जीवन
|हरेक बिहान नयाँ लाग्छन् यौवन उक्लिंदैछ माथी
बसाईं सर्दा कति छुटे कति बने नयाँ साथी
आफन्तको जरा, हाँगा, डाली टाढा परै छुट्यो
थाहा छैन समयले क्यै दियो कि भएकै लुट्यो ?
लाग्छ कहिले पन्छी सरि उन्मुक्त भै टाढा भागौं
संसार भन्नु के नै रै’छ अध्यात्मको बाटो लागौं
फेरि कोल्टे फेर्छ मन जीवन एकचोटी पाइन्छ
एकान्तमा भुल्नुहुन्न समाज त चाहिन्छ चाहिन्छ ।
कहिले आत्तिएको जस्तो कहिले समालिन्छ मन
चन्चल पुतली जस्तै बनि डुलिहिंड्छ रन वन
हात खाली भयो कि त मनको पालो शुरू हुन्छ
कतै ठोक्किंदैन सँधै उड़ि उड़ि आकास छुन्छ ।
जिवन भन्नु सुख दु: ख मनभित्रकै भ्रम रै’छ
मनको लडाईंमा मान्छे आफ्नो विम्ब कोर्ने रै’छ
हिजो आज भोलि भन्दै बितेकै छन् दिनहरू
दोधार हुँदै सम्हालिंदै उक्लदैंछन् छिनहरू !!