पत्नी महिमा

पत्नी पुज्दै श्रीप्रतिष्ठा कमाऔं
पत्नीजीमा शुद्ध निष्ठा चढाऔं ।
पत्नीलाई मिष्ट खाना खुवाऔं
पत्नी मानी जिन्दगानी जगाऔं ।।१

पत्नीश्रीको प्रेम पाई पलाऔं
पत्नीलाई  भावनामा मिलाऔं  ।
पत्नीलाई  मान्यतामा मिसाऔं
पत्नी जप्तै शान्तिसन्तोष पाऔं ।।२

पत्नीसाथै तीर्थमा घुम्न जाऔं
पत्नीजीका गीत  लेखेर गाऔं ।
पत्नीलाई वेद गीता पढाऔं
पत्नीजीका काव्य उम्दा बनाऔं ।।३

पत्नी प्रेमी बन्न जानी रमाऔं
पत्नीलाई स्नेह गर्दै सघाऔं ।
पत्नीजीमा ध्यान औ धर्म लाऔं
पत्नीलाई सिर्जनामा सजाऔं ।।४

पत्नीजीका सिद्धिशोभा बढाऔं
पत्नीलाई  मान गर्दै  मनाऔं ।
पत्नीजीका दुक्ख सारा भगाऔं
पत्नीलाई सीप राम्रा सिकाऔं ।।५

पत्नीश्रीका स्वप्न साकार पारौं
पत्नीलाई  प्रेम  गर्दै  पुकारौं ।
पत्नीजीका दिव्य बानी सकारौं
पत्नी भज्दै भाव भित्री सुधारौं ।।६

पत्नीश्रीका कान्त लेखौं कहानी
पत्नी मानून् शम्भुभोलाशिवानी ।
पत्नीश्री हुन् देवतातुल्य दानी
पत्नी चिन्ने बन्दछन् भाग्यमानी ।।७
– शालिनी छन्द

Add a Comment

Your email address will not be published. Required fields are marked *