धुवाँले निस्शासिएको ठाउँ
|शिरदेखि पुछरसम्म
घनिभूत धुँवाले छोपेर
निस्शासिएको छ
आज बास बसेको ठाउँ ।
अझै यात्रा लामो छ
के के देखिने सुनिने हो ?
यहाँ खुर्शानीका बोटहरुमा
भर्याङ लाउँदै मानिसहरु
मुस्किलले खोर्सानी टिप्न
सकेकोमा मख्ख पर्छन् ।।
बुद्धि झिंगाको
समान छ तिनको ।
टिन तातेझै क्षण क्षणमा
तात्छन् र सेलाउँछन्
बेस्कन उफ्रन्छन्
उपियाँ जस्तै ।
बास्नादार धुँवाको
घुम्टो भित्र
छिचिमिरा झै निस्कन्छन्
छिद्र छिद्रबाट
क्षणभङुर छ तिनको आयु ।
छिनमै मोटाउछन्
र छिनमै तन्देरी बन्दै
यौन लीला गर्छन् ।
एक अर्काका नितम्ब
ओठ र मुहारहरुमा
मुग्ध हुन्छन् बबुराहरु ।
कालो मुस्लो धुँवाका
तरेलीहरूले चुर्लुम्मै छन् ।
मालिकहरुको ईशारामा
सारा जीवन चलिरहेछ
आफ्नो बिवेकले काम गर्दैन तिनको ।।
किताब खुब पढ्छन्
मानौ ईश्वरले तिनलाई
पढ्नैका निम्ती मात्र
यहाँ पठाएका हुन् ।
पढेकोमा दम्भ छ तिनमा ।।
त्यही दम्भले
तिनको गाला फुलेर
पृथ्वी जस्तै
देखिन्छ कहिले कही ।।
बोली कागको
जस्तो कर्कश छ ।
तीते पातीको तिक्तता
शब्दै पिच्छे निस्कन्छन् ।
कागतका खोस्टा र
केही बुट्टे धातुहरु
संगालेर धनी ठान्छ
चलन रहेछ यहाँ ।
शरिर चिर्ने घोच्ने र चिथोर्नेहरु
आफुलाई अग्लो ठान्दारहेछन् ।
कागज पल्टाएर बोली पिच्छे
रकम असुलेर जीबन
बाच्नेहरुले यो ठाउँको
अगुवाइ गरेका रहेछन् ।
हिमाल पहाडहरुको
पूर्णतामा प्राकृतिक छटायुक्त छ
यो ठाउँ । मैदानी हरितमा निलिमाले
मोहकता थपेको छ ।
मान्छेको छूद्रताले
बिथोलेर धुमिल बनेको
यो ठाउँमा आज बास बसेको छु ।
यात्रा अझै लामो छ
समय छोटो भये पनि
कमिला झै झिना
मान्छेहरु ब्यस्त छन्
आफ्नो स्वार्थ बाहेक
अरुको हेर्ने
समय छैन ।।
अगिल्लो दिनको यात्रा
तय गर्नु छ । केही सरसामन
जोड्दै छु ।।
आज बास बसेको ठाउँ
भ्रम र आडम्बरको
धुवाँले निस्शासिएको छ ।
धनकुटा