चौरानब्बे वर्षका युवा !


सम्वादको पृष्टभूमि
पोहोर साल घर आउँदा आफ्नी आमाको हातमा एउटा पुस्तक देखेको थिएँ, स्थानीय पण्डित बद्रीनाथ खतिवडाको ‘मेरो जीवनबृत्तान्त’ । समय नगुमाइ त्यतिबेला मैले उक्त पुस्तक छानमारेको थिएँ । त्यसो त एकातिर मेरो ‘होमटाउन’ प्रायशः अझै पनि लेखपढ कम र बढीचाहिँ तासजूवा, मोजमस्ति वा ‘ओभरफेड इन्फेक्शन’मा हराइरहेका बेला म भने उराठताबाट छलिनका लागि घर आएबखत यसपटक उहाँसँग एउटा अर्थपूर्ण भेटघाटको मौका हेरिरहेको थिएँ ।

एक सय छब्बिस पृष्ठको पुस्तकमा बडो मिहिन पारामा २०१६ सालमा बनारसबाट शास्त्री पास गरेका पण्डित खतिवडाले आफ्नो जीवनलाई केलाएर अभिलेखिकरण गर्नुभएको छ ।

भन्नै पर्दा उर्लाबारी नगर अझै पनि पुस्तक प्रकाशनका हिसाबले निकै पछि छ । यहाँ कहिल्यै कुनै पुस्तक मेला लागेको वा तत्संबन्धी खबर पढेको वा सुनेको मलाई हेक्का भएन । तर यहाँ हाउजी-तम्बोला, तासजूवा, रमाइलो मेला र ‘ढाक्रेपार्टी’ त कति कति ! बरु यहाँ ज्योती मगर छाइन् । तर कुनै कविको यहाँ अत्तोपत्तो छैन । यहाँको बरगाछीमा स्थापित गरिएको महाकवि देवकोटाको सालिक पूर्णतः एक्लो नजर आउँछ । भिजन फाउण्डेशनले स्थापना गरेको चोकको पुस्तकालय हमेशा भेटिन्छ— सुनसान ! यहाँ फोनहरु त स्मार्ट भए । तर मान्छेका टाउकाहरु अझै स्मार्ट हुन सकिरहेका छैनन् ।

यस्तैमा एकाबिहानै बिना कुनै ‘एपोइन्टमेन्ट’ आफूले कक्षा चारदेखि एसएलसीसम्म पढेको स्थानीय राधिका उच्च माध्यमिक बिद्यालयका संस्थापक प्रधानाध्यापक, समाजसेवी तथा संस्कृत भाषाका विद्वान, पुराण वाचक एवम् अद्यापि मुमुक्षु चौरानब्बे वर्षिय पण्डित खतिवडालाई भेट्न स्कुल डाँडास्थित निवास पुग्दा उहाँ नित्यकर्ममा ब्यस्त हुनुहुन्थ्यो ।

यसअघि प्रायः सदरमुकाम बस्ने उहाँका माइला छोरा औषधि व्यवसायी कुमार खतिवडासँग हजुरबुबाको स्वास्थ्य स्थितीका बारेमा बुझेको थिएँ । कुमार दाइले ‘बुबाको स्वास्थ्य आजकल ठिक छ’ भनेर हरियो बत्ति बालेपछि मात्रै म आफ्नो गुँडबाट बढीमा पन्ध्र मिनेट उत्तर स्कूलडाँडास्थित उहाँको निवास पुगेको थिएँ ।
म पुग्दा उहाँ स्नान गर्दै हुनुहुँदोरहेछ । धार्मिक ग्रन्थहरु असरल्ल छरिएको उहाँको बराण्डामा एकैछिन कुरेपछि हँसिलो मुद्रामा लठ्ठी टेक्दै हजुरबुबाको आगमन भयो । उहाँको अर्को हातमा धोएर निचोरेका केही लुगा थिए । बराण्डामा टाँगिएको डोरीमा लुगाहरु सुकाएपछि उहाँ मेरा अगाडि बस्नुभयो । मैले आँखीभौँमा अलिक जोड दिएर सोचेँ, चौरानब्बे वर्षको उमेरमा पनि आफ्नो काम आफैँ ? क्या बात !

(लेखक)

पहिले परिचय । यस क्रममा मैले आफ्ना बुबाको धारबाट त्यहाँ स्वयंलाई खडा गरेँ । उहाँले फ्याट्ट सोध्नु भयो, ‘त्यसो भए तिमी लिलाराज हौ ?’
शतप्रतिशत । भर्खरै ‘डिमेन्सिया’लाई जितेको कडा स्मृति !

म सानैदेखि उहाँलाई चिन्थेँ । केही स्थानमा उहाँले वाचन गरेका पुराण पनि सुनेको थिएँ । घरमा आवतजावतको चलन थियो । बाटो पर्दा एक अर्काका घरमा निस्किने पनि चलन थियो । तर आजकल यस्ता चलनहरु क्रमशः धराशायी भइरहेका छन् र भेटघाटहरु ‘भर्चुअल डाइमेन्सन’मा मात्रै सिमित हुन पुगेका छन् ।

अलिकअघि उहाँलाई ‘डिमेन्सिया’ भएको थियो । लक्षणस्वरुप उहाँ कुराहरु बिर्सिन थाल्नुभयो । घरका सदस्यहरुलाई पनि ठम्याउन नसक्ने अवस्था आएपछि उपचार गरियो । अहिले केही समयदेखि सुधार आएको छ । मने, सुधार निकै आएको रहेछ, कैयन वर्षदेखि भेटघाट पातलिए पनि उहाँले मेरो नामै भन्न सक्नु भयो । ‘डिमेन्सिया’ बिग्रेर उहाँका उमेरका कतिपय ‘नोनाजेनेरियन’हरुलाई ‘अल्जाइमर’ भएका उदाहरणहरु पनि निकै भेटिएका छन् । औषधिका साथमा इच्छाशक्ति र शास्त्राध्ययनले रोगलाई जितेको कुरा हजुरबुबाले सगौरव सुनाउनु भयो ।

यो उमेरमा पनि लेखपढ जारी छ । कक्षमा कैयन धर्मग्रन्थहरु छरिएका छन् । कलम र नोटबुकका साथ । आँखा तगडा छन्, चस्मा लगाउनु परेको छैन । कान पनि तगडा । केही वर्षअगाडि ‘प्रोस्टेट’को समस्याले थलिए पनि अहिले घर छेउछाउ हिँडडुल गर्न सक्षम हुनुभएको छ । पूजाआजा गर्नका लागि फूल टिप्न आफैँ बगैँचामा पनि डुल्नुहुन्छ । नित्य आरती पुष्पान्जली गर्नुहुन्छ । पाचनप्रणाली राम्रो छ ।

गर्वसाथ भन्नुहुन्छ, ‘अहिले पनि जवान हुँदाझैँ खाना खान्छु ।’
ठिक त्यसैबेला मैले कतै पढेको एउटा प्रसंग सम्झिएँ । अनि उहाँलाई बेलिबिस्तार लगाएँ, ‘एकजना पन्चानब्बे वर्षका ‘नोनाजेनेरियन’ बाबै युरोपमा चीनियाँ भाषा सिक्थे रे । एकदिन स्थानीय रेडियो संवाददाताले उनको अन्तर्वाता लिँदै त्यो उमेरमा संसारको सबैभन्दा कठिन भाषा सिक्नुको रहस्य सोधेका थिए रे । बाबैको जवाफ आयो – ‘सिक्ने मामिलामा म कहिल्यै आफूलाई बूढो पाउँदिन । मान्छेले नमरुन्जेल सिकिरहनु पर्छ । हालका दश वर्षमा मैले पाँचवटा नयाँ भाषाहरु सिकेँ । चीनियाँ भाषा सिकेपछि मलाई अरु पनि भाषा सिक्नु छ ।’

यो प्रसंग सुनेर हजुरबुबाको मुहारमा प्रफुल्लताको तरंग पैदा भयो र त्यो तरंग त्यहाँ निकैबेर कायम पनि रह्यो । त्यसै मेसोमा मैले आफ्नो आगमनको आशय पोखेँ, ‘हजुरका बारेमा एउटा लेख लेख्नु पर्यो भनेर कुराकानी गर्न आएको ।’
उहाँको अनुहारको चमक क्रमशः झनझन तेजिलो हुँदै गयो ।
अनि बिना कुनै थप भूमिका मेरो प्रश्न फुटिहाल्यो, ‘मृत्यु के हो ?’
जवाफ आयो श्लोकमा, यसरी-
‘लुगा पुराना जसरी त्यजेर
नयाँ लुगा मानिस लिन्छ फेर
त्यस्तै बुढा देहहरु त्यजेर
यो जीवले लिन्छ नयाँ शरीर ।’

उहाँले हिन्दु धर्म ग्रन्थका विभिन्न श्लोकहरु उद्दृत गर्दै बिस्तारपूर्वक बताउनुभयो, ‘भवशरणागत भएको छ भने मृत्युपश्चात गुरु कृपाबाट मोक्ष पाउँछ र बैकुण्ठधाम जान्छ । भवशरणागत हुन सकेको छैन भने पुण्यका प्रभावले स्वर्ग जान्छ । स्वर्ग क्षणिक हुन्छ । भनिएको छ- ते तं भुक्त्वा स्वर्गलोकं विशालं क्षीणे पुण्ये मत्र्यलोकं विशन्ति । एवं त्रयीधर्ममनुपपन्ना गतागतं लभन्ते ।

पुण्यका प्रभावले स्वर्ग त जान्छ । तर त्यसको पनि अवधि हुन्छ । अवधि सकिएपछि फेरि यतै फिर्ता पठाइन्छ । पाप कमाएको छ भने नरकमा जान्छ । नरक पनि क्षणिक हुन्छ । कति पाप कमाएको छ त्यति अवधिका लागि उसलाई नरक तोकिएको हुन्छ । त्यस नरकबाट फर्किएर फेरि यहि मनुस्यलोकमा आफ्नो कर्मअनुसार जन्म लिन आउँछ । मान्छे हुन्छ कि पशुपंछी हुन्छ त्यो उसले गरेको कर्ममा निर्धारित हुन्छ । स्वर्गबाट यहाँ आएको हो भने उसका देनहरु हुन्छन् । जस्तो, दानं प्रवर्चम मथुरार्चवाणी । देवार्थचंब्राह्मण तर्पणंच । अर्थात स्वर्गबाट आएको रहेछ भने भएकोबाट केही दान गर्दछ । सबैसँग मिठो बोल्दछ । देवता पितृहरुको श्राद्ध तर्पण गर्दछ । नरकबाट आएको रहेछ भने,ज्यादै रिसाहा हुन्छ र कटुवचन बोल्छ । नराम्रा कपडा लगाउँछ र दुष्टहरुको संगत गर्दछ । भगवानको शरणागत भएको छ भने, गीताको पन्ध्रौँ अध्यायमा भनिएको छ, द्युलोकमा पुगेपछि फेरि फर्किएर आउनु पर्दैन ।

