परदेशीको अनुरोध-आउनुहोस् है

प्लेनबाट उत्रिएर पहिलो पाइला टेकेको दिन परदेश ले भन्छ
आइया दुख्यो,पख्लास
जिम्दै कसरि फर्किन्छ्स हेरौंला
हरेक बिहानी काममा निस्कंदा ढोका खोल्ने बित्तिकै
घामको प्रकाश सिधै अनुहारमा आएर ठोक्किदै भन्छ
आज त मलाई देख्न पाइस
भोलि के हुन्छ हेरौंला ।

काममा साहुलाई झुकेर अभिबादन गरेपछी
साहुले भन्छ
यो मेलो नसकी हाजिरा कसरी थाप्छस् हेरौंला
आधा थाकेर मेसिनको अगाडी गएर
मेसिन अन गर्दा
मेसिनले भन्छ
आइस हैन फेरि, मेरा पार्ट पुर्जामा खिया लगाउन
बेलुका सग्लै कसरी फर्किन्छ्स हेरौंला ।

एकै पटक थला पर्ने गरि दशजनाले कुटेकोजस्तो
शरीर लिएर जब कोठामा आइपुग्छु
गाउँबाट फोन आउँछ
आजको पाँच हजार पकाएर आइस है !
मोज छ तेरो जिन्दगि
मलाइ के ल्याई दिन्छस हेरौंला
एकछिन पछी साथीको फोन आउँछ
जाने बेलामा त नभनी गइस
फर्केर आउँदा के ल्याउँछस अनि कस्तो पाटि दिन्छस हेरौंला ।

रहर होइन मेरो बाध्यता हो भने
परदेशलाई जवाफ दिएँ
मेरी आमाले हरेक बिहान तिमीलाई अर्घ दिने गर्छिन्
घामलाई जवाफ दिएँ
बाबाले बर्षौ अघि बन्धकी राखेको जग्गा उकास्नु छ
साहुलाई जवाफ दिएँ
साँझ पसिनाको सर्वत पिलाएर मात्र फर्किन्छु
मेसिनलाई पनि जवाफ दिएँ तर
गाउँलेलाई र साथीलाई जवाफ दिन सकिन
त्यसैले यो कबिता लेखें
आसशा छ अबचित्त दुखाउनु हुने छैन ।

परदेश नामको जंगलमा
कोरिया नामको रुखको
छल्ला उत्तरी प्रान्त नामको ठुलो हाँगामा बसेर
पैसा टिप्दै छु

म यो हाँगाबाट पैसा टिप्न
यस्का साना ठूला
मोटा पतला
कलिलो छिप्पिएको
बलियो कम्जोर
सुकेको हरियो कुनै पनि हाँगामा गै पैसा टिप्नु पर्ने हुन्छ ।

म यहाँ बसी पैसा टिप्दै गर्दा
उहाँहरूलाई
उनीहरुलाई
उसलाई र उनलाई
सबलाइ सम्झी रहेको हुन्छु
म यसरी सम्झी रहँदा
म आफ्नो ध्यान हराउँछु
ध्यान हराए पनि पैसा टिप्ने साहुको काम नगरी
बस्न पाइदो रहेनछ परदेशमा
अन्तै ध्यान लगाएर काम गरि रहँदा
साना-पातला,कलिला कम्जोर र सुकेको
कुनै पनि हाँगामा परे
म लड्न सक्छु ।

म लडेर मेरो हात खुट्टा भाँचियो भने
कुनै छेस्कोमा परेर मेरा आँखा गुमे भने
वा म मरें भने
मैले हजुरहरुको निम्ति केही गर्न नसके पनि
हजुरहरुबाट केहि कुराको अपेक्षा राखेको छु
बिन्ति छ पुरा गरिदिन आउनुसन है ।


मेरो हात खुट्टा भाँचियो भने
आखाँको ज्योति गुम्यो भने
म घर फर्किनु पर्ने हुन्छ
पाठक तथा श्रोताहरुलाई अनुरोध
मलाई रचना लेख्न मन लाग्न सक्छ
मेरो हातले कलम समातेन भने
कलम चलाई दिन आउनुस है ।


