दृष्टिविहिनका दुख:–‘भेदभाव सहेर कसरी बाँच्ने ?’
|
अपाङ्गता हुनु कसैको रहर होइन,बाध्यता हो । अपाङ्गता भएकालाई माया सम्मान र अवसर दिनसके उनीहरुले आफूलाई मात्र होइन समाजलाई पनि राम्रो योगदान दिनसक्छन् । मोरङ उर्लाबारी–२ का रुद्र दास एक उदाहरणीय अपाङ्गता भएका प्रतिभा हुन् ।
जन्मदैदेखि दृष्टिविहिन भएपनि ४७ वर्षीय दासमा बेजोड प्रतिभा छ । दास बाँसुरी बजाउन माहिर छन् । जुनसुकै गीतको धुन पनि हुबहु प्रस्तुत गर्दछन् । उनले पूर्वको झापा, मोरङका विभिन्न स्थानहरुमा पुगेर बाँसुरीको धुन सुनाइसकेका छन् । उनले बाँसुरीबाट निकाल्ने धुनबाट प्रभावित नहुने कमै होलान् । उनी बाँसुरीसँग बादल र हारमोनियम पनि उत्तिकै राम्रो बजाउँछन् । उनी बाँसुरी, मादल, हारमोनियममात्र नभई नौमति बाजा बजाउन पनि निपूण छन् । उनी यतिमा मात्र सीमित भने छैनन् । उनी मुढा बन्न र मोही पार्ने मदानी बनाउन अब्बल छन् । तर, बजारको अभावका कारण उनले मुढा र मदानी बनाउन छोडेका छन् । ‘भएभरको पैसा लगाएर मुढा र मदानी बनायो बिक्री नै हुँदैन’ उनले भने ।
दृष्टिविहिन हुनुको पीडैपीडा
रुद्रले गुनासो गर्दै भने, ‘मदानी बनाएर बेच्न लग्यो ‘अन्धो’ ले पनि मदानी बनाउँदो रहेछ भन्दै खिस्सी उडाइन्छ ।’ मुढा बुनेर बेच्न लग्यो हेर ‘अन्धो’ ले पनि मुढा बेच्न ल्यायो भन्दै मजाक उडाइन्छ । बाटोमा हिँड्यो,हेर हेर ‘अन्धो’ पनि हिँड्दो पो रहेछ, गाडीमा चढ्न खोज्यो त्यो ‘अन्धो’ लाई नचढा भन्दै अपहेलना गरिन्छ । के यो समाजमा नेत्रहीन भएर बाँच्न पाउने अधिकार छैन, उनी प्रश्न गर्दै भन्छन् । यतिमात्र होइन आपाङ्गता भएको परिचय पत्र देखाएर भाडा छुट माग्दा ‘अन्धो’ लाई पनि छुट रे , यसले पैसा पनि चिन्छ भन्दै अपहेलना गरिन्छ । प्रहरी कार्यालय अगाडि गएर उभियो भने हेर कस्ता कस्ता मान्छे आउँछन् भन्ने गर्दछन् । प्रहरी सर गाडीले चढाउन मानेन्, चडाइदिनु पर्याे भन्दा उल्टै हप्कीदप्की गर्दै पठाउँछन् ।
घरपरिवारबाट त अपाङ्गता भएर सास्ती खेप्नु परेकै छ, त्यहीमाथि यो समाजका अगुवा भन्नेहरुको व्यबहारले पनि तिस्कृत भएर बाँच्नु परेको छ । बाटोमा हिँड्यो आफ्नो सुरमा पनि हिँड्न पाइदैन । बाटोमा हिँड्दासमेत कुकुरको आवाज निकालेर तर्साउने गरिन्छ । तर्सिएर पैनीमा लड्यो भन्ने मजाक उडाउँदै हाँस्ने गर्दछन् । आफूलाई शिक्षित भन्ने युवाहरुबाटै अपाङ्गता भएकाहरु मार खेप्नु परिरहेको छ । घरपरिवारदेखि समाजसँग जुध्रेर बाँच्न धेरै गाह्रो भयो ।
सवालङ्ग छोराछोरीलाई निजी विद्यालयमा भर्ना गरिन्छ, अपाङ्ग छोराछोरीलाई पठाउनु त परको कुरा हो, दुई छाक राम्रोसँग खान पनि दिईदैन । के यो समाजमा अपाङ्ग भएर बाँच्न पाउने अधिकार छैन । के अपाङ्ग हुनु पाप हो । कि हामी अर्कै ग्रहबाट आएका हौं । हामीलाई कुकुरभन्दा तल्लो दर्जामा किन हेरिन्छ । के ती प्रहरी अधिकारी र वसका कर्मचारी किन हाम्रो बाध्यता बुझ्दैनन् ? किन तिनीहरुले हामीलाई अपहेलना गर्दछन् । हाम्रा पीडा कसले बुझ्ने ?