अब यहाँ चार प्रकारका गतिहरु बताइएको छ- अर्सी गति भनेको बैकुण्ठ जानु । थोम गति भनेको स्वर्ग जानु, गर्भ गति भनेको फेरि जन्म लिनु । र, नारकीय गति भनेको नर्क जानु । अर्को कुरा, प्राणी जन्मिदैँ मृत्युको दिन तोकिएर आएको हुन्छ । अवधि पुगेका दिन यो शरिर छुट्दछ । जीवात्मा र परमात्मा दुइवटा हुन्छन् । जीवात्मा जन्मिदैँ मर्दै गर्छ भने परमात्मा सदा अमर र शाश्वत हुने गर्नुहुन्छ । उहाँको मृत्यु हुँदैन । सदा बैकुण्ठमा स्थिर रहनुहुन्छ । उनै परमात्माले मौकामौकामा अवतार लिनुहुन्छ । गीताको सबैभन्दा महत्वपूर्ण श्लोक सुनाउँछु — यदा यदा ही धर्मस्य ग्लानिर्भवति भारतः अभ्यूत्थानं अधर्मस्यं तदात्मानं श्रृजाम्याहां । परित्राणाय साधुनां बिनाशाय च दुष्कृतां । धर्म संस्थापनार्थाय संभवामी युगे युगे ।’

बोल्दाबोल्दै हजुरबुबा निमेषभर टक्क रोकिनुभयो ।
मैले सोधिहालेँ, ‘यो श्लोकले के भन्न खोजिरहेको छ ? अलिकति व्याख्या गरिदिनु न ।’

हजुरबुबा पुनः उस्तै उर्जाभावले शुरु हुनुभयो, ‘सार के हो भने, दुनियाँमा पापको घडा भरिएपछि परमात्माले धर्मको पुर्नस्थापनाका लागि फेरिफेरि अवतार लिनुहुन्छ । जस्तो अहिले बुद्धको पालो चलिरहेको छ । बुद्धको पालो सकिएपछि अब कल्कि अवतार हुन्छ । कल्कि अवतार हुनलाई सूर्य, चन्द्र र बृहस्पति एकै नक्षत्रमा पर्नु पर्ने हुन्छ । कल्कि अवतार हुँदा परमात्मा मानवका रुपमा कालो घोडामा चढेर आउनुहुन्छ र दुष्टहरुको संहार गर्नुहुन्छ । अनि बचेका मानिसहरुको मन शुद्ध हुन्छ र फेरि यहाँ सत्यको अनुशरण हुनेछ ।’

आफ्नो मोवाइलबाट म उहाँको भिडियो खिचिरहेको थिएँ । मैले यहाँनेर एकछिन ब्रेक लिन खोजेँ र खिचेको भिडियो उहाँलाई देखाइदिएँ । फुटेज हेर्दैगर्दा उहाँलाई एउटा कुरा खट्किएछ ।

भन्नु भयो, ‘चन्दन लगाउन छुटेछ । म लगाएर आइहाल्छु है ।’

अनि पूजाकक्षमा गएर आफ्नो ब्राण्ड चन्दन निधारमा लेपन गरेर हजुरबुबा मिलिक्कै आइपुग्नु भयो । म यो उमेरमा पनि उहाँको जाँगर र फुर्ति देखेर झनझन चकित परिरहेको थिएँ ।

मैले अगाडि सोधेँ,‘महाभारत मूलतः दाजुभाइ बीचको युद्ध हो । त्यो पनि सम्पत्तिका निहुँमा । आज पनि जगतमा धेरै दाजुभाइबीच मेल छैन । फूट छ । के अब यहाँ फेरि महाभारत भइरहेको छ त ?’

उहाँले उस्तै जोशजाँगरसाथ सुनाउनुभयो, ‘आततायी वा पाप उम्लिएर नै युद्ध हुने हो । तर यस्तो अवस्थामा, धर्मशाश्त्र भन्छ, परमात्माले नै अवतार लिएर संहारमा उत्रिनुहुन्छ । त्यसो त हरेक युद्धका पछाडि कुनै कारण हुन्छ । महाभारत युद्धका पछाडि अहंकार र लोभले काम गरेको थियो । जस्तै- दुर्योधन कलिको अवतार थियो । कलिको अवतार भएको हुँदा उसको हृदयमा दयाको अङ्कुरण हुँदैन थियो । युद्ध गर्नु हुँदैन, मिल्नु पर्छ भन्ने सन्देशका साथ भगवान श्रीकृष्णलाई पाण्डवहरुले दूत बनाएर पठाए । दुर्योधनका दरवारमा भगवान पुग्नु भयो । दुर्योधनले उहाँको भब्य स्वागत गर्यो । चौरासी व्यञ्जन तयार गर्न लगायो । भगवानले सन्देश सुनाउँदै भन्नुभयो, एक भाइका छोरा तिमी, एक भाइका छोरा पाण्डव भएका कारण पाण्डवहरुलाई तिमी आधा राज्य देऊ । त्यति दिन सक्दैनौ भने बीसवटा गाउँ मात्रै भए पनि देऊ । तिमीहरुले मिल्नु पर्छ । यो झगडा नगर ।

पाण्डवहरुका तर्फबाट दूत बनेर गएका कृष्णका कुरा सुनेर दुर्योधनले बडा रुखो पारामा भन्यो, भगवान, हजुर अर्थोक जे भन्नुहुन्छ, म मान्न तयार छु । तर पाण्डवहरुलाई अंश दिने कुरामा म सहमत छैन । आधा राज्य वा बीसवटा गाउँ त के म एउटा सियोको टुप्पाले छेडेजति जमिन पनि उनीहरुलाई दिन्नँ, बिना युद्ध । तर यदि उनीहरुले युद्धमा जितेर सारा राज्य लैजान्छन् भने बरु मलाई त्यो मञ्जूर छ ।

यसपछि दुर्योधनले भगवानलाई भोजनको लागि आग्रह गर्यो । भगवान श्रीकृष्णको जवाफ थियो, पाण्डवहरु मेरा प्राण हुन् । उनीहरुका बारे यस्तो नीच धारणा राख्ने तिम्रो भोजन गर्नु भनेको विषपान गर्नु जस्तै भएका कारण म तिम्रो भोजन गर्दिनँ । यति भनेर भगवान त्यहाँबाट भोकै फर्किनु भएको थियो । यो प्रसङ्ग त त्यतिबेलाको एउटा सानो दृश्य मात्र हो । त्यहाँ युद्ध अनिवार्य थियो, अन्य अनेक कारणहरुले ।’

हजुरबुबाले विश्राम लिएपछि मेरो जिज्ञासा प्रकट भयो, ‘गीतामा स्थितप्रज्ञको प्रसंग उल्लेख छ । के हो या स्थितप्रज्ञ भनेको ?’

उहाँले छेउमा छरपष्ट पुस्तकहरुमध्येमा एउटा पुस्तक खोज्नु भयो । अनि एकछिन है भन्दै उठ्नुभयो र आफ्नो अध्ययन कक्षबाट श्रीमद्भागवत गीताको चाक्लो पुस्तक लिएर आउनुभयो । केही खोजे जसरी पानाहरु पल्टाउनुभयो । अनि दोस्रो अध्यायको ६५ र ६६ श्लोक क्रमशः पढ्नुभयो,
‘तस्माद्यस्य महाबाहो ! निगृहीतानि सर्वशः ।
इन्द्रियाणीन्द्रियार्थेभ्यस्तस्य प्रज्ञा प्रतिष्ठिता ।।
या निशा सर्वभूतानां तस्यां जागर्ति संयमी ।
यस्यां जाग्रति भूतानि सा निशा पश्यतो मुनेः ।।’

अर्थ- यसैले हे महाबाहो ! जुन पुरुषका इन्द्रियहरु इन्द्रियहरुका विषयहरुद्वारा सबै प्रकारले निग्रह गरिएका छन्, उसैको बुद्धि स्थिर छ । सम्पूर्ण प्राणीहरुका लागि जो रात्रि समान छ, त्यस नित्य ज्ञानस्वरुप परमानन्दको प्राप्तिमा स्थितप्रज्ञ योगी जागा बस्छ र जुन नाशवान सांसारिक सुखको प्राप्तिमा सबै प्राणी जाग्छन्, परमात्माको तत्व जान्ने मुनिका लागि त्यो रात्रिकाल समान हो र त्यसबेला ऊ मस्त सुत्दछ ।

जन्म र प्रारम्भिक शिक्षा
बिक्रम संवत १९८२ श्रावण २८ गते तेह्रथुम जिल्लाको मोराहाङमा पण्डित खतिवडाको जन्म भयो । उहाँको जीवनबृतान्त पुस्तकमा उल्लेख भए अनुसार आमा अयोध्यादेवी खोलापारीको आफ्नो खेतमा पानी लगाउन गएकाबखत खोलो तरेर खेतमा पुगेपछि प्रसुती व्यथा लागेछ । व्यथाले छटपटाउँदै हतारहतार खोलो तरेर घर फर्किने क्रममा बाटामा एकजना काइँली ज्यामैका घरमा पुग्नुभएछ । त्यसै घरको आँगनमा रहेको अमलाको रुखमुनि पण्डित बाको जन्म भएको रहेछ । उहाँकी माइली बडेमाको घर पनि त्यहीँ नजिकै भएकाले उहाँ हतारहतार आएर नवजातलाई काखमा बोकी सुत्केरी समेतलाई घर पुर्याइदिनु भएछ ।

उहाँका पिता अग्निधर पनि नामी ज्योतिष हुनुहुन्थ्यो । पण्डित खतिवडाले आफ्नै पिताबाट प्रारंभिक शिक्षा हासिल गर्नुभएको थियो । उहाँले पितासँग अक्षरारंभका साथै ‘ठूलो किताब’ भन्ने प्रारंभिक पुस्तकका साथै अमरकोष र लघुकौमुदी आदिको अध्ययन गर्ने मौका पाउनुभयो ।

आठ वर्षका उमेरमा उपनयन भएपछि उहाँको अध्ययन घरैमा जारी रह्यो । जहाँ उहाँले पितासँग रुद्री, चण्डी, अग्निस्थापना आदिको प्रारंभिक अध्ययन गर्नुभयो । उहाँ तेह्र वर्षको हुँदा चालिस वर्षिय आमाको अचानक मृत्यु हुनपुग्यो । अठार वर्षका उमेरमा पिताको सल्लाहबमोजिम तेह्रथुमकै प्रेमलाल गुरागाईंकी एक्ली छोरी विष्णुप्रियासँग उहाँको विवाह सम्पन्न भयो ।

विवाह बन्धनमा बाँधिए पनि पण्डित खतिवडाको पढ्ने इच्छा मरेन । पढ्न जान घरबाट स्विकृति नपाएकाले चार पाथी चामल बाटाखर्च लिएर मध्यरातमा उहाँले सुटुक्क घर छाड्नुभयो ।

त्यसपछि तेह्रथुमकै रघुनाथ गौतमको विद्यालयमा गएर उहाँले आफ्नो अध्ययन सुचारु गर्नुभयो । वेदका अध्यापक डमरुवल्लभ लुइँटेलबाट उहाँले त्यहाँ एक वर्षसम्म शुक्लयजुर्वेदको अध्ययन गर्नुभयो । त्यसपछि बाला गुरु षडानन्दले स्थापना गरेको भोजपुरको दिङ्लास्थित गुरुकूलमा उहाँ पुग्नु भयो ।
तेह्रथुमबाट तीन दिन हिँडेर उहाँ संस्कृत अध्ययनको राजधानी दिङ्ला पुग्नुभयो । उहाँ स्मरण गर्नुहुन्छ, ‘माघको महिना थियो । जताततै सेताम्य हिँउ परेको थियो । डेढ दिनको बाटोलाई तीन दिन लगाएर छिचोलिएको थियो ।’

दिङ्लामा छात्रबृत्तिको व्यवस्थास्वरुप शुरुमा चार पाथी धान दिइन्थ्योे । विद्यार्थी पुरानो हुँदै गएपछि र उसले उत्कृष्ट नतिजा ल्याउँन थालेपछि क्रमशः धानको वजन पनि बढ्ने गर्दथ्यो । उहाँलाई त्यतिबेला आफ्नो घरबाट वार्षिक दस रुपिँया र ससुरालीबाट त्यति नै रकम प्राप्त हुने गर्दथ्यो ।

पण्डित खतिवडा बिगतमा छलांग लगाउनु हुन्छ, ‘औँसी, पूर्णिमा, द्वादसी, संक्रान्ति जस्ता पर्वहरुमा त्यस गाउँका बस्नेत, लम्साल आदि थर भएका साहुमहाजनहरुका घरमा हामी विद्यार्थीहरु पुग्ने गर्दथ्यौँ । उनीहरुका घरमा कहिले लघुरुद्री त कहिले चण्डी पाठ गर्दा दुई रुपियाँ दक्षिणा पनि पाइन्थ्यो । त्यो पैसो निकै हुन्थ्यो । ऊ बेला पैसाको मूल्य निकै ठूलो हुन्थ्यो ।’

बालागुरू षडानन्द अधिकारीको सन्दर्भ
यहाँ मैले तिलश्मी गुरु षडानन्दबारे उहाँको स्मृति खोतल्ने प्रयास गरेँ ।
भन्नुभयो, ‘षडानन्द गुरु एकपटक काठमाण्डौमा पुराण भन्दै हुनुहुन्थ्यो । अचानक गोजीबाट एउटा सुख्खा रुमाल निकालेर निचोर्नुभयो । के गर्या ? भनेर सोद्धा भन्नुभयो अरे, कलकत्तामा एउटा डुङ्गा डुबेछ, त्यसलाई उद्धार गर्या । पछि कुरा बुझ्दा यता उहाँले रुमाल निचोरेकै समयमा उता कलकत्ताको गङ्गा नदीमा डुङ्गा डुबेको रहेछ । उहाँले गायत्रीको उपासना गरेर अनेक सिद्धि हासिल गर्नुभएको थियो । पहिले उहाँले जलेश्वरछेउको मटिहानी पुगेर शिक्षा हासिल गर्नुभएछ । त्यसपछि बनारस गएर आचार्यसम्मको अध्ययन गर्नुभएछ । भतिजाहरु बद्रीनाथ र जयधर्म अधिकारीलाई पनि त्यतै तानेर पढाउनुभएछ । उनीहरुलाई शिक्षण तालिम पनि दिनुभएछ । त्यसपछि दिङ्लामा बद्री गुरु व्याकरणको र जयधर्म गुरु वेदको अध्यापक बनाइए । यो स्थापनाकाल अर्थात बिक्रम संवत १९३२ तिरको कुरा हो । मैलेचाहिँ षडानन्द गुरुका नाति डिल्लिराज अधिकारीसँग पढ्ने अवसर पाएको हुँ । सिद्धान्तकौमुदी, लघुकौमुदी, मध्यकौमुदी, वेद लगायतका सबै काव्यहरु पढ्नुभएका उहाँ धेरै ठूला विद्वान हुनुहुन्थ्यो । साह्रै राम्रो पढाउनुहुन्थ्यो । उहाँका साथमा मैले लघुकौमुदी, तर्कसंग्रह, मध्यकौमुदी तथा अमरकोष पढ्ने मौका पाएको थिएँ ।’

मैले षडानन्द गुरुका बारेमा कुनै रोचक कुरा सुनाइदिन उहाँलाई घच्घच्याएँ । उहाँ सुदुर बिगतका कुराहरु पनि शिलशिलेवर रुपमा वर्णन गरिरहनुभएको थियो ।
षडानन्द गुरुको चमत्कारिक मृत्युको एउटा प्रसंग उहाँले यसरी झिक्नुभयो, ‘दिङ्लामा उहाँले संस्कृत विद्यालय खोलेपछि राणाहरुले ‘हाम्रो त नाकै गयो’ भनेर बिक्रम संवत १९३४ मा रानीपोखरी पाठशाला खोले । धेरैपछि बिक्रम संवत १९७३ मा उहाँ विद्यालयको कामको शिलशिलामा काठमाण्डौ पुग्नुभएको थियो । त्यता एउटा बिहेमा उहाँलाई निम्तो थियो । उहाँलाई डोलीमा चढाएर विवाहस्थलमा पुर्याइयो । बिहे खाइसकेपछि उहाँले भन्नुभयो अरे, मैले भगवानसँग बिदा मागेको छैन । मलाई निवासमा पुर्याइद्याओ । अनि उसै गरी डोलीमा हालेर उहाँलाई निवासमा पुर्याइयो । आफैँले बनाएर थोरै भोजन गर्नुभयो । अनि भोरको तीन बजे आफ्ना सहयोगीहरुलाई भन्नुभयो अरे, लु अब मलाई बागमती लैजाओ ।

त्यसपछि बसेकै अवस्थामा उहाँलाई बोेकेर बागमती नदीमा राखियो । अनि उहाँले शिष्यहरुलाई भन्नुभयो अरे, लु डेरामा जाओ र त्यहाँ बाकसमा मैले राखेको चार सय रुपैयाँ लिएर आओ । पैसा आइपुगेपछि भन्नुभयो अरे, लु अब मेरो बैकुण्ठ जाने बेला भो । म जान्छु । यो चार सय रुपैयाँ तिमीहरुले खर्च चलाउनू भनेर चार जना शिष्यहरुलाई एकएक सय बाँडिदिनु भएछ । अनि दिङ्ला विद्यालयका अधिकारीहरुका लागि एउटा चिठि लेख्न लगाउनु भएछ । चिठिको ब्यहोरा लगभग यस्तो थियो, दिङ्ला विद्यालय मेरो प्राण हो । यसलाई तिमीहरुले राम्रोसँग चलाउनू । यसको उचित संरक्षण गर्नू । पढाइ राम्रो चलाउनू र जतनजगेडा गर्नू । त्यसपछि उक्त चिठिमा हस्ताक्षर गरेपश्चात तीनपटक अलिक लामो ॐ उच्चारण गरेर देहत्याग गर्नुभएछ । उहाँले दिङ्लामा आफ्नो श्राद्ध गर्नका लागि पहिल्यै गुठीको व्यवस्था गर्नुभएको थियो । हरेक वर्ष दुई मूरी धान कुटेर दिङ्ला विद्यालयका बहालवाला प्राचार्यले अझै पनि बाला गुरु षडानन्दको श्राद्ध गर्ने गर्दछन् ।’

उच्च शिक्षाका लागि भारत
दिङ्लामा तीन वर्षको अध्ययनक्रममा क्रमशः लघुसिद्धान्तकौमुदी, मध्यसिद्धान्तकौमुदी, रघुवंश महाकाव्य ५ सर्गसम्म, अमरकोषजस्ता ग्रन्थहरु छिचोलिए । त्यसपछि उच्च शिक्षाका लागि उहाँले अन्य चारजना सहपाठीहरुसँग बनारस जाने निर्णय गर्नुभयो ।

पण्डित खतिवडा २३ वर्षको उमेरमा आफ्ना दौँतरीहरु दार्जिलिंगका नित्यानन्द निरौला, ताप्लेजुंगका षडानन्द रिमाल, गोगनेका कैलाशानन्द न्यौपानेका साथमा अनेक हण्डर खाँदै बनारस पुग्नु भयो । तर त्यहाँको प्रचण्ड गर्मीले उहाँहरुलाई आफ्नो छाला पिल्सिएको महसुस भयो र स्थानीय विद्वानहरुसँग सल्लाह गर्दा अलिक सित्तल ठाउँका रुपमा हरिद्धार र हृषिकेशका बारेमा थाहा पाएपछि सबैजना त्यता उक्लिनु भयो । नेपालको पहाडी गाउँबाट भारत पुगेका उहाँहरुलाई रेलको यात्रामा अलिक तकलिफ पनि भएछ । खर्च सकिएर बिना टिकट यात्रा गर्दा टिकट जाँचकीले समातेछ पनि । तर धार्मिक प्रबृत्तिका हुनाले उहाँहरुले खासै धेरै समस्या झेल्नु परेन ।

केही दिन हरिद्वार बसेर टोली आ-आफ्नो लक्ष्यको खोजिमा भौँतारिन थाल्यो । उहाँहरुलाई अध्ययनका लागि हरिद्वारभन्दा हृषिकेश उचित हुने कुरा कसैले बताइदियो । अनि त्यता प्रस्थान गरियो ।

हाँडीगाउँ, काठमाण्डौका स्वामी अनन्तराम नेपालीले स्थापना गरेको नेपाली विद्यालयमा गएर उहाँहरु भर्ना हुनुभयो । स्वामी अनन्तरामका पंजाबी शिष्य चेतराम बाबा त्यहाँका व्यवस्थापक थिए । उनले पण्डित खतिवडा लगायत अन्यलाई खानेबस्ने र अध्ययन गर्ने राम्रो प्रबन्ध गरिदिए ।

त्यहाँ एक वर्ष बित्यो । चारजना मध्ये नित्यानन्द र षडानन्द त्यहाँको वातावरणमा रम्न नसेकर बीचैमा घर फर्किए । यसैबीच पण्डित खतिवडाको भेट अर्का नेपाली छात्रसँग भयो । उहाँको नाम पूर्णचन्द्र ढुङ्गेल थियो । उहाँ बिसं २००४ देखि नै हृषिकेश गइ बस्नुभएको रहेछ । दुवैको मित्रता प्रगाढ हुनपुग्यो । दुवैले प्रथमाको सँगै परीक्षा पनि दिनुभयो । पूर्णचन्द्र प्रथम श्रेणीमा प्रथम हुनुभयो भने पण्डित खतिवडाले प्रथम श्रेणिमा उत्तिर्ण गर्नुभयो । पछि उहाँहरुले पूर्व मध्यमाको परीक्षा पनि सँगसँगै दिनुभयो । पण्डित खतिवडाले पूर्वमध्यमा दोस्रो खण्डको परीक्षा भने स्वास्थ्यमा आएको समस्याका कारण जयभारत साधु विद्यालयबाट दिनु भयो ।

बिसं २००९ मा हरिद्वार र हृषिकेशको बसाइप्रति त्यत्ति सन्तुष्टि पनि नभएको स्वास्थ्यमा पनि गडबढी भएकाले उहाँ पुराण वाचन पनि गर्ने उद्देश्यले मथुरा, बृन्दावनतर्फ प्रस्थान गर्नुभयो । त्यहाँको ज्ञान गुदडी टीकारी मन्दिरमा छ महिना बिताउनु भयो । त्यहाँ बस्दा बिहानबिहान नजिकैको रङ्गलक्ष्मी विद्यालयमा व्याकरण अध्ययन गर्नुहुनथ्यो । दिउँसो शुक्राचार्य पाठशालामा भागवत वाचन गर्नुहुन्थ्यो भने बेलुका स्थानीय भागवतदास ब्रह्मचारीका घरमा गएर भागवत वाचन गर्नुहुन्थ्यो ।

उहाँ स्मरण गर्नुहुन्छ, ‘यसरी छ महिनाभित्रै मैले श्रीमदभागवतको अध्ययन पूरा गरेँ । अनि भागवत पाठ र प्रवचन गर्न सक्ने समेत हुनपुगेँ । अब ठाउँठाउँबाट सो कामका लागि मलाई निमन्त्रणाहरु आउन थाले । यसैबेलादेखि श्रीमदभागवत सम्बन्धी सप्ताह एवम् एकाहामा समेत सहभागी हुन थालेँ ।’

एक वर्ष भगवान कृष्णको शहरमा बिताएपछि उहाँ पुनः हरिद्वार फर्किनुभयो र थप अध्ययन कार्यमा जुट्नुभयो । अनि उहाँलाई अचानक बनारस फर्किन मन लाग्यो । बनारसको मुमुक्षु भवन अस्सीमा बसेर उहाँले पुनः मध्यमाको परीक्षा दिनुभयो र दोस्रो श्रेणीमा उत्तिर्ण पनि गर्नुभयो ।

स्वदेश फिर्ता
बिदेशिएको छ वर्षपछि अर्थात बिसं २०११ मा उहाँ मोरङ्को झोराहाटस्थित निवासमा फर्किनुभयो । उहाँका पिता बिसं २००० देखि नै पहाडको जग्गाको व्यवस्था मिलाएर झोराहाटमा बसोबास गरिरहनु भएको थियो । त्यहाँ त्यतिबेला पण्डित खतिवडाका भाइ ईश्वरी, माहिली बहिनी चन्द्रकला लुईँटेल र साहिँली बहिनी लक्ष्मी लुइँटेल पनि बसोबास गर्नुहुन्थ्यो ।

बि सं २०१३ सालमा पण्डित खतिवडाका प्रथम पुत्र यज्ञको जन्म भयो । यसको तीन वर्षपछि विष्णुप्रियाको अचानक मृत्यु हुनपुग्यो र नाबालकले आमा तथा उहाँले पत्नी गुमाउनु पर्यो । त्यतिबेला उहाँ केवल ३४ वर्षको हुनुहुन्थ्यो । पत्नी वियोगले उहाँमा एक किसिमको अवशादले घेरिरहेको थियो । आफन्तहरुले दोस्रो विवाह गर्न कर गरिरहेका थिए । तर उहाँ त्यसबेला निकै बैरागिनु भएको थियो । आफन्तहरुले श्रीमदभागवत महापुराण सप्ताहका निहुँमा उहाँलाई भोजपुरको माङ्दिङ्का चन्द्रकान्त भण्डारीका घरमा पुर्याए । उहाँलाई चन्द्रकान्तकी साहिँली छोरी सरस्वतीका साथ विवाह गराउने आफन्तहरुको पोख्ता योजना थियो । केही दिनसम्म उहाँले कुनै निर्णय लिन सक्नुभएन । तर आफन्तहरुले उहाँहरुको विवाह रचाएरै छाडे । यसप्रकार पुराण भन्न गएको सत्र दिनपछि उहाँ बेहुली लिएर झोराहाट आइपुग्नु भएको थियो ।

यसको एक वर्षअगाडि नै उहाँले बनारसको गंगाधर कस्तुरी मारवाडी महाविद्यालयबाट शास्त्री दोस्रो वर्षको परीक्षा दिइसक्नु भएको थियो र अनेक हण्डर खाएर पनि त्यो बेलाको जमानामा व्याकरण विषय लिएर दोस्रो श्रेणीमा शास्त्री उत्तिर्ण गर्नुभएको थियो ।

बि सं २०१८ सालतिर उहाँलाई पनि जागिर खान मन लाग्यो रे । अनि बिराटनगरको पुरानो हवाई अड्डाछेउको शिक्षा तालिम केन्द्रमा गएर नर्मल तालिम लिनुभयो । तालिम सकेर मोरङ्कै झारसाँदीका नरबहादुर उप्रेतीका घरमा विद्यालय खोलेर अध्यापन कार्यमा लाग्नुभयो । एक सय पचास विद्यार्थीहरु संग्रहित भए । पण्डित खतिवडालाई प्रधानाध्यापक बनाइयो । अर्का एकजना मुसलमान शिक्षकलाई सहायक बनाइयो । त्यसपछि उक्त विद्यालयलाई विधिवत दर्ता गर्न बिराटनगरस्थित जिल्ला शिक्षा निरिक्षक शारदाप्रसाद दाहालकहाँ सबैले उहाँलाई नै पठाए । अनि उहाँ विद्यालय दर्ता गर्न सफल हुनुभयो । यसरी खोलिएको शारदा विद्यालय हाल माध्यमिक विद्यालय हुन पुगेको छ ।

त्यस्तै बिसं २०२५ सालमा उर्लावारीको स्कूलडाँडामा स्थापित राधिका विद्यालयमा पनि उहाँलाई नै संस्थापक प्रधानाध्यापक बनाइयो । पण्डित खतिवडा स्मरण गर्नुहुन्छ, ‘राधिकाको जग्गा त्यतिबेला केवल १६ हात लामो थियो । जो विद्यालयकै नाममा थियो । स्थानीय दुर्गाबहादुर कार्कीले त्यहाँ एउटा काठे भवन बनाइदिएका थिए । बिराटनगर धाएर दर्ता पनि गरियो । मैले पनि केही समय पढाएँ । तर पछि मलाई पढाउन भन्दा भागवत सेवा, पुराण वाचन, प्रवचन एवम् तिर्थाटनमा नै बढी सहजता उपलब्ध हुन थालेपछि शिक्षकको जागिर छाडेँ र पूर्णरुपमा भागवत सेवामा समर्पित भएँ ।’

बिसं २०१२ मा बनारसस्थित रामानुज दर्शन महाविद्यालय, त्रिपुरा भैरवीका महन्त श्री वैष्णव शालिग्रामाचार्यसँग श्री वैष्णव दीक्षा लिनुभएका पण्डित खतिवडाको जीवनको सबैभन्दा महत्वपूर्ण पाटो भनेकै अनुशासन हो । आफ्नो इमानजमान कायम राख्नु, दानदक्षिणा गर्नु, धार्मिक ग्रन्थहरुको बारंबार अध्ययन, पाठ, जप आदिमा हमेशा दत्तचित्त रहनु नै उहाँको जीवनको परावर्तन हो ।

