बाँकी छ
|कति बानि मैले छोडें
कति बानि तिमीले
सम्झौताको लामो लर्को अझै बाँकी छ
प्रेमले भरिएका
सुमधुर सम्बादहरू गर्न बाँकी छ ।
केही भिन्न थियो
तिम्रो पालन र संस्कार
केही अलग्ग थियो
मेरो बुझाई र व्यवहार
बेमेल भित्र मेल हुने
त्यही एउटा बिन्दु तोक्न बाँकी छ
प्रेमले भरिएका
सुमधुर सम्बादहरू गर्न बाँकी छ ।
मनै त हो मानक
टाढा-नजिक बनाउने
प्रिय शब्द र व्यवहार नै त हो
सम्बन्धलाई रङ्गाउने
नभत्काई सम्बेदनाका सीमाहरू
सुरक्षा गर्न बाँकी छ
प्रेमले भरिएका
सुमधुर सम्बादहरू गर्न अझै बाँकी छ ।