सलाम लेनिन !

सँधै सुतिरहने ती तोपहरू
तिमी बोल्न थालेपछि
उठेका हुन्,
दिउँसै निदाइरहने जारहरू
तिमीले हेर्न थालेपछि
ब्युँझेका हुन् ।

पर्खालले घेरेको दरवारभित्र
कहिल्यै नपग्लने गरी
जमेर बसेका
पत्थरका मुटुहरू
तिमीले हथौडा
उठाउन थालेपछि
चरचरी चर्कन थालेका हुन् ।

तिम्रो परेडलाई रोक्न
तोपहरू नसोझ्याएको कहाँ हो र ?
तिमीले फुकेको
बिगुलको आवाज दबाउन
बुटहरू नटल्काइएको कहाँ थ्यो’र ?

तर, चर्केको मुटु बोकेर
शासकले पड्काएका तोपहरू
कहिले पो
‘निशाना’मा लागेका छन् र ?
दरबारभित्र कै भए पनि
लर्खराएका खुट्टामा
टल्किएका बुटहरू
बिगुलमाथि चढ्न खोज्दा
नच्यातिएका कहाँ पो छन् र ?

कति डाह लाग्दो हो –
ती नव’जार’हरूलाई
जो देखिरा’का छन्
आज पनि
रातो झण्डाले
शीर झुकाएर
तिम्रो सम्मानमा चढाईरहेको
श्रद्धाको रक्तिम सलामी !

[कविको स्पष्टिकरण :अक्टोबर क्रान्ति शतबार्षिकीको सन्दर्भमा] ।

Add a Comment

Your email address will not be published. Required fields are marked *