नयाँ शाषक
|सदियौँदेखि अँध्यारो छ यहाँ । कालोनीलो छ चारैतिर । छैन अर्थोक केही यहाँ अन्धकार शिवाय ! छामछाम छुमछुम छ जिन्दगी । अति कोलाहलग्रस्त भएर पनि चारैतिर घोर सन्नाटा छ । घनघोर दुःखमा पनि यहाँ दिग्भ्रमित खित्काहरु छुटिरहेका छन् उत्पात् । अन्धकारकै उल्कापात भएको छ जताततै । अनि यहाँ धमाधम मृत्युको उत्सव मनाइँदैछ जिन्दगीको नाउँमा । जिन्दगी चुँडिएको चंगासदृश भइगएको छ । सबतरफ सुख्खा र विषादपूर्ण छ जगत । बदलाको भावना,अराजक राजनीति र फूटवादी समाजको उपजस्वरुप एक दिन त्यही श्यामशक्तिको बज्रप्रहारले उदाउन बाध्य पारिदिन्छ एउटा ‘कालो सूर्य’ ! यौगिक क्षितिजको मध्यरातमा यो त्यही ‘कालो सूर्य’ उदाएको कथा हो ।
एक,
गृहमन्त्री बिक्रमबहादुर पाण्डेकी एक्ली छोरी मेघनाको विवाह कालीमाटीको सोल्टी होटलमा भव्यरुपमा सम्पन्न भइरहेको थियो । विभिन्न तामझामले होटल परिसर सजिसजाऊ थियो । मुलुकभित्र र बाहिरबाट अनेक हाइप्रोफाइल पाहुनाहरु बेहुला र बेहुलीलाई बधाइ, शुभकामना र उपहार दिन ब्यस्त र ब्यग्र देखिन्थे ।
रुसको मस्कोका गैह्र आवाशिय नेपाली अर्बपति व्यापारी सन्तजङ्ग राणाको एक्लो छोरो सौरभजङ्गसँग मेघनाको जोडी एकदमै सुहाएको प्रतिक्रियाहरु ब्यक्त भइरहेका थिए । विवाहमा आएकाहरुलाई यता र उता गर्न भ्याइन-भ्याइ थियो ।
भर्खरै मुलुकका राष्ट्रपति र प्रधानमन्त्रीसमेत आएर वरवधूलाई आशिर्वाद एवम् शुभकामना दिएर गए । भव्य उपहार र नगद पनि टक्र्याए । उनीहरुको आगमनले दुलाहा र दुलहीतर्फका सबै हौसिएका थिए । त्यहाँ उपस्थित सबै एककिसिमले आह्लादित देखिन्थे । केही त ठिक त्यसैबेला बैण्डबाजाको सुमधूर धूनमा उफ्रीउफ्री नाच्न पनि थालेका थिए । कोही भने मुलुकका शाषकहरुसँग मस्कीमस्की सेल्फी लिन ब्यस्त देखिन्थे । विवाहोत्सवमा कैयन सेलिब्रिटी, नेतागण, ब्यापारी र कुटनीतिकजनहरुको पनि बाक्लो उपस्थिती थियो । आखिर बिहे जो पर्यो बहालवाला गृहमन्त्रिकी एक्लौटी छोरीको, सानोतिनो रवाफले के काम चल्थ्यो ?
त्यहाँ त मुलुकको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका एवम् सारा चौथो अङ्ग नै खनिएझैँ लागिरहेको थियो । केही पाहुना त हातमा फाइल बोकेरै ओहोरदोहोर गरिरहेका पनि भेटिए । अरु कतिपय भने दुलाहा–दुलहीलाई वास्तै नगरी ‘ठूलामान्छे’हरुको चाकडी बजाउन तल्लिन समेत देखिए ।
राति अबेर मात्रै विवाह सकियो । दुलहाले दुलहीलाई महंगो कारमा राखेर अति रवाफसाथ आफ्नो दुनियाँमा लिएर गयो । कारभित्र दुलही सुँक्कसुँक्क गरिरहेकी थिई । दुलाहाले उनलाई अँगालो हाल्यो र केही सम्झाउने यत्न पनि गर्यो । दुलहीलाई चूप हुन अलिक बेर लाग्यो ।
उता छोरी अन्माएपछि दुलहीकी आमा एउटा कुनो समातेर पिलपिल गर्न थालिन् । बिक्रमबहादुरले सुस्तरी उनको हात समाएर सम्झाउन खोज्यो ।
उसले भन्यो, ‘तिमी पनि त यसैगरी विवाह गरेर मसँग आएकी थियौ । बिर्सियौ ?’