त्यसो त उहाँका परिवारका धेरैजसो सदस्यहरुले वैष्णव दीक्षा लिइसकेका छन् । पण्डित खतिवडा भन्नुहुन्छ, ‘मेरी जेठी पत्नी विष्णुप्रिया सनातनी वैष्णव थिइन् भने कान्छी पत्नी सरस्वतीले २०३४ सालमा रामानुज दर्शन महाविद्यालयका महन्त श्री केशवाचार्यबाट दिक्षा लिएकी हुन् । मेरी बहिनी लक्ष्मी लगायत मेरी जेठी छोरी शारदा, माहिली छोरी पुष्पाका साथै जेठो छोरो यज्ञ, माइलो छोरो कुमार, कान्छो छोरो लक्ष्मीले पनि वैष्णव दीक्षा लिइसकेका छन् । बुहारीहरु र केही नातिनातिनाले पनि दीक्षा लिइसकेका छन् ।’

 

पन्ध्र वर्षअगाडि सवा कठ्ठा जग्गा र केही धनराशीसमेत दान गरेर उहाँले उर्लाबारीकै खोर्सानीबारीमा आफ्नो गोत्र कल्याणका लागि एउटा अत्रि आश्रमको स्थापना गर्नुभएको छ । त्यहाँ विभिन्न धार्मिक अवसरहरुमा यज्ञ, हवन, पूजाआजा तथा भजनकिर्तनको आयोजना गर्ने गरिन्छ । समाजसेवाका साथै उचित स्थान र अवसरमा उचित व्यक्तिलाई दानदक्षिणा गर्नु पनि हजुरबुबाको पुरानै रुची हो ।

आत्मबृतान्तको प्रकाशन
आफ्नो जीवन र वरपरको वातावरणलाई समेत लिपिबद्ध गरेर पुस्तक निकाल्नु र त्यस पुस्तकलाई चारैतिर फैलाउनु निश्चय नै प्रसंसनिय काम हो । आजसम्म पनि हामी त्यो घाँसीलाई याद गछौँ जसबाट हाम्रा आदिकविले प्रेरणा पाएका थिए । त्यसपछि यस जगतमा कैयन मान्छेहरु जन्मिए । आफ्नो लीला गरे र मरे । तर हामी कतिलाई याद गछौँ त ? कति जनाको किर्ती हामीलाई याद छ त ?
मान्छेले मरेर जाँदा भौतिक त केही लिएर जाँदैन । तर आध्यात्मिक त अवश्य केही लिएर जान्छ । अर्थात, ऊ वातावरणमा आफ्ना सत्कर्महरुको वाफ छाडेर जाला र त्यो वाफ कैयन दिन वा कल्पसम्म यस जगतमा उडिरहला ।

सलाइको एउटा काँटी झ्यार्र बलेर पलभरमा नै सकिन पनि सक्छ वा त्यसले कुनै सल्किने वस्तु भेट्यो भने जगतभर डढेलो सल्काउन सक्ने ल्याकत कसो
नराख्ला ? जीवन यत्तिकै खेर जान सक्छ । तर आफ्नो जीवनलाई पुस्तकाकार दिएर जगतमा छरेर जानुमा पक्कै पनि केही तुक लुकेको हुन्छ । यस अर्थमा आफ्नो र आफन्तहरुको समेत जानकारीलाई फोटोफिचरसहित निकै मेहनत गरेर पण्डित खतिवडाले पुस्तकमा लिपिबद्ध गर्न सक्नु उपल्लो स्तरको चेतना—दृष्टान्त हो ।

उहाँको विद्या आर्जन गर्ने भोक, अथक संघर्ष गर्ने शक्ति, तिब्र इच्छाशक्ति तथा सबथोक मिलाएर शाश्त्रसंगत हिसाबले जीवनलाई लैजान सक्ने खुबीको वर्णन जति गरे पनि कम हुनसक्छ । अहिले चौरानब्बे वर्षको उमेरमा पनि उहाँको मुमुक्षा जीवित र तरोताजा भेटिनु यस जगतकै लागि एक महान संघटना हो ।

जाँदाजाँदै उहाँलाई मन परेको र सबैले मनन गर्नै पर्ने गीताको अध्याय पन्ध्रको एउटा श्लोक यहाँ पस्किनु उचित लाग्यो-
निर्मानमोहा जितसङ्गदोषा अध्यात्मनित्या विनिवृत्तका माः ।
द्वन्दैर्विमुक्ताः सुखदुःखसंज्ञै र्गच्छन्त्यमूढाः पदमव्ययं तत् ।।
अर्थ हो-
जितेर आशक्ति र मोह मान, अध्यात्ममा प्रेम विमुक्त काम ।।
दुःखादिका द्वन्द्व सबै छुटी ती, ब्रह्मज्ञ पुग्छन् पद ब्रह्मा ती ।।

कुराकानी सकेर उहाँका तस्विरहरु पनि खिचियो । मलाई एक कप चिया अफर गर्दै सोध्नुभयो, ‘मेरो काम सकियो ?’
मैले भनेँ, ‘सकियो हजुरबुबा । अब आराम गर्नुहोला ।’

त्यसपछि उहाँ बसिरहेकै सोफामा एउटा तकिया हालेर ढल्किनु भयो । अनि दुवै हातहरु टाउको र तकियाका बीचमा नमस्कार मुद्रामा च्यापेर उहाँ पलभरमा नै मस्त निदाउनुभयो । म आफ्ना सरसामानहरु झोलामा कोचेर उहाँको परिवारसँग बिदा भएँ ।
मनमनै लाग्दै थियो, यी ‘नोनाजेनेरियन’ हजुरबुबा ‘इम्युनिटी पावर’ गुमाउँदै गएको जगतका लागि एक अथाह प्रेरणाश्रोत सावित हुनुभयो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *