मुस्कान
|‘मुस्कान !
कस्तो छ त्यो ठाउँ’
बाटो एकदमै अफ्ठेरो छ,
तिमी नआऊ
आउनुपरे म आफैँ
आउँला ।
अचेल
मलाइ यहाँका ढुङ्गाले
चिन्न थालेका छन्
बिहानै चिरविर गर्दै उठाउने
यहाँका चराहरू
मेरा साथी भएकाछन् ,
यहाँका प्रत्येक आँगन
आफ्नै लाग्न थालेका छन्,
यहाँका खोला, बन, झाडी
बुट्यान पाखापखेरु
म एक्लो हुँदाका साथी
बनेका छन् ।
हाँस्नुपरे
यी पहाड हेर्दै हाँसुला
रुनुपरे
यो बादल हेर्दै रोउँला
नाच्नुपरे
मयूरसँगै नाचुँला
गाउनुपरे
कोइलीसँगै गाउँला
झर्नुपरे
झरनासँगै झरुँला
तर झरेँ भने पनि
झरना जस्तै कञ्चन झर्छु
हिलो जस्तो लतपतिन्न ।
त्यसैले प्रिय
तिमी अहिल्यै नआऊ
तिमीले नै भनेको हैन र ?
यात्रामा
गति मिलेन भने
बाटो पनि अन्तै मोडिन्छ
गतिमा साथ मिलेन भने
साथी पनि
बीचमै छोडिन्छ ।
धरोधर्म,
आउनुपरे
म आफैँ आउँला
कोइलीलेजस्तै गीत गाउँदै
कर्मीटार बस्दा
डिम्मेडाँडाको चौरमा
तिमी र म बसेर
गीत गाए जसरी नै ।
राम्रो कविता । साहित्यिक यात्राले निरन्तरता पाइरहोस् ।
गजब साहित्यिक खुराक है ,बधाई छ भतिजलाई,
पढें,अक्सर कबिहरु यसै भन्छन् ,अरु कसैले नभनेको भन्छन्,फेरि फेरि पनि मुस्कानलाई सम्झाईरहनु,भेट्ने बाचा मात्रै हैन ,बाचा पूरा गर्नु,नत्र फेरि मुस्कान लुटिएलिन्,खाेसिएलिन्,….बधाई ।