मलाई चिन्नुहुनेहरुलाई अनुरोध
घरमा बस्दा बस्दा बिरक्त लागेर
हिल्चियरको साहाराले कहिँ कतै घुम्न निस्केका बेला
कहिँ कतै
कुनै खाल्डामा
ह्विलचियर अल्झिन पनि सक्छ
त्यसलाई धकेल्दिन आउनुसन है ।


गुरु तथा गुरुआमाहरुलाई अनुरोध
आखाँले संसार नदेखे पनि भावनालाइ महसुस गर्न
मलाई यता कता जान मन लाग्न सक्छ
मेरो सेतो लट्ठीले सबै बाटो पत्ता लगाउन सकेनछ भने
त्यो लट्ठीलाइई बाटो देखाई दिन आउनुसन है ।

यत्ति मात्र भएछ भने त जसो तसो जिन्दगि काटौला
तर
तर , म मरें भने ?!


नेपालमा हुँदाका सहकर्मी साथीहरुलाई अनुरोध।
मेरा हात पाखुरा दरा बनुन्जेल
थला पर्ने गरि काम गरेका मेरा बाले ,
मलाई जन्माएर ठुलो बनाउन्जेल सम्ममा
कमजोर भएकी मेरी आमाले र
र ति साना कलिला भाइ बहिनीहरुले
त्यो भरिएको रातो बाकस सायद गाडीबाट उतार्न नसक्लान
त्यसबेला मेरो सम्पतिको रातो बाकस तुलसाको मोठसम्म पुर्याई दिन आउनुस है ।


आफन्तहरुलाई अनुरोध
मेरो रातो बाकस खोलि सक्दा
मेरो परिवारले होस् गुमाउन सक्छन ,
तिनका हात र टाउकामा पानी छम्की दिन आउनुस है ।


दुष्मनहरुलाई अनुरोध
आफुले स्वर्गमा पिण्ड पाउने आसमा
मलाइई जन्माई हुर्काइ बढाई गरेका मेरा आमा-बाले
मेरो चितामा आगो झोस्ने तागत हराउन सक्छन
हात समातेर आगो झोस्दीन आउनुस है ।


छरछिमेकी हरुलाई अनुरोध
मेरो चितामा रन्कि रहेको आगोलाई देखि
मेरी आमाले आफ्नो शरीरमा रन्कि रहेको
आभास गरेर मूर्च्छा पर्न सक्छिन
तिनलाई हस्पिटल सम्म पुर्याउन आउनुस है ।


साथिहरुलाई अनुरोध
म मा आफ्नो भबिस्य देखेका मेरा भाइ बहिनीहरु
भावविह्वल भएर रुन सक्छन तिनलाई
म बिना पनि भबिस्य छ है भनेर सम्झाई दिन आउनुस है ।


केटासाथीहरुलाई अनुरोध
मेरो अनुहार भिडियो कलमा मात्र हेरेर पनि रुने
एउटा पिन्चे साथी छ
त्यसलाई साथ दिने बाचा गर्न आउनुस है ।

१०
केटी साथीहरुलाई अनुरोध
मैले बर्षौ देखि फकाउँदै गरेकी
त्यो मेरी प्रेमिका
आउँदै आइनन् भने त सकिहाल्यो आइन् भने
आएर पनि रोइन् भने त ठिकै हो
तर डाको छोडेरै रोइन् भने चैं
उनलाई साहारा दिन आउनुस है ।

११
अन्त्यमा मेरा बा आमा मार्फत मलाई चिन्नु हुनेहरुलाई अनुरोध
टेस्टी बिस्कुटसम्म पक्कै उपलब्ध गराउलान् मेरो परिवारले
मलामीहरुलाई बाँडिदिन आउनुस है ।

म पनि आउनेछु
निराकार भएर
अलिक परबाट सबै हेर्नेछु
यो जुनीमा केहि गर्न सकिनछु भने पनि
तपाईंहरुको गतिबिधि नियालेर
अर्को जुनी भएछ भने
हजुरहरु आउनु मात्र भएको रहेछ भने
म पक्कै अन्याय गर्ने छुइन
अन्याय गर्ने छुइन ।

Add a Comment

Your email address will not be published. Required fields are marked *