‘तर हाम्रो त लभम्यारिज थियो,’ आँशु पुछ्दै उनले भनिन् । उनका हिक्काहरु अझै थामिएका थिएनन् ।
‘म्यारिज आखिर म्यारिज नै हो । चाहे त्यो लभ होस् वा एरेन्ज,’ पुनः सम्झाउने प्रयास गर्दै बिक्रमबहादुरले भन्यो, ‘त्यति राम्रो खानदानबाट आएको प्रस्तावलाई नजरअन्दाज गर्न मैले सकिँन । अब छोरीले कोसँग लभ गर्छे वा गरिरहेकी छे भनेर अल्झिरहने बाबु आफू परिएन ।’
‘मैले त्यसो कहाँ भनेकी हुँ र ? तर जे भए पनि हजुरलाई केही राजनीतिक प्रेसर पनि थियो । थियो कि थिएन भनिस्यो ?’ उनले अलिक कडा मिजाजमा प्रश्न ठड्याइन् ।
‘मैले भारत, थाइल्याण्डका जासुसहरुसाथै रसियाको केजीबीका एजेन्टहरु समेत लगाएर बुझेको हुँ । तिमीलाई थाहै छ, हामीले अनुसन्धान गर्न मात्रै छ महिना लगाएका थियौँ । हाम्रा कुटुम्ब राणाहरु नेपालबाटै अघिल्लो पुस्तामा भारतको सिमला गएर बसोबास गरेका थिए । हाम्रा सम्धी पछि रुस गएर व्यापार गर्न थालेछन् । ज्वाइँ र उनकी एउटी बहिनी उतै रुसमा जन्मिएका रहेछन् । उनीहरुका साख्खे दाजुभाई यहाँ काठमाण्डौ र सिमरामा समेत भेटिए । तिमी त्यसै….।’ उसले जानीजानी वाक्य अधूरै छाडिदियो ।
‘मैले त्यसो कहाँ भनेकी हुँ र ? हजुरलाई राजनीतिक प्रेसर पनि थियो यो विवाहका लागि भन्न खोजेकी पो त ।’ स्त्री चासो रोकिनेवाला थिएन ।
‘प्रस्ताव नै निकै हाइलेवलबाट आएकाले र सबै कुरा बुझ्दा उत्तम भेटिएकाले मैले छोरीलाईचाहिँ अलिकति प्रेसर दिएरै भए पनि ….भैगो छाड यी सब कुरा ।’ बिक्रमबहादुरले मजबूत आवाजमा भन्यो ।
अनि उसले आफ्नी अर्धाङ्गिनीलाई अंगालोमा हाल्यो र उनको निधारमा एउटा प्रेमिल चुम्वन गर्यो । ऊ ज्यादा सवालजवाफमा अल्मलिन चाहँदैन थियो ।
उसकी श्रीमतीको रोदन क्रमशः मत्थर हुँदै गयो ।
दुई,
मैतालु फर्काएर नवविवाहित जोडी हनिमून मनाउन यूरोपतर्फ प्रस्थान गरे । ज्वाइँसाहेबको ब्यक्तित्व र ल्याकत देखेर बिक्रमबहादुर नतमस्तक थियो । आफ्नो मौजूदा राजनीतिक शक्तिमा अथाह धनको सुगन्ध मिसिएको आभाष पनि उसलाई कताकता भइरहेको थियो ।
‘ज्वाइँसाहेबलाई देख्दा त मलाई आफ्नै देवरबाबुको याद आयो,’ मन्त्राणीले एकाबिहानै आफ्नो मोवाइलमा विवाहका तस्विर नियाल्दै पतिलाई भनिन् ।
बिक्रमबहादुरको अनुहार अचानक मलिन हुन पुग्यो । उसले अलिक झिँजो मान्दै भन्यो, ‘भो, याद नदिलाऊ मलाई त्यस् पापीको । कसरी मिल्छ ज्वाइँसाहेबको अनुहार त्यस धम्मरधूससँग ?’
‘हजुर अझै आफ्नो भाइसँग नाराज होइबक्सिन्छ ? देवरबाबु गायव भएकै चौध वर्ष पुगेर पन्ध्र लागे । मैले त कदकाँठी मिल्दो रहेछ मात्रै पो भनेकी ।’
श्रीमतीको कुराले नचाहँदा नचाहँदै पनि बिक्रमबहादुरका आँखा अनायासै बिगततर्फ मोडिन पुगे ।
एउटा मध्यमवर्गिय परिवारमा जन्मिएको बिक्रमबहादुरका बाबुलाई हातमुख जोर्न कुनै समस्या थिएन । जग्गाजमिन प्रसस्तै थियो । बाबुको सपना थियो, दुई छोरालाई लायकका मान्छे बनाउने । दुई छोरा भन्नाले बिक्रमबहादुर र उसको भाइ सागर ।
हुने बिरुवाका चिल्ला पात भने झैं बिक्रमबहादुर स्यानैदेखि मेहनती र अध्ययनशील थियो । तर भाइ सागर भने निकै उद्दण्ड स्वाभावको थियो ।
कलेज पढ्दादेखि नै बिक्रमबहादुर विद्यार्थी राजनीतिमा सकृय हुन थालेको थियो । एमए पास गर्दागर्दै उसले राजनीतिको केन्द्रमा प्रवेश गर्ने मौका पायो । अनि अरु जागिर नगरेर ऊ पूर्णरुपमा राजनीतिमा नै सकृय हुन थालेको थियो । नभन्दै चुनाव जितेर ऊ सांसद पनि भयो ।
उता सागरले भने कसै गर्दा पनि आइएस्सी पास गर्न सकेन । ऊ सानैदेखि जूवातासको लतमा पर्यो । उसको लवाइखवाइ पनि समाजको सामान्य ढाँचाभन्दा फरक थियो । ब्रान्डजस्तै आफ्नो लामो कपाललाई चुल्ठो बाटेर हिँड्थ्यो । ऊ झैझगडाहरुतर्फ पनि निकै आकर्षित हुने गर्दथ्यो । कतिपटक त प्रहरीले उसलाई समात्यो । तर सांसद दाजुका शक्तिले हरेकपटक ऊ सहजै बाहिर पनि निस्किहाल्ने गर्दथ्यो ।
बिक्रमबहादुरका बुबाआमाको देहान्त भइसकेको थियो । गाउँको जग्गाजमिन ठेक्कामा दिइएको थियो । सागर आफ्नै दाजुको सरकारी निवासमा बस्ने गर्दथ्यो । बारबार ऊ पैसा मागेर दाजुभाउजूलाई सताउने गर्दथ्यो । पैसा दिँदादिँदा र प्रहरी हिराशतबाट उसलाई निकाल्दानिकाल्दा दाजुभाउजू हैरान भइसकेका थिए ।
एक दिन सागरले आफ्नो दाजुलाई रुखो स्वरमा भन्यो, ‘मलाई मेरो अंश चाहियो । अब म चाइनाबाट सामान ल्याएर ब्यापार शुरु गर्छु ।’
‘तँ आवारालाई म जग्गा दिन्नँ । तैंले दुई दिनमा नै जूवामा उडाउँछस् । पहिले जूवा खेल्न छाडिदे । अनि मात्रै म तँलाई जग्गा दिन्छु ।’ बिक्रमबहादुरले सम्झाउने यत्नमा भन्यो ।‘म आवारा भए पनि, जुवाडे भए पनि मैले मेरो अधिकार त पाउनु पर्यो नि । होइन र ?’
