता जाने र बंशकै उतराधिकारीलाई त्यो पनि आफूलाई मन परेको ल्याइते ब्याइते काइते जो होस् उसैलाई मात्र सता सुम्पन पर्ने अबस्थामा केही देशमा यस्ता प्रयास भएका इतिहास सुनाउनु हुन्छ इतिहासका विज्ञहरू । तर अब हाम्रो सन्दर्भमा त यस्तो घोषणा भएको गरेको पनि थाहा छैन र अब वंशमा सता जाने पनि त होइन ! तर आखिर किन यस्तो भैरहेछ ? जनताले जान्न पाउनु पर्ने होइन र ?!

राजनिती र सता सङ्घर्षको विश्व प्रसिध्द उदाहरण हो महाभारत युध्द । यसले दिने शिक्षा र सन्देश यो पनि हो- शिखरमा चढ्नु मात्र बहादुरी वा बुध्दिमानी होइन । शिखरमा चढ्न जान्नेले समयमा शिखरबाट तल ओर्लन सकेन भने अभिमन्यूको नियति पनि त भोग्नुपर्छ ! यो नियति भौतिक/हिँसा मात्र नभएर मानिसले प्राप्त गरेको मान सम्मान र अवसर पनि हो । महाभारत युद्दको अकर्मण्यताको उदाहरण सन्देश वा पाठ भनेको गल्ति दोहोर्याउनका लागि होइन,सच्याउन वा नदोहोर्याउनका लागि हो । समयलाई कसैले पनि रोकेर राख्न वा अनिर्णयको बन्दि बनाएर राख्न पनि सक्दैन । जुनसुकै जटिल अबस्थाको पनि १ दिन ढिलो छिटो निकाश सम्भव छ ।

प्रधानमन्त्री के पी ओली अर्थात खड्गप्रसाद ओली सन्चै हुनुहुन्छ । प्रम ओलीको शिघ्र समग्र स्वास्थ्य लाभको कामना गरौँ हामी सबैले एकस्वरमा ।प्रधानमन्त्री केपी शर्मा ओली अर्थात प्रधानमन्त्री खड्ग प्रसाद ओलीको स्वास्थ्य शीघ्र लाभ होस् । शीघ्र लाभ होस् । उहाँलाई रोग व्याध केहीले नछोयोस । सिमे भूमे मसाने चाण्डाल सबैको दोहोलो होस् । सबैको दोहोलो होस् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *