नेपालमा गाँजा बहस
|
हाल नेपालमा गाँजाको उत्पादन, बिक्री र प्रयोग खुल्ला हुनुपर्छ भन्ने बहस सुरु भएको छ । प्रदेश सभा र संघीय संसदका माननीय संसदहरूले विधिवत् रूपमा यो विषयलाई पेस गरेका छन् । सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यमहरूमा यस विषयमा बहस पढ्न र सुन्न पाइन्छ । हाल नेपालमा गाँजा को उत्पादन, बिक्री र प्रयोग खुल्ला गर्न ठीक वा बेठीक भन्ने विषयमा आ-आफ्नै तर्कहरू रहेका छन् । पक्ष वा विपक्षमा तर्क गर्नु पहिले नेपालमा गाँजा खेती प्रकृया, प्रयोग, हाम्रो संस्कृतिसँग गाँजाको सम्बन्ध, नेपालमा गाँजा किन प्रतिबन्ध भएको थियो ? र गाँजा खुल्ला गर्दा के-के कुरा लाई ख्याल गर्नु पर्छ जस्ता विषयबस्तुहरूलाई बुझ्न जरुरी छ ।
नेपालका विभिन्न भागमा गाँजा जंगली रूपमा आफै उम्रने र खेती गरी उत्पादन गर्ने प्रकारमा पाइन्छ । परम्परागत रूपमा हिन्दू योगीहरू ध्यान तथा साधना गर्दा गाँजाको सेवन गर्ने गरेको र भगवान शिवलाई प्रसादको रूपमा चढाउने गरेको तथ्य गाँजा र संस्कृति(Cannabis and Culture) नामक पुस्तकमा James Fisher ले लेखेका छन् । नेपालमा १९७३, जुलाई १६ मा मुख्य गरी ३ वटा कारण देखाइ गाँजाको व्यवसायिक उत्पादन, बिक्री र प्रयोगमा प्रतिबन्ध लगाइएको थियो, जुन कायमै छ। ती कारणहरूमा अमेरिकाले Narcotic नियन्त्रण गर्नु पर्छ भन्ने नाममा दिएको दबाब, नेपालमा युवाहरू लागू औषधीको सिकार बने भन्ने गलत प्रचार, र त्यो बेला कानुनी रूपमा गाँजा प्रतिबन्ध गरेका राष्ट्रहरूलाई नैतिक समर्थन गर्नुहोस् भन्ने संयुक्त राष्ट्रसँगको दबाब रहेका थिए भनी लेखकले उल्लेख गरेका छन् । यसरी गाँजाको प्रतिबन्ध लगाउँदा त्यो बेला नेपाल सरकारले १ लाख अमेरिकी डलर राजस्व गुमाएको थियो भनी पुस्तकमा उल्लेख गरिएको छ ।
संसारका धेरै कम ठाउँहरूमध्ये नेपाल एक यस्तो देश हो जहाँ सय माइल उत्तर-दक्षिण भित्र धेरै भौगोलिक र वातावरणीय विविधता पाइन्छ । यो विविधता भित्र पाइने हावापानी र मौसम पनि फरक-फरक छ । यस्तो फरक भौगोलिक र वातावरणीय विविधतामा उत्पादन हुन सक्ने नेपाली गाँजाको जैविक र रासायनिक महत्व रहने नै भयो । अर्को तर्फ नेपाल बहुजातीय, बहुभाषिक, र बहुसांस्कृतिक समुदायको ठूलो हिस्साले गाँजाको प्रयोग जीवनशैलीसँग अविछिन्न जोडिएका परम्परा र चलनको प्रयोजनका लागि गर्ने गरेको पाइन्छ । धार्मिक रूपमा गाँजाको प्रयोग भगवान शिवका अनुयायीहरू र साधुहरूले गर्ने गरेको तथा नेपालका विभिन्न ठाउँहरूमा भजन गाउन आउने किसानहरू, व्यापारीहरू (जो भिन्न भिन्न भाषा बोल्नेहरु र भिन्न-भिन्न जात र समुदायका ) ले गाँजाको सेवन गर्ने गरेको तथ्य उक्त पुस्तक ले उजागर गरेको छ । The British Journal of Psychiatry मा B. P. Sharma ले लेखेका छन् (Cannabis and Its Uses in Nepal शीर्षक) “नेपालमा गाँजा सहज रूपमा पाइने र धेरैले यो बस्तुको प्रयोग गर्ने गरेको खुलेछ । २ सय २६ जनामा गरिएको सो अनुसन्धानमा प्रयोग कर्ताहरू बीच सामाजिक अपराध दर बीच कुनै फरक नरहेको उल्लेख गरेको छ । “बिशौ शताब्दीमा Journal of the American Medical Association मा Marris Fishben ले “बच्चा जन्माउने बेला गर्भवती महिलाले भोग्ने प्रसव पिडा गाँजाको सेवन ले निकै कम हुने र उक्त गाँजाको प्रयोगबाट आमा र बच्चालाई कुनै नकारात्मक असर नगर्ने कुरा को वकालत गरेका छन् ।”