जनप्रतिनिधिलाई भेट्नै पाइन्न ।
अपाङ्ग भएका ब्यक्तिहरुका अधिकार कागजमा ठूलै अक्षरले लेखेर के भयो व्यबहार चाँही निच हेराई भएपछि । चुनाव ताका नेताहरुले यस्तो गर्छु, उस्तो गर्छु भन्दै आश्वसन दिन्छन्, अहिले चाँही बोल्न पनि मान्दैनन् । स्थानीय तहको वडा कार्यालयका अध्यक्षदेखि मेयरसम्मलाई भेटेर आफ्ना समस्याहरु सहज रुपमा अपाङ्गता भएकै आधारमा राख्न सकिएको छैन । प्रदेश र प्रतिनिधिका सांसद त झनै परको कुरा हो । हामी जस्ता दृष्टिविहिनको कसले कुरा सुन्छ र ? भन्दै प्रश्न गरे रुद्रदासले ।
भत्तामा किन अन्याय
जेष्ठ नागरिक, एकल महिलालाई मासिक दुई हजार भत्ता दिइन्छ । तर, हामीलाई ६ सय रुपैयाँ मात्र दिइन्छ, यो कस्तो न्याय हो ? भन्दै उनले प्रश्न गरे । हामीलाई ६ सय रुपैयाँले महिनाभरी खान पुग्छ ? कतिपय जेष्ठ नागरिक आँफै पनि सम्पन्न होलान् भने कतिपयका छोरा छोरीहरूले पनि उनीहरूलाई त सहयोग गर्लान्, हामीलाई कसले सहयोग
गर्छ ? दुःख बिरामीमा पर्याे भने यो त मरेपनि हुनेजस्ता अपशब्द प्रयोग हुने गरेको छ ।यसरी रुद्रदास समाज सरकार र परिवारको व्यावहार र तिनको दृष्टिकोणको बारेमा आफ्नो अनुभव सुनाउँछन ।
राज्यदेखि समाजसम्मको हेला सहेर कहिलेसम्म बाँच्ने ? उनले यसरी सरासर आफ्ना वेदना सुनाए । यो समस्या उनको मात्र होइन । उनीजस्ता हाम्रो समाजमा रहेका अपाङ्गता भएका ब्यक्तिहरुको समस्या पनि हो । उनी एउटा प्रतिनिधि पात्र हुन् । आफुलाई अगुवा भनेर चित्रण गर्नेहरुबाट उनीहरु अपहेलित हुँदै आएका छन् । उनीहरुको खिस्सी उडाएर हामी कहिलेसम्म अघि बढ्ने ? उनीहरुलाई पनि हामी जस्तै यो समाजमा बाँच्ने अधिकार छैन त ? धेरै प्रश्नहरु खडा भएको छ । हाम्रो समाजले अपाङ्गता भएका ब्यक्तिहरुलाई हेर्ने फरक दृष्टिकोण अन्त्य हुनु पर्छ नत्र यो समाजमा रुद्रजस्ता धेरै अपाङ्गता भएका ब्यक्तिहरु तिरस्कृत भएर बाँच्न बाध्य
हुन्छन् ।
पहिलो कुरा त अपाङ्गता भएका ब्यक्तिहरु घरबाटै अपहेलित छन्, त्यसपछि हाम्रो समाजबाट । अपाङ्गता भएका ब्यक्तिहरुलाई सरकारी कार्यालयमा त अपाङ्ग भएका ब्यक्तिहरुलाई दुःखै दुःखमात्र छ । उनीहरुलाई सरकारी कर्मचारीले हेर्ने दृष्टिकोण नै फरक छ । अपाङ्गता भएका ब्यक्तिहरुको काम सहज गर्नुको साटो उल्टै दुःख दिने प्रवृत्ति छ । रुद्रकै कुरा मान्ने हो भने इलाका प्रशासन कार्यालय उर्लाबारीमा केही काम लिएर जाँदा धेरै दुःख र अपहेलनाको शिकार ब्यहोर्नु परेको छ । रुद्रजस्ता धेरै अपाङ्गता भएका ब्यक्तिहरुको समस्या साझा छन् । स्थानीय तहका कार्यालयहरु अपाङ्गमैत्री छैनन् । वडाध्यक्षदेखि मेयरसम्मलाई सहज रुपमा उनीहरुले कुरा राख्न सक्ने वातावरण छैन । त्यो भन्दामाथि त कुरै छाडौं, त्यो उनीहरुको पँहुजबाहिरको कुरा हो । त्यसैले हामी सबैले अपाङ्गता भएका ब्यक्तिहरुलाई समान ब्यवहार गर्ने अभियान थालौं । ताकी यो समाजमा रहेर अपाङ्गता भएका ब्यक्तिहरुले पनि गर्व गर्न सकून् । हामीले सोच बदलौं, अपाङ्गता भएका ब्यक्तिहरुलाई सम्मान गर्ने अभियान सुरुवात गरौं । अनि हाम्रो समाज सभ्य र विकसित बन्न सक्छ ।