‘जा गएर मुद्दा हाल । म आफ्ना बुबाआमाले दुःख गरेर जोडेको जग्गा तँलाई धुलोमा उडाउन दिन्नँ । दिँदै दिन्न ।’
त्यसपछि सागरले खूब उद्दण्ड व्यवहार देखायो । झ्यालका सिसाहरु फोड्यो । गुल्दश्ताको झट्टी हानेर भित्ताभरीको टेलिभिजन फुटाइदियो । उसले बिक्रमबहादुरलाई नै आक्रमण गर्न खोज्यो । कसोकसो ऊ फुत्कियो र सागरलाई कोठामा थुनिदियो । भित्रबाट सागरले ढोकामा लात हानेर भूकम्पै ल्याउला जस्तो गर्न थाल्यो ।
बिक्रमबहादुर आफैँले प्रहरीलाई फोन गर्यो । समय नगुमाइ प्रहरीको भ्यान आयो र दाजुचाहिँको आदेशमा सुरक्षाकर्मीहरुले उसलाई ठिंगुरा हालेर बाँधे ।
सागरलाई भ्यानमा कोचेर हनुमानढोका लगियो । त्यसपछि बिक्रमबहादुरकै सल्लाहमा उसलाई जेल पठाउने एउटा सानोतिनो षडयन्त्र पनि रचियो । तर के थाहा यही षडयन्त्र रच्नाले सरोकारवालाहरुले पछि कत्रो विकराल आँधीको सामना गर्नु पर्ने हो ?
परिवारका सदस्यहरुलाई हातपात गरेको र घर तोडफोड गरेको साथै लागूऔषध पनि बोकेको आरोपपत्र अलिक बढाइँचढाइँ गरेर तयार पारियो । माथिको आदेश भएको र अभियुक्त एकजना सांसदकै सहोदर भाइ भएका कारण प्रहरीका उच्च पदस्थ अधिकारीहरुले फटाफट काम निब्ट्याइदिए । सागरले जेलमा पुरै अठार महिना बितायो ।
समय न हो, आखिर यो दुःख वा सुख जे आइलागे पनि कटिहाल्छ । तर यी दुई बिपरित भावहरुमा मान्छेको टाउकोभित्र कुद्ने समयको रफ्तार भने आकाश र जमिनझैँ फरक हुन्छ । त्यसो त सागरलाई जेलमा अठार महिना मात्रै बिताउँदा पनि अठार वर्ष नै बिताएझैँ भएको थियो । जेलबाट छुटेर आएपछि एक साँझ उसले दाजु-भाउजूसँग तमास गर्यो । आफ्नो अंश माग्यो । झूठा मुद्दामा जेल पठाउनुको कारण सोध्यो । दाजुचाहिँलाई लागिहाल्यो कि भाइ सुध्रिनु त के झन बिग्रिएर आएछ ।
सागर चिच्यायो, ‘किन थुन्यौ मलाई त्यस् नर्कमा ? के म आफ्नो जीवन ज्यूँन स्वतन्त्र छैन ? मेरो अंश देऊ न । गइहाल्छु नि । फेरि कहिल्यै फर्किएर यहाँ आउने पनि छैन ।’
अनि उसले खल्तिबाट एककिसिमको धूलो झिक्यो । चुरोटको बट्टाभित्रको ‘फोइलपेपर’मा त्यो धूलो बडा जतनसाथ राख्यो । दस रुपिँयाको सोली बनाएर लाइटर बाल्दै त्यो धूलो दाजु-भाउजूकै अगाडि उसले निमेषभरमा स्वाँटस्वाँटी तानिभ्यायो ।
बिक्रमबहादुरले सुरक्षा अलर्ट गर्यो । तुरुन्तै त्यहाँ सुरक्षाकर्मीहरु ओइरिए र सागरलाई नियन्त्रणमा लिने प्रयास गर्न थाले । तर…
‘कसैले छोलास् मलाई ! ए पर-पर बस् भाडाका टट्टूहरु हो, नत्र….,’ यत्ति भनेर सागरले एउटा सुरक्षाकर्मीको कम्मरबाट पेस्तोल थुत्यो र सतप्रतिशत ‘पोइन्ट ब्ल्यांक रेन्ज’बाट आफ्नै दाजुको छातिमा ताक्यो । अनि अगाडि भन्यो, ‘आज कि म छैन, कि यो भ्रष्टाचारी सांसद छैन !’
सुरक्षाकर्मीहरु किंकर्तव्यविमूढ भएर एकअर्काको मुख ताक्न थाले । उनीहरु कसोकसो सागरको हातबाट त्यो ‘लोडेड पेस्तोल’ थुत्ने दाऊ हेर्न थाले ।
बिक्रमबहादुरले निडर भएर आफ्नो छाति सोझ्याउँदै जवाफ दियो, ‘मार्छस् मलाई ? लु हान् गोली ….!’
ड्याम्म !
सागरले ट्रिगर दवाइदियो ।
तर बिजुलीको गतिमा एउटा सुरक्षाकर्मी बिक्रमबहादुरको अगाडि टप्कियो । सागरले हानेको गोली उसको छाति आरपार गरेर अलिक परको भित्तामा गाडिन पुग्यो ।
हल्लिखल्लि भयो । भागारेभाग पनि भयो । अन्य सुरक्षाकर्मी र बिक्रमबहादुर मिलेर घाइतेलाई समाउन थाले । कोही भने सागरलाई कभर गर्ने असफल प्रयास गर्न थाले । दुई राउण्ड ‘ब्ल्यांक फायर’ गरेपछि पेस्तोल कम्मरमा कोच्दै ऊ झ्यालबाट फालहालेर पलभरमा नै अँध्यारोमा अलप भयो । त्यहाँ आधा दर्जनभन्दा बढी सुरक्षाकर्मीहरु थिएनन् । हताहत अवस्थामा यसैको फाइदा उठाएर सागर भाग्न सफल भएको थियो ।
त्यसपछि ऊ गायव भयो । आएन । आउँदै आएन । राज्यका तर्फबाटै कैयन खोजीहरु भए । तर ऊ फेला परेन । उसको गोली खाएको सुरक्षाकर्मीको घटनास्थलमा नै मृत्यु भइसकेको थियो ।
त्यसपछि चौध वर्ष बितिसक्दा पनि सागरको कतै अत्तोपत्तो थिएन । प्रहरीको वान्टेड सूचीमा उसको नाम हरेक वर्ष नविकरण हुँदै रह्यो । तर ऊ फेला पर्न सकिरहेको थिएन ।
कुनै पनि बेला आएर आक्रमण गर्न सक्ने सम्भावनालाई मध्यनजर राख्दै बिक्रमबहादुरले आफ्नै तर्फबाट जासुसहरु भिडाएर गुप्तरुपमा उसको खोजीनीति नगरेको पनि होइन । तर केही पार लागेन ।
यसबीच बिक्रमबहादुरको जीवनमा कैयौँ परिवर्तनहरु भए । उसले दोस्रोपटक पनि चुनाव जित्यो र गठवन्धन सरकारमा राज्य मन्त्री हुन पुग्यो । हुँदाहुँदै अहिले ऊ आफ्नो पार्टीको एकमना सरकारमा गृहमन्त्री नै हुनपुगेको थियो ।
पत्नीले झक्झक्याएपछि बिक्रमबहादुर झस्किएर पुनः वर्तमानमा आयो । अनि लुगासुगा लगाएर लावालश्करसहित सिंहदरवारतर्फ हान्नियो ।
तीन,
हनिमून सकेर उता सौरभ र मेघना मस्को गए । सौरभले बाबु सन्तजङ्गलाई भन्यो, ‘अब म आफ्नै मुलुकमा व्यापार विस्तार गरेर उतै बस्छु । आफ्नो मुलुक भनेको आफ्नै हो । अब म बिल्कूलै नयाँ जीवन जिउँन चाहन्छु ।’
छोराको कुरा सुनेर बाबुचाहिँले गद्गद् हुँदै भन्यो, ‘यो त अति उत्तम कुरा हो । मेरो छोरामा आएको देशप्रेमको भावनालाई म सम्मान गर्दछु ।’
त्यसपछि उनीहरुले नेपालमा आफ्नो एउटा कम्पनी खोले । र, काठमाण्डौको उक्त कार्यालयलाई नै आफ्नो हेडक्वार्टर घोषणा पनि गरे । मुलुकका विभिन्न प्रमुख शहरहरुमा शाखाहरु खोले । उनीहरुले धेरैलाई रोजगारी दिएका थिए । हेडक्वार्टरमा मात्रै उनीहरुका पाँच हजार भन्दा बढी कर्मचारीहरु कार्यरत थिए ।
सन्तजङ्ग पनि अब स्वदेशमा नै बस्न थाल्यो । उसकी श्रीमतीको तीन वर्षअघि नै ब्लडक्यान्सरका कारण मृत्यु भइसकेको थियो । सौरभले उसलाई दोस्रो बिहे गर्न जति नै उक्साए पनि ऊ मानेको थिएन । बाबुचाहिँको रट् कायम थियो, ‘अब बूढो पनि भएँ । म जे छु । ठिकै छु ।’
चार,
मुलुकमा अस्थिरता बढेको थियो । जताततै भ्रष्टाचार र अकर्मण्यताका घडाहरु भरिइसकेका थिए । बिगत पच्चिस वर्षमा मुलुकमा पच्चिसैवटा सरकारहरु परिवर्तन भएका थिए । स्थिर राजनीतिको कतै छनक थिएन । विपक्षीहरु वर्तमान सरकार ढाल्ने अभ्यासमा जुटेका थिए । धमिलो पानीमा माछा मार्ने मछुवाराहरु पनि मुलुकमा जताततै सकृय थिए । यस्तैमा एक रात मुलुकमा केही खतनारक र अभूतपूर्व घटना हुन पुग्यो, जसको अनुमानसम्म पनि कसैले गरेका थिएनन् ।
एउटा यस्तो ‘पोलिटिकल कूप’ जसले बिर्साइदियो जङ्गबहादुर र अन्य जस्तै भयंकर शाषकहरुलाई पनि !
तर कू हुनुभन्दा केही दिन अगावै केही नेताले सुइँको पाएर सुटुक्कै विदेश भागे । मौजूदा स्थानमा कतिपयले आफ्नो सुरक्षाव्यवस्था मजबूत गरे । कतिपयले कू हुने कुरै पत्याएनन् र पत्याउने एवम् भाग्नेहरुलाई क्रमशः पागल वा भगौडा भएको आरोप पनि लगाए ।
अर्को दिन सबेरै राष्ट्रपति कार्यालयमा प्रमुख शाषकहरूकोे नियमित बैठक अचानक स्थगित हुनपुग्यो । नेताहरु एक अर्कालाई आ-आफ्नो अस्वस्थताको झूठो खबर पठाउन थाले र घरैमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिती गराएर बसे । कतिपय सम्पर्कभन्दा बाहिर हराए ।
छापा लगायतका सबै सञ्चार माध्यममा त्यस दिन प्रायः एकैजसो समाचारलाई प्राथमिकता दिइएको थाहा पाएर आम नागरिक देशमा केही नयाँ उथलपुथल हुनलागेको त होइन भनेर चनाखो र शतर्क हुनपुगेका थिए ।
मध्यरातमा जब मुलुकको आकाशमा बडेमानका विमानहरु कावा खान थाले, तलका सबैको सातोपुत्लो उड्यो । ती विमानबाट ठूलो सङ्ख्यामा हतियारबन्द लडाकुहरुले प्याराजम्प गरे । अनि मुलुकका विभिन्न स्थानमा आफ्नो योजनाअनुसार फटाफट छरपस्ट भए ।
राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, अन्य मन्त्रीहरु, प्रधानसेनापति तथा प्रहरी प्रमुखहरु अपहरित भए । राजधानीलगायत मुलुकभर जताततै ‘कालो कम्ब्याट’ लगाएका र अत्याधुनिक हातहतियार बोकेका कमाण्डोहरु ‘भाष्कर सेना’का नामले सकृय भए । उनीहरुले सारा सञ्चार माध्यमहरु पनि कब्जामा लिइसकेका थिए ।
टेलिभिजन र रेडियोहरुमा रहस्यमय आवाज आयो, ‘म यो देशको एक गुमनाम नागरीक, यहाँ अहिले भर्खर एउटा युद्धको घोषणा गर्दछु । अधोगति लागेको यो देश बचाउन अब यहाँ एउटा निर्णायक युद्ध छेडिएको छ । र, यसलाई ‘मौनयुद्ध’ भनिने छ । अहिलेलाई यो देश कब्जा भइसकेको घोषणा पनि म गर्दछु । जो जहाँ छन् उनीहरु त्यहीँ मौन बसून् । मुलुकमा अब नयाँ व्यवस्था आइसकेको छ । पचास वर्षका लागि हामीले यो मुलुकलाई कब्जा गरिसकेका छौँ । यदि कसैले हामीसँग जोरी खोज्न चाहन्छ भने, ऊ मारिनेछ । उसका सबै शाखासन्तानहरु पनि मारिनेछन् । अबको हाम्रो शाषन जनताप्रति उदाशीन र आउरेभाउरेहरुमा नै सिमित पञ्चायती व्यवस्था जस्तो वा हुल्लडवाजहरुको मदग्रस्त प्रजातान्त्रिक भनिएको व्यवस्थाजस्तो नभएर नितान्त फरक हुनेछ । जनतालाई कमारो र भिखारी बनाउने शाह वंश, जनतालाई झुक्याएर जनताकै नाममा जनताको टाउकोमा अराजकता छाद्ने भीडतन्त्र, अनि अहिले गणतन्त्रको नाउँमा फ्याउरे भडुँवागिरी !
आजबाट शुरु हुने नयाँ शाषन यी र यस्ता कुनै पनि प्रणालीको घिसेपिटे अवतार नभएर एक नितान्त नयाँ व्यवस्था हुनेछ । यो न हिन्दु, न धर्मनिरपेक्ष । यो न क्रिश्चियनहरुको जस्तो दोहोरो चरित्र न मुश्लिमहरुको जस्तो कहालीलाग्दो आतंक । हाम्रो नयाँ व्यवस्थाले कुनै धर्म विशेष वा साम्यवाद वा समाजवादमा विश्वास राख्ने छैन । यसले प्रकृतिमा विश्वास राख्छ । र, कुनै पनि किसिमका प्रकृतिमाथिको दोहन वा नियमहरुको उल्लंघन यसले सहन गर्न सक्ने छैन ।
अहिले यहाँ प्रत्येक नागरीकमाथि ब्यापक अनुसन्धान भइरहेको छ । २०४७ सालयता हिजोसम्म यहाँ भएका प्रत्येक कृयाकलापहरुमाथि अत्याधुनिक तवरले अनुसन्धान थालिसकिएको छ । अनि प्रकृति, मुलुक र जनतालाई कुनै पनि तरिकाले गुमराहमा राख्ने वा घात गर्नेहरुलाई कडा कार्वाही गरिनेछ । नेपाल—भारत सिमाना सिल्ड गरिसकिएको छ । यताबाट कोही सिमाना पार गर्न खोजे भारतपक्षका सुरक्षाकर्मीले गोली हान्नेछन् । किनभने, उनीहरुले पनि ध्वस्त भएको हाम्रो मुलुकलाई मर्मत र उपचार गर्ने उद्देश्यमा हाम्रो साथ दिएका छन् । सुदुरका केही शक्तिशाली मुलुकको समेत हामीलाई बलियो साथ र सहयोग भएको हुँदा अपराध गरेर विदेश भागेकाहरुलाई पनि हामी या त उतै ढेर गरिदिन्छौँ या घिसारेर यहाँ ल्याइ कालकोठरीमा जाक्छौँ । र, आवश्यक परे शिरच्छेदन समेत गछौँ । अहिलेलाई अर्को सूचना नभएसम्म मुलुक ठप्प भएको घोषणा छ ।’
दुनियाँभरका सञ्चार माध्यमहरुमा खबर बजे, संसारको छानो हिमालयमा अज्ञात ‘भाष्कर सेना’ले रातारात कू गर्यो । कैयन नेता र अधिकारीहरु मारिए । मारिने क्रम जारी छ । उच्च पदस्थ ब्यक्तिहरु अपहरित छन् । कतिपय मुलुकले त्यहाँको आन्तरिक मामिलामा दखल नदिने बक्तव्य पनि जारी गरिसकेका छन् भने केहीले उक्त कूलाई गैह्रकानूनी भएको आरोप पनि लगाएका छन् ।
विदेश भागेका नेता तथा उच्चपदस्थ अधिकारीहरुलाई उतै अज्ञात समूहले गोली हानेर हत्या गर्यो । मुलुकभर हिंशा र आतंकको डरलाग्दो तरंग फैलियो । वातावरण स्तब्ध । चारैतिर बरफ—सन्नाटा । सारा इन्टरनेट, सेटेलाइट सिष्टम र कुनै पनि किसिमका दुरसञ्चार प्रणालीहरु सटडाउन भइसकेका थिए । अखबार छाप्ने प्रेसहरु अब खियामा डुब्नेवाला थिए ।
यता आफ्नो रानो नै अपहरणमा परेपछि सुरक्षाकर्मीहरुले घुँडा टेके । उनीहरु हतियार र कार्यालय छाडेर भागारे-भाग भए । तर भागेर जाने कहाँ ? पुरै उपत्यका र सारा मुलुकलाई नै अत्याधुनिक हतियारले लैश ‘काला कम्ब्याटधारी’हरुले घेराबन्दी गरिसकेका थिए । मानौँ उनीहरु लाखबढी सङ्ख्यामा कालोज्योति लिएर अज्ञातबाट चमत्कारिकरुपमा यस धर्तीमा हठात टप्किएका हुन् ।
अब राजधानी र मुलुकभर सन्नाटाको ग्राफ ह्वात्तै उक्लियो । सारा मुलुक मशानघाटजस्तो भएको थियो । जताततै आतंकको धुँवाले ढाकेर उकुसमुकुस पैदा गरिरहेको थियो । मान्छेहरु आआफ्नै घरमा सास दवाएर बसिरहेका थिए । जनताका तर्फबाट सडकहरु सुनसान हुनपुगे । हेर्दाहेर्दै ‘भाष्कर सेना’का हतियारबन्द सुरक्षादस्ताले सलहलेझैँ मुलुक ढाक्यो ।
तर, धेरै मान्छेहरु मुलुकमा अचानक टप्किएको नयाँ तानाशाहको आवाज सुनेर कताकता प्रसन्न पनि हुनपुगेका थिए । मौका पाए कतिपय मान्छे नयाँ शाषकको जयजयकार,चाकडी र चाप्लुसीमा जान लालायित पनि भइसकेका थिए । जस्तो कि बिगतदेखि नै जुनै सरकार आए पनि यो खालको एउटा समूह मुलुकमा हमेशा सकृय रहने गर्दछ । तर यसपालीको रसायन निकै भिन्न र भारी सावित हुँदै गइरहेको थियो ।
सबैलाई सन्त्रास मिसिएको चासो थियो, नयाँ शाषक को हो ? र, अब उसले यहाँ केके वितण्डा मच्चाउने हो ?
पाँच,
सिंहदरवारमा बाक्लोगरी नयाँ सुरक्षादस्ता तैनाथ थियो । आकाशमा अनौठा जहाजहरु कावा खाइरहेका थिए । कतिपय लडाकू विमानझैँ पनि नजर आउँथे । उनीहरु आकाशमा यस्तरी उड्थे कि तलबाट हेर्नेहरुको हंशले ठाउँ छाड्थ्यो ।
सडकमा भीमकाय ट्यांकरहरु घिस्रिरहेका थिए । ती अत्याधुनिक तोप, मिसाइल र नजाने अरु कैयन किसिमका हातहतियारले सुसज्जित थिए । कब्जामा लिइएका सबैलाई पालैपालो नयाँ शाषकसमक्ष हाजिर गराइँदै थियो ।
सर्वप्रथम बहालवाला राष्ट्रपतिको पालो थियो । अजिँगर शैलीमा त्यहाँ बसिरहेको नयाँ शाषकलाई देखेर अपहरित राष्ट्रपतिको चेहरामा चिटचिट पसिनाका दानाहरु प्रकट भए ।
‘घर कहाँ हो तेरो ?’ नयाँ शाषकले युरानियम मिसिएजस्तो गह्रौँ आवाजमा सोध्यो ।
‘शितल निवास !’ लुगलुग काम्दै राष्ट्रपतिले भन्यो ।
‘नाम ?’
‘डा. हरिनन्दन कामत ।’
‘के काम गर्छस् ?’
‘राष्ट्रपति हुँ, यो देशको ।’
‘गोजीमा अण्डा छन् ?’
‘छैनन् हजुर !’
‘अनि घण्टाको राष्ट्रपति ?’ नयाँ शाषकले बडो क्रूर तवरले शब्दको मकै भुट्यो र आफ्नो सहायकतर्फ मुखातिव भएर भन्यो, ‘नेक्स्ट !’
राष्ट्रपतिलाई बाहिर गलहत्याइयो । प्रधानमन्त्रीलाई भित्र खँदारियो ।
‘सर नमस्ते !’ नयाँ शाषकलाई देख्नासाथ प्रधानमन्त्रीले अलिकति झुकेर स्वस्ती गरिहाल्यो । तर शाषकले नमस्ते फर्काएन । पेटमा ‘सेफ्टीट्यांकि’ बोकेर आइरहेको प्रधानमन्त्रीलाई उसले एकटक हेरिरह्यो ।
‘नाम के हो तेरो ?’ शाषकले आवाजको हाइभोल्टेज ज्वाला ओकल्यो । उसको आवाजमा कुनै ड्रयागनले सास भरेको हो कि जस्तो पनि त्यहाँ लागिरहेको थियो ।
‘गुमनामसिंह कुमाईँ ।’ प्रधानमन्त्रीले शाषकको प्रश्न भुइँमा खस्न नपाउँदै जवाफ दिइभ्यायो ।
‘भात खाइस् ?’
‘हिँजो बेलुका त खाएँ हजुर, आज पेट खालि छ ।’
‘घर कहाँ हो ?’
‘बालुवाटार, हजुर !’
‘के काम गर्छस् ?’
‘प्रधानमन्त्री थिएँ, यो देशको । त्यो पनि हजुरले खोसिदिनु भो ! अहिले बेरोजगार छु ।’
‘तैँले प्रधानमन्त्री भएर के ख्याँसिस् ? काम भन्दा बढी अभिनय किन नि ?’
‘अह्राएको गर्ने हो, हामीले । हजुरलाई थाहै छ, यो देशको प्रम हुनु भनेको केवल जागिर खानु हो । त्यसो त हजुरलाई सत्ता कब्जा गर्न मार्गप्रसस्त गर्ने पनि त हामी नै हौँ नि, हजुर । हामीले झूर काम नगर्या भए कोही किन हजुरले जसरी सत्ता कब्जा गर्न ताम्सिन्थ्यो र यहाँ ? हजुरले सत्ता कब्जा गरेर बडो उत्तम कार्य फते गरिबक्स्यो । बरु म पनि हजुरसँग मिलेर काम गर्न चाहन्छु ।’
चुपचाप कुरा सुनिरहेको नयाँ शाषकले हल्का च्यापु हल्लायो र प्रधानमन्त्रीतर्फ चोरी औँला सोझ्याउँदै सहायकलाई भन्यो, ‘यो भाइलाई मासुभात खुवाएर घर पठाइदेऊ । हिसाबकिताब पछि गरौँला । नेक्स्ट …!’
यसै गरि उपप्रधान तथा रक्षामन्त्रीको पालो सकिएपछि गृहमन्त्रीको पालो आयो । अगाडि राखिएको कुर्सिमा बसेर नयाँ शाषकको अनुहार नियालिसकेपछि गृहमन्त्रीले तिल्मिलाउँदै भन्यो, ‘अरे ज्वाइँसाहेब ?’
गृहमन्त्री बिक्रमबहादुर पाण्डे अझै पनि नयाँ शाषकको अनुहार गहिरिएर नै हेरिरहेको थियो । कक्षमा घोर सन्नाटा छाएको थियो । नयाँ शाषकले पनि गृहमन्त्रीको अनुहारमा पलभर टक लगायो । अनि सन्नाटा चिर्दै भन्यो, ‘मलाई अलिक ठिकसँग चिन् । तेरो म ज्वाइँ नै हुँ कि अरु नै कोही ?’
आवाज सुनेर गृहमन्त्रीको अनुहारको रङ्ग उड्यो । उसले केही बोल्न सकेन । घुटुक्क थुक मात्रै निल्यो । उसलाई उखपात तिर्खा लागेजस्तो भयो ।
नयाँ शाषकले एक गिलास पानी गृहमन्त्रीको हातमा थमायो र आकाश गर्जिए जसरी मौनता तोड्यो, ‘समय एक बलवान वेग हो । कुनै बेला यसले धूलोलाई ग्रह बनाइदिन्छ र कतिपय अवस्थामा ग्रहलाई धूलो । बस् एक महान लक्ष्यको तय, अथक संघर्ष र अनवरत धैर्यबाहेक समयसँग अरु कुनै पनि किसिमले सम्झौता गर्नु हुँदैन । नत्र सब चेट् हुन्छ । चङ्गा चेट् ! कि कसो … भूपू …गृहमन्त्री ज्यू ?’
दुविधा र असमन्जसताको तिखो प्रहारले गृहमन्त्रीको टाउको फ्यूज हुँदै थियो । उसको छातिमा बज्रपात भएको थियो । नयाँ शाषकको अनुहार उसको एकमात्रै ज्वाइँ सौरभजङ्ग राणाको जस्तो थियो भने आवाज आफ्नै भाइ सागरको जस्तो ।
गृहमन्त्रीले आफू बसिरहेको जमिन क्रमशः तलतल भास्सिँदै गएको महसुस गर्यो ।
नयाँ शाषकले उस्तै पारामा भन्यो, ‘लगातार अगाडि बढ्ने इच्छाशक्ति, अलिकति भाग्य अनि अथक संघर्षले प्रेरित भएर काम गर्दा आज म यहाँ छु, तेरो अगाडि । र, झूठको खेति र शक्तिको दुरुपयोग गर्ने तँ त्यहाँ …। सत्य जान्न आफ्नो मुटुलाई दह्रो बनाइराख् । म बताउँछु । मैले सब इजाद गरेको थिएँ । एभरीथिंग वाज प्लान्ड एन्ड प्लान्टेड वेल ! मेरो रगत भकभक उम्लिएको थियो । छातिमा घृणाको आगो दन्किएको थियो । म त ज्यूँदै थिएँ । तर मेरो सास रोकिएको थियो । अनि म सारा शक्ति समेटेर एउटै तीरले कैयन शिकार गर्न चाहन्थेँ । म दुनियाँलाई केही नयाँ, चमत्कारिक र अभूतपूर्व गरेर देखाउन चाहन्थेँ । दस वर्ष, लगातार दस वर्ष मैले अन्र्तराष्ट्रिय माफियाहरुको तलुवा चाटेँ । संघर्षका ती ठण्डा दिनहरुमा मैले रेबिज लागेका कुकुरहरुलाई पनि दाजु बनाएँ । उनीहरुका लागि कैयन मर्डर, मास मर्डरहरु गरेँ । तर एक दिन म उनीहरु सबैलाई कुल्चेर झन् अगाडि बढेँ । बढिरहेँ ।’
आगोमा फालहालेर पनि सफलता चुम्न सफलझैँ नजर आइरहेको नयाँ शाषकले अगाडि भन्यो, ‘अब म कुनै पनि नाता वा भावनाले प्रेरित छैन । म हमेशा एक्लो थिएँ, छु र हुनेछु । न म कसैको हुँ न त मेरो यहाँ कोही छ । म केवल एक खतरनाक तानाशाह हुँ । यो मेरो ड्यूटी हो । अनि म आफ्नो ड्यूटी राम्रोसँग गर्न चाहन्छु । दुनियाँका सबैभन्दा ताकतवर मान्छेहरुको मलाई साथ छ । म यो देशको सारा फोहोर बंगालको खाडीमा बगाएपछि समय नगुमाइ अन्तर्राष्ट्रिय मिशनमा सामेल हुनेछु । पुरै पृथ्वीमा एकमना सरकार बनाउने हाम्रो विंगको लक्ष्य हो । अब हामी पुनः यहाँ ‘होलोकास्ट’ गर्दैछौँ । हामी यहाँ ‘ह्यूमेन बीइङ्ग्स रिसाइकल’ गर्दैछौँ । हामी मानवको मलले पृथ्वीलाई ‘कम्पोष्टाइज’ गर्दैछौँ । दि प्लानेट इज ओभरलोडेड एन्ड वी मस्ट टेक एक्सन्स बिफोर इट गोज डाउन, यु नो ?’
बिक्रमबहादुरले लगभग डाँको छाड्दै भन्यो, ‘पापी होस् तँ । राक्षस होस् । तँलाई गालि गर्ने निकृष्ट शब्द पनि छैन मसँग । तैँले त मलाई ज्यूँदै आगो लगाइस् । केवल यत्ति भनिदे, मेरी छोरी मेघना कहाँ छे ?’
‘मेघना ठिक छे । अहिले गर्भवती छे ।’ कुटिल मुस्कानमा जहर मिसाएर नयाँ शाषक अर्थात सौरभजंग राणा उर्फ सागर पाण्डेले भन्यो ।
सुनेर बिक्रमबहादुरको मुख अमिलियो । भन्यो, ‘आफ्नै भतिजी अर्थात छोरीलाई छल गरेर विवाह रचिस् तैँले । तँ नर्कगामी होस् ।’
‘टाढाकी केटी बिहे गरे त जिन्दगी र घर भाँडिहाल्छे नि । अर्को कुरा, यदि तँलाई नातामा मात्रै विश्वास छ भने, तेरो र मेरो नाता त त्यतिबेलै समाप्त भइसकेको थियो जतिबेला तैँले मलाई षड्यन्त्र गरेर जेल कोचेको थिइस् । आखिर पैतृक सम्पत्तिमा मेरो पनि त हक छ नि । छैन र ? मेघनालाई नै म मेरो पैतृक सम्पत्ति मानेर चित्त बुझाउँला । अरु पैतृक जग्गाजमिन वा जिन्सी मलाई चाहिएन पनि । मेघनाको चिन्ता नगर्, आफ्नो सामानको हिफाजत गर्न मलाई राम्रोसँग आउँछ ।’
बिक्रमबहादुरले डाँको छाड्यो ।
नयाँ शाषकले यथावत बोल्यो, ‘नेक्स्ट …!’
सुरक्षाकर्मीले बिक्रमबहादुरलाई झट्कामा बाहिर निकाले र अर्का महानुभावलाई भित्र हुले । शाषकले आगन्तुकतर्फ नहेरी टेबुलमा आराम गरिरहेको सिगार जलायो । फटाफट बाक्लो धुँवा ओकलेर कुर्सीबाट जुरुक्कै उठ्यो र सहायकहरुलाई भन्यो, ‘बाँकि तँहरु सम्हाल् । सारा झिँगाहरु मेरै अनुहारमा भन्काउनै पर्छ भन्ने पनि केही छ र ?’
अनि उसले आफ्नो प्रमुख सल्ल्लाहकार रसियन नागरिक डेनियल दोस्तोभ्यस्किलाई सोध्यो, ‘व्हाट नेक्स्ट ?’
समाप्त ।
डिस्क्लेमर: यो स्वैरकल्पना विधा अन्तर्गत लेखिएको कथा हो ।
पेन्टिंग : लेखक स्वयम
रचना सहि लाग्यो लिला सर
Ramro rahexa hajur