बहुउपयोगी गाँजालाई कानुनी रूपमा प्रतिबन्ध लगाउन अमेरिकाले किन नेपाल माथि दबाब दियो ? यो अर्को अनुसन्धानको विषय बन्न सक्ला । यसको भित्री पाटो भनेको त्यो बेलाको भू-अर्थ राजनीति नै प्रमुख कारण हुन सक्छ । त्यो बेला संसारका हिप्पीहरू र गाँजा पारखीहरूको ध्यान नेपालमा पाइने गाँजा तर्फ थियो र उनीहरूले गाँजा खानको लागि नेपाल आउने वा नेपालबाट किनेर लैजाने हुँदा नेपाललाई आर्थिक लाभ भएको थियो । यो कुरालाई रोक्न वा अझ भनौं नेपालतर्फ प्रवाह हुने आर्थिक गतिविधि रोक्नका लागि अमेरिकाले नार्कोटिक-कन्ट्रोलको नाममा नेपाललाई कूटनीतिक दबाब दियो र नेपालका त्यो बेलाका शासकहरुले सो दबाब थेग्न नसकी २०३३ नेपालमा गाँजा कानुनी रूपमा प्रतिबन्धित भयो । यो त्यतिबेलाको अमेरिकी साम्राज्यवादको ठाडो हस्तक्षेप थियो ।
यतिका महत्व बोकेको गाँजाको व्यवसायीका उत्पादन, बिक्री र प्रयोग गर्न बनेको कानुन २०३३ लाई कसरी खुल्ला गर्ने सकिन्छ भन्ने बहसलाई नकारात्मक रूपमा लिइनुपर्ने देखिँदैन । प्रतिबन्धित गाँजा खुल्ला गर्दा नेपालले के कुरा को हासिल गर्छ वा के गुमाउँछ यो अर्को बहसको विषय हो । यो प्रतिबन्ध फुकुवाका लागि के-के कुरा को ध्यान दिन जरुरी छ भन्ने कुरा भने महत्वपूर्ण विषय हो।
नेपालमा गाँजालाई खुल्ला गर्ने हो भने प्रतिबन्धित कानुनको फुक्का गर्न नयाँ कानुनको निर्माण गर्नुपर्ने हुन्छ । यसरी नयाँ कानुनको निर्माण गर्दा के के कुरालाई समावेश गर्ने र कसरी प्रभावकारी कानुन बनाउने भन्ने सवाल महत्वपूर्ण हुन आउँछ । जस्तै: उत्पादन को लाइसेन्स कसरी-कसलाई दिने ? सोका सर्तहरू के-के हुने ? लाग्ने दस्तुर, जरिबाना र नवीकरणलाई कसरी नियमन गर्ने ? लागू औषधी ओसारपसारसम्बन्धी देशको कानुन र अन्तरराष्ट्रिय कानुनसँग कसरी मिलान गर्ने ? जस्ता विषयहरूको ख्याल गरिनु पर्ने हुन्छ । अर्को सवाल भनेको दुरुपयोग भएमा दण्ड र सजाय कस्तो हुने भन्ने कुराको ख्याल गरिनुपर्छ ।
अर्को ध्यान पुग्नुपर्ने पक्ष भनेको उत्पादन, बिक्री -वितरण र अध्ययन अनुसन्धान को हो । उत्पादन सँग जोडिएको सवाल भनेको बजार व्यवस्थापन को हो यसलाई कसरी मिलान गर्ने ? उत्पादनको ब्राण्ड र प्रतिलिपि अधिकार कस्तो र कसको हुने ? नेपाल भित्रका प्रयोग कर्ताहरूलाई कसरी व्यवस्थापन गर्ने ? प्रयोग क्षेत्र कहाँ र कस्तो हुने ? कुन उमेर समूहकालाई प्रयोग ( जस्तै: औषधीको रूपमा वा मनोरन्जनात्मक रूपमा ) गर्न दिने ? यो प्रश्नहरूको अध्ययन अनुसन्धान जरुरी हुन्छ । अर्को अति महत्वपूर्ण विषय भनेको गाँजाको विश्व बजार कस्तो छ भनी हेर्नु पर्ने हुन्छ । २०१८ मा क्यानडा ले पनि गाँजाको प्रयोगलाई कानुनी मान्यता दिएको छ । क्यानडाको सरकारी तथ्याँकलाई हेर्ने हो भने आर्थिक वर्ष २०१९ को प्रथम सात महिनामा ५ सय २४ मिलियन (क्यानडा) बराबरको गाँजा बिक्री-वितरण भएको पाइन्छ। यसरी हेर्दा क्यानडा पनि नेपालमा उत्पादन भएको गाँजाको बजार हुन सक्छ । त्यस्तै अरू कुन-कुन देशलाई गाँजा बिक्री गर्न सकिन्छ ? व्यापार-सन्धिहरू कसरी गर्ने ? आदि विषयमा गहन अनुसन्धान हुन जरुरी छ । उत्पादित गाँजाको भण्डारण, प्याकेजिङ्र र लेभलिङ्को अर्को काम कसरी गर्ने यो पनि सोच्नु पर्ने हुन्छ । अर्को सवाल भनेको यसको दुरुपयोग भयो भने कसरी नियन्त्रण गर्ने, दुरुपयोगको परिभाषा कसरी गर्ने ? दुरुपयोग भएको उजुरीलाई निरूपण गर्न अदालती प्रकृया कस्तो हुने ? दण्ड वा सजाय कसरी गर्ने ? अनुसन्धानमा यी विषयहरू पनि समेटिनु पर्छ । हाल नेपालमा तीन तहको सरकार छ । मौजुदा संरचनामा उत्पादन भएको गाँजाको बिक्री-वितरण गर्दा करको दायरा कस्तो हुने आदि विषय पनि भुल्नु हुँदैन । प्रतिबन्धित गाँजा खुला गर्दा हाम्रो समाजमा के कस्तो मनो-सामाजिक असर पर्छ भन्ने कुरा नबुझी गाँजा खुल्ला गरियो भने यसले भयावह स्थिति पैदा गर्न सक्छ । त्यसैले यतातर्फ पनि ध्यान दिनु जरुरी छ । नेपाल सरकार गृह मन्त्रालय, २०१२ को एक सर्भे गरेको थियो । सो सर्भे को ९१ हजार ५ सय ३४ जनामा गरिएको र ९०.५ प्रतिशतले गाँजाको प्रयोग गर्ने गरेको खुलेको छ । त्यस्तै सर्भे गरिएका मध्ये १५ वर्ष मुनिका अधिकांशमा गाँजा लोकप्रिय भएको पाइएको थियो । यो तथ्याङ्कलाई आधार मान्ने हो भने सामाजिक असर कम् गर्न सुरक्षा कबजको जरुरी देखिन्छ । सो कामको लागि श्रोत र साधनको खाँचो पर्न जान्छ । यो कुरालाई पनि गाँजा खुल्ला गर्दा ध्यान दिनुपर्ने हुन्छ ।
विश्व स्वास्थ्य सँगठन को रिपोर्ट २०१५ ले उल्लेख गरे अनुसार १ सय ८१ मिलियन मानिसहरूले (१५ देखी ६५ वर्ष उमेर समूह का ) गाँजा को प्रयोग (औषधीको रूपमा बाहेक) गर्ने गरेको देखाएको छ । त्यस्तै गरी संयुक्त राष्ट्र संघले प्रकाशन गरेको विश्व लागू औषधी सम्बन्धी रिपोर्ट २०१९ अनुसार १ सय ८८ मिलियन मानिसहरूले गाँजा लाई लागू औषधीको रूप मा प्रयोग गर्ने गरेको खुलासा गरेको छ । यी तथ्याङ्क लाई आधार मान्ने हो भने विश्वभरी गाँजाको माग रहेको प्रस्ट हुन्छ । विश्व बजारको यो माग लाई ख्याल गरेर नेपालमा गाँजा खुल्ला गर्न सकिन्छ तर खुल्ला गर्दा माथि उल्लेखित विषय बस्तुहरूको पर्याप्त तयारी जरुरी छ ।
(सामाजिक विकास तथा पुनर्वास विज्ञ बद्री कार्की हाल क्यानडामा Registered Social Worker हुन)
Thank you for publish.
लेख रोचक तथा ज्ञानबर्धक छ। गाँजा खेतीले देशलाई आर्थिक टेवा दिन सक्नेकुरामा दुईमत छैन तर खेती कसरी गर्ने? खुल्ला रूपमा खेती गर्दा कस्तो असर पर्न सक्छ ? भन्ने विषयलाई पनि सम्बोधन गरेर सुझाव दिनुभएको भए लेखले अझ पूर्णता पाउनेथियो जस्तो लाग्यो। समग्रमा राम्रो छ।
यो ईतिहास भयो । एक महत्वपूर्ण कुरा छुटेको छ । त्यो के हो भने गाँजाखेती प्रतिवन्ध गर्नु भन्दा धेरै पहिलेदेखि नै गाँजाखेती गर्न सरकारी अनुमति चाहिने व्यवस्था थियो । यदि त्यो व्यवस्था थियो भने लेखमा उठाईएका कतिपय कानुनको पनि अस्तित्व हुन सक्छ । विदेशी अध्ययनहरुको प्रतिवदनको मात्र आधार नलिएर केही स्वदेशी कुरा पनि खोजेमा उपयुक्त हुने थियो । विदेशी एजेन्सीहरुलाई बुझाईने प्रतिवेदन र अमेरिकी , युरोपी मुलुकको भिषा लिन पेश गरिने सम्पत्ति विवरणमा कति विश्वास गर्ने भन्नेकुरा संभवत सबै आप्रवासी नेपालीलाई थाहा नै होला ।
Support
यो अमेरिकन साम्राज्यवादी ले सारै दिक्क लगाउने भन्या